लगातार दुई दिन सार्वजनिक बिदा
काठमाडौं । बागमती प्रदेश सरकारले शुक्रबार सार्वजनिक बिदा दिने भएको छ । चेपाङ समुदायको राष्ट्रिय पर्व न्वागी (छोनाम)को अवसरमा बागमती प्रदेश सरकारले भदौ २२ गते तीन जिल्लामा सार्वजनिक बिदा दिएको छ । शनिबार नियमित सार्वजनिक परेकाले लगातार दुई दिन सार्वजनिक विदा परेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले चेपाङ समुदायको वाहुल्यता रहेका मकवानपुर, धादिङ र चितवनमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । चेपाङहरूको प्रमुख चाड छोनाम ‘न्वागी’ हो । भदौमा नयाँ अन्नबाली, फलफूल पाकेपछि यो पूजा गर्ने गर्छन् । भदौ २२ लाई छोनाम राष्ट्रिय पर्वको रूपमा मनाउने गरिएको छ । छोनामको दिन घैयाँ धानको चामल, पिँडालु, निबुवा आदि फलफूलले भूमिलाई पूजा गरी पितृलाई खुवाउने गरिन्छ ।
काठमाडौंमा शोक विदा दिने निर्णय
काठमाडौं । काठमाडौं महानगरपालिकाले भोलि शोक बिदा दिएको छ । काठमाडौं महानगरपालिका वडा नम्बर–१६ का वडाध्यक्ष मुकुन्द रिजालको निधनपछि महानगरले शोक विदा दिएको हो । शुक्रबार महानगर र महानगर अन्तर्गतका कार्यालयहरु बन्द रहने महानगरपालिकाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । बिहीबार उपचारको क्रममा वडा अध्यक्ष मुकुन्द रिजालको निधन भएको थियो । महानगरले शुक्रबार महानगरपालिका र अन्तर्गतका कार्यालयहरुमा बिदा दिएपछि महानगरभित्र लगातार दुई दिन शुक्रबार र शनिबार विदा हुने भएको छ ।
भारतका सराभनन मनीले जिते एशियन शारीरिक सुगठनको उपाधि, नेपाल तेस्रो
काठमाडाैं । भारतका सराभनन मनीले ५५ औँ एशियन शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस् च्याम्पियनसिप अन्तर्गत मिस्टर एशियाको उपाधि उचालेका छन्। सराभननले अन्य दश प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि जितेका हुन्। शारीरिक सुगठनतर्फ विभिन्न दश तौल समूहका विजयीहरुबीच भएको मिस्टर एशियाको प्रतिस्पर्धामा मनीले ट्रफी उचालेका हुन्। उनी ९० केजी तौल समूहमा विजयी हुँदै ओभरअल राउन्डमा प्रवेश गरेका थिए। एशियन शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस् फेडेरेसनको आयोजना तथा नेपाल शारीरिक सुगठन तथा फिट्नेस महासंघको व्यवस्थापनमा भएको स्पर्धामा पुरुषतर्फ नेपालले कुल २६० अंक हासिल गर्दै टिम च्याम्पियनसिपमा तृतीय भएको छ। पुरुषतर्फ भारत ७९५ अंकका साथ पहिलो र थाईल्याण्डले ५९० अंकमा दोस्रो भयो। महिलातर्फ थाईल्याण्डले टिम च्याम्पियनसिपको उपाधि जितेको छ। भियतनाम दोश्रो र हङ्गकङ्ग तेश्रो भयो। बुधबार सम्पन्न पुरुष एथलेट फिजिक् १८२ सेमी नेपालका विप्लभ कार्कीले कास्य पदक प्राप्त गरे। यो विधामा पहिलो स्थानमा भारतका रामा सोमाशेखरले स्वर्ण र भुटानका टान्डिन वाङ्गचेनले रजत प्राप्त गरे। च्याम्पियनसिपमा नेपालले ३ स्वर्ण पदक,६ रजत र ५ कास्य पदक प्राप्त गर्यो। नेपालका विशाल पौडेलले जुनियर शारीरिक सुगठन, सनम मुलगुठीले स्विम सुट विधा, रनजी श्रेष्ठ ५५ केजी शारीरिक सुगठनले स्वर्ण पदक जिते। सुरेश दुवाल ५५ केजी, अशिम बाबु गरुङ्गे ६० केजी, मनोज सुवेदी ६५ केजी, ललित धिमाल ७५ केजी, राजुराई फिटनेश फिजिक विधा, तारा खैजु मोडल फिजिक्सले रजत पदक प्राप्त गरे। कमल भण्डारी ६० केजी, कृष्ण प्रसाद श्रेष्ठ ८० केजी, रञ्जित लामा फिटनेश फिजिक्स, बिप्लभ कार्की एथलेटिक्स फिजिक, निहाल मान जोशी एथलेटिक्स फिजिकमा कास्य पदक हात पारे। च्याम्पियनसिपमा १७ राष्ट्रका १६८ पुरुष र ६८ महिला गरि २३६ खेलाडीहरुले ४५ विधामा स्पर्धा गरेका थिए। शारीरिक सुगठनको प्रतियोगितामा पहिलो पटक ठुलो प्रतियोगिताको रुपमा रहेको च्याम्पियनसिपमा आयोजक नेपाल सहित भुटान, चीन, हङकङ चाईना, भारत, काजाखस्तान, मकाउ चाईना, मालदिभ्स, मलेसिया, म्यानमार, सिंगापुर, दक्षिण कोरिया, श्रीलंका, थाईल्याण्ड, ताजाकिस्तान, उज्वेकिस्तान र भियतनामको सहभागिता रहेको थियो।