आज सेयरधनी बने नेपाल एसबिआई बैंक र तारागाउँ रिजेन्सीको लाभांश पाइने
काठमाडौं । नेपाल एसबिआई बैंक र तारागाउँ रिजेन्सी होटल्सको लाभांश सुरक्षित गर्ने आज पुस ४ गते अन्तिम दिन रहेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी कम्पनीले पुस ७ गते बुकक्लोज गर्ने निर्णय गरेका छन् । त्यसैले आजसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम सेयरधनीहरूले साधारण सभामा सहभागिता जनाई लाभांश प्राप्त गर्न सक्नेछन् । नेपाल एसबिआई बैंकले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट चुक्ता पुँजीको ३.८० प्रतिशतका दरले ३९ करोड ९० लाख ५ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनसहितका लागि ६.८५ प्रतिशतका दरले ७१ करोड ९२ लाख ६० हजार रुपैयाँ नगद गरी कुल १०.६५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न बैंकले पुस २१ गते त्रिभुवन आर्मी अफिसर्स क्लब भद्रकाली काठमाडौंमा बिहान ११ बजे ३१औँ वार्षिक साधारण सभा बोलाएको छ । यस्तै, तारागाँउ रिजेन्सी होटल्सले गत वर्षको नाफाबाट ११ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न कम्पनीले पुस २४ गते २८ औं साधारण सभा बोलाएको छ ।
घट्यो सेयर बजार, २ कम्पनीमा सकारात्मक सर्किट
काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) एकल अंकले घटेको छ । आज नेप्से परिसूचक ५.६० अंकले घटेर २६२८.२६ बिन्दुमा झरेको छ । नेप्सेकाअनुसार ८१ वटा कम्पनीको सेयर मूल्य बढ्दा १४९ वटा कम्पनीको सेयर मूल्य घटेको छ । १२ वटा कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन भएको छैन । पछिल्ला दिनहरूमा नेप्सेमा कारोबार रकम निरन्तर घटिरहेको छ । साथै, ३१४ वटा कम्पनीको ८१ लाख ४७ हजार कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २७ करोड रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार जानकी फाइनान्स कम्पनीको भएको छ । जानकीको १५ करोड ५९ लाख रुपैयाँ बढीको कारोबार भएको हो । यस्तै, रिभर फल्स पावरको १२ करोड ६ लाख, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको ११ करोड ६० लाख, नेपाल फाइनान्सको १० करोड ७५ लाख, सिकलेस हाइड्रोपावरको ८ करोड ९ लाख रुपैयाँ बढीको कारोबार भएको छ । आज उपकार लघुवित्त वित्तिय संस्था र सर्पोट माइक्रोफाइनान्स वित्तिय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा बढी कुथेली बुखारी स्मल हाइड्रोपावर लिमिटेडको सेयर मूल्य ९.९० प्रतिशतले घटेको छ ।साथै, ३ वटा उपसमूहमा बाहेक सबै उपसमूह राताम्मे रहेका छन् । वित्त समूह १.०७, लघुवित्त समूह ०.०९ र व्यापार समूह ०.५० प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । बैंकिङ ०.३६, विकास बैंक ०.१६, होटल तथा पर्यटन ०.४२, जलविद्युत् ०,३६, लगानी ०.३२ र जीवन बिमा समूह ०.३३ प्रतिशतले घटेको छ । उत्पादन तथा प्रशोधन ०.३२, म्युचुअल फण्ड ०.२६, निर्जीवन बिमा ०.१४ र अन्य समूह ०.३७ अंकले घटेको नेप्सेले जनाएको छ ।
बोटलर्स नेपालको सेयर कारोबार फुकुवा, गल्ती नदोहोर्याउने प्रतिवद्धता
काठमाडौं । बोटलर्स नेपालको सेयर कारोबार फुकुवा भएको छ । आगामी दिनमा गल्ती नदोहोर्याउने प्रतिवद्धता जनाएपछि नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले कारोबार फुकुवा गरेको हो । धितोपत्रको बजार मूल्यमा प्रभाव पार्ने गरी कम्पनीको सञ्चालक समितिले गरेको निर्णय ढिलागरी जानकारी गराएको भन्दै नेप्सेले कम्पनीको कारोबार रोक्का गर्दै ३ दिनभित्र स्पष्टिकरण सोधेको थियो । त्यसपश्चात कम्पनीले आगामी दिनमा गल्ती नदोहोर्याउने भन्दै नेप्सेमा धितोपत्र कारोबार फुकुवा गर्न अनुरोध गरेको थियो । ‘धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२ (१) मा भएको व्यवस्था बमोजिम धितोपत्र मूल्यमा प्रभाव पार्ने सूचना, जानकारी तथा निर्णय सिर्जना भएमा सोही दिन वा भोलिपल्ट कारोबार खुल्नुअघि सम्बन्धित सूचीकृत संगठित संस्थाले नेप्सेमा पेस गर्नुपर्नेछ’ भन्ने व्यवस्था रहेकोले उक्त विनियममा भएको व्यवस्था पालना नगरेकोले कम्पनीको सेयर कारोबार रोक्का राखेको थियो ।