१ लाख कित्ता आवेदन दिन मिल्ने चिरख्वा हाइड्रोको आईपीओ खरिद गर्ने आज अन्तिम मौका

काठमाडौं । चिरख्वा हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । साउन २८ गतेदेखि बिक्री खुला गरेको आईपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले आज भदौ २५ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले जारी पूँजी ४० करोड रुपैयाँको १० प्रतिशत अर्थात् ४ करोड रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ४ लाख कित्ता सेयर आयोजना प्रभावित क्षेत्र भोजपुर जिल्लाका स्थानीय बासिन्दालाई बिक्री गरेको हो । कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि स्थानीय लगानीकर्ताले अधिकतम १ लाख कित्ता सेयर खरिद गर्न सक्ने छन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ्ग रहेको छ । कम्पनीको सेयरमा स्थानीयले राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र लक्ष्मी सनराइज बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीले सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन्। इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।

हाथवे इन्भेष्टमेन्टको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपालको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । भदौ २१ गतेदेखि निष्काशन गरेको कम्पनीको आईपीओमा सर्वसाधारण लगानीकर्ताले आज भदौ २५ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले सर्वसाधारण लगानीकर्तालाई जारी पूँजी १ अर्ब १७ करोड रुपैयाँको १२.५० प्रतिशत अर्थात् १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको अंकित मूल्य ५० रुपैयाँका दरका २९ लाख २५ हजार कित्ता सेयर बिक्री गरेको हो । जसमध्ये १० प्रतिशत अर्थात् २ लाख ९२ हजार ५ सय कित्ता वैदेशिक रोजगारीमा रहेका नेपाली, ५८ हजार ५ सय कित्ता कर्मचारी, १ लाख ४६ हजार २५० कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँट गरिसकेको छ । अब बाँकी रहेको २४ लाख २७ हजार ७५० कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताहरुले आवेदन दिन सक्ने छन् । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम २० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल रहेको छ । लगानीकर्ताले सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत् आवेदन दिन सक्नेछन् ।

एक्कासी किन स्थगित गरियो माईखोला हाइड्रोको साधारण सभा ?

काठमाडौं । माईखोला हाइड्रोपावरको गत भदौ १७ गते सञ्चालक समितिको बैठकले असोज ९ गते वार्षिक साधारसभा बोलायो । कम्पनीले १ सय प्रतिशत हकप्रद सेयर बिक्री गर्ने प्रस्तावसहित काठमाडौंको लर्ड पार्टी भेन्यु धुम्बाराहीमा बिहान ९ बजे साधारण सभा बोलाएको थियो । ५ दिन अर्थात् भदौ २२ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा स्थगित गरेको सूचना नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ेमार्फत् लगानीकर्ताहरुलाई जानकारी गरायो । प्राविधिक कारण असोज ९ गते वार्षिक साधारणसभा गर्न सम्भव नरहेकाले अर्काे निर्णय नभएसम्म स्थगित गरिएको कम्पनीले जनाएको छ । प्रमुख कार्यकारी अधिकृत (सीईओ) रितेश रजकले अचानक काम परेकाले साधारण सभा स्थगित गरिएको बताए । माई खोला हाइड्रोको काम परेर नै आफूहरु उपत्यका बाहिर रहेकाले तोकिएको समयमा साधारणसभा गर्न असम्भव भएपछि स्थगित गरिएको उनको भनाइ छ । ‘हामी सबैको अर्जेन्ट काम परेको हुँदा उपत्यका बाहिर आएका छौं, माइ खोला हाइड्रो कै काम भएकाले सभा स्थगित गरिएको हो, हाइड्रोपावरमा केही भएको छैन,’ उनले भने, ‘४/५ दिनसम्म साधारण सभा स्थगित गरिएको हो ।’ उनका अनुसार हाइड्रोपावर कम्पनीमा कुनै समस्या आएको छैन । असोजभित्रै साधारण सभा गर्ने उनको भनाइ छ । कम्पनीले हाल कायम सेयर पूँजी ३९ करोड २१ लाख ५६ हजार ८ सय रुपैयाँको १ सय प्रतिशत हकप्रद सेयर बिक्री गर्ने जनाएको छ । कम्पनीले १ः१ अनुपात अर्थात् हाल १ कित्ता सेयर भएका सेयरधनीहरुले नयाँ १ कित्ता पाउने छन् ।