नेपाल टेलिकमको ४० प्रतिशत लाभांश घोषणा, डाक्यो साधारण सभा
काठमाडौं । नेपाल दुरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले सेयरधनीहरुलाई लाधांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले गत बर्षको नाफाबाट सेयरधनीहरुलाई ४० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक बर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ४० प्रतिशत नगद लाभांश मात्र वितरण गर्ने प्रस्ताव गरेको हो । लाभांश प्रस्ताव पारित गर्न सञ्चालक समितिको बैठकले १५ औँ वार्षिक साधारण सभा पुस २८ गते राष्टिय सभागृह, काठमांडौमा बिहान १० बजेद बोलाएको छ । सभाले सञ्चालक समितिको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरण र आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक पनि तोक्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ पुस १८ गतेदेखि पुस २७ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले पुस १७ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भइ कायम सेयरधनीहरुले मात्र कम्पनीको साधारण सभामा सहभागी भइ लाभांश प्राप्त गर्न सक्नेछन् ।
कालिका पावरको १५.७९ प्रतिशत लाभांश घोषणा
काठमाडौं । कालिका पावर कम्पनीले सेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको पुस ६ गते बसेको संचालक समितिको बैठकले सेयरधनीहरुलाई १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७८९५ प्रतिशत नगद गरी कूल १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । साथै कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारण पुस २८ गते शुक्रवार, बिहान ११ बजे, भरतपुर चितवनमा बोलाएको हो । कम्पनीको हाल कायम चुक्ता पूँजी ६९ करोड रुपैयाँको १० करोड ३५ लाख रुपैयाँको बोनस सेयर र ५४ लाख ४७ हजार ५५० रुपैयाँ नगद लाभांस वितरण गर्न स्वीकृत गर्नेछ । कम्पनीको सभाले प्रबन्धपत्रको दफा र नियमावलीको नियम संसोधन गर्ने, प्रबन्धपत्र तथा नियमावलीमा नियमाकबाट थपघट परिवर्तन वा संशोधनको निर्देशन भएमा सोही बमोजिम गर्नका लागि संचालक समितिलाई अख्तियारी दिनेछ । कालिका कन्स्ट्रक्सनअन्तर्गतको गोरखाको दरौदी खोलामा प्रस्तावित माथिल्लो दरौदी वि. साना जलविद्युत आयोजना (८.३ मेगावाट) र माथिल्लो दरौदी सि.साना जलविद्युत आयोजना (९.८२ मेगावाट) खरीद गर्ने निर्णय लिन संचालक समितिलाई अख्तियारी दिनेछ । यस्तै, संचालक समितिको वार्षिक प्रतिवेदन, लेखापरिक्षकको प्रतिवेदन, आर्थिक वर्ष २०७९÷८० का लागि लेखापरिक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने, संचालक समितिले गत वर्ष गरेका निर्णयहरु र कम्पनीको सर्वसाधारण सेयरधनी समुहमा प्रतिनिधित्व हुने २ जना संचालक र १ जना स्वतन्त्र संचालकको निर्वाचन गर्नेछ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ पुस १७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले पुस १४ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भइ कायम सेयरधनीहरुले मात्र कम्पनीको साधारण सभामा सहभागी भइ लाभांश प्राप्त गर्न सक्नेछन् ।
छुट्ला है, सुपर मादीको आईपीओमा आवेदन दिने अन्तिम समय आज
काठमाडौं । सुपर मादी हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । गत मंसिर २० गतेदेखि निष्काशन गरेको आईपीओमा आज पुस ७ गते अन्तिम दिन हो । यसअघि पुस २० गतेसम्म आवेदन दिन पाइने भएपनि मागभन्दा बढी आवेदन परेपछि आज बन्द गर्ने कम्पनीले जनाएको छ । कम्पनीले जारी पूँजी २ अर्ब १० करोड रुपैयाँ बराबरको १५ प्रतिशत अथार्त ३१ करोड ५० लाख रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ३१ लाख ५० हजार कित्ता सेयर निष्काशन गरेको हो । जसमध्ये आयोजना अति प्रभावित क्षेत्र कास्की जिल्लाको मादी गाउँपालिकाको वडा नं. १ र २ का स्थानीय बासिन्दाहरुको लागि ३ लाख १५ हजार कित्ता, आयोजना प्रभावित क्षेत्र कास्की जिल्लाको मादी गाउँपालिकाका अन्य वडा नं. ३, ४, ५, ६, ७, ८, ९, १०, ११ र १२ तथा पोखरा महानगरपालिका वडा नं. २६, २७ र २८ का स्थानीय बासिन्दाहरुको लागि ७ लाख ३५ हजार कित्ता निष्काशन गरेको हो । कम्पनीले पुस ५ गतेसम्म २१ करोड रुपैयाँ बराबरको २१ लख कित्ता मध्ये १० प्रतिशत अर्थात् २ लाख १० हजार कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि निष्काशन गरिसकेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले एनसीसी बैंक, कुमारी बैंक, माछापुच्छ्रे बैंक, सानिमा बैंकका तोकिएका शाखा कार्यालय र आयोजना स्थलबाट आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारमा रहेका नेपालीहरुले भने नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरी सम्पूर्ण आस्बा सेवा दिइरहेका बैंक तथा वित्तीय संस्था र तिनका तोकिएको शाखा कार्यालयबाट सि आस्बा प्रणालीबाट आवेदन दिन सक्नेछन् ।