काठमाडौं उपत्यकाको लोपोन्मुख पर्व यः सिं गुं आजबाट शुरु

काठमाडौं । काठमाडौं उपत्यकाको लोपोन्मुख यः सिं गुं पर्व आजबाट शुरु भएको छ । शनिवारबाट भीमसेन स्थान परिसरमा महिलाहरुद्वारा लिंगो ठड्याएर पर्व शुरु भएको हो । यो पर्व अबको एक महिनासम्म चल्नेछ । महिलाहरुलाई जागरुक बनाउन र अघि सार्नका लागि सांकेतिक रुपमा यो पर्व मनाइने गरिन्छ । आज बिहान ८ बजेर ५८ मिनेटको शुभ साईतमा लिंगो ठड्याएर यो पर्वको शुरुवात गरिएको हो । पर्वको बारेमा बोल्दै सम्पदा संरक्षण समाज नेपालका अध्यक्ष सुरज सायमीले परापूर्वकालद्खि चलिरहेको यो पर्व २५ वर्ष रोकिएपछि पुनः शुरु गरिएको बताए । उनले महिला सशक्तिकरणलाई जोड दिनका लागि यो पर्व शुरु गरिएको बताए । उनले भने, ‘यो परापूर्वकालद्खि चलिरहेको थियो । २६ वर्ष पहिला विविध कारणले रोकिन पुग्यो । २५ वर्षपछि महिला दिदिबहिनीलाई नै अघि सारेर यो शुरु गरेका हौँ । परम्परालाई संसारभर देखाउन सकियोस् भन्ने हो । यो दुर्लभ पर्व हो । यसमा महिला सशक्तिकरणलाई जोड दिएका छौँ । आज शुरु भएको छ, एक महिनासम्म चन्द्रज्योती दीप दिन्छौँ ।’ त्यस्तै पर्वमा सहभागी महिला रञ्जु कपालीले महिलालाई जागरुक बनाउनका लागि यो पर्व शुरु गरिएको बताए । उनले २५ वर्ष पहिला रोकिएको यो पर्वलाई महिला सशक्तिकरणका लागि पुनः शुरु गरिएको बताए । २५ वर्ष अघिदेखि तानेको भन्ने छ । महिलालाई अघि बढाउनुपर्छ भन्ने सन्देशले यो कार्यक्रम शुरु गरिएको महिलालाई जागरुक बनाउन यो कार्यक्रम गरेको स्थानीय रञ्जु कपालीले बताइन् । उनले महिलाहरु पछि परिरहेको समयमा महिलालाई कुनैपनि काममा अघि बढाउनुपर्ने सन्देशसहित यो पर्व मनाइने बताइन् ।

धमाधम खाली हुन थाले घर, घरधनीलाई बैंकको किस्ता तिर्नै गाह्रो

एआईद्वारा निर्मित तस्बिर बुढोपाकाले भन्थे, ‘अनिकालमा बिउ जोगाउनु, हुलमुलमा ज्यान जोगाउनु ।’ मुलुकमा आएको आर्थिक मन्दी तथा व्यापारव्यवसाय ठप्प भएपछि अधिंकाशले कोठा र सटर छोड्न थालेका छन् । काठमाडौं उपत्यकाभित्र मात्र नभई उपत्यका बाहिर पनि कोठा, फ्रल्याट र सटर छोड्नेको संख्या हवात्तै बढेको छ । बजारमा सुन्दा र बुझ्रदा ७० प्रतिशत मानिस भाडा तिर्न नसक्ने अवस्थामा पुगेका छन् । यस्तो अवस्थामा समेत घरधनीहरु भाडा बढाइरहेका छन् । त्यसकारण अब घरधनीहरुको आँखा नखुले सबै कोठा, सटर र फ्ल्याट खाली हुने छन् । व्यापार व्यवसाय गर्नेहरु दिनहुँ घाटामा गइरहेका छन् । अनि विभिन्न संघसंस्था तथा पसलहरुमा काम गर्नेहरुले वर्षेदेखि तलब पाएका छैनन् । दुई वर्षअघि एउटा खाली सटर २० लाखदेखि ५० लाखसम्म बिक्री हुन्थ्यो । एउटा कोठा १० हजारदेखि २० हजार र एक फ्रल्याट १५ हजारदेखि ३० हजारसम्म जान्थ्यो । एउटा सटरको मासिक २० हजारदेखि १२ लाखसमम लिइन्थ्यो । घरधनीहरुले अझै पनि विगतमा यत्रो पैसा लिएको सम्झिने र भाडा नघटाउने हो भने सबै कोठा, सटर र फ्ल्याट खाली रहनेछ । कतिपय घरधनीले त आफ्नो घरको कोठा, फ्रल्याट र सटर खाली हुन नदिन आधा भाडा अहिले र आधा पछि तिर्नु भन्नुका साथै भाडा घटाइदिने भनेर समेत डेराबहाललाई फकाईरहेको पाइन्छ । यता, एउटाले छोडेमा अर्को आइहाल्छ भन्ने घमण्डी घरधनीहरुको घर महिनौं दिनदेखि खाली छ । अहिले सरकारी कर्मचारीले मात्र हो मिठो खान पाएको र भाडा तिर्न सकेको । आम सर्वसाधारणलाई त बिहानबेलुकाको छाक टार्न समेत हम्मेहम्मे परेको छ । यसले उपत्यकाभित्र होस् या बाहिर अब झन् कोठा, फ्रल्याट र सटर खाली हुने छ । कतिपय व्यापारीले दशैंअघि नै सटर छोडे भने कतिपय दशैंमा व्यापार हुन्छ भनेर कुरेर बसे । तर, दशैंमा समेत सोचेअनुरुप व्यापार नभएपछि उनीहरु पनि सटर भाडा तिर्न नसकेर सटर खाली गर्ने सोचमा छन् । काठमाडौं उपत्यकाभित्र ७७ ओटै जिल्लाका मानिसहरु शिक्षा, स्वास्थ्य, रोजगार, अवसरलगायतका कारण बसोबास गर्दै आएका छन् । यहाँ अस्थायी बसोबास गर्दै आइरहेकाहरु हरेक वर्ष दशैं मान्न भने आफ्नै गाउँघर फर्किन्थे । वर्षेनी उपत्यकाबाट दशैं मान्न २० लाखदेखि ३० लाखको हाराहारीमा सर्वसाधारण गाउँघर फर्किने गर्थे । तर, यो वर्ष जम्मा १३ लाख मात्र आफ्नो गाउँघर गए । दशैंमा भन्दा पनि दशैं अघि नै मानिसहरु आफ्नो गाउँघर फर्किए । अहिले धेरै मानिसहरु आफ्नो जन्मथलो फर्किएका छन् । अहिले अधिंकाश जिल्लामा शिक्षा, स्वास्थ्य, सडक र बत्तीको विकास भइसकेको छ । यसरी आफ्नो जन्मथलो छोडेर अवसरको खोजीमा उपत्यका वा सदरमुकाममा बस्दै आएकाहरु अहिले भाडा तिर्न नसकेर आफ्नै गाउँघर फर्किएका छन् । उनीहरु अब उपत्यका आउन चाहदैँनन् । पहिला पो व्यापारव्यवसाय हुन्थ्यो । काम गरेको ठाउँबाट पनि मासिक रुपमा तलब पाइन्थ्यो । तर, अहिले व्यापार व्यवसाय पनि नचलेपछि र काम गरेको ठाउँबाट पनि तलब नपाएपछि अधिंकाश विदेश पलायन भएका छन् । दिनमा हजारौं नेपाली युवा खाडी मुलुक गएका छन् । पैसा हुनेहरु अमेरिका, अस्ट्रेलिया गएका छन् । अहिले अर्थविदहरु भन्छन्, ‘खाडी मुलुक गएकाले पठाएको रेमिट्यान्सले मुलुक चलेको छ । अमेरिका, अष्ट्रेलिया गएकाले त देश खोक्रो बनाएका छन् ।’ २०५० सालमा दुई सयमा पाइने कोठा अहिले १२ हजार पर्छ । ०४५ सालमा तीन हजारमा पाइने सटर अहिले १२ लाख पर्छ । यति महंगो भाडा पाइने भएपछि पैसा हुने र नहुने दुवैले जग्गा किनेर घर बनाए । आखिर बैंक तथा वित्तीय संस्था वा व्यक्तिबाट मिटरब्याज कर्जा लिएर नै किन नहोस् । सबैमा घर बनाउने रहर चल्यो । विदेश गएकादेखि व्यापार व्यवसाय गर्ने, सरकारी जागिर खाने र राजनीति गर्ने समेतले जग्गा किनेर घर बनाई भाडामा लगाएको पाइन्छ । अहिले एउटै घरमा पाँच वटा सटर बनाइएको देखिन्छ । त्यस्तै, एउटै घर पाँच तल्लेदेखि १८ तल्लेसम्म छ । पाँच सटरमध्ये एउटा सटर भाडामा भएपनि चार वटामा टु–लेट लेखिएको भेटिन्छ । कोठा, फ्ल्याट पनि खाली छन् । अहिले घरधनीहरुलाई रातभर निन्द्रा लाग्दैन । भाडामा लगाउन बैंकबाट ऋण लिइलिइ बनाएको घर पूरै खाली भएपछि उनीहरुको भोक, निन्द्रा र तिर्खा नै मेटिएको छ । दुई वर्षअघि एउटै घरधनीले आफ्नो घर भाडामा लगाएर मासिक लाखदेखि करोडसम्म उठाउँछन् तर, राज्यलाई घरबहाल अनुसार कर तिर्दैनन् । घरधनीको जिब्रोमा कोठा, फ्ल्याट र सटरको मूल्य हुन्छ । महिनाको शुरुवातमा नै भाडा माग्छन् । पैसा लिन्छन् तर बिल दिँदैनन् । मागेजति भाडा नदिए पुरानोलाई निकालेर नयाँ डेराबहाललाई पहिलाभन्दा दोब्बर भाडामा लगाउँछन् । दुई तल्लाको नक्सा पास गरी पाँच तल्लाको घर बनाएका छन् । घरका कोठा, फ्ल्याट र सटर सबै भाडामा लगाउँछन् तर, वडा र नगरपालिकामा गएर घरमा सबै आफन्त बसेको भन्दै ढाँट्छन् । डेराबहालकोमा पाहुना आएमा जुत्ता गन्न आइपुग्थे घरधनीहरु । बच्चा भएको, बुढाबुढी, एक्लो महिला, विद्यार्थी, अपांग र तल्लो जातको मानिसलाई कोठा दिदैँनन् घरधनीहरु । उपत्यकाभित्र एउटा कोठा पाउन छ महिना लाग्ने गथ्र्यो । आफुले खोज्न नसकेर कोठा खोज्ने अफिसलाई पाँच हजारदेखि २० हजारसम्म दिनुपर्छ । अहिले त जताततै ‘कोठा खाली छ’, ‘फ्ल्याट खाली छ’, ‘सटर खाली छ’ भनेर लेखिएको पोस्टरहरु देखिन्छ । घर धमाधम खाली हुन थालेपछि घरधनीहरुले एकातिर मासिक भाडा उठाउन पाएका छैनन्, अर्कोतिर घर पूरै खाली भएपछि त्यँही घरले तर्साएको छ । फेरि घर पनि बैंकको नाममा छ । बैंकबाट लिएको कर्जाको महिनामहिनामा किस्ता तिर्नुपर्छ । भाडामा बस्ने मान्छे नभएपछि बैंकलाई कसरी किस्ता तिर्ने ? मुलुकभर ९५ प्रतिशत मानिसहरुको घर र सवारीसाधन बैंकको नाममा छ । हिजो घरजग्गाको मूल्य बढिरहन्छ भनेर मानिसहरुले बैंकबाट लोन लिएर जग्गा किनी घर बनाए । दुई वर्षअघि तीन करोडमा किनेको घरजग्गा अहिले लाखौंमा बिक्री नभएको पनि सुनिन्छ । एकतर्फ, घरजग्गाको मूल्य घटेको घटयै छ, अर्कोतर्फ बैंकले किस्ता तिर्न दबाब दिएको दियै छ । फेरि घर बेच्यौं बिक्री हुन्न, बैंकको ऋण तिरौं त पैसा छैन । ८०/८५ वर्षका वृद्धाहरुले सार्वजनिक स्थलमा बसेर कुरा गरिरहेका हुन्छन् कि २०३५ सालमा काठमाडौंको बगरमहलदेखि तीनकुनेसम्मको जग्गा रोपनीको ५० हजारमा पाइन्थ्यो । त्यतिबेला यो जमिन पूरै खेत रहेको उनीहरु बताउँछन् । एक रोपनी जमिनमा १६ आना हुन्छ । यँही ठाउँको जग्गा तीन वर्षअघि आनाको छ करोडमा बिक्री भएको स्थानीयबासिन्दाहरु बताउँछन् । ०३५ सालमा ५० हजारमा किनेको जग्गा तीन वर्षअघि ९६ करोडमा बेचियो । ५० हजारमा बेच्नेलाई ९६ करोड घाटा भयो त ५० हजारमा किन्नेलाई ९६ करोड नाफा भयो । तर, यँहीको ठाउँको जग्गा तीन वर्षअघि ६ करोडमा किनिएकोमा अहिले बेच्छुभन्दा ४० देखि ४५ लाखसम्ममा किन्ने मान्छे समेत नभेटिने बताइन्छ । ०३१/०३२ सालमा नेपालले अन्य मुलुकमा खाद्यान्न निर्यात गर्ने गथ्र्यो । यति मात्र नभई अनुदानमा समेत खाद्य दिने गथ्र्यो । ०४१/०४२ सालदेखि जग्गा दलाली तथा भूमाफियाहरुले जग्गाको खण्डीकरण गर्न सुरु गरे । त्यसअघि उपत्यकाभित्र तथा बाहिर सबै खेतीयोग्य जमिन थिए । बारीका पाटा थिए । जग्गा दलालीहरुले आनाको हजार रुपैयाँमा खेतीयोग्य जमिन किनी खण्डीकरण गरेर आनाकै लाखदेखि करोडसम्ममा बेचे । अहिले ९० प्रतिशत खेतीयोग्य जमिन खण्डीकरण गरेर घर बनाएर मासिसकेको छ । पाँच प्रतिशत जमिन बाँझो छ अनि बाँकीमा खेतीपाती गरिएको छ । मुलुकमा भोकमारीको संकट देखा परिसकेको छ । खाद्य संकट निम्तिन चिन्ता बढ्दो छ । व्यक्ति वा बैंक तथा वित्तिय संस्थाको लगानी घरजग्गा, गाडी र सेयरमा छ । दलालीहरुले बैंकले सय रुपैयाँमा निष्काशन गरेको सेयर ३५ सयमा बेचे । भारतले एक लाखमा बनाएको गाडी नेपालमा २० लाखमा बेचियो । अहिले सेयरको कारोबारमा दिनहुँ गिरावट आएको छ । सवारीसाधन किनबेचमा पनि मन्दी छ । यसले गर्दा बैंक तथा वित्तीय संस्थाको लगानी जोखिममा परेको छ । घरजग्गा, गाडी र सेयरमा गरेको लगानीकै कारण सहकारीहरु रातारात भाग्नुपरेको थियो । बैंकको पनि त्यँही हालत हुने देखिन्छ । अहिले बजारमा घरजग्गा, गाडी र सेयर किन्ने कोही छैन । न त भाडामा बस्ने नै कोही छ ।

तालबाराही मन्दिर पुनः निर्माण थालियो

  पोखरा । पोखरा महानगरपालिका –६ बैदामस्थित फेवातालको मध्यभागमा अवस्थित प्रसिद्ध तालबाराही मन्दिरको पुनः निर्माण थालिएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले आज यहाँ आयोजित  कार्यक्रममा मन्दिरको जग पूजा गर्दै पोखराको गहनाको रुपमा चिनिएको फेवाताल र तालबाराही मन्दिरको संरक्षण गर्ने जिम्मेवारी पोखरेली र तीनै तहका सरकारको भएको बताए । उनले पुरानै स्वरुपमा मन्दिर पुनःनिर्माण गरी मन्दिरका बारेमा भावी पुस्तालेसमेत अध्ययन गर्ने थलो बन्न सक्ने छ भने । विसं २०७२ को गोरखा भूकम्पकै कारण भूइँतलासहित तीन तले मन्दिर तीन इञ्च दक्षिणतर्फ ढल्किएपछि ताल बाराहीमन्दिर गुठी व्यवस्थापन समिति पुनःनिर्माण कार्य जुटेको हो । समितिका अध्यक्ष हिक्मतबहादुर कुँवरले मन्दिर निर्माणको लागि रु एक करोड ४५ लाख लाग्ने जानकारी दिए । मन्दिर निर्माणका लागि पुरातत्व विभागबाट २५ लाख सहयोग प्राप्त हुनुको साथै प्रदेश, स्थानीय, सङ्घ सरकार र भक्तजनको सहयोगमा पुरानै स्वरुपमा कलात्मक ढाँचामा मन्दिर पुनः निर्माण गरिने कुँवरले बताए । पोखराको प्रमुख पर्यटकीय धार्मिक गन्तव्यका रूपमा स्थापित तालबाराही पुरानो मन्दिर भत्काइएको छ। पुरानो मन्दिर भत्काएसँगै अर्को चाँदीको मूर्तिमा प्राणप्रतिष्ठा गरी नजिकैको हवनकुण्ड रहेको स्थानमा पूजाआजा गरिँदै आइएको छ । पुरानो मन्दिर भत्काइए पनि बारही देवीको दर्शन गर्न दैनिक ठूलो सङ्ख्यामा दर्शनार्थी  त्यहाँ पुग्ने गर्छन । मन्दिर पुनःनिर्माणका लागि तालबाराही मन्दिर गुठी व्यवस्थापन समिति र पुरातत्व विभागबीच समन्वय गरी आवश्यक काम अगाडि बढाइने छ । मूल मन्दिर एक वर्षभित्र नै निर्माण सम्पन्न गर्ने योजनाका साथ समिति अगाडि बढेको जानकारी अध्यक्ष कुँवरले दिए । हाल भत्काइएको मन्दिर २०१७ सालमा बनाइएको थियो । पुरानै शैलीमा कालीगढ मगाएर मन्दिर पुनःनिर्माणसँगै यहाँको समग्र व्यवस्थापानका लागि रु नौ करोडको गुरुयोजनासमेत तयार गरिएको जानकारी तालबाराही मन्दिर पुनःनिर्माण परियोजनाका प्राविधिक संयोजक प्रा डा भरत पहारीले दिए । चार रोपनी क्षेत्रफलमा फैलिएको उक्त मन्दिर क्षेत्रलाई व्यवस्थित बनाउन मन्दिर पुनः निर्माणसँगै अन्य संरचना निर्माणका लागि नौ करोड  छुट्याइएको र मन्दिर परिसरका सम्पूर्ण संरचना दुई वर्षभित्र नै सम्पन्न गरिने जानकारी उनले दिए । उनका अनुसार मूल मन्दिर एक वर्षभित्र र सभाहल, शौचालय, गार्डेन, होमनस्थल, स्टोर कक्ष, पानीको फोहरा, ढुङ्गेधाँरा, डुङ्गाघाट गुरुयोजनामा छन् । मन्दिरको अस्तित्व सन् १६६७ देखि कायम रहिआएको पाइन्छ । कतै–कतै १४४७ देखि अस्तित्वमा रहेको भन्ने अभिलेखसमेत छ। कास्कीका तत्कालीन राजा कुलमण्डन शाहले मन्दिरमा खरको झुप्रो हालेर पहिलो पटक मन्दिर स्थापना गरेको इतिहास छ । प्राचीनकालमा माटाको ढिस्कामा एउटा शीला थियो, त्यहीँ मन्दिर स्थापना गरी बाराहीका रूपमा पूजाआजा गर्न थालिएको किंवबदन्ती छ । किंबदन्तीअनुसार तालको बीचमा टापु बनेको र त्यहीँ मन्दिर स्थापना गरिएको छ । तालबाराही मन्दिरले पर्यटन र धर्म दुवैलाई जोडेको छ । तालमा देखिने माछापुच्छ्रे हिमालको छायाँ र मन्दिर परिसरबाट देखिने हिमाली शृङ्खला, सराङकोट, विश्व शान्ति स्तूपजस्ता दृश्यले पर्यटक लोभिने गरेका छन् । प्राकृतिक मनोरम दृश्यको आनन्द लिन पाइने मात्र नभइ तालबाराहीको दर्शन गरेपछि चिताएको पुग्ने धार्मिक विश्वासले पनि यहाँ सर्वसाधारणको आकर्षण बढेको बताइएको छ । मन्दिर पुनः निर्माणका लागि पुरातत्व विभागले २५ लाख र मन्दिर व्यवस्थापन समितिले एक करोड १५ लाख जुटाउने सम्झौतामा उल्लेख छ । मन्दिर पुनः निर्माणका लागि आवश्यक पर्ने रकममध्ये मन्दिरको कोषमा अहिले ६५ लाख  रहेको र अपुग रकम पोखरा महानगरपालिका तथा अन्य सहयोगदातासँग सङ्कलन गरिने व्यवस्थापन समितिले जनाएको छ। फेवाताल २३ दशमलव ३० मिटर गहिराइ र चार दशमलव ४६ किलोमिटर लम्बाइ तथा दुई किलोमिटर चौडाइको छ । त्यही तालको एक धेरै पुरानो मन्दिर तालबाराही भगवतीको मन्दिर हो । यसमा पूजाआजाको प्रारम्भ विसं १४६७ बाट भएको हो । मन्दिर व्यवस्थापन समितिको स्थापना भने विसं २०५३ मा आएर मात्रै भएको थियो। हिकमतबहादुर कुँवरको नेतृत्वमा प्रथम व्यवस्थापन समिति बनेको थियो । तालको किनारबाट पाँच मिनेटभित्रै डुङ्गा चढेर बाराही मन्दिरसम्म पुग्न सकिन्छ । प्राकृतिक मनोरम दृश्यले यहाँ पुग्ने जो कोहीलाई आनन्दित तुल्याउनाका साथै तालबाराहीको दर्शन गरेपछि चिताएको पुग्ने धार्मिक विश्वासले पनि सबैलाई आकर्षित गरेको छ । रासस