वायुसेवा निगममा भएको अनियममितता छानबिन गर्न जेनजीको माग

काठमाडौं । जेनजी नेपालले नेपाल वायुसेवा निगममा भएको अनियममितता छानबिन गर्न माग गरेको छ । जेनजी समुहले आइतबार नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई भेटी उक्त माग गरेको हो ।  जेनजी समुहका अन्तरिम वार्ता समितिका सहसंयोजक अर्जुन शाहीले निगमका भ्रष्टाचार तथा घोटलाहरुको छानबिन गरी पारदर्शी र जनहितमुखी सेवा प्रवाहको लागि आवश्यक कदम चाल्न ज्ञापनपत्र बुझाएको जानकारी दिए । उनले वाइडबडी र लाउडा एयर घोटालाको छानबिन गरी दोषी ठहर भएकालाई कारबाही गर्न माग गरेको बताए ।  अदालतबाट दोषि ठहर भएर कार्यन्वयन नभएकाहरुलाई तत्काल कानुनी दायरमा ल्याउन आग्रह गरेको समेत उनले बताए । साथै करार कर्मचारीहरू संख्या कटौती गर्नुपर्ने माग राखेको जानकारी दिए । निगमले जनताको पहुँच हुने पारदर्शी प्रणाली लागू गरिनुपर्ने, दुर्गम क्षेत्रका लागि सस्तो र सहज हवाई पहुँच सुनिश्चित गरिनुपर्ने जेनजी समूहको माग छ । आफूहरूको माग पूरा नभए सबैले स्वेछिक राजिनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने माग गरेको शाहीले जानकारी दिए ।  निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले २०४६ सालपछि निगममा चरम राजनितिक हस्तक्षेप भएको स्वीकार गरेका छन् । जेनजीले उठाएका वाइडवडी र लाउडा लगायतका काण्ड २०४६ सालपछि भएको उनले बताए । जहाज खरिदमा मात्रै नभएर विक्रीमा पनि अनियमितता हुने गरेको पाइएको बताए । जहाज विक्री गर्दा ग्राउण्डेड गराएर मात्रै विक्री गर्ने गरिएको उनको भनाई छ । उनले निगमको अनियमितताको छानविनमा कर्मचारीहरुले छानविन समितिलाई सहयोग गरेको पनि बताए ।  जेनजी समुहले सवै भ्रष्टाचार प्रकरणहरूको स्वतन्त्र छानविन आयोग गठन गरी ३० दिनभित्र प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, २०४७ सालपछि नियुक्त सबै कर्मचारी र पदाधिकारीहरूको सम्पती विवरण २१ दिनभित्र सार्वजनिक गरिनुपर्ने माग गरेका छन् । निगमले दुर्गममा हवाई रुट थप्नुपर्ने, विद्यार्थी, असहाय तथा गरिबलाई ५० प्रतिशत छुट दिनुपर्ने उनीहरुको माग छ ।

करारका कर्मचारीलाई पनि सामाजिक सुरक्षा कोषको दायरामा ल्याउनुपर्छ : सञ्चारमन्त्री खरेल

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले करारमा रहेका सरकारी कर्मचारीलाई सामाजिक सुरक्षा कोषको दायरामा ल्याउनुपर्ने बताएका छन् । आइतबार काठमाडौंको सञ्चारग्रामस्थित न्युनतम पारिश्रमिक निर्धारण समितिको कार्यालयमा अनुगमन गर्ने क्रममा उनले करारमा रहेका सरकारी कर्मचारीलाई सामाजिक सुरक्षा कोषको दायरामा ल्याउनका लागि तत्काल गृहकार्य गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।  सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री खरेलले अन्य सरकारी कर्मचारीहरुले पेन्सन लगायतका सुविधा समेत पाउने भएकाले करारमा रहेका कर्मचारीहरुलाई सामाजिक सुरक्षा कोषको दायरामा ल्याउन आवश्यक रहेको तर्क समेत गरे । उनले सबै सञ्चारकर्मीहरुलाई सो कोषको दायरामा ल्याउन सरकार लागि परेको पनि बताए ।  सञ्चारमन्त्री खरेलले भने, ‘मैले सचिवज्युलाई म आएलगत्तैको हप्तामा यो कुरा राखेको पनि छु कि कसरी हामीले अव सामाजिक सुरक्षा कोषको दायरामा पत्रकारलाई, सञ्चारकर्मीलाई ल्याउन सकिन्छ । अब कसरी व्यवहारिक रुपमा सकिन्छ त ? यसको व्यवहारिक पाटो पनि हेर्दै कम्तिमा शुरुवात गरेर अगाडि बढियो । र एउटा फाउण्डेशन, बेसलाईन बनाइयो भने अगाडि बढन सकिन्छ ।’ मन्त्री खरेलले सामाजिक सुरक्षा कोषको दायरामा अनौपचारिक क्षेत्रलाई समेट्ने कामलाई सरकारले जोड दिएको पनि जानकारी दिए ।   

राष्ट्रपति अस्पतालबाट डिस्चार्ज

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्य लाभ गरी अस्पतालबाट डिस्चार्ज भएका छन् ।      त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका अनुसार शनिबार उनी अस्पतालमा भर्ना भएकामा उनको स्वास्थ्य अवस्था सामान्य भएकाले डिस्चार्ज भएका हुन् ।