‘१६औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६औं योजनामा एकीकृत पूर्वाधार निर्माण र सूचना प्रविधिको विस्तार तथा उपयोगमा विशेष जोड दिएको बताएका छन् । राष्ट्रिय विकास परिषद्को बैठकको बिहीबार उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले कृषिको व्यावसायीकरण, उत्पादनमूलक उद्योग, रोजगारमूलक शिक्षा तथा स्वास्थ्य क्षेत्रको गुणस्तर वृद्धिमा १६ औँ योजना केन्द्रित हुने बताएका हुन् । ‘पर्यटन प्रवर्द्धधन र आन्तरिक रोजगार अभिवृद्धि एवं एकीकृत बस्ती विकासमा उच्च प्राथमिकता दिनुपर्ने छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘यसका लागि योजनाले स्वदेशी तथा वैदेशिक लगानी अभिवृद्धिसहित युवा केन्द्रित शुरूआती पुँजी लगानीमार्फत नविनता र उद्यमशीलता विकासमा जोड दिन आवश्यक छ ।’ आर्थिक समृद्धिको सम्वाहकका रूपमा निजी क्षेत्रलाई आत्मसात गर्दै सहकारी, सामुदायिक एवं गैरसरकारी क्षेत्र र विकास साझेदारलाई सहयोगी भूमिकामा योजनाले अङ्गीकार गरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले सोच, लक्ष्य र लगानीको अनुमान उपयुक्त हुनेगरी योजना तयार हुने विश्वास व्यक्त गरे । योजना सफल कार्यान्वयनका लागि तीनै तहका सरकारको सहकार्य, सहयोग र समन्वय अपरिहार्य रहनुपर्ने बताउँदै प्रधानमन्त्री प्रचण्डले पर्याप्त लगानी तथा सार्वजनिक खर्च जुटाउनका लागि सबै तहका सरकारले विवेकपूर्ण राजस्व परिचालन गर्नुपर्नेमा जोड दिए । ‘योजना अवधिमा विभिन्न स्रोतको साथै निजी क्षेत्रको ठूलो लगानीको अनुमान गरिएको छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘यस क्षेत्रको भूमिकालाई प्रभावकारी बनाउन लिइएका लक्ष्य, उद्देश्य तथा रणनीतिबाट योजना अवधिमा लगानी, उत्पादन, उत्पादकत्व र रोजगारी अभिवृद्धि गरी आर्थिक क्रियाकलाप विस्तारमा सहयोग पुग्ने अपेक्षा छ ।’ सबै पक्षलाई समेटेर नियमित र नतिजामूलक अनुगमन तथा मूल्याङ्कन प्रणाली विकास गरी कार्यान्वयनमा जोड दिनुपर्ने बताउँदै प्रधानमन्त्रीले अब आर्थिक सुधारको एकीकृत ढाँचा राष्ट्रिय योजना आयोगले सबैं निकायको समन्वयमा तयारगरी कार्यान्वयन गर्ने विश्वास व्यक्त गरे । प्रधानमन्त्री प्रचण्डले भने, ‘तीनै तहका सरकार, निजी क्षेत्र, सहकारी र विकास साझेदार लगायतका सबैको सहकार्य र प्रभावकारी समन्वयबाट योजनाले लिएको औसत आर्थिक वृद्धि हासिल हुनुका साथै अन्य सामाजिक तथा पर्यावरणीय लक्ष्य हासिल हुनेमा म विश्वस्त छु ।’

भन्सार छलेर ल्याइएको १६ लाख बराबरको सामान बरामद

महेन्द्रनगर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको १६ लाख रुपैयाँबराबरको अवैध सामान प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक उमेश जोशीका अनुसार दुई दिनयता भारतबाट भन्सार छली गरेर ल्याएको गहुँ, ट्रली र दैनिक उपभोग्य सामाग्री बरामद गरिएको हो । बरामद गरिएका सामाग्री कञ्चनपुर भन्सार कार्यालयको जिम्मा लगाइएको छ । ‘भारतबाट भन्सार छलेर ल्याइएका सामाग्री बरामद गरेर भन्सारको जिम्मा लगाउँदै आएका छौँ,’ प्रहरी नायब उपरीक्षक जोशीले भने । प्रहरीले चालु आर्थिक वर्ष २०८०/८१ को हालसम्ममा कञ्चनपुरमा चार करोड रुपैयाँभन्दा बढीको भन्सार छलीको सामान बरामद गरी भन्सार कार्यालयलाई बुझाएको छ ।

बैंकरका सामू राष्ट्र बैंक स्तब्ध

काठमाडौं । बैंकरहरूका सामू नेपाल राष्ट्र बैंक स्तब्ध भएको छ ।  नेपाल राष्ट्र बैंकको ६९औँ वार्षिकोत्सवका अवसरमा आयोजित मैत्रीपूर्ण फुटसल प्रतियोगितामा बैंकरहरूले राष्ट्र बैंकलाई हराउँदै स्तब्ध पारेकाे हाे । राष्ट्र बैंकको उच्च व्यवस्थापन र बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरूबीच बुधबार भएकाे मैत्रीपूर्ण फुटसल प्रतियोगितामा बैंकर्सले ५-२ गोलले जित हासिल गरेका हुन् । बैंकर्सको टिमबाट कृषि विकास बैंकका सीईओ गोविन्द गुरूङले २ गोल गरेका छन् भने नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ ज्योति प्रकाश पाण्डे, माछापुच्छ्रे बैंकका सीईओ सन्तोष कोइराला र ग्लोबल आइएमई बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी (सिनियर डीसीईओ) सुमन पोखरेलले एक/एक गोल गरे । राष्ट्र बैंककाे तर्फबाट डेपुटी गभर्नर बम बहादुर मिश्र र कार्यकारी निर्देशक ऋषिकेश भट्टले एक/एक गोल गरे । राष्ट्र बैंककाे टिमबाट डेपुटी गभर्नर मिश्र, कार्यकारी निर्देशक भट्ट, पिताम्बर भण्डारी, प्रदीपराज पौड्याल, नरेश शाक्य, रेवती प्रसाद नेपाल, रामु पौडेल, गुरू प्रसाद पौडेल, बिमल राज खनाल र निर्देशक राम प्रसाद गौतम र राजनबिक्रम थापाले फुटसल खेलेका थिए । बैंकरहरूको टिममा वाणिज्य बैंकबाट ६ जना, विकास बैंकबाट २ जना र फाइनान्स कम्पनीबाट ३ जना सीईओले खेलेका थिए ।  गत वर्षको मैत्रीपूर्ण खेलमा राष्ट्र बैंकले बैंकरहरूलाई हराएको थियो । यस पटक भने बैंकरहरूले  जित हासिल गर्दै गत वर्षकाे बदला लिएका हुन् ।