एक हप्तापछि नेप्सेमा छायो हरियाली, आज पनि शिवम् सिमेन्टको उच्च कारोबार

काठमाडौं । एक हप्ता निरन्तर ओरालो लागेको सेयर बजारमा सोमबार भने हरियाली छाएको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार सोमबार नेप्से २१.२६ अंकले वृद्धि भएर १९०४.४३ विन्दुमा पुगेको छ । नेप्सेको अनुसार कूल दुई सय २५ कम्पनीको २४ लाख ५२ हजार ८४ कित्ता सेयर ९४ करोड ६० लाख ८९ हजार ५२१ मूल्यमा खरिद बिक्री भएका छन् । यस्तै, कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । उक्त कम्पनीको १० करोड ९६ लाख ४३ हजार बराबरको कारोबार भएको छ । हिमालयन डिस्टिलरीको ८ करोड ९९ लाख, न्याग्दी ग्रुप पावरको ७ करोड ८३ लाख, गुराँस फाइनान्सको दुई करोड ५३ लाख र नेष्डो लाघुवित्तको दुई करोड ४७ लाख मूल्यमा खरिद बिक्री भएका छन् । नेप्सेको अनुसार सार्वधिक कमाउनेमा तारागाउँ रिजेन्सी रहेको छ । यसपछि क्रमश सप्तकोशी डेभलपमेन्ट बैंक, बुद्ध भुमी नेपाल हाइड्रोपावर, रिभर फल्स र लिबर्टी इनर्जी कम्पनी रहेको छ ।

लाभांश पारित गर्न युनिलिभर नेपालले बोलायो साधारणसभा

काठमाडाैं । युनिलिभर नेपालले लाभांश पारित गर्नकाे लागि वार्षिक साधारणसभा बाेलाएकाे छ । कम्पनीले मंसिर २० गतेकाे लागि २९ औं वार्षिक साधारण सभा बाेलाएकाे हाे । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीलाई प्रतिसेयर १२१५ रुपैयाँ लाभांश दिने घाेषणा गरेकाे छ । कात्तिक १६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो । बैठकको प्रस्तावलाई कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् । कम्पनीले आगामी मंसिर ४ गतेदेखि मंसिर २० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । यससँगै मंसिर ३ गतेसम्म कायम सेयरधनीले सो मात्राको लाभांश पाउने छन् । उक्त लाभांश विगत ४ वर्ष यताकै उच्च हो । कम्पनीले आव २०७३/७४ को नाफाबाट सेयरधनीलाई प्रतिसेयर १ हजार २७० रुपैयाँ लाभांश वितरण गरेको थियो । त्यसयता कम्पनीले प्रतिकित्ता क्रमशः ७००, ७७०, १०० र ६५० रुपैयाँ लाभांश वितरण गरेको थियो ।

प्रतिकित्ता १ सय रुपैयाँमा राधी विद्युतको १३ लाख कित्ता सेयर बिक्रीमा

काठमाडौं । राधी विद्युत कम्पनीले अवितरित हकप्रद सेयर मंगलबारदेखि बिक्री खुला गर्ने भएको छ । कम्पनीले  कात्तिक २९ गते मंगलबारदेखि लिलामी मार्फत १३ लाख बढी कित्ता सेयर बिक्री खुला गर्ने भएको हो । कम्पनीले आफ्ना सेयरधनी सदस्यका लागि निष्कासन गरी बिक्री नभएको १३ लाख ५ सय २७ कित्ता सेयर लिलामी मार्फत बिक्री गरेको हो । कम्पनीले सेयरधनीहरुका लागि असोज ६ गतेदेखि असोज २५ गतेसम्म ९५ लाख ३५ हजार ७ सय ६० कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो । हकप्रदमा रितपूर्वक आवेदन दिने ३८ हजार ५ सय ५ जना सेयरधनीलाई ८२ लाख ३५ हजार २ सय ३३ कित्ता सेयर बाँडफाँड गरी बाँकी रहेको १३ लाख ५ सय २७ कित्ता सेयर लिलामी मार्फत बिक्रीमा ल्याएको कम्पनीले जनाएको छ । कम्पनीले खुल्ला गर्न लागेको लिलामी सेयरमा लगानीकर्ताले न्यूनतम १ सय कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले आवेदन बोलपत्र पेश गर्दा न्यूनतम १ सय रुपैयाँ वा सो भन्दा बढी बोलकबोल गर्नुपर्नेछ । कम्पनीको उक्त सेयरमा मंसिर ७ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको उक्त सेयर बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ । कम्पनीको उक्त सेयरमा काठमाण्डौको नक्सालस्थित मुक्तिनाथ क्यापिटलको कार्यालय तथा मुक्तिनाथ विकास बैंकका शाखाहरु ठिमी, कुमारीपाटी, इटहरी, विराटनगर, इलाम, बिर्तामोड, वीरगन्ज, जनकपुर, नारायणगढ, हेटौँडा, पृथ्वीचोक (पोखरा), बागलुङ, बुटवल, नेपालगन्ज, तुलसीपुर, सुर्खेत, धनगढी र महेन्द्रनगरबाट पेश गर्न सकिनेछ ।