डिम्याट खाता नवीकरण गर्ने व्यवस्था सँधैलाई हटाऔं : सीईओ आचार्य

काठमाडौं । सिडिएस एण्ड क्लियरिङ्ग (सिडिएससी)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) पूर्ण पर्साद आचार्यले डिम्याट खाता नवीकरण गर्ने व्यवस्था सँधैलाई हटाउन आवश्यक रहेको बताएका छन् । उनले डिम्याट खाता नवीकरणमा सिडिएसको लागत नउठ्ने बताउँदै यस्तो बताएका हुन् । ‘डिम्याट खाता नवीकरणमा सिडिएसको लागत पनि उठ्दैन, नवीकरण गर्दा १ सय रुपैयाँ शुल्क लिँदा सिडिएसले १० रुपैयाँ मात्रै लिन्छ, जुन अपुग हो,’ आइतबार काठमाडौंमा आयोजित ‘विश्व लगानिकर्ता सप्ताह २०२३ अन्तर्क्रिया तथा समापन’ कार्यक्रममा बोल्दै उनले भने । त्यस्तै, उनले सिडिएसले कम जनशक्तिमा रातदिन काम गर्नुपर्ने बाध्यता रहेको बताएका छन् । साथै, सबै लगानीकर्तालाई केवाइसी अनिवार्य भर्न आग्रह गर्दै उनले संस्थागत लगानीकर्ताको संख्या बढ्यो भने बजार बढ्न सक्ने बताए ।

बजार चलायमान हुन मार्जिन लेण्डिङ्गको समस्या समाधान गर्नुपर्छ : लगानीकर्ता पौडेल

काठमाडौं । नेपाल इन्भेष्टर्स फोरमका पूर्वअध्यक्ष तथा लगानीकर्ता अम्बिका प्रसाद पौडेलले बजार चलायमान हुन मार्जिन लेण्डिङ्गको समस्या समाधान गर्नुपर्ने बताएका छन् । आइतबार काठमाडौंमा आयोजित विश्व लगानिकर्ता सप्ताह २०२३ अन्तर्क्रिया तथा समापन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । ‘अब मार्जिन लेण्डिङ्गको समस्या समाधान गर्न तिर जोड दिनु पर्छ, यो समस्या छिटोभन्दा छिटो भयो भने बजार बढी चलायमान हुन्थ्यो,’ उनले भने । त्यस्तै, पुँजी बजार बढ्नु भनेको चलखेल हुनु, सीमित व्यक्तिले कमाउनु मात्रै रहेको भन्ने बुझाइ रहेको तर बजार बढ्नु भनेको राजस्व बढ्नु लगायत राम्रा पक्षका बारेमा बुझाउन नसकिएको उनी बताउँछन् । पुँजीगत लाभकर स्पष्ट नहुँदा लगानीकर्ता अन्यौलमा परेका बताउँदै उनले पुँजी बजारको संस्थागत विकासका लागि नियामाक निकायले काम गर्नु पर्ने सुझाव राखे । त्यस्तै, ब्रोकरको संख्या थप गर्दा लगानीकर्ताको लागि पनि नयाँ व्यवस्था गर्नु पर्ने लगानीकर्ता पौडेलको भनाई छ ।

सेयर कर्जाको सीमा बढ्दा पनि सन्तुष्ट देखिएनन् लगानीकर्ता, बजार ३५ अंकले घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर कर्जाको सीमा बढाउँदा पनि आइतबारको सेयर बजार बढ्न सकेन । बजार कारोबार शुरु भएदेखि बन्द हुँदा सम्मनै निरन्तर घट्यो । अर्थात नेप्से परिसूचक ३५.६७ अंकले घटेर १९२१.२४ बिन्दुमा झर्यो । जुन गत बिहीबारको तुलनामा १.८२ प्रतिशत हो । आइतबारको बजार दोहोरो अंकले घट्नुले लगानीकर्ताहरु राष्ट्र बैंकको निर्देशनप्रति असन्तुष्ट रहेको बुझिन्छ । राष्ट्र बैंकले गत बिहीबार एकीकृत निर्देशन जारी गर्दै सेयर धितो कर्जाको सीमालाई बढाएर व्यक्तिगततर्फ १५ करोड र संस्थागत २० करोड रुपैयाँ पुर्याएको थियो । जसप्रति सेयर कर्जाको सीमा खुला गर्नु पर्छ भनेर माग गर्दै आएका अधिकांश लगानीकर्ताहरु असन्तुष्ट रहेको जानकारहरु बताउँछन् । यसअघि व्यक्तिगत र संस्थागत दुवैतर्फ १२ करोड रुपैयाँसम्म सेयर धितो कर्जा लिन पाउने व्यवस्था थियो । दोहोरो अंकले घटेको बजारमा कारोबार रकम भने गत बिहीबारको तुलनामा बढेको छ । गत बिहीबार एक अर्ब १० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको बजारमा आइतबार भने एक अर्ब ८० करोडको सेयर किनबेच भएको छ । त्यस्तै, कारोबारमा आएका सबै समूह राताम्मे देखिएका छन् । कारोबारमा आएका १३ वटा समूहमध्ये जीवन बीमा समूह भने २३८ अंकले घटेको छ । बजार ओरालो लाग्दा अधिकांश कम्पनीको सेयर मूल्य घटेको छ । जसमध्ये हिमालयन लघुवित्त वित्तीय संस्था र गरिमा डिबेन्चर २०८५ को मूल्य भने प्रतिकित्ता तथा प्रतिथान १० प्रतिशतले घटेको छ । बजार दोहोरो अंकले बढ्दा पनि बाराही हाइड्रोपावर पब्लिक र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम २ को मूल्य भने प्रतिकित्ता तथा प्रतिइकाई ९.५९ र ९.४० प्रतिशतले बढेको छ । यससँगै बाराही हाइड्रो अन्तिम कारोबार प्रतिकित्ता ५५१ र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथको प्रतिइकाई ८.५० रुपैयाँमा किनबेच भएको छ ।