‘के लत बस्यो’ गजललाई १७ दिनमै युट्युबमा ३१ लाख बढी भ्यूज
काठमाडौं । एकाएक चर्चा कमाएको गजल ‘के लत बस्यो’ले सार्वजनिक भएको १७ दिनमै युट्युबमा ३१ लाख बढी भ्यूज पाएको छ । गायक तिलकसिंह पेलाको स्वर रहेको उक्त गजलको म्युजिक भिडियोलाई शनिबारसम्ममा ३१ लाख १४ हजारपटक हेरिएको हो । एक लाख १५ हजारले ‘लाइक’ र झण्डै १४ हजारले गजलमाथि टिप्पणी गरेका छन् । गत पुस २८ मा गायक पेलाको आफ्नै युट्युब च्यानलबाट गजल सार्वजनिक गरिएको थियो । राग मालकौंसमा आधारित सो गजलबाट गायक पेलाले छोटै अवधिमा स्रोता/दर्शकको मन जित्न सफल भएका छन् । गायक पेलाकै सङ्गीत रहेको गजललाई डा प्रदीकुमार मैनालीले लेखेका हुन् । गजलमा सङ्गीत संयोजन रिदम कँडेलले गरेका छन् । शास्त्रीय सङ्गीतका साधक पेलालाई लोकप्रियता दिलाएको उक्त गजलले युट्युबमा भ्यूजसँगै प्रशंसा पनि उत्तिकै बटुलिरहेको छ । सङ्गीतकर्मी, राजनीतिज्ञ, खेलाडीदेखि सार्वजनिक जीवनको उच्च ओहोदामा रहेका व्यक्तिले पनि सो गजललाई मन पराएर फेसबुक, टिकटिकजस्ता माध्यमबाट साझा गरिरहेका छन् । खँदिला शब्द, रागमा आधारित सङ्गीत र पाको गायकीले गजलमा प्राण भरेको छ । पेलाको गजलले गम्भीर भाव र शैलीका सङ्गीत सिर्जनालाई रुचाउने स्रोता/दर्शक पनि उत्तिकै छन् भन्ने प्रमाणित गरिदिएको छ । डिजिटल प्रविधिले गीत/गजल सुन्नेभन्दा हेर्नतिर दर्शकलाई डो¥याइरहेका बेला यो गजलले भने मुग्ध भएर सुन्न धेरेलाई बाध्य पारिरहेको छ । न कुनै कथानक, न कोही पात्र । गीतको म्युजिक भिडियो पनि सामान्य छ । गायक पेलाले स्टुडियोमा गाइरहेको, डा मैनालीले गजल लेखिरहेको र वाद्यवादकले वाद्ययन्त्र बजाइरहेको दृश्य मात्र त्यसमा समेटिएको छ । लालित्यपूर्ण स्वर, लयमा माधुर्यता र मर्मस्पर्शी शब्दले गजललाई जीवन्त बनाएको छ । मौलिक र सिर्जनात्मक प्रस्तुति गजलको अर्को विशेषता हो । गायक पेलाको मात्र नभएर गजलकार डा मैनाली र सङ्गीत संयोजक कँडेलको अब्बल प्रतिभा यो गजलबाट मुखरित भएको छ । बैतडीमा जन्मिएका पेला आफैँमा सङ्गीतका गुरुसमेत हुन् । उनले काठमाडौँमा श्रीकृष्ण गुरुकुल सङ्गीत पाठशाला सञ्चालन गर्दै आएका छन् । गायक पेलाले विसं २०५३ मा ‘आँशु’, २०५४ मा ‘आँशु–२’, र सोही एल्बमको तस्रो भागका रूपमा केही वर्षअघि ‘निर्जन किनार’ सार्वजनिक गरेका थिए।
जीवन यत्तिकै सकिँदैन, फरक क्षमता भएकाहरुको प्रेरणादायी जीवन (फोटोफिचर)
जोरपाटीस्थित अपाङता भएकाहरु बस्ने एक सेल्टरमा ह्वील चेयरमा कृष्ण खड्का । उनका हात खुट्टा दुवै चल्दैनन् । उनी चिउडोको सहारामा ह्वील चेयर चलाउछन् । भने हेल्मेटमा राखिएको स्टिक र सेन्सरले इन्टरनेट चलाउछन् । काठमाडौं । खुट्टा नभएको मानिसले पनि सगरमाथाको सफल आरोहण ग¥यो भन्दा अचम्म मान्नुपर्दैन, न त पूरै शरीर नचल्ने व्यक्ति युगमै उत्कृष्ट वैज्ञानिक बने भन्दा अचम्म मान्नुपर्छ । आँखा नदेख्ने व्यक्तिले पुस्तक लेखे भन्दा अझै पनि हामी कसरी सम्भव भयो भन्ने आश्चर्यलाग्दो प्रश्न गर्छौं । शारीरिक अशक्तता भएका व्यक्ति देख्नासाथ विचारा भन्ने हामी अझै उनीहरुको संवेदनामा नै सिमित छौँ । तर आश्चर्य मान्नुपर्दैन, खुट्टा नहुने मानिसले सगरमाथा चढिसकेका छन् । आँखा नदेख्ने व्यक्तिले पुस्तक लेखिसकेका छन् र पूरा शरीर नचल्ने व्यक्ति युगकै उत्कृष्ट वैज्ञानिक बनेका छन् । कोही जन्मिदै शारीरिक रुपमा अशक्त थिए, कोही दुर्घटनामा परेर अशक्त भए । गौशालास्थित शान्ति सेवा गृहमा कागजको झोला बनाउदै कुष्टरोग पिडित पुरुष । तर, शारीरिक अशक्तताले उनीहरुको सपनामा अङ्कुश लगाउन सकेन । न उनीहरुले आफ्नो कमजोरीलाई जीवनमा हावी हुन दिएर बिलौनामा समय व्यतित गरे । बरु, आफ्नो ‘समस्या’लाई ‘शक्ति’ मा परिणत गरे र, सबैका निमित्त उदाहरण बने । विश्वप्रसिद्ध भौतिकशास्त्री, लेखक, प्रोफेसर स्टिफन हकिङले विशेष गरेर भौतिक शास्त्र र व्रह्माण्ड विज्ञान सम्बन्धि विभिन्न सिद्धान्तहरु प्रतिपादन गरे । त्यस्तै हेलेन केलर डिग्री प्राप्त गर्ने विश्वकै प्रथम देख्न र सुन्न नसक्ने व्यक्ति हुन् भने फ्रान्कलिन अमेरिकी वकिलका साथै ३२ औं अमेरिकी राष्ट्रपति हुन् । उनी शारीरिक अशक्तता भएका व्यक्ति हुन् । जोरपाटीस्थित विआईए इन्टिच्युटमा कपडाको थाङ्का बुन्दै अपाङ्ता भएकी कलाकार । त्यस्तै भारतीय नागरिक अरुणिमा सिन्हा सगरमाथा आरोहण गर्ने पहिलो अशक्त व्यक्ति हुन् भने भारतीय नागरिक सुधा चन्द्रन पनि अशक्त भएर पनि भारत नाट्यम डान्सर बन्न सफल भइन् । त्यसो त नेपलमा भएकै कुरा गर्ने हो भने झमककुमारी घिमिरेको नाम लिए पुग्छ । यस्ता धेरै उदाहरण छन्, जसले अशक्ततालाई अवसरमा परिणत गरेर देश/विदेशमा बलियो रुपमा आफूलाई उभ्याएका छन् । जोरपाटीस्थित विआईए इन्टिच्युटमा गलैचा बुन्दै अपाङ्ता भएकी महिला । नेपालमा अहिले पनि अशक्तपनलाई कमजोरी नठानी आत्मबलका साथ आफैँ काम गरेर जीविकोपार्जन गर्ने मानिसहरु धेरै छन् । जोरपाटीस्थित बिआईए इस्न्टिच्युटमा थाङ्का बनाउँदै गरेका अपाङ्गता भएका कलाकार हुन् वा जोरपाटीस्थित अपाङ्ग संघ परिसरमा दृष्टिबिहीन र अपाङ्गता भएका पुरुष । गौशालामा व्यापार गर्दै आउनुभएकी अपाङ्गता भएकी महिलाको शक्ति हेरौँ वा गौशालास्थित शान्ति सेवा गृहमा कागजको झोला बनाउँदै गरेका कुष्टरोग पीडित पुरुषको अनुहार हेरौँ । उनीहरु आफ्नो शारीरिक रुपलाई छोडेर मानसिक रुपमा बलियो बनि आफैँ कमाएर जीवन धान्छन् । जोरपाटीस्थित विआईए इन्टिच्युटमा धुप बनाउदै एउटा खुट्टा गुमाएका पुरुष । थापाथलीस्थित सुकुम्वासी बस्तीमा दृष्टिबिहीन परमेश्वरीदेवी मुखियाको घरमा काम गरेर जीविको पार्जन गर्छिन् भने उनका श्रीमान सल्टु मुखिया पनि दृष्टिबिहीन नै छन् । आवाजको सहारामा मोबाइल चलाउने, अपाङ्गता भएकाहरु, ह्वीलचेयरको सहयोगमा बास्केटबल खेल्नेहरु, चिउडोको सहायताले ह्वीलचेयर चलाउनेहरु, हेल्मेटमा राखिएको स्टिक र सेन्सरले इन्टरनेट चलाउनेहरु, ह्वील चेयर बनाउने, कपडाको थाङ्का बुन्ने लगायतका काममा उनीहरु ब्यस्त छन् । फोटो स्रोत : न्युज एजेन्सी नेपाल ।
मेरियटले सञ्चालन गर्यो जापानी खाना रेसिपीको कुकिंग क्लास (फोटोसहित)
काठमाडौं । मेरियट होटल एण्ड फेयरफिल्ड मेरियट काठमाडौंले जापानी खाना रेसिपीको कुकिंग क्लास सञ्चालन गरेको छ । होटलले माघ १३ गतेदेखि दुईदिने उक्त क्लास सञ्चालन गरिरहेको छ । माघ १४ गतेसम्म हुने उक्त क्लास जापानका सेफ् क्योहेई सानले दिनेछन् । यस्ता क्लासले जापानी खाना प्रेमीहरूको लागि उत्कृष्ट नेटवर्किङ र सिक्ने समय ल्याउने बताइएको छ । विश्व-प्रसिद्ध जापानी व्यञ्जनहरूमा मिसो काकडी, यासई करी, सुशी लगायतका परिकारहरु छन् । जसको स्वाद फरक फरक हुने सेफ् सान बताउँछन् । सेफ् सानका अनुसार मीठो, खट्टा, नुन, तितो, उमामी र कोकुमी जापानी खानामा स्वादका ६ वटा आधारभूत सेन्स हुन् । यीमध्ये उनले उमामीको स्वादको बारेमा विस्तारमा वर्णन गरेका गरे जुन ब्रोथ र पकाएको मासुको विशेषता हो । यो ग्लुटामेटको स्वादसँग मेल खान्छ । विशेष गरी मोनोसोडियम ग्लुटामेट प्रत्येक डिशलाई सही स्वादको सन्तुलनको साथ तयार गर्न आवश्यक रहेको उनी बताउँछन् । माघ १३ गतेको क्लासमा उनले जापानी संस्कृति र घरमा खाना पकाउने आधारभूत विषयको बारेमा सिकाइएको छ । शुक्रबार भएको उक्त क्लासमा ४/५ जनाको विभिन्न ५ वटा समूह थियो । नेपालमा जापानी भान्सामा पकाइने खानाको अनुभव सिर्जना गराउन र सिकाउनको लागि उक्त कार्यक्रम आयोजना गरिएको होटलले जनाएको छ ।