सरकार पनि सेयरमा डुब्यो, वार्षिक प्रतिफल १.१८% मात्र

काठमाडौं । सेयरमा लगानी गर्दा नेपाल सरकार पनि डुबेको छ । सरकारले ११४ वटा कम्पनी ३ खर्ब ५७ अर्ब ६३ करोड ८९ लाख रुपैयाँ बराबरको सेयर लगानी गरेको छ । त्यसबाट सरकारले आर्थिक वर्ष २०७८/७९ मा १.१८ प्रतिशत मात्र नगद लाभांश पाएको छ । सरकारले ११४ कम्पनीमा सेयर लगानी गरेकोमा ९ वटा कम्पनीले नगद लाभांश दिएका छन् । १०५ वटा कम्पनीमा गरिएको सेयर लगानीबाट सरकारले लाभांश पाउन नसकेको हो । गत आवमा ९ कम्पनीले सरकारलाई ४ अर्ब २४ करोठ ३७ लाख रुपैयाँ नगद लाभांश दिएका छन् । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ६६.७२ प्रतिशत कम रहेको महालेखा परिक्षकको प्रतिवेदनमा उल्लोख गरिएको छ । सेयर लगानीको प्रतिफल कम भएपनि सरकारले सेयर लगानी भने बढाउँदै लगेको छ । गत आर्थिक वर्षमा मात्र सरकारले सेयरमा १५ अर्ब ५२ करोड ७८ लाख रुपैयाँ थप लगानी गरेको छ । १०५ वटा कम्पनीको सेयरमा सरकारले २ खर्ब ५८ अर्ब ७८ करोड २२ लाख रुपैयाँ बराबर लगानी गरेको छ । उक्त लगानीको प्रतिफल शुन्य रहेको महालेखाको प्रतिवेदनमा उल्लेख गरिएको छ । ११४ संस्था मध्ये ६९ वटा पूणर् सरकारी स्वामित्वका सार्वजनिक संस्थान छन् । त्यसमा ४२ वटा संस्थान मात्र सञ्चालनमा रहेका छन् ।

रिडी पावरले पायो हकप्रद जारी गर्न अनुमति

काठमाडौं । रिडी पावर कम्पनीलाई हकप्रद सेयर निष्काशन गर्न विद्युत नियमन आयोगले अनुमति दिएको छ । कम्पनीलाई ५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्न आयोगले पूर्व स्वीकृति प्रदान गरेको हो । कम्पनीले हकप्रद सेयर निष्काशन गर्न माघ २५ गते पूर्व स्वीकृतिको लागि आयोगमा आवेदन दिएको थियो । आयोगले कम्पनीलाई हाल कायम चुक्ता पूँजीको १ः०.५ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्न पूर्व स्वीकृति प्रदान गरेको हो । आगामी वार्षिक साधारण सभाले पारित गरेपछि कम्पनीले हकप्रद सेयर निष्काशन गर्नेछ ।

अरुण भ्याली हाइड्रोपावरले १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले चुक्तापुँजीको १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले चुक्तापुँजी एक अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६०० रुपैयाँको १०० प्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो । यसका लागि कम्पनीले विद्युत नियमन आयोगमा स्वीकृतिका लागि आवेदन दिन निर्णय पगरेको छ । कम्पनीले उक्त हकप्रद सेयर बिक्रीबाट प्राप्त रकममध्ये ९३ करोड ३९ लाख ८१ हजार ३०० रुपैयाँ पिके हाइड्रोपावर प्रालिले विकास गर्दै गरेको लिखु खोला जलविद्युत आयोजनाको निर्माणका लागि आवश्यक पर्ने स्वपुँजीका लागि पिके हाइड्रोपावरको संस्थापक सेयरमा लगानी गर्ने निर्णय गरेको छ । यसैगरी बाँकी रकम ९३ करोड ३९ लाख ८१ हजार ३०० रुपैयाँ कम्पनीले निर्माण सम्पन्न गरी सञ्चालनमा रहेको काबेली बी–१ क्यासकेड जलविद्युत आयोजनाको निर्माण चरणमा बैंकहरुबाट लिएको ऋण भुक्तानी गर्नका लागि उपयोग गर्ने कम्पनीले निर्णय गरेको छ । विद्युत नियमन आयोगबाट स्वीकृति पाएपछि कम्पनीको विशेष साधारणसभाबाट हकप्रद सेयर निष्कासनको स्वीकृतिका लागि पेस गर्ने छ ।