लाभांश पारित गर्न इन्भेष्टमेन्ट बैंकले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले आगामी पुस ७ गते वार्षिक साधारण सभा आव्हान गरेको छ । बैंकले लाभांश पारित गर्ने प्रस्तावसहित आफ्नो ३६औं वार्षिक साधारण सभा डाकेको हो । सभाले सेयरधनीलाई गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको कूल ११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्दै छ । सभाले पारित गरेपश्चात बैंकका सेयरधनीले ७ प्रतिशत नगद (करसहित) र ४ प्रतिशत बोनस सेयर पाउने छन् । हाल बैंकको चुक्ता पुँजी १८ अर्ब ३० करोड रुपैयाँ छ । त्यस्तै, सभामा जानको लागि बैंकले आगामी मंसिर २१ गतेदेखि पुस ७ गतेसम्म बुक क्लोज गर्दै छ । यससँगै मंसिर २० गतेसम्म कायम सेयरधनीले बैंकको प्रस्तावित लाभांश पाउने छन् ।
नेपाल हाइड्रो डेभलपरको लाभांश घोषणा, २ वर्ष यताकै कम
काठमाडौं । नेपाल हाइड्रो डेभलपरले गत आर्थिक वर्षको सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको सञ्चालक समितिको ११ गते बसेको बैठकले ५.२६३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र ०.२६३२ प्रतिशत नगद गरी कूल ५.२६३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको चुक्ता पूँजी ३१ करोड ९९ लाख ३० हजार रुपैयाँ रहेको छ । कम्पनीले १ करोड ५९ लाख ९६ हजार रुपैयाँ बराबरको बोनस सेयर र ८ लाख ४१ हजार ९२१ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले प्रस्तावित लाभांश आगामी १६ औं वार्षिक साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरुलाई वितरण गरिनेछ । कम्पनीले आर्थिक वर्ष २०७७/७८ मा ७ प्रतिशत बोनस सेयर र ०.३६८४ प्रतिशत नगद गरी कूल ७.३६८४ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, आर्थिक वर्ष २०७६/७७ मा कम्पनीले सेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर र ०.७८९५ प्रतिशत नगद गरी कूल १५.७८९५ प्रतिशत लाभांश वितरण गरेको थियो ।
सेन्चुरी बैंकको सेयर कारोबार खुल्ला
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सेन्चुरी कमर्शियल बैंकको सेयर कारोबार फुकुवा गरेको छ । नेप्सेले आधारभूत सेयरधनीबाहेकको सेयर कारोबार फुकुवा गरेको जनाएको छ । नेपाल धितोपत्र बोर्डले जारी गरेको ‘धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने र गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९’ बमोजिम बैंकको सेयर कारोबार फुकुवा गरिएको नेप्सेले जनाएको छ । प्रभुसँग मर्जरमा जाने सम्झौता गरेपछि नेप्सेले सेन्चुरी र प्रभु दुवैको सेयर रोक्का गरेको थियो । दोस्रो बजारमा बैंकको सेयर मूल्य प्रतिकित्ता १९३ रुपैयाँ रहेको छ । सोही मूल्यका आधारमा सोमबारदेखि सेन्चुरी बैंकको बजारमा कारोबार हुनेछ ।