सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-३ मा आवेदन दिने समय थप
काठमाडौं । सिद्धार्थ क्यापिटलले चैत २६ गतेदेखि बिक्री खुला गरेको सिद्धार्थ इन्भेष्टेमन्ट ग्रोथ स्किम–३ मा आवेदन दिने समय लम्बिएको छ । सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सिद्धार्थ इन्भेष्टेमन्ट ग्रोथ स्किम–३ मा बैशाख १० गतेसम्म आवेदन दिन सकिने भएको हो । क्यापिटलले १० वर्ष अवधिको १२ अर्ब रुपैयाँ बराबरको बन्दमुखी योजना बिक्री गरेको हो । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका १२ करोड इकाई बिक्री गरेको हो । जसमध्ये १० प्रतिशत अर्थात् १ करोड २० लाख इकाई कोष प्रबद्र्धक सिद्धार्थ बैंकलाई, ५ प्रतिशत अर्थात् ६० लाख इकाई कोष व्यवस्थापक सिद्धार्थ क्यापिटललाई र बाँकी १० करोड २० लाख इकाई सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरेको हो । क्यापिटलको फण्डमा लगानीकर्ताले न्यूनतम १ सय इकाईदेखि अधिकतम १ करोड २० लाख इकाईसम्म खरिद गर्न सकिनेछ । क्यापिटलको फण्डमा पूर्ण आवेदन नपरेको हुँदा बैशाख १० गतेसम्म आवेदन दिन समय लम्बिएको छ । फण्ड निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ । सो फण्डमा लगानीकर्ताले स्वीकृती प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।
११ प्रतिशत ब्याज पाइने महालक्ष्मी विकास बैंकको ऋणपत्र बिक्री खुला
काठमाडौं । महालक्ष्मी विकास बैंकले आज चैत २९ गतेदेखि १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको छ । बैंकले १० वर्ष अवधिको वार्षिक ११ प्रतिशत ब्याजदरमा ‘११ प्रतिशत महालक्ष्मी डिबेन्चर २०८९’ बिक्री गरेको हो । बैंकले प्रतिऋणपत्र १ हजार अंकित मूल्य दरका १० लाख कित्ता ऋणपत्र बिक्री गरेको हो । जसमध्ये ६० प्रतिशत अर्थात् ६ लाख कित्ता व्यक्तिगत र ४० प्रतिशत अर्थात् ४ लाख कित्ता सर्वसाधारणलाई बिक्री खुला गरेको हो । सर्वसाधारणलाई बिक्री गरिने ऋणपत्रमध्ये २० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको बैंकले जनाएको छ । बैंकको ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि सम्पूर्ण कित्तासम्म आवेदन दिन सक्नेछन् । बैंकको ऋणपत्रमा छिटोमा बैशाख ४ गतेसम्म आवेदन दिन सकिनेछ । यदि सो समयमा पूर्ण आवेदन नपरेमा आवेदन दिने समय २०८० बैशाख १३ गतेसम्म लम्बिनेछ । बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ । लगानीकर्ताले स्वीकृती प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र मेरो सेयरबाट आवेदन दिन सक्नेछन् । इक्रा नेपालले बैंकलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी प्लस रेडिङ्ग प्रदान गरेको छ । यसले मध्यम कर्जा जोखिम रहेको संकेत गर्दछ ।
आरकेडी होल्डिङ्सले आइपीओ जारी गर्ने
काठमाडौं । आरकेडी होल्डिङ्स कम्पनीले पनि आइपिओ निष्कासन गर्ने भएको छ । कम्पनीको छैटौँ साधारणसभाले सर्वसाधरणका लागि आइपिओ जारी गर्ने निर्णय गरेको हो । कम्पनीको पूँजी वृद्धि, स्थानीयवासी तथा सर्वसाधरणलाई लगानीको अवसर दिने उद्देश्यले आइपिओ जारी गर्न साधारणसभाले अनुमति दिएको कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए । स्थानीयवासी र वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी, सामूहिक लगानी कोष र सर्वसाधारणलाई समेत गरी १२ प्रतिशत सेयर दिने गरी आइपिओ जारी हुनेछ । यसबाहेक संस्थापक सेयरधनीहरुलाई १० प्रतिशत अग्राधिकार शेयर जारी गर्ने भएको छ । कम्पनीको अधिकृत पूँजी दुई अर्ब रहेको छ भने जारी पूँजी एक अर्ब ५० करोड रहेको छ । कम्पनीमा संस्थापक से यर पूँजी ७८ प्रतिशत रहेको छ । आरकेडी होल्डिङअन्तर्गत बन्दीपुर एन्ड टुरिज्मले पहाडकी रानी भनेर चिनिने बन्दीपुरमा केबुलकार र पाँचतारे होटल, स्काई वाक, बन्जी, जिपलाइन लगायतका पर्यटन पूर्वाधार निर्माण गरिरहेको छ । पञ्चासे केबुलकार एन्ड टुरिज्म मार्फत कास्की, पर्वत र स्याङ्जाको सिमानामा पर्ने पर्यटकीयस्थल पञ्चासेमा र बुढीमाँ छिम्केश्वरी केबुलकार मार्फत तनहुँको छिम्केश्वरीमा केबुलकार निर्माणको प्रक्रिया अगाडि बढाएको छ ।