दोल्ती पावरको आईपीओ बिक्री खुला, कति कित्ता खरिद गर्ने ?
काठमाडौं । दोल्ती पावर कम्पनीले आज चैत २८ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि जारी पूँजी ५३ करोड ६४ लाख ८६ हजार रुपैयाँको २० प्रतिशत अर्थात् १ करोड ७ लाख २९ हजार ८ सय रुपैयाँ बराबरको आईपीओ बिक्री गरेको हो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १० लाख ७२ हजार ९७२ कित्ता सेयर बिक्री गरेको हो । जसमध्ये १ लाख ७ हजार २९८ कित्ता वैदेशिक रोजगारीमा रहेको नेपाली र ६८ हजार १७ कित्ता सामूहिक लगानी कोषलाई बिक्री गरेर बाँडफाँट गरिसकेको छ । बाँकी १२ लाख ७१ हजार ८६१ कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् कम्पीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा २०८० वैशाख ३ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालय र मेरो शेयरमार्फत आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । इक्रा नेपालले कम्पनीलाई इक्राएनपी आईआर डबल बी रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।
सोमबार शिवमको सर्वाधिक कारोबार, दुई कम्पनीमा सर्किट, अधिकांश समूहमा छायो हरियाली
काठमाडौं । सोमबारको सेयर बजारमा शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । दिनभरमा कम्पनीको ६ करोड ८४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । दिनभरको बजारमा कूल ९१ करोड १९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जुन अघिल्लो दिनको तुलनामा २४ करोड ७५ लाख रुपैयाँले घटी हो । सोमबार कूल २६१ वटा स्क्रीप्स कारोबार भएको सो दिनको बजारमाको २९ लाख ६० हजार कित्ता सेयर किनबेच भएको छ । त्यस्तै, सर्वाधिक कारोबार हुनेको दोश्रो सूचीमा सानिमा मिडिल तमोर हाइड्रोपावर रहेको छ । जसको एकैदिन ६ करोड ६५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको सेयर मूल्य पनि १० प्रतिशतले बढेर प्रतिकित्ता ३२४.५० रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा प्रतिकित्ता २९.५० रुपैयाँले बढी हो । बजारमा सानिमा मिडिल तमोर र कालिञ्चोक दर्शनको सेयर मूल्य सर्किट लेभलमा कारोबार भएको छ । सोमबार कालिञ्चोक दर्शनको सेयर मूल्य ९.९७ प्रतिशतले बढेर प्रतिकित्ता ३७७.१० रुपैयाँ पुगेको छ । सोमबारको नेप्से परिसूचक सामान्य अर्थात ५.५४ अंकले बढेर १८४४.०२ बिन्दुमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.३० प्रतिशतले बढी हो । त्यस्तै, कारोबारमा आएकामध्ये अधिकांश समूहमा हरियाली छाएको छ । सोमबार फाइनान्स बाहेक बाँकी समूह हरिया देखिएका हुन् । फाइनान्स समूह १.६३ अंकले घटेर १५४४.३० बिन्दुमा झरेको छ । बजारमा होटल्स एण्ड टुरिजम समूह सबैभन्दा बढी अर्थात ५३.५१ बिन्दुले बढेको छ ।
लगानीकर्ताको टोली पुगे धितोपत्र बोर्ड, अध्यक्ष हमाललाई बुझाए १० बुँदे माग
काठमाडौं । पुँजीबजारका लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमाललाई १० बुँदे माग बुझाएका छन् । लगानीकर्ताका विभिन्न तीन संघ संगठनले सोमबार बोर्डको कार्यालयमा गई हमाललाई बजार सुधारको लागि विभिन्न १० बुँदे माग बुझाएका हुन् । नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसी राम ढकाल, सेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष तारा प्रसाद फुल्लेल र नेपाल पुँजीबजार लगानीकर्ता संघका सुदुरपश्चिम संयोजक कुमार थापाको टोलीले उक्त मात्र पत्र बोर्डका अध्यक्षलाई बुझाएका हुन् । यस्ता छन् मागहरुः १. केहि समय अगाडी नेपाल धितोपत्र बोर्डबाट लगानीकर्ताहरूको प्रमुख मागको रुपमा रहेको नयाँ स्टक, ब्रोकर र कमोडिटी एक्सचेन्ज थप्ने प्रक्रिया प्रारम्भ भएकोमा सम्मानित सर्वोच्च अदालतमा रिट परी रोकिएको अवस्थामा धितोपत्र बोर्डका अध्यक्ष श्री रमेश कुमार हमालज्यू र लगानीकर्ताहरूको संयुक्त प्रयासमा उक्त रिट नै खारेज भएको हुनाले नयाँ स्टक, ब्रोकर र कमोडिटी एक्सचेञ्ज लाईसेन्सको काम यथासिघ्र प्रकृयामा लगि पूरा गरियोस । २. लगानीकर्ताहरूको बढ्दो सेयर खरिद विक्री लागतलाई न्यूनिकरण गर्न हाल रहेको महंगो ब्रोकर कमिसन तिर्दै आएकोमा बढिमा ०.१५ प्रतिशतबाट नबढ्ने गरी कमिसन दर तत्काल पुनरावलोकन गरियोस् । ३. डि. पी. चार्ज रकम २५ रुपैयाँ कायम भईरहेको अवस्थामा उक्त रकम पुनरावलोकन गरी बढिमा ५ रुपैयाँ कायम गरियोस् । ४. दीर्घकालिन लगानीकर्ता र अल्पकालिन लगानीकर्ताको वर्गिकरण गरी दीर्घकालको लागि ३ प्रतिशत र अल्पकालको लागि ५ प्रतिशत पूँजीगत लाभकर कायम गरियोस् । ५. दोश्रो बजारमा हुने अस्वाभाविक उतार चढावलाई न्यूनीकरण गर्न मार्केट मेकर, मार्केट डिलर, धितोपत्र व्यापारी तथा संख्यागत लगानीकर्ताहरूलाई छिटोभन्दा छिटो बजार प्रवेशको वातावरण श्रृजना गर्नु पर्ने । ६. अप्सन ट्रेडिङ, फ्युचर मार्केट, इन्ट्रा डे मार्केट र सर्ट सेलको कारोबार गर्ने व्यवस्था तत्काल लागु गरियोस् । ७. केवाईसी सुरु गरी भौतिक केवाईसीको अन्त्य गरियोस् । ८. ब्रोकर कम्पनी मार्फत सुरु गर्ने भनिएको मार्जिन लेन्डिङ्ग व्यवस्था अविलम्ब सुचारु गरियोस् । ९. नेपाल राष्ट्र बैंकले ल्याएको शेयर कर्जाको सिमा १२ करोड लागु गरिएकोमा उक्त १२ करोडको नीतिलाई तत्काल खारेजी गर्न विशेष पहल गरियोस् । १०. नेपाल राष्ट्र बैंकले ल्याएको सेयर कर्जाको भारित औषत दर १०० प्रतिशतनै कायम गर्न विशेष पहल गरियोस् ।