हिमालयन सेक्युरिटिजको ८ प्रतिशत नगद लाभांश पारित
काठमाडौं । हिमालयन सेक्युरिटिज लिमिटेडले सेयरधनीलाई करसहित ८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीको पाँचौँ वार्षिक साधारण सभा असोज ९ गते काठमाडौंको कमलादीस्थित कम्पनी दर्ता कार्यालयमा सम्पन्न भएको हो । सभाले आव २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन, वित्तीय विवरण (वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण) लगायतका वार्षिक विवरणमाथि छलफल गरी पारित गरेको छ । साधारण सभाले आव २०८२/८३ का लागि कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम एमबी श्रेष्ठ एण्ड कम्पनी, चार्टर्ड एकाउन्टेन्ट्सलाई लेखापरीक्षक नियुक्त गर्ने निर्णयसमेत गरेको छ । सभामा सञ्चालक समितिका अध्यक्ष सुशिल जोशीले छोटो समयमा नै कम्पनीले गरेको प्रगति र उपलब्धि प्रस्तुत गर्दै अनुपालना, सुशासन र आधुनिक प्रविधिको प्रयोगमार्फत धितोपत्र दलाल सेवामा नेतृत्वदायी भूमिका निर्वाह गर्ने लक्ष्य रहेको जानकारी दिएका छन् ।
श्रीनगर एग्रीटेक इण्डष्ट्रिजको आईपीओ बाँडफाँट, कतिले पाए सेयर ?
काठमाडौं । श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारका लागि निष्काशन गरेको आईपीओको बाँडफाँड सम्पन्न भएको छ । बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्टमा बिहीबार भएको बाँडफाँडमा हजारौं आवेदकमध्ये सीमितले मात्र सेयर पाएका छन् । कम्पनीले यसअघि श्रम स्वीकृति लिएका वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ३ लाख ९ हजार ९ सय ३८ कित्ता सेयर निष्काशन गरेको थियो । सो आईपीओमा ६४ हजार ८ सय १२ जनाले आवेदन दिएका थिए । तर, विभिन्न कारणले ६४ हजार ७ सय ९९ जनाको आवेदन मात्र योग्य ठहरिएको छ । मागभन्दा बढी आवेदन परेकाले बाँडफाँड गोलाप्रथाबाट गरिएको हो । यस क्रममा ३० हजार ९ सय ९३ जनाले मात्र सेयर प्राप्त गरेका छन् । तीमध्ये ८ जनाले ११ कित्ता सेयर पाएका छन् भने बाँकीले १० कित्ता सेयरमा सीमित भएका छन् । यसअघि कम्पनीले स्थानीय बासिन्दाका लागि छुट्याइएको आईपीओको बाँडफाँड सम्पन्न गरिसकेको थियो । वैदेशिक रोजगारी र स्थानीय समूहको बाँडफाँडपछि अब कम्पनीले सर्वसाधारणका लागि आईपीओ ल्याउने तयारी गरेको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले साउन १३ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको थियो । सेबोनको स्वीकृति अनुसार कम्पनीले कुल ३२ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको ३२ लाख ६२ हजार ५ सय कित्ता सेयर बजारमा ल्याउनेछ ।
१५ प्रतिशत लाभांश वितरण गर्ने गुराँस लघुवित्तको घोषणा
काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा हो । लघुवित्तले हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.७५ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । असोज ८ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ ।