ओम मेगाश्री फर्मास्यूटिकल्सको आईपीओ भर्ने आज अन्तिम दिन

काठमाडौं । ओम मेगाश्री फर्मास्यूटिकल्सको आईपीओमा आवेदन भर्ने आज अन्तिम दिन रहेको छ । माघ २१ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन तथा बिक्री खुला गरेको कम्पनीको आईपीओमा आजसम्म आवेदन दिन सकिनेछ । कम्पनीले जारी पुँजी ६० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने १८ करोड रुपैयाँको १८ लाख कित्ता सेयर सर्वसाधारणलाई छुट्याएको छ । जसमध्ये १० प्रतिशतले हुन आउने १ करोड ८० लाख रुपैयाँको १ लाख ८० हजार कित्ता सेयरमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले आवेदन दिन पाउने छन् । कम्पनीले ५ प्रतिशत अर्थात् ९० हजार कित्ता सामूहिक लगानी कोष, ३ प्रतिशत अर्थात् ५४ हजार कित्ता कम्पनीका कर्मचारी र बाँकी १४ लाख ७६ हजार कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरूका लागि छुट्याएको छ । कम्पनीको आईपीओमा लगानीकर्ताहरूले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र सिडिएस एण्ड क्लियरिङ्गले सञ्चालनमा ल्याएको मेरो सेयरमार्फत् आईपीओमा आवेदन दिन सक्नेछन् । केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएनपी डबल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

ट्रष्ट माइक्रो इन्स्योरेन्सले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल

काठमाडौं । ट्रष्ट माइक्रो इन्स्योरेन्सले प्राथमिक सेयर निष्कासन (आईपीओ) जारी गर्ने भएको छ । इन्स्योरेन्सले हाल कायम पुँजीको ३० प्रतिशत सेयर जारी गर्ने भएको हो । कम्पनीले २२ करोड ५० लाख रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका कूल २२ लाख ५० हजार कित्ता सेयर बिक्री गर्नेछ । आईपीओ निष्काशन प्रक्रिया अघि बढाउन बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटललाई नियुक्त गरेको छ । सेयर निष्काशन सम्बन्धी सम्झौता पत्रमा इन्स्योरेन्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) उज्वल ढुङ्गाना र बिक्री प्रबन्धकका तर्फबाट महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरे । विसं २०८० साल चैतदेखि ट्रष्ट माइक्रो इन्स्योरेन्सले लघु निर्जीवन बीमा सम्बन्धी कारोबार सञ्चालन गर्दै आइरहेको छ ।

सेयर बजारमा ९ अर्बको कारोबार, ६ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट

काठमाडौं । साताको पहिलो कारोबारको दिन अर्थात आइतबार सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १३.६० अंकले बढेर २६९२.०७ बिन्दुमा पुगेको छ । नेप्सेका अनुसार १६२ कम्पनीको मूल्य बढ्दा ७६ कम्पनीको मूल्य घटेको छ । ५ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । आज ३०९ कम्पनीको २ करोड कित्ता सेयर किनबेच हुँदा ९ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार एनआरएन इन्फाइस्ट्रक्चर डेभलपमेन्टको भएको छ । एनआरएनको ३३ करोड रुपैयाँ बढीको कारोबार भएको छ । साथै, सीइडीबी होलडीङको ३१ करोड, हिमालयन पावरको ३० करोड, न्यादी हाइड्रोपावरको २२ करोड र सप्तकोशी डेभलपमेन्ट बैंकको १८ करोड रुपैयाँ बढीको कारोबार भएको छ । आइतबार ६ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । विन नेपाल लघुवित्त, गुराँस लघुवित्त, नेपाल फाइनान्स, जानकी फाइनान्स र गार्डियन माइक्रो लाइफको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । साथै, न्यादी हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ ।