एलआईसी नेपालले मंसिर १२ गतेदेखि हकप्रद सेयर बिक्री गर्ने, यसरी दिन सकिन्छ आवेदन

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआईसी) ले मंसिर १२ गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । इन्स्योरेन्स कम्पनीले चुक्ता पूँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँको ८८.४५१६८ प्रतिशत अर्थात् १ कित्ता सेयर बराबर नयाँ ०.८८ कित्ता अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको हो । कम्पनीले २ अर्ब ३४ करोड ६८ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद सेयर जारी गर्नेछ । हकप्रद निष्काशनपश्चात कम्पनीको चुक्ता पूँजी ५ अर्ब रुपैयाँ पुग्नेछ । हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले कात्तिक ९ गते बुकक्लोज गरेको थियो । त्यसैले कात्तिक ८ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भइ कायम सेयरधनीहरूले कम्पनीको हकप्रदमा आवेदन दिन पाउनेछन् । कम्पनीको हकप्रद सेयरमा पुस २ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको हकप्रद निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकका साथै एलआईसी नेपालका सम्पूर्ण शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै, नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा आवद्ध बैंक तथा वित्तीय संस्थाहरूबाट सीआस्वा प्रणाली र मेरो सेयरमार्फत् आवेदन दिन सक्नेछन् । इक्रा नेपालले इन्स्योरेन्सलाई इक्राएनपी इस्यूअर रेटिङ्ग ए प्लस प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमता पर्याप्त सुरक्षित रहेको संकेत गर्दछ ।

सुनबाट सेयरमा फर्किए लगानीकर्ता, सुनको बजार थप सुस्त बन्ने विश्लेषण

काठमाडौं । कार्तिक २१ गते सुनको मूल्य १ लाख ६८ हजार ५ सय रुपैयाँ थियो । त्यसको एक सातापछि अर्थात् कात्तिक ३० गते सुनको मूल्य प्रतितोला १ लाख ६० हजार १ सय रुपैयाँ छ । कात्तिक २१ गते २६७५.५१ बिन्दुमा रहेको सेयर बजार कात्तिक २९ गते अर्थात् बिहीबार २७४८.७८ बिन्दुमा पुगेको छ । यो एक साताको अवधिमा सुनको मूल्य करिब ५ प्रतिशतले घटेको छ भने सेयर बजार २.७३ प्रतिशतले बढेको छ । एक साताको अवधिमा सेयर बजार तीन दिन बढेको छ भने दुई दिन घटेको छ । सुन भने निरन्तर घटिरहेको छ । पछिल्लो दुई सातामा भने सुनको मूल्य ६ प्रतिशतले घटेको छ । १५ दिनअघि १० करोड रुपैयाँको सुन खरिद गर्ने लगानीकर्ताले ६० लाख रुपैयाँ गुमाएको छ भने एक साताअघि १० करोडको सेयर खरिद गरेको लगानीकर्ताले २० लाख रुपैयाँ नाफा गरेको छ । यो सुन र सेयर खरिद गर्ने लगानीकर्ताले कमाएको र गुमाएको हिसाबकिताब हो । दुई साताअघि मात्रै सुन खरिद गरेर मनग्य आम्दानी गरिरहेका लगानीकर्ता अहिले पुर्पुरोमा हात लगाउन विवश छन् । सेयर बजारमा बढ्दो ट्रेण्ड देखिएको छ । त्यसैले पनि धेरै लगानीकर्ताले अब सुनको ठाउँमा सेयर बजारलाई लगानीको विकल्प बनाएको हुन् कि भन्ने अनुमान पनि गर्न थालिएको छ । बजार पुँजीकरणको हिसाबले भने पछिल्लो दुई सातामा सेयर बजार १ सय १६ अंकले बढेको छ । १७ दिनमा लगानीकर्ताले १ खर्ब ८९ अर्ब ५४ लाख रुपैयाँ कमाएका छन् । कार्तिक ११ गते बजार पुँजीकरण ४१ खर्ब ६५ अर्ब १३ लाख रुपैयाँ थियो । १५ दिनपछि कात्तिक २८ गते सेयर बजार पुँजीकरण ४३ खर्ब ५४ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ । किन घट्दैछ सुनको मूल्य ? पछिल्लो समय सुनको मूल्य निरन्तर घट्दा अझै घट्न सक्ने अनुमान लगानीकर्ताको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटिरहेको छ । विशेषगरी अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्पको आगमनपछि सुनको मुल्य ओरालो यात्रामा छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका निवर्तमान अध्यक्ष मणिरत्न शाक्यका अनुसार अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्पले जितेका कारणले नै सुनको मूल्य निरन्तर घटिरहेको हो । उनले अन्तर्राष्ट्रिय घटनाक्रमले सुनको मूल्य घटबढ हुने भएकोले ट्रम्पको जितले सुनको मूल्य घटेको दाबी गरे । राष्ट्रपति ट्रम्पले मध्यपूर्वलगायत विभिन्न देशमा जारी युद्धलाई समाधान गर्ने नीति लिएका कारण सुनको भाउ घटेको उनको बुझाइ छ । व्यवसायी पृष्ठभूमिका व्यक्ति सरकारको नेतृत्वमा आएपछि लगानीकर्ता सेयर बजारमा लगानी गर्न उत्साहित भएको र सेयर बजार बढ्दा सुनको बजार घटेको हुन सक्ने उनको भनाइ छ । अहिले अमेरिकामा पनि सेयर बजार निरन्तर बढिरहेको छ । अमेरिकाका सेयर लगानीकर्ता उत्साहित भएका छन् । ट्रम्पले चुनाव जितेपछि अमेरिकाका लगानीकर्ता सुनभन्दा सेयर बजारमा आकर्षित भएको निवर्तमान अध्यक्ष शाक्यको दाबी छ । त्यहाँ सुनमा लगानी गर्ने लगानीकर्ता सुन बेचेर सेयरमा लगानी गर्न थालेको उनको अनुमान छ । ‘ट्रम्पको जितपछि त्यहाँ सुनमा लगानी गरेको लगानीकर्ता पनि सेयर बजारतिर मोडिएको जस्तो देखिन्छ, जसले गर्दा पनि सुनको भाउ घट्ने र अमेरिकाको सेयरको मूल्य बढिरहेको छ, नेपालमा पनि ठ्याक्कै त्यस्तै भएको छ,’ उनले भने । नेपालमा पनि सुनमा लगानी गर्ने लगानीकर्ता सेयरमा फर्किएका हुन् ? भन्ने जिज्ञासामा उनले भने, ‘नेपालमा सुनको र सेयरको खासै सम्बन्ध छैन । तर, विदेशमा यसको सम्बन्ध हुन्छ । अहिले परिदृश्य हेर्दा त्यो अनुमान पनि लगाउन सकिन्छ ।’ पछिल्लो समय सुनको मूल्य घटे पनि किनबेच भने सुस्त नै रहेको निवर्तमान अध्यक्ष शाक्यको भनाइ छ । अहिले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले सुनको मूल्य अझै घट्न सक्ने विश्लेषण राखिरहेका छन् । डलरको मूल्य बढिरहेको बेला र लगानीकर्ताले सेयर बजारमा पनि लगानी केन्द्रित गरिरहँदा अझै पनि सुनको मागमा कमी आउने र मूल्य पनि घट्ने अनुमान विश्लेषकहरूले गरिरहेका छन् । अन्तर्राष्ट्रिय बजारमा लगानीकर्ताहरूले सुरक्षित विकल्पको रूपमा डलर र बन्डमा लगानी बढाइरहेका छन् । यसले गर्दा सुनको बजार सुस्त हुन सक्ने विश्लेषण गरिन थालिएको छ । यस कारण बढिरहेको छ सेयर सुनको बजार घटिरहँदा सेयर बजार भने अहिले उकालो यात्रामा छ । सेयर लगानीकर्ता तथा विश्लेषक छोटेलाल रौनियारले दशैं तिहारकोको बीचमा विगतमा सेयर बजार सुस्ताउने गरेको भएपनि यस पटक भने बढेको धारणा राख्छन् । उनका अनुसार बैंकमा अत्यधिक तरलता, घट्दो ब्याजदर, सेयरलाई प्राथमिकता दिने सरकारी नीति लगायत कारणले अहिले सेयर बजार बढिरहेको हो । उनले पनि सेयर र सुनको सम्बन्ध भने खासै नभएको तर्क राखे । नेपाल राष्ट्र बैंकले मंसिरको पहिलो साता मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गर्ने तयारी थालेको छ । सो समीक्षामार्फत् सेयर बजारमैत्री नीति आउनेमा लगानीकर्ता आशावादी छन् । त्यसकारण पनि बजार बढेको हुन सक्ने भनाइ उनको छ । विश्लेषक राैनियारका अनुसार अहिले प्रधानमन्त्री, अर्थमन्त्री र गभर्नरबीच राम्रो सम्बन्ध रहेकोले मौद्रिक नीतिको समीक्षा पनि सहज किसिमको आउन सक्ने अनुमानले सेयर बजार बढेको हो । उनले लघु वित्त वित्तीय संस्थालाई लगाइएको १५ प्रतिशत लाभांशको सीमा हटाउने, सेयर धितो कर्जाको जोखिम भार १०० प्रतिशत कायम गर्ने, व्यक्तिगत लगानीकर्तालाई लगाइएको १५ करोड रुपैयाँको कर्जाको सीमा हटाउने र बैंकहरूले सेयर किनेपछि एक वर्षसम्म सो सेयर बिक्री गर्न नपाउने नियम हटाउन सकेमा सेयर बजार अझै बढ्न सक्ने विश्वास व्यक्त गरे ।

बजार दोहोरो अंकले बढ्यो, १० अर्ब बढीको कारोबार

काठमाडाैं । साताको अन्तिम दिन आज बिहीबार सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले वृद्धि भएको छ । बजार परिसूचक १३.९५ अंकले बढ्दा २ हजार ७ सय ४८.७८ विन्दुमा उक्लिएको छ । बजार परिसूचकसँगै कारोबार रकम पनि वृद्धि भएको छ । आज २ करोड १६ लाख ६० हजार ६३९ कित्ता सेयर किनबेचबाट १० अर्ब ३२ करोड रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये जानकी फाइनान्सको सबैभन्दा धेरै कारोबार भएको छ । जानकीको ३५ करोड २४ लाख रुपैयाँ बढीको सेयर कारोबार हुँदा न्यादी ग्रुपको ३२ करोड ६ लाख, समृद्धि फाइनान्सको २७ करोड ५८ लाख, नेपाल फाइनान्सको २१ करोड ६३ लाख र पिपुल्स हाइड्रोपावर कम्पनीको १९ करोड ७६ लाख रुपैयाँ बढीको सेयर कारोबार भएको छ । आज १५९ वटा कम्पनीको सेयर मूल्य बढ्दा ७९ कम्पनीको मूल्य घटेको छ भने ६ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन भएको छैन । यस दिन ३ कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । आज गुरास लघुवित्त वित्तीय संस्था, स्वाभिमान लघुवित्त वित्तीय संस्था र अपर हेवाखोला हाइड्रोपावरको सेयर मूल्यमा सकरात्मक सर्कट लागेको छ । उक्त कम्पनीहरुको सेयर मूल्य १० प्रतिशतका दरले वृद्धि भएको छ ।