सगरमाथा आधार शिविरमा इन्टरनेट, ३ वर्षभित्रै देशैभर ब्रोडव्याण्ड इन्टरनेट

सल्लेरी । सगरमाथा आधार शिविर र आदब्लम हिमालमा वाइफाई सेवा सन्चालनमा आएको छ । सगरमाथा आधार शिविरमा नै इन्टरनेट चलाउँन पाएपछि पर्यटक आफ्नो घर परिवारसँग नजिकै भएको अनुभूति गर्न थालेका छन् । आधार शिविरमा नै इन्टरनेट चलाउन पाएकोले घरपरिवारबाट टाढा नरहेको बेलायती नागरिक लिजी कोल्टाइले बताउनुभयो । एभरेष्ट लिंकको खुम्बु क्षेत्रमा इन्टरनेट जडान गर्ने क्रममा आधार शिविरमासमेत इन्टरनेट सेवा प्रदान गरेको हो । ३ वर्षभित्रै देशैभर ब्रोडव्याण्ड इन्टरनेट नेपाल दूरसञ्चार प्राधिकरणले आगामी ३ वर्षभित्रै देशैभर ब्रोडव्याण्ड इन्टरनेट पुर्याउने भएको छ । प्राधिकरणका अध्यक्ष दिगम्बर झाका अनुसार देशका अधिकांश क्षेत्रमा इन्टरनेट पुर्याउने लक्ष्यसहित काम सुरु भएको छ । प्राधिकरणले विश्व दूरसञ्चार तथा सूचना समाज दिवसको अवसरमा योजानकारी दएको छ । प्राधिकरण्लो तीन वर्षमा ९८ प्रतिशत भूमागमा इनटरनेट पुर्याउने दाबी पनि गरेको छ । गोरखापत्र दैनिकबाट ।

एनसेलसँग कर उठाउने काम कर कार्यालयको हो, फोरजीको लाइसेन्स र करलाई जोडेर हेर्नुहुन्न: झा

दिगम्बर झा, अध्यक्ष, नेपाल दूरसञ्चार प्राधिकरण नेपाल दूरसञ्चार प्राधिकरणले यतिबेला साइबर कानुन बनाउँदै छ । सकभर साइबर अपराध नै नहोस भन्ने हाम्रो मुल ध्येय हो । साइबर क्राइम भयो भने त्यसको निदानका लागि हामीले कडा व्यवस्था गर्दैछौं । अहिले संसारभर साइबर हमलाका घट्ना आईरहेका छन् । हामीले पनि मोबाइल मनी वा इकमर्शमा जाँदा त्यसका लागि सुरक्षाको उपयुक्त व्यवस्था गर्नुपर्छ । हामीले नेपाल प्रहरीसँग पनि सहकार्य गरेका छौं । नेपाल प्रहरीले फरेन्सिक ल्याब खरिद गर्दा हामीले केहि योगदान गरेका छौं । दुबै निकायले छुट्टाछुट्टै ल्याब खरिद गर्नु भन्दा पनि दुबैले मिलेर खरिद गर्दा गुणस्तर पनि कायम हुन्छ र पैसा पनि थोरै पर्न जान्छ । अधिकांश दुर सञ्चार सेवा प्रदायक कम्पनीले आफ्नै टावर र अप्टिकल फाइबर बनाईरहेका थिए । पूर्व पश्चिम राजमार्गमा नेपाल टेलिकमको आफ्नै पूर्वाधार छ, एनसेलले पनि आफ्नै पूर्वाधार बनायो । यसरी सबै कम्पनीले आ आफ्नै पूर्वाधार बनाउने कुरा त्यति राम्रो होइन । विद्युतिय प्रसारण लाइनमा पनि अब दूरसञ्चारको पूर्वाधार जोड्नेबारे हामीले सोचिरहेका छौं । आ आफ्नै पूवर्धार निर्माण गर्दा लागत धेरै पर्छ । जुन कम्पनीको लागत परेपनि त्यो नेपालकै पैसा हो । मध्यपहाडी लोकमार्गको पाँचथरस्थित चियो भञ्ज्याङ देखि दार्चुलासम्म १७०० किलोमिटरमा ९६ कोरको अप्टिकल फाइबर बिछ्याउने काम अघि बढेकोे छ । यसलाई तीन भागमा विभाजन गरेका छौं । पाँचथरदेखि गोरखाको आरुघाटसम्म नेपाल टेलिकमले जिम्मा लिएको छ । आरुघाटदेखि रुकुमसम्म युटिएललाई दिइएको छ । र त्यहाँ भन्दा पश्चिमतर्फ अप्टिकल फाइबर बिछ्याउनका लागि टेण्डर आव्हान भैसकेको छ । केहिदिन भित्रै मुल्यांकन गरेर जिम्मा दिन्छौं । यो पूर्वश्चिममा मात्रै अप्टिकल फाइबर बिछ्याउने काम होइन् । मध्यपहाडी लोकमार्गमा बिछ्याउने अप्टिकल फाइबरको मुख्य लाइन मात्रै हो । त्यसको दुबैतिर उत्तर दक्षिण तिर ४८ कोरसम्मको अप्टिकल फाइबर बिछ्याइनेछ । सबै जिल्लाका सदरमुकाममा अप्टिकल फाइबरले जोडिनेछ । अब सबै गाउँपालिकासम्म पुग्ने योजना छ । अब हरेक स्वास्थ्य संंस्था र विद्यालयहरुमा ब्रोडब्याण्ड इन्टरनेट सेवा विस्तार गर्दैछौं । भूकम्प प्रभावित ११ जिल्लामा यस्तो सेवा विस्तारको काम अघि बढाइसकेका छौं । त्यसपछि कर्णालीका ८ जिल्लामा पनि ब्रोडब्याण्ड सेवा विस्तार गर्दैछौं । टेण्डर गरिसकिएको छ, केहि समयमै ती क्षेत्रका विद्यालयहरुमा ब्रोडब्याण्ड इन्टरनेट उपलब्ध गराउँछौं । हामी जनताको सहज पहुँचमा ब्रोडब्याण्ड इन्टरनेट सेवा विस्तार गरिरहेका छौं । तर यहाँ विभिन्न बहानामा राजनीति छिराएर हाम्रो काममा अवरोध सृजना भैरहेको छ । कहिले ट्याक्स(कर)को कुरा गरिएको छ । कहिले अरु केहि बहाना भिकिएको छ अनि हामीलाई काम गर्न नदिने प्रयास भैरहेको छ । एनसेल डेढ खर्बको कम्पनी हो, उसको सबै सम्पति यहिँ छ । ६० अर्बको ब्यालेन्स सीट छ । ४२ अर्ब त विदेशी मुद्रामा हाम्रै बैंकमा जम्मा भएको छ । हामीले अनुमति नदिँदासम्म उसले त्यो पैसा विदेश लैजानै पाउँदैन् । तर त्यहि कम्पनीले कर तिरेन भन्ने मुद्धा उठाएर जनताको घर घरमा ब्रोड ब्याण्ड सेवा विस्तार गर्ने काममा अवरोध गरिँदैछ । कुनै पनि कम्पनीले कर तिर्नु पर्छ । कर उठाउने काम कर कार्यालयको हो । हाम्रो काम भनेको नेटवर्क विस्तार गर्ने हो । त्यसैले एनसेललाई फोरजीको लाइसेन्स दिएका हौं । नेटवर्क विस्तार गर्ने, जनतासम्म एडभान्स टेक्नोलोजी विस्तार गर्ने काममा अवरोध गर्नुहुन्न । हामीसँग फ्रिक्वेन्सी डंगुर थुप्रिएर बसेको छ । थुप्रिएको फ्रिक्वेन्सी ब्याउँदैन्, त्यसलाई बाढ्नु पर्छ । त्यसले जनतामा सेवा विस्तार पनि गर्छ र राज्यको ढुकुटीमा राजश्व पनि संकलन हुन्छ । सन २०२० सम्म ९८ प्रतिशत जनताको पहुँचमा ब्रोडब्याण्ड इन्टरनेट पुर्याइदिन्छौं । तर त्यसका लागि हामीलाई काम गर्न दिनुपर्छ । हामीले पल्स रेटलाई १० सेकेण्डमा घटाएर उपभोक्तालाई ठुलो राहत दिईसकेका छौं । अहिले १० सेकेण्डको १६ पैस कायम गरेका छौं । अब गुणस्तर भएन भने पैसा फिर्ता गर्ने व्यवस्था साउन १ गतेदेखि लागु गर्दैछौं । अपरेटरकै कारण फोन सम्पर्क टुट्यो भने काटिएको पैसा फेरि फिर्ता आउँछ । हामीले दुर सञ्चार क्षेत्रमा पूर्वाधार कम्पनी पनि खडा गर्दैछौं । स्वतन्त्र पुर्वाधार कम्पनीले पूर्वाधारको विकास गर्छ अनि सेवा प्रदायक कम्पनीहरुले त्यसलाई लिजमा लिएर आफ्नो सेवा सञ्चालन गर्न सक्नेछन् । (विश्व दूरसञ्चार दिवसका अवसरमा आयोजीत कार्यक्रममा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष झाले व्यक्त गरेको विचार)

पहिलोपटक मस्तिष्क मृत्यु भएकाको अङ्ग प्रत्यारोपण

काठमाडौँ । नेपालमा चिकित्साविज्ञानको क्षेत्रमा पहिलो पटक मस्तिष्क मृत्यु भएका व्यक्तिको अङ्ग झिकी अर्को व्यक्तिमा प्रत्यारोपण गरिएको छ । भक्तपुरस्थित मानव अङ्ग प्रत्यारोपण केन्द्रले गत बिहीबार जिप दुर्घटनामा परी मस्तिष्क मृत्यु भएका सिन्धुलीका ३० वर्षीय गोविन्द भुजेलका दुई मिर्गौला दुई व्यक्तिमा प्रत्यारोपण गरिएको केन्द्रले जनाएको छ । केन्द्रले दिएको जानकारी अनुसार मिर्गौला प्रत्यारोपणका लागि पालो कुरिरहेका बिरामीमध्येबाट भुजेलका मिर्गौला सुनसरीका ५१ वर्षीय गोविन्द तिमिल्सिना र लाजिम्पाट काठमाडौँका १५ वर्षीय मिलन श्रेष्ठमा गत बिहीबार नै सफल प्रत्यारोपण गरिएको हो । केन्द्रका कार्यकारी निर्देशक पुकारचन्द्र श्रेष्ठले यो नेपालका लागि महत्वपूर्ण उपलब्धि भएको बताए । उनले भने, “विदेशी मुलुकमा ८० प्रतिशत प्रत्यारोपण मस्तिष्क मृत्यु भएका व्यक्तिबाट हुनेगर्छ । हाम्रो देश पनि धेरै दुर्घटना हुने देशमा पर्छ, हामीले मस्तिष्क मृत्यु भएका यस्ता व्यक्तिबाट अङ्ग झिकी अरु आवश्यक भएका व्यक्तिमा प्रत्यारोपण गर्नसकेमा धेरै व्यक्ति अङ्ग नपाएर मर्नुपर्ने अवस्थामा कमी आउँछ ।” नेपालमा मस्तिष्क मृत्यु भएकाको अङ्ग प्रत्यरोपणबारे जनचेतनाको कमी भएकाले सबैलाई सम्झाउन समस्या छ । यो संवेदनशील र जटिल विषय पनि भएकाले सरकार, गैरसरकारी संस्था, नागरिक समाजले सकारात्मक भूमिका खेल्नुपर्ने उनको भनाइ छ । सरकारले गत वर्ष मानवअङ्ग प्रत्यारोपण नियमावली–२०७३ जारी गरी मस्तिष्क मृत्यु (ब्रेन डेथ) भएका व्यक्तिको अङ्ग झिकी अर्कोमा प्रत्यारोपण गर्ने सहज बाटो खोलेको थियो । यो नियमावलीले अब मस्तिष्कघात भई मृत्यु भएकाका आठ अङ्ग लिन र प्रत्यारोपण गर्न मिल्ने बाटो खुला गरेको छ । मस्तिष्क मृत्यु भएकाबाट दुई मिर्गौला, दुई फोक्सो, प्याङक्रियाज, सानो आन्द्रा र दुई आँखाका नानी अर्को व्यक्तिमा प्रत्यारोपण गर्न मिल्छ । प्रत्यारोपण गरिएका बिरामीको स्वास्थ्य अवस्था सामान्य भएको र केही दिनमा उनीहरुलाई डिस्चार्ज गरिने केन्द्रले जनाएको छ । सरकारले कुनै अस्पतालमा बिरामीको मस्तिष्क मृत्यु भएमा मानव अङ्ग प्रत्यारोपण केन्द्रको स्थापना भएको केन्द्रिय समन्वय एकाइमा सम्पर्क गर्नसक्ने व्यवस्था गरेको छ । त्यसपछिको सबै प्रक्रिया सोही एकाइमार्फत हुनेछ । कार्यकारी निर्देशक श्रेष्ठले मृतक भुजेलका परिवारलाई सुरुमा राजी बनाउन केही समस्या भएपनि पछि उनीहरुले खुसीसाथ सहमति दिएको अनुभव सुनाए । रासस