कृषि विकास बैंकले शुरु गर्यो निशुल्क आस्वा सेवा

काठमाडौं । कृषि विकास बैंक लि.ले आफ्ना ग्राहक तथा निक्षेप कर्ताहरुलाई निशुल्क रुपमा आस्बा सेवा उपलव्ध गराउने भएको छ । कृषि विकास बैंक लि.का हाल ११० वटा शाखाबाट उल्लेखित सेवाको उपयोग गर्न सकिने छ, भने निकट भविष्यमा २०० वटा भन्दा बढी शाखाबाट आस्बा सेवा संचालन गर्ने भएको छ । साथै, आइपिएसको समेत सदस्य भएकोले बैंकका ग्राहकहरुले अन्य आइपिएसका सदस्य भएका बैंक तथा वितीय संस्थाहरुमा आफ्नो वा निजहरुले तोकेको अन्य खातामा सोझै रकम जम्मा गर्न तथा भुक्तानी गर्न सक्नेछन् । अन्य आइपिएसका सदस्य भएका बैंक तथा वितीय संस्थाका ग्राहकहरुले पनि उल्लेखित सुविधाहरुको उपयोग कृषि विकास बैंक लिमार्फत् गर्न पाउने छन् । यसका अतिरिक्त टे«जरी, सरकारी कारोवारको भुक्तानी, तलब भुक्तानी, रेमिटेन्स, डिभिडेन्ट पेमेन्ट र आइपीओ रिफन्ड लगायतका भुक्तानी दिने सेवाहरु उपलब्ध हुनेछन् भने अन्य प्रकारका भुक्तानी दिने तथा लिने सेवाहरु समेत लागु गरिंदै जाने बैंकले जनाएको छ ।

देशैभरका ग्रामीण क्षेत्रमा दुई वर्ष निःशुल्क इन्टरनेट, डेढ अर्ब रुपैयाँ बजेट परिचालन

काठमाडौं । देशैभरका शैक्षिक तथा स्वास्थ्य संस्था र सबै स्थानीय तहका कार्यालयमा निःशुल्क ब्रोडब्यान्ड इन्टरनेट पुर्याउने भएको छ । सरकारले ग्रामीण क्षेत्रमा निःशुल्क इन्टरनेट सेवा दिने कार्यक्रम अघि बढाएको छ । दूरसञ्चार प्राधिकरणले आगामी आर्थिक वर्षभित्र ग्रामीण क्षेत्रका सरकारी तथा सामुदायिक शैक्षिक संस्था, स्वास्थ्य संस्था र वडा, गाउँपालिका तथा नगरपालिका कार्यालयमा निःशुल्क इन्टरनेट सेवा पुर्याउने भएको हो । यसका लागि टेन्डर, सेवाप्रदायक छनोट र सम्झौता कार्यलाई तीव्रता दिइएको प्राधिकरणका निर्देशक आनन्दराज खनालले बताए । ग्रामीण क्षेत्रमा इन्टरनेट पुगेको दुई वर्षसम्म निःशुल्क सेवा दिने प्राधिकरणले जनाएको छ । प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोषको रकम परिचालन गर्दै आगामी आर्थिक वर्षभित्र निःशुल्क इन्टरनेट दिने कार्ययोजना अघि बढाएको हो । सरकारले चालू आवको बजेटमार्फत भूकम्प अति प्रभावित जिल्ला र दुर्गम क्षेत्रमा निःशुल्क इन्टरनेट पुर्याउने घोषणा गरेको थियो । सोही कार्यक्रमअनुसार प्राधिकरणले सेवा प्रदायकमार्फत पूर्वाधार स्थापना तथा नेटवर्क विस्तारलाई अघि बढाएको उनले बताए । ‘कोषको रकम पनि ग्रामीण क्षेत्रमा दूरसञ्चार विकासकै लागि खर्च गर्नुपर्ने प्रावधान रहेको छ,’ उनले भने, ‘सोहीअनुसार प्राधिकरणले देशैभरका ग्रामीण क्षेत्रमा ब्रोडब्यान्ड इन्टरनेट पुर्याउने कार्य अघि बढाएको हो ।’ कहाँ–कहाँ निःशुल्क इन्टरनेट दूरसञ्चार ऐन तथा ग्रामीण दूरसञ्चार विकास कोष विनियमावली २०६८ अनुसार प्रत्येक दूरसञ्चार कम्पनीबाट कोषमा प्राप्त हुने रकम ग्रामीण क्षेत्रको दूरसञ्चार विकासमा खर्च गर्नुपर्ने हुन्छ । सोहीअनुसार कोषको रकम परिचालन गरी देशैभरका ग्रामीण क्षेत्रमा ब्रोडब्यान्ड इन्टरनेट पुर्याइने भएको हो । मुलुकभरका वडा कार्यालय, गाउँपालिका कार्यालय, सरकारी तथा सामुदायिक शैक्षिक संस्था र स्वास्थ्य संस्थामा इन्टरनेट सेवा पुर्याइने उनले बताए । ग्रामीण क्षेत्रमा ब्रोडब्यान्ड इन्टरनेट पुर्याउन प्राधिकरणले छुट्टाछुट्टै तीनवटा परियोजना तथा १५ प्याकेज अघि बढाएको छ । जसअनुसार प्राधिकरणले सरकारी शैक्षिक संस्थामा ब्रोडब्यान्ड, स्थानीय तहमा ब्रोडब्यान्ड र भूकम्प प्रभावित जिल्लामा ब्रोडब्यान्ड पुर्याउने गरी तीन कार्यक्रम अघि बढाएको हो । यस्ता कार्यक्रमका लागि प्राधिकरणले चालू आर्थिक वर्षमा कोषको १ अर्ब ४८ करोड रुपैयाँ बजेट परिचालन गर्ने लक्ष्य लिएको छ । नयाँ पत्रिका दैनिकबाट ।

एनसेल प्रविधि तटस्थता मार्फत डिजिटल नेपालको निर्माणका लागि प्रतिबद्ध

काठमाडौं । एनसेलले ९०० मेगाहर्ज र १८०० मेगाहर्ज ब्याण्डमा प्रविधि तटस्थता अवलम्बन गर्दै थ्रिजी प्रविधिमा आधारित मोबाइल सेवाको विस्तार दोब्बर गरी देशको कुल जनसंख्याको ६० प्रतिशतमा दुर्तगतिको मोबाइल इन्टरनेट सेवा पुर्याउन आफु तयार भएको जनाएको छ । प्रविधि तटस्थता मार्फत एनसेलले १ करोड ७० लाख भन्दा बढि नेपाली नागरिकमा थ्रिजी सेवा पुर्याई उनीहरुलाई दुर्तगतिको मोबाइल इन्टरनेटको लाभ प्रदान गर्नेछ । इन्टरनेट अहिले विजुली-बत्ति र पानी जस्तै मानिसको आधारभुत आवश्यकता भईसकेको छ । यसरी नेपाली नागरिकलाई सेवा गर्ने मौका दिई उनीहरुका लागि बहुप्रतिक्षित सेवा प्रदान गर्ने अवसर दिईएकोमा कम्पनीले आभार व्यक्त गरेको छ । एनसेलको विस्तारित नेटवर्क कभरेजले बझाङ्गको देउरालीकोट, मुगुको श्रीनगर, मुस्ताङ्गको झोङ्ग, ललितपुरको माल्टा र सोलुखुम्बुको तिङ्गला जस्ता १,००० भन्दा बढि ग्रामिण तथा दुर्गम ठाउँमा सेवाको पहुँच पुर्याउने छ । यी स्थानका बासिन्दाहरुले पहिलो पटक दु्रतगतिको मोबाइल इन्टरनेटमा पहुँच पाउनेछन् । यसले देशमा विद्यमान डिजिटल डिभाइडलाई घटाउन योगदान दिई स्थानियवासीको जनजीवन, समुदायको अर्थतन्त्र र सामाजिक क्षेत्रमा स्पष्ट सकारात्मक प्रभाव पुर्याउने छ । “हामी प्रविधि तटस्थताले देश र जनतामा ल्याउने वृहत सकारात्मक प्रभावका बारेमा सोचेर उत्साहित छौं । यसले विषेशतः इन्टरनेट सेवाको पहुँच, नयाँ अवसरहरुको सिर्जना र कुल गार्हस्थ उत्पादनको वृद्धिमा ठूलो भुमिका खेल्नेछ,” एनसेलका प्रबन्ध निर्देशक साइमन पर्किन्सले भने । “यी लक्ष्य प्राप्तिका लागि हामीले आवश्यक स्रोतहरु, प्रविधि हस्तान्तरण तथा पुर्वाधार निर्माणका लागि रु ३० अर्ब सम्मको लगानी प्रतिबद्ध गरेका छौ । संयुक्तरुपमा डिजिटल नेपाल निर्माणको राष्ट्रिय लक्ष्य हासिल गर्नका लागि हामी पूर्णरुपमा समर्पित छौ ।” विश्व बैंकको अध्ययन अनुसार, मोबाइल ब्रोडब्याण्डमा पहुँचले तत्काल आर्थिक वृद्धिदर बढाउन मद्दत गर्दछ । ब्रोडब्याण्ड जनघनत्वमा प्रत्येक १० प्रतिशत विन्दुको वृद्धिले आर्थिक वृद्धिदरलाई १.३८ प्रतिशत विन्दुले बढाउने विश्व बैंकको तथा अन्य अन्तर्राष्ट्रिय अध्ययनले देखाएका छन् । आफ्नो प्रतिबद्धता बमोजिम एनसेलले काठमाडौंमा जेठ १८ बाट फोरजी सेवाको शुभारम्भ गरेको छ, जस अन्तर्गत काठमाडौं उपत्यका, बनेपा तथा धुलिखेलका ग्राहकले फोरजी प्रविधिको लाभ लिन सक्छन् । साथै, सन् २०१७ को अन्त्य सम्ममा कुल जनसंख्याको १५ प्रतिशतमा फोरजी पुर्याउने लक्ष्य लिई कम्पनीले हाल देशका विभिन्न ४० शहरहरुमा फोरजी सेवाको योजना तथा परीक्षण गरीरहेको छ ।