पुस्तक समीक्षा : ‘जीवन्त सम्बन्ध’ को गहिराइमा
काठमाडौं । जीवनको अर्थ के हो, कसरी जीवनमा उद्देश्य, पूर्णता र सन्तुष्टि पाउन सकिन्छ, जीवनमा सम्बन्धले कस्तो प्रभाव पार्छ ? धेरै मानिसले यी र यस्तै प्रश्नका खोजीमा आफ्नो सम्पूर्ण जीवन केलाउन खोज्छन् तर कमैले मात्रै त्यसका गहिराइमा पुगेर वास्तविक अर्थ पहिल्याउँछन् । कतिले जीवनको अन्तिम क्षणमा मात्रै त्यसको अर्थको भेउ पाउँछन् तर त्यतिबेला उनीहरूको सम्बन्ध टुटिसकेको हुन्छ र ती आफूलाई रित्तिएको महसुस गर्छन् । हाम्रो समाजमा मानिसहरू अनेकांैँ कुराको पछि लाग्छन्, लोभलालच, ईष्र्या, प्रतिस्पर्धाले उनीहरूभित्रको जीवनको रहस्यलाई विकृत बनाएको हुन्छ । मानिसले व्यापारिक सफलता, धनसम्पत्ति र मनोरञ्जनका खोजीमा भाँैंतारिँदा असल सम्बन्धहरूलाई लत्याइरहेको हुन्छ, चाहे त्यो सम्बन्ध बाबुआमा, श्रीमान्श्रीमती, छोराछोरी वा परिवारका अन्य सदस्य, आफन्तजन, छरछिमेक वा अन्य शुभचिन्तकसँग किन नहोस् । जीवन्त सम्बन्धलाई धेरैले चिन्न नसक्दा तिनको जीवन गहिरो शून्यतातर्फ धकेलिएको छ र ती रित्तोपनको भावनाले निराशा, एकलोपन, अभाव र मूल्यहीन जीवनका भड्खालोमा आफूलाई उत्रिन नसक्ने गरी फसेको पाउँछन् । जगत्मा धेरै थोरै मानिसले मात्रै जीवनको सही अर्थ बुझेका हुन्छन् । तिनले भौतिक उपार्जनलाई भन्दा जीवन्त सम्बन्धलाई मुख्य देख्छन् र जुनसुकै पेसा, व्यवसायमा संलग्न रहेर पनि जीवनको सागरमा आफूलाई तैराउन सक्छन् । अर्काको रोग, पीडा, अभाव र मृत्युलाई नजिकबाट देखेको एउटा चिकित्सक जो यो अवस्थाबाट आफैँ गुज्रिन पुग्छ, ऊ त्यतिबेला जीवनको सही अनुभूति गर्न सक्छ र त्यसलाई अक्षरका माध्यमबाट बाहिर ल्याउँछ भने त्यो समाजको विम्ब बन्छ । वरिष्ठ मुटुरोग विशेषज्ञ डा ओममूर्ति अनिलले आफ्ना पिताको असामयिक निधनपछि आफ्ना मनमा छचल्किएको भावनालाई ‘जीवन्त सम्बन्ध’ शीर्षक पुस्तकमा उतार्नुभएको छ । कुनै भौतिक उपलब्धिबाट मान्छेलाई सुख अनुभूति भए पनि त्यसको आयु लामो हुँदैन । जीविकोपार्जनका लागि भौतिक वस्तु, सुखसुविधा जरुरत परे पनि त्यही प्राप्तिलाई सम्पूर्ण जीवन ठानेर पिछा लाग्दा न त त्यसको कुनै पूर्णविराम नै हुन्छ, बरु दौडदा दौडँदै समयले हामीलाई धेरै पर धकेलिसकेको हुन्छ अर्थात् हामी जीवनको उत्तराद्र्धमा पुगिसकेका हुन्छौंँ । त्यति बेला बल्ल हाम्रो चेत खुल्छ, धनसम्पत्ति र सफलताले मात्र त सन्तुष्ट नदिने रहेछ । मानिस बेचैन भएर किन मर्छ, जति वृद्ध हुन्छ, त्यति बाँच्ने चाहना बढ्छ । यही कुरालाई उहाँले आफ्नो पुस्तकमा खोतल्नुभएको छ । पुस्तकमा सम्बन्धहरूको गहिराइलाई केलाइएको छ । व्यक्तिको कर्तव्य, सोच र दायित्वलगायत विषयमाथि केन्द्रित हुँदै मानिसको सोचमा सकारात्मक परिवर्तन ल्याउन सक्ने विश्वास लेखकको छ । जीवनमा खुसीका दुई प्रमुख स्रोत भौतिक र भावनात्मक पक्षलाई अथ्र्याउँदै उहाँ भन्नुहुन्छ, ‘भौतिक खुसी वा सुखको सीमाको कम आयु हुन्छ । भावनात्मक सुख असीमित र चिरकाल हुन्छ । सांसारिक मानिस भौतिक सुखको प्रलोभनमा पर्छन् किनकि यो सुख आवरणीय हुन्छ तर ज्ञानीहरू भौतिक सुखबाट चाँडै तृप्त भएर भावनात्मक सुखका मार्गमा अग्रसर हुने गर्छन् । उनीहरूले जीवनलाई गहिराइमा बुझेका हुन्छन् तथा आफूलाई चिनेका हुन्छन् । अन्तर्मनको खुसी उनीहरूको प्राथमिकतामा पर्छ ।’ पुस्तकमा सकारात्मक सोचका साथै सामाजिक रूपान्तरण, पारिवारिक दायित्व एवं पेसागत जिम्मेवारीलाई सँगै कसरी अघि बढाउने भन्ने विषयमा पनि थुप्रै प्रसङ्ग उल्लेख गरिएको छ । दुनियाँमा धेरै जना आफूसँग भएका कुरालाई बुझ्न नसक्दा र मनन गर्न नसक्दा बढी दुःखी हुने गरेका छन् । त्यसैले जीवन र सम्बन्धलाई समयमै बुझ्न आवश्यक रहेको उहाँको ठम्याइ छ । वास्तवमा सम्बन्धले व्यक्तिगत जीवनलाई चराचर जगत्सँग जोड्ने अवसर प्रदान गर्छ । यसबाट मानिसले भावनात्मक सुखको प्राप्ति सँगसँगै आफ्नो जीवनलाई उद्देश्यपूर्ण बनाउन सक्छ । सम्बन्धले व्यक्तिलाई सन्तुष्ट हुन पनि सिकाउँछ । यसले मानिसमा त्याग, समर्पण, प्रेम, कर्तव्य आदि गुणको विकास गराउँछ । त्यसैले सम्बन्ध बुझ्नु भनेको जीवन बुझ्नु हो, बोधयुक्त जीवन बाँच्नु हो तथा जीवनको सार्थक गन्तव्य पहिचान गर्नु हो । जीवनमा भौतिक सुखमा मात्र रमाउने होइन, सम्बन्धलाई परिचालन गर्न सक्नुपर्ने उहाँको सुझाव छ । वरिष्ठ चिकित्सक डा अनिलको १० वर्षअघि पेसागत जीवनको सुरुआतकालमा लेखिएको ‘म पनि डाक्टर’ भन्ने पुस्तक पाठकहरूका माझ लोकप्रिय बनेको थियो । सो पुस्तक स्वस्थ रहन र रोगबारे सरल रूपमा जानकारी लिन निकै उपयोगी छ । प्रस्तुत दोस्रो पुस्तकले व्यक्तिको कर्तव्य, सोच र दायित्वलगायत विषयमा तत्वबोध गराएको छ । जीवन सम्बन्ध, संस्कार, संस्कृति, पारिवारिक सम्बन्ध, सङ्घर्ष, सन्तानद्वारा आमाबुबाको हेरचाह, सफलता, असफलता, सुखदुःख र पीडालगायत विषयमाथि संस्मरणात्मक शैलीमा यो पुस्तक लेखिएको छ । तीन वर्षअघि बुबाको मृत्युपछि जीवन र सम्बन्धलाई हेर्ने र सोच्ने तरिका नै परिवर्तन भई सोही कुराले उहाँलाई पुस्तक लेख्न प्रेरित गरेको हो । कृतिमा सामाजिक रूपान्तरण, पारिवारिक दायित्व एवं पेसागत जिम्मेवारीलाई निर्वाह गर्न सकिने विषयवस्तु समेटिएका छन् । बुबाको मृत्युपछि जीवनमा पारिवारिक सम्बन्धको अर्थ कति हुने रहेछ भन्ने आफूले बुझ्ने मौका पाएको र त्यसैलाई पुस्तकमा उतार्ने प्रयास गरेको उहाँको भनाइ छ । आफूले धेरै बिरामीको ज्यान जोगाए पनि आफ्नै पितालाई बचाउन नसकेकामा भावुक हुँदै जीवन के हो भन्ने वास्तविकतालाई बुझेपछि नै लेख्न उत्प्रेरणा जागेको उहाँ बताउनुहुन्छ । आफूले सामाजिक सञ्जालमा राखेका सवालमा सर्वसाधारणले राखेका विचारले पनि पुस्तक लेख्न सजिलो भएको उहाँँको भनाइ छ । मुटुरोग विशेषज्ञका रूपमा धेरै बिरामीको मुटु छाम्नुभएका उहाँँले मुटुमात्र नभएर मानिसको मन, मस्तिष्क तथा आर्थिक र सामाजिक परिवेश पनि बुझ्ने मौका पाउनुभएको छ । आफूलाई चिकित्सक भएर मात्रै नभएर समाजको एक सर्वसाधारण व्यक्तिका रूपमा उभ्याएर हेर्दा देखेको दुनियाँको मनस्थितिलाई पनि उहाँले पुस्तकमा उतार्नुभएको छ । पछिल्लो समय मानिसले काम र पैसाका लागि परिवारलाई समय दिन सकिरहेको छैन । परिवारमा बाबुआमा, छोराछोरी, नातिनातिनाबीचका सम्बन्धमा दरार आएको छ । सबैका कुण्ठा छन्, अभाव महसुस गर्छन् । मानिसमा सम्पूर्ण कुरा छ र पनि ऊ खुसी हुन सकिरहेको छैन । जीवनमा के पेसा मात्रै सम्बन्ध हो, करिअर मात्रै सबथोक हो भन्ने प्रश्नमा रुमल्लिँदै त्यसभन्दा पनि पर जीवन छ भन्ने देखाउन नै आफूले पुस्तक लेखेको उहाँ बताउनुहुन्छ । आज बाबुआमा, सन्तान, आफन्त, इष्टमित्र, समाजबीच दूरी बढ्दो छ । यसले मानिसको जीवनलाई नराम्ररी प्रभावित पारेको छ । यो पुस्तक पढेपछि जो कोहीले पनि आफ्ने जीवनको घटनाका माध्यमबाट आफैँलाई पात्र देख्न सक्छ । आफैंँले अनुभूत गर्छ कि लेखकको सोच गलत छ कि सही । पाठकका मनमा अनेक प्रश्न उब्जन्छ र आफैँले त्यसको उत्तर पुस्तकमा भेट्टाउँछ । मानिस अर्बौंको सम्पत्ति, नाम, इज्जत हुँदा पनि यसले आफूलाई एक्लो, सहाराविहीन पाउँछ, सन्तानलाई कसरी हुर्काएछौँ भन्ने बोध हुन्छ । आफ्ना सन्तानलाई विदेश पठाउन खोज्ने अभिभावक अहिले दुःखी छन् भने विदेश जानेहरू पनि सुखी छैनन् । परिवारबाट टाढा रहँदा जस्तोसुकै भौतिक सम्पन्नता भए पनि नजिकको आत्मीयता पाउन सकिंँदैन । धन–दौलत, घर–गाडी, ऐश–आराम, मोज–मस्तीले पनि मानिसलाई आनन्द दिंँदैन । यी कुरा प्राप्ति हुने क्षणसम्म आइपुग्दा मानिसले आफ्नो समय, स्वास्थ्य, सम्बन्ध, सुख धेरै कुरा गुमाइसकेको हुन्छ । आर्जन गरेको कुराभन्दा गुमाएको कुराको हिस्सा ठूलो हुन्छ, जसको कुनै लेखाजोखा नै गर्न सकिंँदैन । मानिस तब मात्र सुखी रहन्छ, जब उसको पारिवारिक जीवन पूर्ण हुन्छ । परिवार, इष्टमित्रसँगको प्रेममय सम्बन्धले कहिल्यै एक्लो महसुस हुन पाउँदैन । आफ्ना आमाबुबा, छोराछोरी, श्रीमान्–श्रीमती, भाइबन्धुसँग नजिक हुनु र एकापसमा मित्रवत् सम्बन्धका साथ बाँच्नुले नै जीवनमा मिठास ल्याउँछ र त्यसले जीवनलाई आनन्दमा पु¥याउँछ । त्यसभन्दा ठूलो जीवन्त सम्बन्ध केही हुँदैन भन्ने नै पुस्तकले सन्देश दिएको छ । डा अनिलले विभिन्न अभियान सञ्चालन गर्दै आउनु भएको छ । सामाजिक सञ्जालमा ठूलो सङ्ख्यामा फ्यान र फलोअर्स भएका उहाँलाई सेलिब्रेटी डाक्टरका रुपमा पनि चिन्ने गरिन्छ । उहाँले बुवाको मृत्युपछि उहाँ जस्तै ज्येष्ठ नागरिकका लागि निःशुल्क उपचार गर्न सकियोस् भनेर डा ओम फाउन्डेसन स्थापना गर्नुभएको छ र पुस्तक बिक्रीबाट आउने रकम दुःखी र असहाय ज्येष्ठ नागरिकको उपचारमा खर्च गर्ने उहाँको योजना छ । पुस्तकको मूल्य एक हजार तोकिएको छ तर आवरणपृष्ठविना पनि रु ६०० मा किन्न सकिन्छ । त्रिपन्न खण्ड र २४० पृष्ठको पुस्तक अनलाइनमा दराज, इसेवा, हाम्रो पात्रो, डा ओम फाउन्डेसनको वेबसाइट र उहाँको फेसबुक पेजमार्फत पनि अर्डर गर्न सकिन्छ । समीक्षा पब्लिकेसनले वितरण गर्ने पुस्तक काठमाडौैंँ उपत्यकाभित्र निःशुल्क होम डेलिभरीको व्यवस्था गरिएको छ । विभिन्न सुपर स्टोर एवं कफी सप तथा क्याफे आउटलेटहरूमा समेत पुस्तक उपलब्ध हुने फाउन्डेसनले जनाएको छ । रासस
कानूनको पर्खाइमा राइड सेयरिङ व्यवसाय
काठमाडौं । सन् २००९ मा अमेरिकामा सुरु भएको र हाल व्यावसायिकरूपले निकै सफल मानिएको ‘उबर’कै शैलीलाई पछ्याउँदै छ वर्षअघि नेपालमा पनि राइड सेयरिङ कम्पनी टुटल सुरु भयो । निजी सवारीसाधनलाई व्यावसायिकरूपमा सञ्चालन गर्ने उद्देश्यले टुटलले सेवा सुरु गरे पनि नियमनका लागि भने कानूनको अभावमा सुरुआती चरणमा निकै झमेला बेहोर्नु पर्यो । सुरुआती चरण भएकाले आम जनतामाझ राइड सेयरिङ पनि सहज र सुरक्षित यात्राको विकल्प हो भन्ने जानकारी दिनु र सरकारलाई व्यवसाय नियमन र सञ्चालनका लागि सरकारलाई घच्घचाउने दुवै काम यो कम्पनीको काँधमा आइपर्यो । जुन काम सुरुआतमा टुटल र त्यसलगत्तै आएको पठाओलगायतका कम्पनीले सुरु गरे । यी कम्पनीले व्यवसायका लागि बजार पनि बनाए र यो क्षेत्रमा ठूलो सम्भावना छ भन्ने प्रमाणित पनि गरे । तिनै कम्पनीले बनाएको बजारमा आजका दिनसम्म आइपुग्दा करिब दुई दर्जन राइड सेयरिङ कम्पनी आइसकेका छन् । जसमा करोडौँ लगानी पनि भइसकेको छ । यो क्रम अझै पनि जारी छ । आज काठमाडौँ उपत्यकालगायतका सहरमा पठाओसँगै ट्याक्सीमाण्डु, बोल्ट, इनड्राइभ, सजिलो, जाउगुरु, जायर, साहारा, इडी क्याब, कावा राइडर्सलगायतका राइड सेयरिङ कम्पनीले सेवा दिइरहेका छन् । टुटल पनि केही समय बन्द भएर फेरि सञ्चालनको तयारीमा छ । तर राइड सेयरिङ व्यवसाय सुरु भएको छ वर्षसम्म पनि यी कम्पनीले भोगेकै एउटै समस्या हो, कानूनी व्यवस्था । तत्कालीन समयमा यो व्यवसाय सुरु हुँदा नेपाली बजारका लागि नौलो थियो । कानूनमा पनि यसप्रकारको कुनै योजना समावेश हुने कुरा भएन । त्यसैले तत्कालीन समयमा कार्यविधिको अभावमा पटकपटक समस्या भोगे पनि यो व्यवसाय भने अगाडि बढिरह्यो । कतिपय अवस्थामा सरकारले आँखा चिम्लियो भने कतिपय अवस्थामा कडाइ गर्ने प्रयास पनि गर्यो । यद्यपि यसले आम जनतालाई दिएको सेवाका कारण यसको लोकप्रियता बढ्दै यो आवश्यकता बन्दै गयो । व्यवसायलाई अघि बढाउन यसबीच स्वदेशी र विदेशी गरी कैयन राइड सेयरिङ कम्पनी आए । विस्तारका क्रममा रहेको प्रतिस्पर्धी बजारमा धेरै कम्पनी टिक्न सकेनन् । जसले गर्दा आउने र जाने कम्पनीको सङ्ख्या बराबरी नै छभन्दा फरक पर्दैन । बढ्दो बजार राइड सेयरिङ कम्पनी पठाओका प्रबन्ध निर्देशक अशिममान सिंह बस्न्यातका अनुसार केही समयअघिसम्म काठमाडौँमा मात्रै सीमित राइड सेयरिङको बजार यतिबेला राजधानी बाहिरका जिल्लामा पनि विस्तार हुँदैछ । सार्वजनिक यातायातको सबैभन्दा सहज र भरपर्दो विकल्पका रूपमा विकास भइरहेको यो व्यवसाय हरेक दिन फस्टाउँदो क्रममा छ । ‘हाम्रो अध्ययनले नेपालमा दैनिक दुई लाख राइडभन्दा बढीको सम्भावना आजका दिनमा छ, काठमाडौँ उपत्यकाभन्दा बाहिरी जिल्लामा फैलँदो छ’, उनले भने, ‘सरकारले प्रोत्साहन गर्ने हो र कार्यविधि बनाइदिने हो भने बजार विस्तार गर्न थप सहज हुन्छ ।’ तर वार्षिक अर्बौं रकमको बजार हुँदा पनि कम्पनी किन टिक्न सकेनन् त रु बस्न्यातको विश्लेषणमा नयाँ कम्पनी बजार अनुसन्धान नै नगरी आएकाले त्यसो भएको हुनसक्छ । ‘बजार छ भन्दैमा कमाइ हुने होइन, गहिरो अध्ययन गरेर आउनुपर्छ, यद्यपि कम्पनीहरू अन्य कारणले पनि बन्द भएका हुनसक्छन् तर मेरो विचारमा गुणस्तरीय सेवा दिने र दीर्घकालीन सोच बनाउने हो भने बजारमा सम्भावना आजका दिनमा पनि ठूलो छ’, उनले भने । हाल पठाओमा मात्रै दुईपाङ्ग्रेको हकमा एक लाख ३० हजार राइडर र चारपाङ्ग्रे ट्याक्सीको हकमा आठ हजार पाँच सयभन्दा बढी राइडर आबद्ध छन् । उनी भन्छन्, ‘पठाओ कम्पनीसँग दुईपाङ्ग्रे र चारपाङ्ग्रे सवारीको सुविधा मात्रै होइन, फूड र पार्सल डेलिभरी पनि अनलाइनबाटै गरिरहेका छौँ ।’ उनका अनुसार फूड डेलिभरीका लागि हाल काठमाडौँमा पाँच सयभन्दा बढी साइकल आबद्ध छन् । जसले हरेक दिन घरघरमा ताजा खाना पु¥याइरहेका छन् । साथै ट्याक्सीमाण्डूमा पनि हाल चार हजार पाँच सयभन्दा बढी ट्याक्सी आबद्ध छन् । सहज जीवनशैली यात्रुका लागि भनेकै समयमा र भनेकै ठाउँबाट सुरक्षितरूपमा गन्तव्यमा पुग्ने सुविधाका साथै राइडरका लागि पनि मनलागेका वा फुसर्दका समयमा काम गर्न पाउने सुविधा यही व्यवसायले दिएको छ । न कुनै विश्वविद्यालयको शैक्षिक डिग्री चाहिने न कुनै विशेष तालिम अनुभव नै चाहिने । दुईपाङ्ग्रे वा चारपाङ्ग्रे सवारी चलाउन जानेको भए पुग्यो । प्रविधिको प्रयोगमार्फत फुर्सदको समयमा आम्दानी र आफ्नो मालिक आफैँ बन्ने यस प्रकृतिको कामले नेपालको ‘गिग अर्थतन्त्र’लाई बढावा दिएको छ । जसमा लाखौँ युवा कुनै न कुनैरूपमा जोडिएका छन् । पढ्दै गरेका विद्यार्थीदेखि निवृत्त जीवन बिताइरहेका ६० वर्षभन्दा बढी उमेर समूहका व्यक्तिसम्म यसमा जोडिएका छन् । त्यसैले त यो जागिर खोजिरहेकाका लागि आम्दानीको गतिलो माध्यम बनेको छ । कैयन क्याम्पस पढ्ने विद्यार्थीका लागि पकेट खर्च जुटाउने स्रोत पनि बनेको छ । सार्वजनिक र निजी सवारीसाधन हुँदा पनि राइड सेयरिङमा आकर्षण किन बढिरहेको छ त रु बस्न्यात भन्छन्, ‘सहज र सुरक्षित यात्रा नै हो ।’ उनका अनुसार भनेकै ठाउँमा लिन आइपुग्ने र गन्तव्यसम्म पुर्याउने मात्रै होइन, पार्किङको झन्झट पनि नहुने त्यसमाथि यात्रुको बीमालगायतका सुविधा पनि राइड सेयरिङमा आकर्षण बढेको हो । कुर्दै कानून राइड सेयरिङ कम्पनीले सेवा दिँदै गर्दा सुरुआती दिनमा कानून बनेको थिएन । तर सरकारले राइड सेयरिङलाई हेर्ने दृष्टिकोण भने सकारात्मक नै थियो । यसलाई त्यतिबेला नै सञ्चालनका लागि कार्यविधि आवश्यक छ भन्ने महसुस भने भएको थियो । सरकारले पनि राइड सेयरिङबारे केही नीतिगत व्यवस्था नगरेको होइन तर त्यो पर्याप्त भएन । पठाओका प्रबन्ध निर्देशक बस्न्यातका अनुसार करिब चार वर्ष अगाडि नै उच्च अदालत पाटनले राइड सेयरिङ कम्पनी गैरकानूनी नभएको बरु कानूनी दायरामा ल्याउनका लागि आदेश दिइसकेको भए पनि हालसम्म कानून बन्न नसक्नु दुःखद् भएको बताए । ‘हामी सुरुदेखि नै कानून बनोस् भन्ने माग गरिरहेका छौँ, सरकारले पनि यसलाई अस्वीकार गरेको छैन । तर हालसम्म कानून बनेको छैन’, उनले भने, ‘आजका दिनमा हामी कम्पनीका रूपमा दर्ता भएर सरकारलाई कर बुझाएर मात्रै सेवा दिइरहेका छौँ ।’ बागमती प्रदेश सरकार, श्रम तथा रोजगार मन्त्रालयका सूचना अधिकारी खगेन्द्र पौडेलले प्रदेशअन्तर्गत सञ्चालन हुने राइड सेयरिङ कम्पनीलाई व्यवस्थित गर्नका लागि मस्यौदा समिति गठन भएको बताए । ‘कार्यविधि निर्माणका लागि मस्यौदा समिति गठन भई काम गरिरहेको अवस्था छ, अबको एक महिनामा प्रतिवेदन बुझाएपछि कार्यविधि बनाउने काम हुन्छ’, उनले भने, ‘कार्यविधिलाई आर्थिक मामिला तथा योजना मन्त्रालय र आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट स्वीकृत भइसकेपछि कार्यान्वयनमा जान्छ ।’ राइड सेयरिङ व्यवसायलाई व्यवस्थित गर्नका लागि कानून बनाउन लागेको बागमती प्रदेश मन्त्रालय मात्रै हो । यस प्रदेशले गत आर्थिक वर्ष र चालु आवको आर्थिक ऐनमै दर्ताका लागि दस्तुरसमेत निर्धारण गरिसकेको छ । तर कार्यविधि बन्न ढिलाइ हुँदा दर्ता भने हालसम्म नभएको सूचना अधिकारी पौडेलको भनाइ छ । बागमती प्रदेश सरकारको चालु आर्थिक वर्षको आर्थिक ऐनमा दुईपाङ्ग्रे सवारी दर्ताका लागि रु २५ हजार, चारपाङ्ग्रे सवारी दर्ताका लागि ५० हजार र एउटै कम्पनीले दुवै दर्ताका लागि ७० हजार शुल्क तोकिएको थियो । साथै नवीकरणका लागि दुईपाङ्ग्रेको हकमा १२ हजार पाँच सय, चारपाङ्ग्रेको हकमा २५ हजार र दुवै सञ्चालन गर्ने कम्पनीको हकमा नवीकरण दस्तुरका रूपमा ३५ हजार रुपैयाँ तोकिएको छ । बस्न्यात बागमतीले मात्रै नभई सबै प्रदेशले यस व्यवसायलाई कानूनमार्फत नियमन गर्नसक्ने हो भने धेरैका लागि रोजगारी सिर्जना हुनुका साथै यात्रा पनि सहज हुनेमा विश्वास व्यक्त गर्छन् । ‘सरकारले हामीलाई कार्यविधि बनाएर बीमालगायतका सुरक्षासम्बन्धी के–कस्ता मापदण्ड बनाउनुपर्ने हो त्यसमा स्पष्टरूपमा निर्धारण गरिदिनुपर्छ’, उनले भने, ‘अहिले यो मानिसको दैनिक जीवनको आवश्यकता बनिसकेको अवस्थामा छिटो कानून निर्माण गरी नियमन गर्नुको विकल्प छैन ।’ कार्यविधिको अभावमा दर्ता प्रक्रियामा रहेको भनिएको तर तीन वर्षदेखि बिनादर्ता सञ्चालनमा रहेको इनड्राइभरले कार्यालय र कलसेन्टरसमेत स्थापना गरेको छैन । यात्राका क्रममा दुर्घटना वा कुनै समस्या परे न त बीमाको सुविधा छ न त गुनासो सुन्ने प्रभावकारी संयन्त्र नै छ । तर आफूहरूको नीतिमा बीमा पोलिसी नै नभएको इनड्राइभको दक्षिण एशिया जनसम्पर्क प्रबन्धक पविता नन्दा आनन्दको भनाइ छ । यद्यपि बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयले २०७५ माघ १८ गते प्रकाशित गरेको राजपत्रको दफा १३ ९४० मा गैरव्यावसायिक सवारीअन्तर्गत निजी सवारी साधनले पनि यात्रु बोक्न पाउने व्यवस्था गरेको थियो । जसमा भनिएको छ, ‘निजी प्रयोजनका लागि दर्ता प्रमाणपत्र प्राप्त चारपाङ्ग्रे तथा दुईपाङ्ग्रे सवारीले तोकिएको प्रक्रिया पूरा गरी आफ्नो मार्गमा तोकिएको भाडा लिई यात्री बीमा गरी यात्री ओसारपसार गर्न सक्नेछन् ।’ अफलाइनले चुनौती राइड सेयरिङको कानून स्पष्ट नहुँदा केकस्तो अवस्थामा के कारबाही गर्ने भन्ने कुरामा ट्राफिक प्रहरीलाई अन्योल नै छ । केही धेरै कमाउने प्रलोभनमा कतिपय राइडर अफलाइनमै सेवा दिन्छन् । बीमाको सुविधा नहुने हुँदा दुर्घटना अप्ठ्यारो पर्छ । आपराधिक मानसिकताका व्यक्तिले अफलाइनको बहानामा विभिन्न आपराधिक गतिविधि गर्ने गरेकोसमेत भेटिएको छ । एपमार्फत बुकिङ गर्दा यात्रु र राइडरको सबै विवरण मोबाइल एपमा रहने हुनाले दुवैपक्ष सुरक्षित महसुस गर्न सक्छन् । अफलाइन राइडलाई नियन्त्रण गर्न पनि कानून बनाएर अगाडि बढ्नुपर्ने जानकारहरू बताउँछन् । रासस
पुराना मान्यतालाई भत्काउँदै नेपाली चलचित्र
काठमाडौं । वि.सं २०६३ पश्चात् अन्य क्षेत्रझैँ चलचित्र क्षेत्रमा पनि परिवर्तन देखियो । प्रविधिको विकाससँगै चलचित्र निर्माणमा नयाँ र जनचासोका विविध विषयले स्थान पाउन थाले । वि.सं २०६५ पश्चात ‘कागबेनी’, ‘सानो संसार’बाट सुरु भएको डिजिटल चलचित्रको यात्राले ‘लूट’ को प्रदर्शनपश्चात गति लियो । यसले नेपाली चलचित्रमा स्थापित पुराना मान्यतालाई भत्काउन सफल भयो । अभिनेता, पहिरन, छायाँङ्कन, लवजसँगै प्रस्तुतिका हिसाबले अन्यभन्दा फरक चलचित्र ‘लूट’ ले नयाँ अध्यायको सुरुआत गर्यो । देशमा भइरहेका परिवर्तनले दिएका विषयवस्तु तथा उक्त परिवर्तनसँगै भित्रिएका आधुनिक प्रविधिले दिएको सहजताका कारण अहिले चलचित्रलाई समाजसँग जोड्ने गरिएको छ । सामाजिक विषय र बदलाको कथा कयौँ चलचित्रमा देखिए । किनकि ती दर्शकमार्फत अनुमोदित विषय थिए । त्यसलाई धेरै समयसम्म निर्देशक र पटकथाकारले परिवर्तन गर्न खोजेनन् । बजारकै अनुसार चलचित्र निर्माण भइरहेको निर्देशक ज्ञानेन्द्र देउजाले बताए । “त्यो समयमा फरक किसिमका चलचित्रले प्रदर्शनमा सहजता पाउथेनन्, गीत, द्वन्द्व र काल्पनिक कथा भएका चलचित्र दर्शकको रोजाइमा पर्थे । दर्शक फेरिएपछि चलचित्रको निर्माण फेरियो । अहिले बन्ने चलचित्रमा बढी यथार्थ खोजिन्छ, त्यो समय काल्पनिक कथा रोजाइमा पर्थ्यो”, उनले भने । मौलिक विषयवस्तुले चलचित्रमा स्थान पाएसँगै निर्माण शैलीमा परिवर्तन आएको निर्देशक प्रदीप भट्टराईले बताए । “पर्दामा हाम्रो मौलिकता र संस्कृतिले स्थान पाएका छन् । हामीसँग भएको कथालाई पर्दामा उतार्न पाएका छौँ, राम्रा भनिने चलचित्रले स्वदेशी बजारको मात्रै भर पर्नुपर्ने अवस्थाको अन्त्य भएको छ, चलचित्र राम्रो बनाउन सके व्यावसायिकरूपमा विदेशमा पनि प्रदर्शन गर्न सकिन्छ”, उनले भने । उनको निर्देशनमा तयार हुने आगामी चलचित्र ‘महाजात्रा’ निर्माणअगावै विदेशका प्रायः देशमा प्रदर्शन अधिकार बिक्री भइसकेको छ । प्रविधिझैँ निर्माणमा समेत नयाँ शैलीले मान्यता पाएको छ । अहिले चलचित्रका अभिनेता भन्नेबित्तिकै सुकिला वा सयौँ भिलेनलाई पिट्ने मात्र हुँदैनन्, आम मानिसझैँ शक्तिविहीन र पर्दा बाहिर देखिने पात्रले स्थान पाएका छन् । यहीँ कारण चलचित्रलाई विभिन्न धारको भन्ने पनि गरिन्छ । अधिकांश चलचित्रकर्मी भने चलचित्रको एउटै धार ‘दर्शकको मन जित्नु’ रहेको बताउने गर्छन् । यद्यपि कलात्मक र पूर्ण व्यावसायिक भनेर दुई विधामा चलचित्रलाई प्रस्तुत गर्ने गरिएको छ ।