एकर्ड फर्मास्युटिकल्सले आइपीओ जारी गर्ने

काठमाडौं । एकर्ड फर्मास्युटिकल्सले सर्वसाधारणको लागि आइपीओ जारी गर्ने भएको छ । कम्पनीले सर्वसाधरणको लागि सात करोड ६ लाख ९० हजार रुपैयाँ बराबरको सात लाख ६ हजार ९०९ कित्ता सेयर जारी गर्ने भएको हो । कम्पनीले यसको लागि एनआईबिएल एस क्यापिटललाई  प्रत्याभूतिकर्ता नियुक्त गरेको छ ।उक्त सम्झौतामा एकर्ड फर्मास्युटिकल्सका तर्फबाट प्रबन्ध निर्देशक बिशाल पण्डित तथा एनआईबिएल एस क्यापिटलका तर्फबाट नायब महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका छन्। एकर्ड फर्मास्युटिकल्स औषधि उत्पादन गर्ने उद्योगका रुपमा सन् २०१३ मा दर्ता भएको कम्पनी हो । कम्पनीले काठमाडौं उपत्यकामा ठूलो लगानी तथा अत्याधुनीक उपकरण सहित बृहत् उद्योग सञ्चालनमा ल्याएको थियो रआफ्नो व्यावसायिक उत्पादन फेब्रुअरी २०२१ देखि शुरु गरी व्यवसायिक कारोबार सुभारम्भ गरेको थियो । यस कम्पनीको रजिष्टर्ड कार्यालय काठमाण्डौ स्थित सुबिधानगर, तीनकुनेमा रहेको छ ।

सेयर बजार अब मङ्गलबार मात्रै खुल्ने

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार अब यही मङ्सिर ६ गते मङ्गलबार मात्रै हुने भएको छ । आज शुक्रबार कारोबार बन्द छ । शनिबार, आइतबार र सोमबारसमेत सार्वजनिक बिदा दिइएकाले शेयर कारोबारसमेत बन्द हुने नेपाल स्टक एक्सचेञ्ज लिमिटेडले जनाएको छ । मङ्सिर ४ गते आइतबार प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदैछ । सरकारले निर्वाचनलाई केन्द्रमा राखेर ४ र ५ गते बिदा सार्वजनिक बिदा दिएको छ । त्यसकारण सेयर कारोबार पनि ती दिनमा नहुने भएको हो । पछिल्ला दिनमा निर्वाचनको माहोल बढ्दै जाँदा त्यसको सकारात्मक प्रभाव बजारमा परेको थियो । वैदेशिक मुद्राको सञ्चितिमा वृद्धि भएको, शोधनान्तर नाफामा रहेको तथा विप्रेषण आप्रवाहमा उल्लेख्य सुधार भएलगायतका कारणले पनि मुलुकको अर्थतन्त्रमा सुधार भएको छ । त्यसको सकारात्मक प्रभाव शेयर बजारमा देखिएको हो । मङ्सिर १ गते बिहीबार शेयर कारोबार मापक नेप्से परिसूचक २५ दशमलव ५७ अङ्कले उकालो लागेर एक हजार नौ सय ३६ दशमलव ८३ मा पुगेको थियो । बिहीबारको कारोबारपछि बजार पूँजीकरण रु २७ खर्ब ८६ अर्ब दुई करोड ३४ लाख ५१ हजार तीन सय ८७ बराबर रहेको थियो ।

दुई वाणिज्य बैंकको सेयर कारोबार फुकुवा, मंगलबारदेखि किनबेच गर्न पाइने

काठमाडौं । मर्जर प्रकृयामा रहेका नेपाल इन्भेष्टमेन्ट बैंक मेगा बैंकको सेयर कारोबार फुकुवा भएको छ । मंसिर १ गतेको निर्णय अनुसार नेपाल स्टक एक्स्चेञ्जले यी दुई वाणिज्य बैंकको सेयर कारोबार फुकुवा गरिदिएको हो । नेप्सेले आधारभूत सेयरधनी बाहेकको सेयरधनीको सेयर फुकुवा गरेको जानकारी गराएको छ । यससँगै अब बजार खुलेसँगै यी दुई बैंकको सेयर किनबेच गर्न पाइने छ । दोश्रो बजार अब निर्वाचन पछि अर्थात मंसिर ६ गते मंगलबार मात्रै खुल्ने छ । यी दुई बैंकले एक आपसमा मर्जमा जानको लागि २०७९ जेठ २७ गते प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । सो प्रयोजनको लागि नेप्सेले जेठ २८ गतेदेखि यी दुई बैंकको सेयर कारोबार रोक्का गरिदिएको थियो ।