आज २ कम्पनीको सेयर खरिद गर्याे भने ६५ प्रतिशतसम्म लाभांश पाइने

काठमाडौं । बुधबार २ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । अपि पावर कम्पनी र उपकार लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । यी दुई कम्पनीले लाभांश वितरण तथा साधारण सभा प्रयोजनार्थ फागुन ४ गते बुक क्लोज गर्ने निर्णय गरेका छन् । त्यसैले आजसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सेयर खरिद गर्ने सेयरधनीहरुले लाभांश र साधारण सभामा सहभागी हुन पाउनेछन् । अपि पावर कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ७.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.३९ प्रतिशत नगद गरी कुल ७.८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश प्रस्ताव पारित गर्न कम्पनले फागुन १४ गते बानेश्वर ब्याङ्क्वेट थापागाँउ, काठमांडौमा बिहान ११ बजे १९ औँ बार्षिक साधारणसभा बोलाएको छ । उपकार लघुवित्तले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट हाल कायम चुक्ता पुँजीको ६१.७५ प्रतिशत बोनस सेयर र ३.२५ प्रतिशत नगद गरी कूल ६५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश प्रस्ताव पारित गर्न लघुवित्तले चौँथो वार्षिक साधारण सभा फागुन १८ गते बाँकेमा बोलाएको छ ।

जनउत्थान सामुदायिक लघुवित्तको हालसम्मकै न्यून लाभांश घोषणा

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण गर्ने घोषणा गरेको छ । लघुवित्तको माघ २९ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र ०.७८९५ प्रतिशत नगद गरी कूल १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तको हालको चुक्ता पूँजी १४ करोड ७९ लाख रुपैयाँ रहेको छ । लघुवित्तले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई आगामी साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरुलाई वितरण गरिनेछ । लघुवित्तले आर्थिक वर्ष २०७७/७८ मा २६.३१५७ प्रतिशत, आर्थिक वर्ष २०७६/७७ मा ५२ प्रतिशत, आर्थिक वर्ष २०७५/७६ मा २६.३२ प्रतिशत, आर्थिक वर्ष २०७४/७५ र आर्थिक वर्ष २०७३/७४ मा २१.०५/२१.०५ प्रतिशत र आर्थिक वर्ष २०७२/७३ मा २० प्रतिशत लाभांश वितरण गरेको थियो ।

परिसूचक दोहोरो अंकले घट्दा पौने दुई अर्बको कारोबार, टप गेनरमा यूनिलिभर नेपाल

काठमाडौं । मंगलबारको सेयर बजार दोहोरो अंकले घटेको छ । सेयर मूल्य मापन गर्ने नेप्से परिसूचक १६.४० अंकले घटेर २१०५.४६ बिन्दुमा झरेको हो । जुन अघिल्लो कारोबारको तुलनामा ०.७७ प्रतिशतले घटी हो । बजारमा परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । आइतबार ३ अर्ब माथिको कारोबार भएको बजारमा मंगलबार पौने २ अर्ब रुपैयाँमा सीमित भएको छ । बजारमा २५५ कम्पनीको ४६ लाख ८५ हजार कित्ता सेयर १ अर्ब ७८ करोड रुपैयाँमा कारोबार भएको छ । कारोबारमा आएका कम्पनीमध्ये हिमालयन डिष्टिलरीको सर्वाधिक कारोबार भएको छ । कम्पनीको एकैदिन ७ करोड ७५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, न्ङादी ग्रुपको ७ करोड ७४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बजारमा सबैभन्दा बढी सेयर मूल्य बढ्नेको सूचीमा यूनिलिभर नेपाल रहेको छ । कम्पनीको सेयर मूल्य ६.१२ प्रतिशतले बढेर प्रतिकित्ता २० हजार २६९ रुपैयाँ पुगेको छ । त्यस्तै, दोश्रोमा राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्चनको ५.२३ र नेपाल इन्स्योरेन्सको सेयर मूल्य ४.५७ प्रतिशतले बढेको छ । सबैभन्दा बढी प्रतिशतले गुमाउनेको सूचीमा बाराही हाइड्रोपावर पब्लिकका लगानीकर्ता रहेका छन् । यो कम्पनीका लगानीकर्ताले ५.०७ प्रतिशतले सेयर मूल्य गुमाएका छन् । जसको अन्तिम कारोबार प्रतिकित्ता ६०९ रुपैयाँमा भएको छ । बजारमा उत्पादनमूलक बाहेक सबै समूह राताम्मे भएका छन् । घटेको बजारमा उत्पादन मूलक समूह भने १६.१७ अंकले बढेको छ ।