हलेसी डेकोरले सुरु गर्‍यो डिजिटल बिलिङ प्रणाली

काठमाडौं । हलेसी डेकोरले आफ्नो व्यापारिक यात्राको १५औं वर्ष पूरा गर्दै अब डिजिटल कम्प्युटराइज्ड बिल प्रणाली लागू गरेको छ । कुर्सी, पर्दा, सोफा, कार्पेट, फर्निचर, पार्केट, म्याट्रेस, सिरानि, बेडसिटलगायतका सामग्री ग्राहकको चाहना र बजेटअनुसार उपलब्ध गराउँदै आएको हलेसी डेकोरले निरन्तर १५ वर्षको सफल सेवालाई पारदर्शी र विश्वसनीय कारोबारतर्फ रूपान्तरण गर्ने उद्देश्यसहित यो प्रणाली सुरु गरेको हो । ‘व्यापारमा इमान्दारिता, हाम्रो प्रतिवद्धता’ भन्ने मूल नारासहित सुरु गरिएको नयाँ अभियानअन्तर्गत अबदेखि कम्पनीका सबै कारोबार कम्प्युटर–जेनरेटेड बिलमार्फत हुनेछन् ।  साथै प्रत्येक सामानमा एमआरपी (अधिकतम खुद्रा मूल्य) स्पष्ट रूपमा उल्लेख गरिनेछ। यसले ग्राहक र कम्पनीबीचको सम्बन्धलाई अझ सुरक्षित, प्रमाणित र विश्वासिलो बनाउने कम्पनीको दाबी छ । हलेसी डेकोरले १५ वर्षको अनुभव, उचित मूल्य, ग्राहकअनुकूल सेवा र ‘बिक्री पछिको सेवा हाम्रो जिम्मेवारी’  भन्ने अडानका साथ पारदर्शी व्यापारलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।

विनोद, रविभक्त र रमेशको व्यावसायिक सहयात्रा, साढे ११ अर्ब लगानीमा कुपन्डोलमा होटल र अपार्टमेन्ट

काठमाडौं । तीन ठूला व्यवसायीले व्यावसायिक सहयात्रा गरेका छन् । चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरी, आईजे ग्रुपका अध्यक्ष रविभक्त श्रेष्ठ र शर्मा एण्ड कम्पनीका अध्यक्ष रमेश शर्माबीच व्यावसायिक साझेदारी भएको हो ।  उनीहरुले मिलेर अहिले ललितपुरको कुपण्डोलमा समिट होटल र अपार्टमेन्टहरु निर्माण गरिरहेका छन् । उनीहरुले समिट होटल प्राइभेट लिमिटेड नामक कम्पनीबाट पुरानो समिट होटललाई भत्काएर नयाँ संरचना बनाइरहेका छन् ।  कम्पनीका अनुसार हाल कम्पनीले पुरानो सञ्चालनमा रहेको होटल भवनलाई भत्काएर नयाँ संरचना निर्माण गर्ने कार्य सुरु गरेको छ । नयाँ निर्माण अन्तर्गत १२० कोठे होटल भवन र १५० एकाइ मिलेर बनेका दुईवटा आवासीय अपार्टमेन्ट टावरहरू निर्माण गरिँदैछन् ।  सन् २०२५ अप्रिलको मध्यसम्म कम्पनीको चुक्ता पूँजी ४१ करोड ६० रुपैयाँ रहेको छ । जसको करिब ५१ प्रतिशत हिस्सा आर एण्ड आर हेरिटेज प्रालिले (चौधरी समूह र आईजे समूहबीचको संयुक्त लगानी) स्वामित्व गरेको छ । करिब ३४ प्रतिशत हिस्सा जेन इन्फ्रा एण्ड बिल्डर्स प्रालिले (इम्प्लिमेन्टिङ एक्सपट्र्स ग्रुप) र बाँकी करिब १५ प्रतिशत हिस्सा रमेश शर्माको रहेको छ ।  यद्यपि, रेटिङ एजेन्सी इक्रा नेपालले भने यस कम्पनीको रेटिङ घटाएको छ । इक्रा नेपालले यस कम्पनीलाई दीर्घकालिन ऋणको लागि एलबी प्लस र अल्पकालिन ऋणको लागि ए फोर रेटिङ प्रदान गरेको छ । रेटिङ घट्नुको मुख्य कारण कम्पनीको समग्र परियोजना लागतमा करिब ६८ प्रतिशत वृद्धि हुनु र परियोजनाको प्रगति ढिलो हुनु रहेको इक्राले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  कम्पनीले हालसम्मको अनुमान अनुसार परियोजनाको लागत ६ अर्ब ९४ करोड ४० लाख रुपैयाँबाट बढेर ११ अर्ब ६८ करोड ५० लाख रुपैयाँ पुगेको जनाएको छ । लागत बढ्नुमा अपार्टमेन्टको निर्मित क्षेत्रफल विस्तार (करिब २८ प्रतिशत वृद्धि) भए पनि बिक्रीयोग्य क्षेत्रफल नबढ्नु र विगतको जमिन धसाइ समस्या समाधान गर्न अतिरिक्त जग निर्माण गर्नुपर्ने अवस्थाले थप खर्च बढाएको उल्लेख छ ।  मध्य अप्रिल २०२५ सम्म परियोजनाको समग्र भौतिक प्रगति २३ प्रतिशत मात्र पुगेको छ, जबकि अपार्टमेन्ट खण्डको प्रगति करिब ३९ प्रतिशत छ । होटल खण्ड अझै डिजाइन चरणमै रहेको कम्पनीले जनाएको छ ।  काठमाडौं उपत्यकाको रियल स्टेट र होटल क्षेत्रमा तीव्र प्रतिस्पर्धा बढ्दै गएकाले समिट होटल परियोजना सञ्चालन भएपछि पनि स्थायित्वमा चुनौती रहने इक्राले विश्लेषण गरेको छ । विशेष गरी अन्तर्राष्ट्रिय ब्रान्डसमेत प्रवेश गरिरहेका बेला मूल्य र आम्दानीमा दबाब पर्ने सम्भावना छ ।  यद्यपि, परियोजना ललितपुरको आकर्षक स्थानमा रहेको र अनुभवी प्रवर्तक समूहहरू– चौधरी समूह, आईजे समूह, इम्प्लिमेन्टिङ एक्सपट्र्स समूह र शर्मा एण्ड कम्पनी प्रालिको संलग्नता रहेकोले दीर्घकालीन रूपमा यसले राम्रो परिणाम दिन सक्ने अपेक्षा गरिएको छ ।  

गुल्मीका ५१ प्रतिशत नागरिक स्वास्थ्य बीमाको पहुँचमा

तम्घास । सामाजिक सुरक्षाअन्तर्गत सरकारले ल्याएको स्वास्थ्य बीमा कार्यक्रमप्रति गुल्मीका नागरिकको आकर्षण बढ्दै गएको छ । स्वास्थ्य उपचारमा सहज पहुँच स्थापित गराउने उद्देश्यले स्वास्थ्य बीमा कार्यक्रमको सुरुवात गरिएको थियो ।  जिल्लाका ५१.६५ प्रतिशत नागरिकमा स्वास्थ्य बिमा पहुँचमा पुगेको छ । २०७८ सालको जनगणनाअनुसार जिल्लामा कूल दुई लाख ४६ हजार आठ सय ३६ जनसङ्ख्या रहेकोमा एक लाख २७ हजार तीन सय ५५ जनाले स्वास्थ्य बिमा गराएका छन् । जसमा महिला ६५ हजार छ सय ६६ र पुरुष ६१ हजार छ सय ८९ जना रहेका छन् ।  सबैभन्दा बढी रेसुङ्गा नगरपालिकाका २४ हजार पाँच सय ४१ जनाले स्वास्थ्य बिमा गराएका छन् । त्यसैगरी चन्द्रकोटका छ हजार चार सय, छत्रकोटका १२ हजार दुई सय ६३, धुर्कोटका १० हजार तीन सय पाँच, गुल्मी दरबारका १० हजार दुई सय १०, इस्माका सात हजार तीन सय ५० नागरिकले स्वास्थ्य बीमा गराएका छन् ।  त्यसैगरी, कालीगण्डकीका छ हजार सात सय तीन, मदानेका तीन हजार छ सय ७६, मालिकाका आठ हजार एक सय ९९, मुसीकोटका सात हजार आठ सय ४१, रुरुक्षेत्रका १४ हजार ८५ तथा सत्यवतीका १५ हजार सात सय ८२ नागरिकले स्वास्थ्य बीमा गराएको स्वास्थ्य बीमा बोर्ड गुल्मीका प्रमुख सुवास घिमिरेले जानकारी दिए ।  जिल्लामा हालसम्म शुल्क लाग्ने साधारण समूहतर्फ २१ हजार ३३ परिवारका एक हजार पाँच सय २४ परिवार र ५० प्रतिशत छुटमा आठ सय ८३ महिला स्वास्थ्य स्वयंसेविकाका परिवारका चार हजार छ सय दुई जनाले स्वास्थ्य बीमा गराएका छन्।  सरकारले ज्येष्ठ नागरिक, अपाङ्ग एवं विभिन्न रोग लागेकाहरूको परिवारलाई निःशुल्क स्वास्थ्य बीमा पनि गराइदिएको छ । जसमा १७ हजार सात सय १२ ज्येष्ठ नागरिक निःशुल्क बीमाको पहुँचमा आएका छन् ।  ‘क’ वर्गका अपाङ्गतर्फ सात सय ९३ परिवारका तीन हजार नौ सय ९९ जना, एचआइभी एड्स सङ्क्रमित एक सय ६६ परिवारका चार सय ८२ जना, कुष्ठरोगीका तीन परिवारका १२ जना तथा एमडीआर टिबीका छ परिवारका २५ जनाको पनि निःशुल्क स्वास्थ्य बीमा गराइएको स्वास्थ्य बीमा बोर्ड गुल्मीका प्रमुख घिमिरेले बताए। गुल्मीमा २०७६ साल माघ १९ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रम सुरु गरिएको थियो । सरकारले तीन हजार पाँच सयमा एक परिवारका पाँच सदस्यसम्मको बीमा गर्दछ । जसमा एक लाख बराबरको औषधि–उपचार निःशुल्क प्राप्त गर्दछन् ।  त्यसैगरी, परिवार सङ्ख्या पाँचभन्दा बढी भएमा प्रतिव्यक्ति ७ सयका दरले प्रथम बीमा शुल्कमा थपिँदै जाने र सो रकमले २० हजार उपचार खर्च प्राप्त हुने स्वास्थ्य बीमा बोर्डले जनाएको छ ।