डा. अर्जुन कार्की बने नेपाल विश्वविद्यालयको उपकुलपति
काठमाडौं । नेपाल विश्वविद्यालयको उपकुलपतिमा डा. अर्जुन कार्की नियुक्त भएका छन् । वरिष्ठ चिकित्सक कार्की पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति पनि हुन् । नेपाल विश्वविद्यालय ऐन, २०८१ बमोजिम गठित सिफारिस समितिको सिफारिसका आधारमा नेपाल विश्वविद्यालयको संरक्षक परिषद् (बोर्ड अफ ट्रष्टी) ले उनलाई उपकुलपति नियुक्त गरेको हो । त्यस्तै, विश्वविद्यालयको रजिष्ट्रारमा सार्वजनिक नीति तथा पूर्वाधार विकास विज्ञ डा. सूर्यराज आचार्य नियुक्त भएका छन् । ऐनअनुसार विश्वविद्यालयको उच्च शासकीय निकाय संरक्षक परिषद् रहने व्यवस्था छ। नेपाल विश्वविद्यालयका संरक्षक परिषदका पदेनबाहेकका अन्य सदस्यमा डा. राम मनोहर श्रेष्ठ, डा. शिवा थापा, डा. जगदीश चन्द्र पोखरेल, डा. विपिन अधिकारी, डा. विमला राई पौड्याल, लक्ष्मीदेवी पाण्डे, लालकृष्ण केसी, माधवप्रसाद पौडेल, रामेश्वर खनाल र चाँदनी जोशी रहेका छन् ।
टिकटकले (टिनएजर)किशोर–किशोरीहरूको सुरक्षाका लागि नेपालमा सुरु गर्यो ‘फ्यामिली पेयरिङ’ फिचर
काठमाडौं । टिकटकले नेपालमा कलिला प्रयोगकर्ताहरूका लागि जिम्मेवार र सुरक्षित अनलाइन अनुभव प्रवर्द्धन गर्न परिवारहरूलाई सहयोग गर्ने उद्देश्यले आफ्नो नयाँ 'फ्यामिली पेयरिङ' फिचर सुरु गरेको छ । यस फिचरमार्फत अभिभावकहरूले आफ्ना टिनएजर (किशोर-किशोरी) को टिकटक एकाउन्टलाई आफ्नो एकाउन्टसँग जोड्न सक्नेछन्, जसले गर्दा उनीहरूलाई सेफ्टी सम्बन्धी धेरै विकल्पहरूमा पहुँच मिल्ने कम्पनीले जनाएको छ । यसबाट परिवारका सदस्यहरूबीच जिम्मेवार र सुरक्षित इन्टरनेट प्रयोगको संस्कार विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । फ्यामिली पेयरिङ फिचर सुरु गर्नको लागि टिकटकको 'सेटिङ्स एण्ड प्राइभेसी' मेनुमा गएर क्यूआर कोड स्क्यान गरेर अकाउन्टहरू आपसमा जोड्न सकिन्छ । एकचोटि अकाउन्ट जोडिएपछि अभिभावकहरूले आफ्ना छोराछोरीको फोन नछोइकनै आफ्नै मोबाइलबाट सिधै सुरक्षासम्बन्धी सेटिङहरू परिवर्तन गर्न सक्नेछन् । फ्यामिली पेयरिङमा १५ भन्दा बढी सुरक्षा, गोपनीयता र डिजिटल वेल–बिइंगसँग सम्बन्धित कस्टमाइजेबल फिचरहरू छन् जसलाई अभिभावकले आफ्ना छोराछोरीको टिकटक अनुभव अनुसार मिलाउन सक्नेछन् । जस्तै, यसमा दैनिक स्क्रीन टाइम सीमित गर्ने, मेसेजिङ र कमेन्ट रोक्ने, उमेरअनुसारको कन्टेन्ट देखिने बनाउने, एकाउन्ट खोज्न मिल्ने या नमिल्ने बनाउने, सर्च सेटिङ कन्ट्रोल गर्नेजस्ता फिचरहरू रहेका छन् । 'टिकटकका लागि हाम्रो कम्युनिटीको सुरक्षा प्रमुख प्राथमिकतामा पर्दछ, विशेष गरी जब (टिन) युजरहरूको कुरा आउँछ। नेपाली परिवारहरूलाई जिम्मेवार डिजिटल व्यवहारलाई प्रोत्साहन गर्ने उपयोगी टुलहरू प्रदान गर्ने प्रयासकै एक हिस्साको रूपमा फ्यामिली पेयरिङ फिचरको सुरुवात गरिएको हो,’ टिकटकका लागि दक्षिण एसिया क्षेत्रका सार्वजनिक नीति तथा सरकारी सम्बन्ध प्रमुख फिरदौस मोत्तकिनले भने । यो फिचरलाई देशभर पुर्याउन टिकटकले नेपालको चर्चित सेलिब्रिटीहरू र डिजिटल इन्फ्लुएन्सरहरूसँग सहकार्य गर्दै जनचेतनामूलक अभियान पनि सञ्चालन गर्दैछ । यो अभियान मुलधारका मिडिया, आउटडोर बिलबोर्डहरू तथा सामाजिक सञ्जालमार्फत प्रचार गरिनेछ । टिकटकले विश्वभरका प्रयोगकर्ताहरूलाई सुरक्षित र पारदर्शी अनुभव दिन नीतिहरू र फिचरहरू ल्याउँदै आएको छ । नेपालमा ‘फ्यामिली पेयरिङ’को सुरुवात पनि सोही दीर्घकालीन रणनीतिको हिस्सा हो ।
अप्रत्याशित बढे मुस्ताङमा विदेशी पर्यटक, ४ महिनामा ५१ हजार भित्रिए
काठमाडौं । मुस्ताङमा सन् २०२५ को चार महिना ५१ हजार ८९६ विदेशी पर्यटक भित्रिएका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमका अनुसार सन् २०२५ को जनवरी १ देखि अप्रिल अन्तिमसम्म उक्त सङ्ख्यामा विदेशी पर्यटक मुस्ताङ भित्रिएका हुन् । एक्याप जोमसोमका कार्यालय प्रमुख राजेश गुप्ताले मुस्ताङमा विदेशी पर्यटकको आगमन अप्रत्याशित रुपले वृद्धि भइरहेको बताए । सन् २०२५ को चार महिनामा सार्क राष्ट्रका ४३ हजार १५१ र अन्य राष्ट्रका ८ हजार ७४५ विदेशी पर्यटकले मुस्ताङको भ्रमण गरेका छन् । सन् २०२५ को जनवरीदेखि अप्रिलसम्म कुल विदेशी पर्यटक सङ्ख्याको ८३ प्रतिशत सार्क राष्ट्रको र १७ प्रतिशत अन्य राष्ट्रका पर्यटक मुस्ताङ भित्रिएका थिए । सन् २०२५ को जनवरीमा चार हजार ३४६, फेबु्रअरीमा पाँच हजार ३३०, मार्चमा १९ हजार ९५ र अप्रिलमा २३ हजार १५२ विदेशी पर्यटक मुस्ताङ भित्रिएका थिए । सन् २०२४ को जनवरीदेखि अप्रिलसम्म विदेशी पर्यटकको तथ्याङ्क हेर्दा सन् २०२५ को जनवरीदेखि अप्रिलसम्म (३६.६६) प्रतिशतले विदेशी पर्यटकको सङ्ख्या वृद्धि भएको हो । सन् २०२४ को सुरुआती चार महिनामा ३७ हजार ९७४ विदेशी पर्यटकले मुस्ताङको भ्रमण गरेकामा सन् २०२५ को सुरुआती चार महिनामा ५१ हजार ८९६ जनाले मुस्ताङको भ्रमण गरेका छन् । मुस्ताङको ऐतिहासिक, धार्मिक, संस्कृति तथा सामाजिक सभ्यता अवलोकन गर्न उल्लेख मात्रामा विदेशी पर्यटक मुस्ताङ आउने गरेको मुक्तिनाथका होटल व्यवसायी सुरज गुरुङले बताए । मुस्ताङमा बढी मात्रामा भारतीय पर्यटक आउने गरेका छन् । हिन्दू तथा बौद्धमार्गीहरूको साँझा धार्मिक तीर्थस्थल मुक्तिनाथको दर्शनका लागि छिमेकी देश भारतका विभिन्न स्थानबाट पर्यटक आउने गरेका छन् । मुस्ताङमा मुक्तिनाथ मन्दिरको दर्शनसँगै उपल्लो मुस्ताङको कोरलानाका, छोसेर गुफा, लोमान्थाङ दरबार, निफुक गुम्बा, लोघेकर (घर) गुम्बा, चराङ गुम्बा, लुरी गुम्बा, दामोदरकुण्ड, चिउसी गुफा, मुस्ताङ गेट, नुन खानी, कागबेनीधाम, ढुम्बाताल, जोमसोम बजार, मार्फा गाउँ, सेकुङ ताल र टिटी ताललगायतको पर्यटकीय गन्तव्य रहेकाले पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको घुमफिरको गन्तव्य बनेको हो ।