‘जेनजी’ प्रदर्शनले युवामा मानसिक समस्या बढ्दो
काठमाडौं । सोह्र वर्षीया एक किशोरी रातभर निदाउन सकिनन् । बारम्बार जेनजी प्रदर्शनका दृश्यहरू झल्झली आँखामा आउन थालेपछि छटपटी भइरह्यो। पढाइमा पटक्कै मन गएन । समस्या जटिल बन्दै गएपछि परिवारले उनलाई लगनखेलस्थित मानसिक अस्पताल पुर्यायो । चिकित्सकले उनलाई शान्त रहने अभ्यास सिकाउँदै औषधि दिएका छन् । अर्का एक २५ वर्षीय युवा आफैँ प्रदर्शनमा उत्रिएका थिए । गोली चल्न थालेपछि उनी घर फर्किए, तर सञ्चारमाध्यम र सामाजिक सञ्जालमा निरन्तर त्यही विषय हेर्दाहेर्दै उनमा तनावको मात्रा बढ्यो । सामान्य कुरा गर्न नसक्ने, हिँड्दा गन्तव्य थाहा नपाउने, खानपान र दिनचर्या अस्तव्यस्त हुन थालेपछि उनी पनि चिकित्सकको सम्पर्कमा पुगे । त्यसैगरी एक किशोर आफ्नै सहपाठीको मृत्युले विक्षिप्त छन् । साथीको अन्तिम क्षण सम्झिँदा उनमा डर र चिन्ता बढ्छ । उनी हिजोआज निद्रामा पनि आत्तिन थालेका छन् । चिकित्सकका सम्पर्कमा आइपुगेका केही युवाहरूमा देखिएका प्रतिनिधिमूलक समस्या मात्र हुन् यी । हाल यस्ता समस्याबाट धेरै युवाहरू गुज्रिरहेको अनुमान गरिएको छ । लगनखेल मानसिक अस्पतालका मनोचिकित्सक डा वासुदेव कार्की भन्छन्, ‘अचानक निम्तिएको आन्दोलनले सबैलाई असर गरेको छ । प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा आन्दोलनमा संलग्नहरूमा मानसिक समस्या देखा पर्नु स्वाभाविक हो ।’ उनका अनुसार, केही व्यक्तिमा समस्या छिट्टै कम भए पनि, पहिले मानसिक अस्वस्थता भोगिरहेका वा बालबालिकामा दीर्घकालीन असर पर्ने सम्भावना बढी हुन्छ । ‘भौतिक क्षति र आर्थिक असर मात्र होइन, मानसिक स्वास्थ्यमा पनि गहिरो प्रभाव पर्न सक्छ,’ उनले भने । कान्ति बाल अस्पतालका बालबालिका तथा किशोरकिशोरी मनोचिकित्सक डा अमिता झाले पनि बालबालिकामाथि आन्दोलनलका दृश्यले गहिरो प्रभाव पारेको बताए । ‘एन्जाइटी, डिप्रेसनजस्ता लक्षण बढेका छन् । डर, त्रास, भय, घटनाका फ्ल्यासब्याकका लक्षण लिएर आएका छन् । पहिले समस्या नभएका बालबालिकामा पनि यस्ता लक्षण देखा परेका छन्,’ उनले भने। उपचारमा परामर्श सत्र थपिएको र केहीमा औषधिको मात्रा बढाउनुपरेको उनको भनाइ छ । विज्ञका अनुसार मानसिक स्वास्थ्यमा समस्या आएमा तनाव व्यवस्थापनका सामान्य तरिका अपनाउन सक्दा पनि धेरै राहत मिल्छ । सो तरिकामा ‘डिप ब्रेथिङ’ (लामो सास फेर्ने अभ्यास विधि), आफूलाई मनपर्ने गतिविधि (जस्तै कला, सङ्गीत, खेलकुद) मा संलग्नता, परिवार र साथीहरूसँग खुलेर कुरा गर्नु प्रभावकारी मानिन्छ । ‘समाचार वा सामाजिक सञ्जालका सबै सामग्रीमा ध्यान दिनु आवश्यक छैन,’ डा कार्कीको सुझाव छ, ‘मनपर्ने कुरा गर्दै समय बिताउनुपर्छ । तनाव कम गर्न मदिरा र लागूपदार्थबाट टाढा रहनुपर्छ ।’ यदि लक्षण कम भएन भने हेल्पलाइन ११६६ मा २४ घण्टा मनोपरामर्शदाता उपलब्ध रहेको र गहिरो समस्या देखिएमा चिकित्सकसँग भेटेर औषधि र परामर्श लिन सकिने उनको सुझाव छ । बालबालिका तथा किशोरकिशोरी मनोचिकित्सक डा झाले बालबालिका तथा किशोरकिशोरीमा देखिने मानसिक लक्षण रोक्न घर र विद्यालय दुवैमा संवाद आवश्यक रहेको बताए । ‘अभिभावक र शिक्षकहरूले उमेरअनुसार बुझ्ने भाषामा उनीहरूलाई समर्थन र आश्वासन दिनुपर्छ। नियमित तालिकामा राखेर कला, खेलकुदजस्ता क्रियाकलापमा संलग्न गराउँदा उनीहरूलाई आघात पार गर्ने अनुभवहरू कम हुँदै जान्छन्,’ उनले भने । ‘जेनजी’ प्रदर्शनले समाजमा मानसिक स्वास्थ्यको महत्वबारे नयाँ प्रश्न उठाएको छ। डा कार्कीले घटना विर्सन समय लाग्ने तर पीडालाई स्वीकारेर, समर्थन र उपचारको बाटो रोज्दा व्यक्तिहरू पुनः सन्तुलित जीवनतर्फ फर्कन सक्ने बताए। सङ्कटको समयमा मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राख्नु अब राज्य र समाज दुवैको साझा दायित्व बनेको उनको भनाइ छ । रासस
मास्टरकार्ड, भिसा, अलिपेबाटै सरकारी राजस्व भुक्तानी सुरुवात
काठमाडौं । अब अन्तर्राष्ट्रिय कार्ड नेटवर्कमार्फतसमेत नेपाल सरकारलाई राजस्व भुक्तानी गर्न सकिने भएको छ। अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र मुख्य सचिव एकनारायण अर्यालले बिहीबार राजस्व व्यवस्थापन सूचना प्रणाली (आरएमआईएस) मा अन्तर्राष्ट्रिय भुक्तानी प्रणाली (इन्टरनेशनल कार्ड नेटवर्क) अन्तर आबद्धताको शुभारम्भ गरेका हुन् । महालेखा नियन्त्रक कार्यालयका अनुसार अब विदेशमा रहेका सेवाग्राही र नेपाल आउने पर्यटकले मास्टरकार्ड, भिसा कार्ड, अलिपे लगायतका कार्ड प्रयोग गरेर राजस्व भुक्तानी गर्न सक्नेछन् । यस प्रणालीले सेवा प्रवाहलाई पेपरलेस, फेसलेस र चौविसै घण्टा उपलब्ध गराउने दाबी गरिएको छ । साथै राजस्व संकलनलाई द्रुत, पारदर्शी, अन्तर्राष्ट्रिय पहुँचयुक्त र सेवाग्राहीमैत्री बनाउन मद्दत पुग्ने र डिजिटल अर्थतन्त्रको प्रवर्द्धनमा टेवा पुग्ने सरकारको अपेक्षा छ । हाल यो सेवा अध्यागमन विभागका राजस्व भुक्तानीमा मात्रै सुरु भए पनि आगामी दिनमा अन्य सरकारी निकायमा पनि विस्तार गरिने महालेखा नियन्त्रक कार्यालयका प्रवक्ता दीपक लामिछानेले जानकारी दिए ।
दशैंमा भायानेटको अफर : इन्टरनेट जडान वा रिन्युमा छुट र आकर्षक उपहार
काठमाडौं । भायानेटले दशैंलाई लक्षित गर्दै नयाँ तथा पुराना दुवै ग्राहकका लागि अफर सार्वजनिक गरेको छ । प्रत्येक वर्ष दशैंमा विशेष योजना ल्याउने भायानेटले यसपटक अझ ठूलो आकर्षक अफर ल्याएको जनाएको छ । यस अफर अन्तर्गत नयाँ इन्टरनेट जडान गर्ने वा पुरानो सेवा नवीकरण गर्ने सबै ग्राहकले छुट र उपहार पाउनेछन् । कम्पनीका अनुसार ३ हजार रुपैयाँ पर्ने मेस राउटरलाई ५०० रुपैयाँ छुटसहित २ हजार ५०० रुपैयाँमा उपलब्ध गराइनेछ । त्यस्तै, १० हजार ७४९ पर्ने डूअल ब्याण्ड फोन ‘जेडटिई नुबिया ए३६’ छुटसहित ८ हजार ९९९ रुपैयाँमा पाइनेछ। साथै, ४३ इन्चको हिमस्टार स्मार्ट टिभी २७ हजार ९९९ रुपैयाँमा खरिद गर्न सकिनेछ । यसबाहेक, इसेवा एपमार्फत ८ हजार ४०० रुपैयाँ भन्दा माथि भुक्तानी गर्ने ग्राहकले प्रोमोकोड भीआइए ३०० प्रयोग गरी ३०० रुपैयाँ क्यासब्याक पाउनेछन् । त्यस्तै, ग्राहकले 'स्पीन द व्हील' कार्यक्रममा भाग लिएर थप १ महिना, २ महिना वा १२ महिनासम्म निःशुल्क इन्टरनेट सेवा पाउने अवसर पनि पाउनेछन् ।