बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य निगरानी अभियान तिव्र, ११ हजारले पाए मनोसामाजिक सेवा

काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा, रोग निगरानी तथा खोप अभियानलाई तीव्रता दिइएको छ । 

बाढीमा परी घाइते भएका ३४४ जनामध्ये २९३ जना उपचारपछि डिस्चार्ज भएका छन् भने १५ जना अझै विभिन्न अस्पतालमा उपचाररत छन् । स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाईका अनुसार असोज ४ गतेसम्म १९ वटा स्वास्थ्य संस्थाबाट प्राप्त विवरणमा बाढीपछि अस्पतालमा उपचार गराइरहेका १५ जना रहेका छन् । उपचारका क्रममा ४ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

उपचाररतमध्ये त्रिवि शिक्षण अस्पतालमा ८ जना, राष्ट्रिय ट्रमा सेन्टरमा ३ जना, पाटन अस्पतालमा २ जना तथा श्री वीरेन्द्र अस्पताल र बीएनबी अस्पतालमा १/१ जना उपचाररत छन् ।  

बाढीपछि सम्भावित संक्रामक रोगको जोखिमलाई मध्यनजर गर्दै प्रभावित जिल्लामा रोग निगरानी प्रणालीलाई समेत सक्रिय बनाइएको छ । पछिल्लो २४ घण्टाको निगरानीमा २ जनामा सामान्य ज्वरो र १ जनामा एक्युट ग्यास्ट्रोएन्टेराइटिसको लक्षण देखिएको छ । मन्त्रालयका अनुसार हालसम्म झाडापखाला तथा अन्य ठूला सरुवा रोगको प्रकोप नियन्त्रणमै रहेको छ ।

हैजाविरुद्धको खोप अभियान तीव्र

बाढी तथा विस्थापनपछि दूषित पानी र खाद्य पदार्थका कारण हैजा तथा अन्य पानीजन्य रोग फैलिन सक्ने जोखिमलाई ध्यानमा राख्दै प्रभावित क्षेत्रमा मुखबाट खुवाइने हैजाविरुद्धको खोप अभियान सञ्चालन भइरहेको छ ।
हालसम्म नुवाकोटमा ६५ प्रतिशत र रसुवामा ५०.४ प्रतिशत जनसंख्याले खोप लगाइसकेका छन् । उद्धारकर्मी तथा घाइतेलाई टिटानस–डिप्थेरिया खोपसमेत दिइएको छ । 

बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा उपलब्ध गराउन ३४ वटा मेडिकल टोली परिचालन गरिएको छ । तीमध्ये ६ टोली हाल फिल्डमै सक्रिय छन् । परिचालित टोलीबाट हालसम्म ८ हजार २२६ जनाले स्वास्थ्य सेवा पाएका छन् । 

११ हजारभन्दा बढीलाई मनोसामाजिक सेवा 

बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिका कारण प्रभावितमा परेको मानसिक असर सम्बोधन गर्न मनोसामाजिक स्वास्थ्य सेवासमेत सञ्चालन गरिएको छ । 

मन्त्रालयका अनुसार ९१ जना विशेषज्ञ तथा परामर्शदाता फिल्डमा परिचालन भएका छन् । उनीहरूमार्फत हालसम्म ११ हजार ७८१ जनाले मनोसामाजिक प्राथमिक उपचार तथा परामर्श सेवा प्राप्त गरेका छन् ।
नुवाकोट, काठमाडौं, रसुवा र धादिङका २२ वटा होल्डिङ सेन्टरमा १ हजार ४५७ जना रहेका छन् । तीमध्ये ज्येष्ठ नागरिक, बालबालिका, गर्भवती तथा अपाङ्गता भएका २६८ जनालाई प्राथमिकतामा राखेर स्वास्थ्य निगरानी भइरहेको छ । 

पछिल्लो २४ घण्टामा होल्डिङ सेन्टरमा रहेका २९६ जनाले स्वास्थ्य सेवा पाएका छन् ।

चार स्वास्थ्य संस्था पूर्ण क्षतिग्रस्त

बाढीका कारण रसुवाका स्याफ्रुबेँसी, टिमुरे, टिमुरे हेल्थ डेस्क र मैलुङ सामुदायिक स्वास्थ्य एकाइ पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । 

यस्तै, बैरेनी अस्पताल, चरौँदी आधारभूत स्वास्थ्य केन्द्र र बैरेनी आयुर्वेद औषधालयमा आंशिक क्षति पुगेको छ । क्षतिग्रस्त स्वास्थ्य संस्थाबाट सेवा प्रभावित नहोस् भनेर बैरेनी अस्पताल, चरौँदी आधारभूत स्वास्थ्य केन्द्र र बैरेनी आयुर्वेद औषधालयले वैकल्पिक स्थानबाट सेवा प्रवाह गरिरहेका छन् । 

बाढीका कारण दुई स्वास्थ्य संस्थामा पुग्ने बाटोसमेत अवरुद्ध भएको स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाईले जनाएको छ । 

सरकारले बाढी प्रभावित क्षेत्रमा तत्कालीन स्वास्थ्य सेवा सञ्चालनसँगै पानी तथा खाद्य स्वच्छता, रोग निगरानी, खोप, मनोसामाजिक सेवा र उच्च जोखिम समूहको स्वास्थ्य अवस्थालाई प्राथमिकतामा राखेर प्रतिकार्य अघि बढाएको छ ।

Share News