कालो अक्षर, रातो अक्षर : वर्तमान शिक्षा प्रणालीको ऐना
काठमाडौं । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले ‘कालो अक्षर, रातो अक्षर’ नामक नाटक प्रदर्शन गरिरहेको छ । अनेरास्ववियुले असोज १७ देखि २७ सम्म काठमाडौंको बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा नाटक प्रदर्शन गरिरहेको हो । नाटकमा शिक्षामा भइरहेको निजीकरण र शैक्षिक माफियाहरूको चलखेलको विषय समेटिएको छ । वर्तमान शिक्षा प्रणालीका समस्या, त्यसमा विद्यार्थी नेताहरुले गरिरहेको आन्दोलन र त्यो आन्दोलनलाई असफल पार्न शिक्षा माफिया र राजनीतिक दलका उच्च पदस्थ नेताहरुको साँटगाँठका विषय प्रष्ट गर्न खोजिएको छ । आन्दोलनबाट कुनै पार नलागेपछि कामको खोजीमा भौतारिँदै विदेशिने विद्यार्थीको मार्मिक कथावस्तु पनि नाटकमा देखाइएको छ । नाटकका लेखक आरके रोमसले देशको वर्तमान शिक्षा प्रणालीमा भइरहेको बेथिती, त्यसमा विद्यार्थीहरुले उठाएको आवाज र विद्यार्थीको आवाजलाई दबाउन खोज्ने पात्र र प्रवृतिको विषय नाटकमा देखाउन खोजिएको बताए । उनले विद्यार्थीहरुले देशमा जति नै क्रान्ती तथा आन्दोलन गरेपनि त्यो आन्दोलन तुहाउन अनेकौं प्रयासहरु हुने र अन्नतः विद्यार्थी निराश हुँदै आफ्नो भविश्य खोज्दै विदेशिन बाध्य हुने वर्तमान परिपाटीलाई जस्ताको त्यस्तै नाटकमा देखाउने प्रयास गरिएको धारणा राखे । कुनै र कसैमाथि कुनै पूर्वाग्रह नराखेर नाटक मञ्चन भएको उनको भनाइ छ । नाटकमा केही विद्यार्थीहरु शिक्षा माफियाकै साँटगाँठमा लागेर बिचमै क्रान्ति छोडेको विषयवस्तु पनि देखाइएको छ । तर, केही विद्यार्थीहरु भने आफ्नो कर्ममा नियमित लागेको देख्न सकिन्छ । अधिकांश राजनीतिक दलका नेताहरुले पनि नाटक हेरिरहेका छन् । उनीहरुले पनि ‘कालो अक्षर, रातो अक्षर’ नाटक वर्तमान शिक्षा प्रणालीको ऐना रहेको प्रतिक्रिया दिने गरेका छन् । नाटकमा लेखन आर के रोमस , परिकल्पना समिक बडाल र निर्देश दिलीप खड्का र सह–निर्देशक खिलकुमार राईको रहेको छ । नाटकमा अनुप न्यौपाने, दिपेश काफ्ले, बालकृष्ण रिजाल, मिलन कार्की, योगिन राई, रेनु नाथ योगी, रमिला मोक्तान, संगिता थापा, सञ्जिब राई, सुजैन सिलवाल, सुदिप खड्का र शान्ता मोक्तानलाई कलाकारको भूमिकामा देख्न सकिन्छ ।
बरालको मौरीपालन : आफ्ना लागि आम्दानी, अरुका लागि प्रेरणा
गण्डकी । जीवनको साढे दुुई दशक मौरीपालन व्यवसायमा खर्चिएका पोखरा महानगरपालिका–३३ बागमारामा किसान श्रीभद्र बराल यतिखेर अरुका लागि प्रेरणाको स्रोत बनेका छन् । लामो समयको मौरीपालन अनुभवले खारिएका उनी मौरीपालनबाट राम्रो आम्दानीसँगै अहिले विभिन्न ठाउँमा पुगेर तालिम दिन थालेका छन् । साकुुरा एपियारी फार्मका सञ्चालक बराललाई यतिबेला पोखरा आसपासका क्षेत्रमा मौरीपालन तालिम दिन भ्याइनभ्याइ छ । तालिमका लागि ठाउँठाउँबाट माग हुुने गरेको बताउँदै उनले आफूले यसबीचमा धेरै ठाउँमा तालिम दिएको अनुभव सुनाए । जिल्ला मौरिपालक महासङ्घका अध्यक्षसमेत रहेका बरालको फर्ममा हाल एक सयभन्दा बढी मौरीका घार छन् । आफूले मौरीपालनबाट वार्षिक १० लाखसम्म आम्दानी गरेको उनको भनाइ छ । सुरुमा दुईवटा घारबाट मौरीपालनमा मौसमी व्यवस्थापनको ठूूलो महत्व हुने बताउँदै उनले वर्षा, जाडो र गर्मी मौसमअनुसार घारको व्यवस्थापनलाई ध्यान दिनुुपर्ने आवश्यकता औँल्याए । मौरीको भित्री भागमा कीरा लाग्ने सम्भावना हुने बताउँदै बरालले बाहिरी रुपमा सत्रु कीराले पनि आक्रमण गर्ने भएकोले त्यसलाई ध्यान दिनुुपर्ने बताए । मौरीलाई अरिङ्गाल, माउसुुली, पहेँले, माकुरा, वन साङ्लो आदिबाट जोगाउन चुनौतीपूर्ण रहेको उनको भनाइ छ । मौरीको सङ्ख्या बढाउनका लागि किसान सचेत बन्नुपर्ने उल्लेख गर्दै उनले सुरुमा सातवटा फ्रेमभरी सकेपछि सुपर कक्ष राख्न सकिने र छाउरा कक्ष भरेपछि सुपरकक्षमा मह उत्पादन हुने बताए । भाले, कर्मी र रानी मौरी सबैका आ–आफ्ना भूूमिका रहेको उनको भनाइ छ । मौरी विभिन्न बाली, फलफूूलका लागि पनि उपयोगी हुने बताउँदै उनले मौरीले गर्ने परागशेचनले बाली उत्पादनमा समेत वृद्धि हुने जानकारी दिए । जङ्गलमा फूूल्ने फूलबाट औषधीय गुण भएका रस मौरीले सङ्कलन गर्ने र यसबाट उत्पादन पनि बढ्ने उनको भनाइ छ । उनले भने, ‘वन जङ्गलबाट आर्थिक लाभ लिनका लागि पनि मौरीपालन आवश्यक छ, मौरीबिना वन जङ्गलमा उत्पादित पुष्परस सङ्कलन गर्ने कुनै अर्को उपयुक्त विधि र प्रविधि देखिन्न ।’ बरालले एपि सेरेना जातको मौरीपालन गरिरहेका छन् । समुद्री सतहको आठ सयदेखि अधिकतम तीन हजार मिटरको उचाइमा पनि मौरीपालनको व्यावसायिक खेती गर्न सकिने उनको भनाइ छ । बढ्दो बेरोजगारीसँगै भइरहेको विदेश पलायनलाई रोक्नका लागि मौरीपालन उपयुक्त विकल्प हुनसक्ने बरालले बताए । ‘मोरीपालन स्वरोजगार बन्नका लागि पनि उपयुक्त विकल्प हो, कम्तीमा ५० वटा मौरीका घारबाट व्यवसाय सञ्चालन गर्न सके मासिक रु ४० देखि ५० हजारसम्म आम्दानीका लागि भौतारिनुपर्दैन’, उनले भने । सहरीभन्दा पनि ग्रामीण क्षेत्र मौरीपालनका लागि उपयुक्त हुने बताउँदै उनले यसले गाउँबाट सहरतर्फ भइरहेको बसाइँसराइ रोक्न पनि योगदान गर्न सक्ने धारणा राखे । पोखरामा वार्षिक ९० टन मह उत्पादन हुने गरेको पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनोहर कडरियाको भनाइ छ । उनका अनुसार महानगरपालिकाभित्रका वडा नं १६, २०, २८ र ३० लाई मौरी पकेट क्षेत्र घोषणा गरिएको छ । महानगरपालिकाले अघिल्लो आर्थिक वर्षमा वडा नं १६ मा मौरीसहितका एक सय ९२ वटा घार वितरण गरेको छ भने वडा नं २० मा मौरीसहितका एक सय ८५ घार वितरण गरेको छ । महानगरपालिकाले वडा नं २८ मा मौरी सहितका दुई सय ५० घार र वडा नं ३० मा मौरीसहित एक सय ८३ घार वितरण गरेको उनले बताए । उनका अनुसार व्यक्तिगत रुपमा एक दुुई घार राख्नेको सङ्ख्या पनि पोखरा महानगरभित्र ठूलो छ । मौरीपालन तोरी, फापरजस्ता कृषिजन्य उत्पादनका लागि पनि उपयोगी हुने बताउँदै उनले मौरीपालन गरेका स्थानमा १० देखि १५ प्रतिशत बढी उत्पादन पाइएको उनको भनाइ छ । मौरीपालन सुरु गरेका उनले यसबीच विभिन्न तालिम लिएको र घार पनि थप्दै गएको बताए । आफूले विगतमा लिएको तालिमबाट सिकेको ज्ञान, सीप तथा मौरीपालनको अनुभवका आधारमा यतिबेला आफूले तालिम दिँदै आएको उनले बताए । उनलाई कास्की, स्याङ्जा, तनहुँलगायतका स्थानबाट तालिमका लागि निम्तो आउने गरेको छ । बरालका अनुसार फार्ममा उत्पादित महप्रति केजी रु एक हजार आठ सयसम्म बिक्री हुन्छ । यहाँ उत्पादित महका लागि बजारको कुनै समस्या नभएको उनको भनाइ छ । तर बाहिरबाट आयात हुने कम गुणस्तरको महका कारण बजारलाई प्रभावित बनाउने गरेको उनको अनुभव छ । रासस
मानव सेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको विशेष अभियान सुरु हुँदै
काठमाडौं । ‘यस वर्षको चाडपर्वमा कसैले बस्नु पर्दैन सडकमा’ भन्ने मूल नाराका साथ मानव सेवा आश्रम र आनी छोइङ डोल्मा फाउण्डेशनले यही असोज २७ देखि आगामी मङ्सिर ४ गतेसम्म विशेष अभियान सञ्चालन गर्ने भएको छ । बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन, मानसिक तथा शारीरिक रुपमा कमजोर सडक आश्रित मानवहरुको उद्धार, पारिवारिक पुनर्मिलनदेखि उनीहरुसँगै दसैँ, तिहार, छठजस्ता पर्वहरु मनाउने गरी सो अभियान सञ्चालन गर्न लागिएको हो । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म पूर्व–पश्चिम राजमार्गसँग जोडिएका ४६ जिल्ला तथा बागमती र गण्डकी प्रदेशका केही जिल्लालाई लक्षित गरी अभियान सञ्चालन गर्न लागिएको मानव सेवा आश्रम केन्द्रीय अध्यक्ष रामजी अधिकारीले जानकारी दिए । विगत वर्षहरुमा पुस/माघको जाडो याममा सञ्चालन गरिने गरेको यस किसिमको अभियान यसपटक नेपालीको मुख्य चाडहरुलाई लक्षित गरी सञ्चालन गर्न लागिएको उनले बताए । उनका अनुसार यस अभियानमा करिब तीन सय जनाको उद्धार गरिनेछ । यसपटक यस अभियानलाई अझ प्रभावकारी बनाउन वरिष्ठ समाजसेवी एवं आनी छोइङ डोल्मा फाउण्डेशनकी अध्यक्ष आनी छोइङ डोल्मा पनि सहभागी हुनेछिन् र अभियानमा लाग्ने सम्पूर्ण खर्चको व्यवस्थापन पनि उनले नै गर्न लागेकी छन् । मानव सेवाभन्दा अर्को महान धर्म केही नभएकाले आफू पनि यस अभियानमा जोडिएको समाजसेवी आनी छोइङले बताइन् । उनले भनिन्– ‘मानिसका गलत सोच, व्यवहारलाई सुधार गर्नु पनि समाजसेवा नै हो । सकारात्मक सन्देश दिन र राम्रो कामको देखासिकी गराउन यस्ता अभियानहरु सार्थक रहनेछन् ।’ मानव सेवा आश्रमका देशका सातै प्रदेशका १९ जिल्लामा २४ वटा सेवा केन्द्रहरु रहेका छन् । ती केन्द्रहरुबाट हालसम्म आठ हजारभन्दा बढीको उद्धार गरिएको छ र हाल १६ सय जना संरक्षणमा रहेका छन् । तीमध्ये करिब सय बालबालिका छन् भने एक हजार मानसिक समस्या भएका व्यक्ति छन् । रासस