हिमालयन रिको लकइन अवधि असार १० गते सकिने

काठमाडौं । हिमालयन रि-इन्स्योरेन्स कम्पनी लिमिटेडको लकइन अवधि आगामी असार १० गते समाप्त हुने भएको छ। कम्पनीले सामूहिक लगानी कोषका लागि छुट्टाएको १५ लाख कित्ता सेयरको लक इन अवधि असार १० मा समाप्त हुन लागेको हो । कम्पनीले गत पुस ११ गते साधारण सेयर बाँडफाँड गरेको थियो । कम्पनीले जारी पूँजी १ अर्ब रुपैयाँबराबरको ३० प्रतिशतले हुन आउने ३ करोड कित्ता साधारण सेयर निष्कासन गरेको थियो । उक्त बाँडफाँड गरिएकोमध्ये सामूहिक लगानी कोषलाई छुट्टाइएको ५ प्रतिशतले हुन आउने १५ लाख कित्ता सेयरको लकइन अवधि समाप्त हुन लागेको हो ।

माउन्टेन इनर्जीको बोनस सेयर डिम्याट खातामा जम्मा

काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडले १५ प्रतिशत बोनस सेयर सेयरधनीहरूको डिम्याट खातामा जम्मा गरेको छ । कम्पनीको चैत्र १३ गते सम्पन्न दशौं वार्षिक साधारणसभाले पारित गरेको उक्त बोनस सेयर डिम्याट खातामा जम्मा गरेको हो । धितोपत्र दोस्रो बजारमा जेठ २५ गते बोनस सेयर बापतको सेयर सूचीकृत गरी कम्पनीले सम्बन्धित सेयरधनीहरूको डिम्याट खातामा जम्मा गरेको हो । फागुन २९ गतेसम्म कायम सेयरधनीहरूले मात्र कम्पनीको बोनस सेयर पाएका छन् । कम्पनीले फागुन २९ गतेसम्म सेयर धितो बन्धक राखी कर्जा लिएका सदस्यहरूको हकमा बोनस सेयरसमेत कर्जा प्रवाह गर्ने बैंक तथा वित्तीय संस्थाको नाममा नै रोक्का जनाई जम्मा गरिएकाले कर्जा राफसाफ भैसकेको भए फुकुवा गर्न भनेको छ । बोनस सेयर डिम्याट खातामा नै जम्मा गरिने भएकाले हालसम्म पनि डिम्याट खाता नखोलेका सदस्यहरूलाई यथाशीघ्र खोली आफ्नो बोनस सेयर लिन कम्पनीको आग्रह छ । कम्पनीको सेयर रजिष्ट्रारमा एनआइएमबि एस क्यापिटल लिमिटेड रहेको छ ।

नेप्सेमा हरियाली, लगानीकर्ताको आकर्षण हाइड्रोपावरमा

काठमाडौं । आज साताको दोस्रो काराेबार दिन सेयर बजार परिसूचक नेप्से ०.४२ प्रतिशतले बढेको छ । साेमबार  नेप्से ८.९० अंकले बढेर २०८२.०९ बिन्दुमा कायम भएको छ । नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । आज ३१४ कम्पनीको सेयर खरिदबिक्री हुँदा ५ अर्ब ४९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । यस्तै आज १७९ कम्पनीको मूल्य बढ्दा ६१ को घट्यो भने ९ को स्थिर रह्यो । आज हाइड्रोपावर समूह सबैभन्दा धेरै २ प्रतिशतले बढेको छ । हाइड्रोपावर समूहको सेयर ५०.७४ अकंले बढेर २५७७.८२ बिन्दुमा पुगेको हो । त्यस्तै हिजो सबैभन्दा धेरै बढेको होटल तथा पर्यटन समूह आज ०.९३ प्रतिशतले घटेको छ । आज सबैभन्दा धेरै म्युचअल फण्ड ३.७४ प्रतिशतले घटेको छ । सोमबार कुथेली बुखेरी स्मल, त्रिशुली जलविद्युत र पिपुल्स पावरको सेयरमा सकारात्मक सर्किट लागेको छ ।