नेष्डो लघुवित्तको लाभांश पारिमार्जन, तत्काल कार्यान्वन नगर्ने
काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको लाभांश परिमार्जन भएको छ । नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम अब नेष्डोले बोनस सेयर र नगद गरी कुल १७.९३ प्रतिशत लाभांश वितरण गर्नुपर्ने भएको छ । नेष्डोले यसअघि ५० प्रतिशत बोनस सेयर र करसहित २३.६८ प्रतिशत नगद गरी कुल ७३.६८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो । यद्दपि, राष्ट्र बैंकको निर्णयलाई तत्काल कार्यान्वन नगर्ने कम्पनीले जानकारी गराएको छ । कम्पनीले नेपाल राष्ट्र बैंकको उक्त निर्णय २०७९ फागुन १० गते जारी संशोधित निर्देशनको व्यवस्थासँग स्पष्ट बाझिएको, इजाजत प्राप्त एउटै प्रकृतिका संस्थाबीच, एउटै आर्थिक वर्षको लाभांश स्वीकृति दिँदा समानता नभएको र नेपाल राष्ट्र बैंकबाट स्वीकृत लाभांशको जानकारीले सेयरधनीले पाउने प्रतिफलको अधिकार समेत हनन् हुन पुगेको बताएको छ ।
ईङवा हाइड्रोको आईपीओ बाँडफाँट
काठमाडौं । ईङवा हाइड्रोपावरले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारमा रहेका नेपालीहरुलाई बिक्री गरिएको आईपीओ बाँडफाँट गरेको छ । कम्पनीले बैशाख ४ गतेका दिन आईपीओ बाँडफाँट गरेको जनाएको छ । कम्पनीले जारी पूँजी ६० करोडको १० प्रतिशत अर्थात् ६ करोड रुपैयाँ बराबरको ६ लाख कित्ता आयोजना प्रभावित क्षेत्र ताप्लेजुङ्ग जिल्लाको सिदिङ्गवा गाउँपालिका वडा नं. ३, पाँचथर जिल्लाको याङवरक गाउँपालिका वडा नं. २ र वडा नं. ३ का बासिन्दाहरुलाई बिक्री गरेको थियो । यस्तै, वैदेशिक रोजगारमा रहेका नेपालीहरुलाई १ लाख २० हजार कित्ता सेयर बिक्री गरेको थियो । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई बैंकिङ्ग रहेको छ । कम्पनीको आईपीओ रिजल्ट नेपाल एसबिआई बैंकिङ्गको वेवसाइट nsmbl.com.np, कम्पनीको वेवसाइट https://www.ingwahydropowerltd.com.np/ र सिडिएस एण्ड क्लियरिङ्गले आईपीओको रिजल्ट हेर्न सञ्चालनमा ल्याएको वेवसाइट https://iporesult.cdsc.com.np/ बाट हेर्न सकिनेछ ।
सिटि होटलको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । सिटि होटलको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपाली लगानीकर्ताले आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले चैत २१ गतेदेखि बिक्री खुला गरेको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आज बैशाख ५ गते आवेदन दिने अन्तिम दिन हो । कम्पनीले जारी पूँजी १ अर्ब ६७ करोड ४० लाख रुपैयाँको १० प्रतिशत अर्थात १६ करोड ७४ लाख रुपैयाँ बराबरको १६ लाख ७४ हजार कित्ता सेयर बिक्री गरेको हो । जसमध्ये १ लाख ६७ हजार ४ सय कित्ता सेयरमा विदेशमा रोजगारी गरिरहेका नेपालीलाई छुट्याइएको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा २ हजार कित्ता सेयरसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ । लगानीकर्ताले स्वीकृत प्राप्त सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालय र मेरो शेयरबाट कम्पनीको सेयर खरिद गर्न सकिनेछ । केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।