स्टक एक्सचेञ्ज र कमोडिटी मार्केटको लाइसेन्सका लागि ७ कम्पनीको आवेदन
काठमाडौं । धितोपत्र बजारमा नयाँ स्टक एक्सचेन्ज र वस्तु विनिमय बजार (कमोडिटी मार्केट) सञ्चालनका लागि इजाजत लिन समान ७ वटा कम्पनीको आवेदन परेको छ । नयाँ स्टक एक्सचेन्ज र कमोडिटी मार्केटको इजाजत पत्र लिनका लागि आवदेन दिने आइतबार अन्तिम दिन रहेकोमा ६ वटा कम्पनीको आवेदन दर्ता भएको नेपाल धितोपत्र बोर्डले जनाएको छ । बोर्डका अनुसार नयाँ स्टक एक्सचेञ्जको अनुमतिका लागि हिमालयन, नेशनल र अन्नपूर्ण स्टकले आवेदन दिएका छन् । साथै, कमोडिटी मार्केटका लागि नेपाल मल्टी कमोडिटिज , मल्टिडेरिभेटिभ एक्सचेञ्ज, मल्टी एसेस्ट्स एण्ड डेरिभेटिभ एक्सचेन्ज र हिमालयन कमोडिटिजको आवेदन परेको बोर्डले जनाएको छ । सर्वोच्च अदालतको गत चैत २६ गतेको फैसलाले नयाँ स्टक कम्पनी, कमोडिटी मार्केट र धितोपत्र कारोबारका लागि नयाँ दलाल व्यवसायी (ब्रोकर)लाइसेन्स जारी गर्न बोर्डलाई बाटो खुलेको थियो । धितोपत्र बोर्डले गत असोज २ गते नयाँ स्टक र धितोपत्र दलाल व्यापारीको अनुमतिपत्रका लागि निवदेन मागेको थियो । बोर्डको उक्त निर्णयविरुद्ध प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जसमेतलाई विपक्षी बनाई अधिवक्ता दीपक विक्रम मिश्रले गत असोज ३१ गते सर्वोच्च अदालतमा मुद्दा दायर गर्नुभएको थियो । तर उक्त मुद्दा सर्वोच्चको चैत २६ गतेको फैसलाले खारेज गरेपछि धितोपत्र बोर्डले चैत ३० गते सूचना जारी गर्दै वैशाख १० गतेसम्म आवेदन दिइसक्न भनेको थियो । धितोपत्र बजारको विकास तथा विस्तारका लागि नयाँ स्टक एक्सचेन्ज तथा कमोडिटी मार्केट खोल्न र थप ब्रोकर लाइसेन्स खुलाउन आवश्यक रहेको बोर्डले बताउँदै आएको छ । धितोपत्र बजारलाई थप प्रतिस्पर्धी, प्रभावकारी, लगानीकर्तामैत्री एवम् अन्तर्राष्ट्रियस्तरको प्रविधि सहितको बनाउन पनि बजारमा नयाँ स्टक चाहिने बोर्डको भनाइ छ ।
हिमालयन र नेशनलपछि अन्नपुर्ण स्टक एक्सचेञ्जले पनि दियो आवेदन
काठमाडौं । नयाँ स्टक एक्सचेञ्ज लाइसेन्सको अनुमतिका लागि तेस्रो कम्पनी पनि नेपाल धितोपत्र बोर्डमा पुगेको छ । धितोपत्र बोर्डका अनुसार अन्नपुर्ण स्टक एक्सचेञ्ज पनि इजाजतपत्र (लाईसेन्स)को अनुमतिका लागि आवेदन दिएको हो । यसअघि हिमालयन स्टक एक्सचेञ्ज र नेशनल स्टक एक्सचेञ्जले अनुमतिका लागि बोर्डमा आवेदन दिइसकेका छन् । हिमालयन स्टक एक्सचेञ्ज र नेशनल स्टक एक्सचेञ्जले आवेदन दिएपश्चात् अन्नपुर्ण स्टकले पनि आवेदन दिएको बताइएको छ । नयाँ स्टकको अनुमतिका लागि आवेदन दिने समय साँझ पाँच बजेसम्म छ । देशका ठूला उद्योगी व्यवसायीहरु हिमालयन स्टक एक्सचेजमा आवद्ध भएका छन् भने नेशनल स्टक एक्सचेन्जमा पनि ठूला व्यवसायिक घरानहरुको आवद्धता रहेको छ । हिमालयन स्टक एक्सचेञ्जमा शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल, पशुपति मुरारका, शेखर गोल्छा, भवानी राणा, राजेन्द्र खेतान, अमित मोर, सौरभ ज्योति, जुनी गुरुङ, आशिष श्रेष्ठ, शशिकान्त अग्रवाल, रोहित गुप्ता, विवेक दुगड लगायतको लगानी छ । शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल प्रमुख लगानीकर्ताका रुपमा देखिएका छन् । उनको १५ प्रतिशत सेयर रहेको बुझिएको छ । यो स्टक एक्सचेञ्जमा दीपक भट्ट पनि जोडिएका छन् । यसमा भट्टको पनि १५ प्रतिशत लगानी छ । उनी इन्फिनिटी होल्डिङसमा आवद्ध छन् । नेशनल स्टक एक्सचेञ्जमा गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष कुमार पन्त, संस्थापक अध्यक्ष उपेन्द्र महतो, पूर्वअध्यक्ष जिवा लामिछाने, पूर्व अध्यक्ष कुल आचार्य लगायत एनआरएनको लगानी छ । यस्तै, यो स्टकमा केडिया ग्रुप, अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याविनेट श्रेष्ठ र सिद्धार्थ बैंकका अध्यक्ष मनोज केडिया लगायतको लगानी रहेको पनि बुझिएको छ ।
नेप्सेमा ९ लघुवित्तको बोनस सेयर सूचीकृत, कुनको कति ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा विभिन्न ९ लघुवित्त वित्तीय संस्थाहरुको बोनस सेयर सूचीकृत भएको छ । लघुवित्त संस्थाहरुले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट वितरण गरेको बोनस सेयर नेप्सेमा सूचीकृत भएका हुन् । हालसम्म महिला लघुवित्त, आरएसडिसी लघुवित्त, साधना लघुवित्त, गुराँस लघुवित्त, फस्र्ट माइक्रोफाइनान्स लघुवित्त, सिवाईसी नेपाल लघुवित्त, मेरो माइक्रोफाइनान्स लघुवित्त र साविक आँधिखोला लघुवित्तको बोनस नेप्सेमा सूचीकृत भएको हो । यस्तै, विन नेपाल लघुवित्तको अघिल्लो आर्थिक वर्षमा वितरण गरिएको बोनस नेप्सेमा सूचीकृत भएको हो । महिला लघुवित्तको ४७.५० प्रतिशत बोनस वापतको ७ लाख ६२५ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ४७.५० प्रतिशत बोनस सेयर र २.५ प्रतिशत नगद गरी कूल ५० प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, आरएसडिसी लघुवित्तको ८ प्रतिशत बोनस वापतको ६ लाख ४४ हजार १२४.५९ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ८ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद गरी कूल ११ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, साधना लघुवित्तको १९ प्रतिशत बोनस वापतको ६ लाख १० हजार ३२८.४५ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत नगद गरी कूल २० प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, गुराँस लघुवित्तको ४ प्रतिशत बोनस वापतको ३९ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ४ प्रतिशत बोनस सेयर र ०.२१०५ प्रतिशत नगद गरी कूल ४.२१०५ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, फस्र्ट माइक्रोफाइनान्स लघुवित्तको १९ प्रतिशत बोनस वापतको १८ लाख ३२ हजार ५३५.५६ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत नगद गरी कूल २० प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, साविक आँधिखोला लघुवित्तको ३० प्रतिशत बोनस वापतको ३ लाख ५७ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ३० प्रतिशत बोनस सेयर र १.५८ प्रतिशत नगद गरी कूल ३१.५८ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, सिवाईसी नेपाल लघुवित्तको ३० प्रतिशत बोनस वापतको ३ लाख ६४ हजार ९२५.५१ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ३० प्रतिशत बोनस सेयर र १.५८ प्रतिशत नगद गरी कूल ३१.५८ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, मेरो माइक्रोफाइनान्स लघुवित्तको १० प्रतिशत बोनस वापतको १२ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद गरी कूल २० प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, विन नेपाल लघुवित्तको ९.३३ प्रतिशत बोनस वापतको ६७ लाख ६५० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीहरुलाई ९.३३ प्रतिशत बोनस सेयर र ०.५ प्रतिशत नगद गरी कूल ९.८३ प्रतिशत लाभांश वितरण गरेको थियो ।