विदेशिने विद्यार्थीको नयाँ रेकर्ड बन्यो, अधिकांशको रोजाई जापान, एक महिनामै ७ हजार विद्यार्थी बाहिरिए

काठमाडौं ।  विदेश अध्ययनमा जान चाहने विद्यार्थीको चाप यस वर्ष बढेको छ । यसअघिको ‘रेकर्ड ब्रेक’ गर्दै यस वर्ष एकै महिनामा सात हजारभन्दा बढी विद्यार्थीले शिक्षा मन्त्रालयबाट नो अब्जेक्सन लेटर लगेका छन् । शिक्षा मन्त्रालयको वैदेशिक अध्ययन अनुमति तथा व्यवस्थापन शाखाका अनुसार फागुनमा सात हजार दुई सय ९२ विद्यार्थीले नो अब्जेक्सन लेटर लगेका हुन् । यीमध्ये आधाभन्दा बढी जापानमा भाषा अध्ययनका लागि जान खोजेका विद्यार्थी हुन् । ‘अहिलेसम्म नआएको संख्या अनपेक्षित रूपमा बढ्यो,’ शाखा प्रमुख डिल्लीश्वर प्रधानले भने, ‘सबैभन्दा बढी जापानका लागि नो अब्जेक्सन लेटर लगेका छन् । किन यति धेरै आकर्षण भयो भन्ने थाहा छैन । तर, जापानले कोटा बढाएको भन्ने सुनिएको छ ।’ उनका अनुसार अघिल्लो वर्ष फागुनमा तीन हजार पा“च सय विद्यार्थीले नो अब्जेक्सन लेटर लगेकोमा यो वर्ष दोब्बरले बढेको हो । अमेरिका जान खोज्ने न्यून अघिल्ला वर्षमा अमेरिका अध्ययनमा जान चाहने विद्यार्थी संख्या धेरै थियो । तर, फागुनमा २१ जनाले मात्र नो अब्जेक्सन लेटर लगेका छन् । अमेरिकी राष्ट्रपति डोनान्ड ड्रम्पको आप्रवासी नीति फेरिएका कारण विद्यार्थीले भिसा आवेदन गर्नसमेत छाडेका छन् । नो अब्जेक्सन लेटर लिने संख्याका आधारमा १६औँ स्थानमा अमेरिका छ । ‘अमेरिकामा डोनान्ड ट्रम्प राष्ट्रपति भएपछि पनि विद्यार्थी भिसालाई कडाइ गरिएको छैन,’ डल्फिन एजुकेसन कन्सल्टेन्सीका प्रबन्ध–निर्देशक प्रेम पाण्डेले भने, ‘तर, हल्लाका कारण अध्ययनका लागि आवेदन गर्नेको संख्या कम भएको छ ।’ एकेडेमिक प्रतिशत तथा आइइएलटिएस र स्याटमा राम्रो भएमा छात्रवृत्ति पाइने सम्भावना बढी हुने उनी बताउँछन् । कुन महिना कतिले लगे नो अब्जेक्सन लेटर यस वर्ष सबैभन्दा बढी फागुनमा सात हजार दुई सय ९२ जनाले नो अब्जेक्सन लेटर लगेका छन् । साउनमा तीन हजार ८३, भदौमा चार हजार चार सय २१, असोजमा दुई हजार ६ सय ६९, कात्तिकमा दुई हजार दुर्य सय ३९, मंसिरमा चार हजार चार सय ३५, पुसमा तीन हजार आठ सय ७९ र माघमा तीन हजार पाँच सय एकजनाले नो अब्जेक्सन लेटर लगेको शिक्षा मन्त्रालयको तथ्यांक छ । नयाँ पत्रिका दैनिकबाट ।

बर्डफ्लुको नयाँ भाइरस भेटियो, ‘एच५ एन८’ नेपालमै

काठमाडौं । नेपालका पक्षीमा पहिलोपटक बर्डफ्लुको नयाँ भाइरस फेला परेको छ । पशुपक्षी विकास मन्त्रालयअन्तर्गतको पशु सेवा विभागका अनुसार गत १८ फागुनमा इटहरीको शान्तिटोलका पक्षीमा बर्डफ्लुको नयाँ भाइरस ‘एच५ एन८’ भेटिएको हो । इटहरीको तालतलैयाका पक्षी र खनार क्षेत्रका कुखुरामा त्यस्तो नयाँ भाइरस फेला परेको तथ्य नेपालले लुकाए पनि विश्व स्वास्थ्य संगठनले यसको पुष्टि गरेको छ । यसअघि नेपालमा बर्डफ्लु ‘एच५ एन१’ भाइरस देखिँदै आएको थियो । तर, सुनसरीको इटहरी क्षेत्रमा पछिल्लो समय देखिएको भाइरस नयाँ प्रजातिको भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. भीम आचार्यले बताए । आचार्यले नयाँ भाइरस देखिए पनि नेपालमा बढी बर्डफ्लु गराउने भाइरस एच५ एन१ नै भएको बताए । ‘इटहरीको ताल–तलैयाका चराहरूमा केही समयअघि देखिएको ‘एच५ एन८’ भाइरस हो । तर, यसले नयाँ रूप परिवर्तन गरिरहने भएकाले धेरै ठूलो विषय मान्नुहुँदैन,’ डा. आचार्यले भने । उनले सुनसरीमा ६ हजार चरा मारिएको जानकारी दिए । भाइरसले नेपालमा रूप परिवर्तन गर्न थालेकाले चरा र कुखुराबाट टाढै रहन आचार्यले सुझाब दिएका छन् । नेपालले रिपोर्ट गोप्य राख्यो ‘एच५ एन८’ भाइरसका कारण इटहरी र आसपासमा ६ हजार पक्षीको मृत्यु भइसक्दा पनि सरकारले नयाँ भाइरसबारेको तथ्य गोप्य राखेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले यसबारे जानकारी गराउनुपर्ने भए पनि उसले इटहरी र आसपासमा देखिएको बर्डफ्लुमा ‘एच५ एन१’ भाइरस भएको बताएको थियो । विश्व स्वास्थ्य संगठन र विश्व पशु स्वास्थ्य संगठन (ओआई)ले नेपालमा बर्डफ्लुको नयाँ भाइरस देखिएको भन्दै सचेत रहन आग्रह गरेपछि मात्र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले स्वीकार गरेको हो । बर्डफ्लुको शंकामा गरिएको प्रयोगशाला परीक्षणमा युरोपतिर देखिएको बर्डफ्लुको नयाँ भाइरस ‘एच५ एन८’ नेपालमा पनि रहेको पुष्टि भएको हो । शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका क्लिनिकल रिसर्च युनिटका संयोजक डा। शेरबहादुर पुनले नयाँ पत्रिकासँग भने, ‘यो कहाँबाट आयो भनेर निष्कर्ष निकाल्न बाँकी रहे पनि घुमन्ते चराबाट स्थानीय पक्षीमा सर्ने गरेको विभिन्न अध्यनबाट देखिन्छ ।’ नेपालमा नयाँ प्रजातिको भाइरस देखिएपछि विश्व पशु स्वास्थ्य संगठन ९ओआई० र विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ०ले सतर्क रहन नेपालीलाई आग्रह गरेका छन् । पुनका अनुसार तीन महिनाअगाडि छिमेकी देश भारतमा यो बर्डफ्लुको प्रजाति ‘एच५ एन८’ प्रकोपका रूपमा देखा परेको थियो । यसको भाइरस मानिसमा सरेर हालसम्म मृत्यु भएको घटना फेला नपरे पनि मानिसमा सर्न सक्ने सम्भावना भने रहेको बताइन्छ । डब्लुएचओले पनि त्यसैकारण सचेत रहन आग्रह गरेको हो । ‘एच५ एन८’ नयाँ भाइरस हाल युरोप, अफ्रिका तथा एसियाका विभिन्न देशमा प्रकोपका रूपमा देखिएको छ । नयाँ पत्रिका दैनिकबाट ।

हवाई कालोसूची हटाउन युरोपेली आयोगलाई नेपालको आधारपत्र हस्तान्तरण

काठमाडौं । युरोपेली आकासमा नेपाली एयरलाइन्सहरूको उड्डयनमा लगाउँदै आएको प्रतिबन्ध हटाउने सम्बन्धमा नेपाल सरकारले युरोपेली आयोगलाई औपचारिक आधारपत्र बुधबार हस्तान्तरण गरेको छ । नेपाली एयरलाइन्सहरूले हवाई सुरक्षा मापदण्ड (एयर सेफ्टी) पूरा गर्न नसकेको कारण देखाउँदै युरोपली आकासमा लगाउँदै आएको प्रतिबन्ध हटाउन अनुरोध गर्दै परराष्ट्र सचिव शंकरदाश बैरागीले पर्यटन मन्त्रालयद्वारा उपलब्ध गराइएको सो आधारपत्र नेपालका लागि युरोपेली सङ्घकी राजदूत रेन्जे टिरिन्कलाई परराष्ट्र मन्त्रालयमा बुधबार हस्तान्तरण गरेका हुन् । परराष्ट्र मन्त्री डा.प्रकाशशरण महतले गत फागुनको पहिलो हप्ता गरेका ब्रसेल्स भ्रमणका क्रममा युरोपेली आयोगका अध्यक्ष जिन क्लाउड युंकर र आयोगकी उपाध्यक्ष एवम् विदेश मामिला र सुरक्षा नीतिसम्बन्धी उच्च प्रतिनिधि फेडेरिका मोगरिनीसँग उक्त कालो सूचीको प्रावधान हटाउन अनुरोध गरेका थिए । मन्त्री डा।महत र युरोपेली आयोगका अध्यक्ष युंकरबीचको भेटका क्रममा भएको सहमझदारी अनुसार आयोगले मागेको पछिल्लो प्रगति प्रतिवेदनसहितको मापदण्ड पूरा गरिएको पत्र बुधबार राजदूतमार्फत आयोगलाई हस्तान्तरण गरिएको हो । भेटमा आयोगका अध्यक्ष युंकरले मन्त्री डा।महतलाई पछिल्लो समयमा उक्त हवाई सुरक्षा मापदण्ड पूरा गरेको सम्बन्धी कागजका आधारमा नेपालको उक्त सूची हटाइने आवश्वासन दिएका परराष्ट्र मन्त्रालयले जनाएको छ । सो पत्रमा हवाई सुरक्षा (एयर सेफ्टी) सम्बन्धमा नेपालले हालैका वर्षहरूमा गरेको प्रगति तथा त्यस सम्बन्धमा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाव) ले गरेको तथ्यगत प्रगति समावेश छ । आइकावको प्राविधिक समूहले गत नोभेम्बर महिनामा गरेको अध्ययन अनुसार उक्त संगठनले हवाई सुरक्षाका सम्बन्धमा तय गरेको मापदण्ड नेपालले पूरा गरेको छ । सो पत्रमा उक्त मापदण्ड र यसको कार्यान्वयन बारेको नेपालको पछिल्लो अवस्था समेटिएको छ । उक्त पत्र बुुझ्दै राजदूत रिन्जेले आफूले उक्त पत्र चाँडै युरोपेली सङ्घमा पठाउने र छिट्टै नेपाल उक्त कालो सूचीबाट हट्ने विश्वास व्यक्त गरेका छन् । युरोपेली सङ्घले युरोपेली देशहरूको आकासमा नेपाली एयरलाइन्समाथि लगाउदै आएको सो प्रतिबन्ध हट्दा नेपालको पर्यटन क्षेत्रमा उल्लेखनीय टेवा पुग्ने अपेक्षा गरिएको छ । रासस