पीएचडी र एमफिलमा त्रिविको अंकुश, मापदण्ड पूरा नगरेकाले उपाधि नपाउने
काठमाडौं । न्यूनतम मापदण्ड पूरा नगरेका व्यक्तिलाई पनि विश्वविद्यालयबाट विद्यावारिधि (पीएचडी) र एमफिलको उपाधि दिने प्रवृत्तिमाथि विश्वविद्यालय अनुदान आयोगले अंकुश लगाएको छ। आयोगले यी दुवै उपाधि प्राप्त गर्नुअघि सम्बन्धित व्यक्ति र उपाधि दिने संस्थाले पालना गर्नुपर्ने मापदण्डसहितको कार्यविधि बनाएको छ। आयोग बोर्डले कार्यविधि पारित गरिसकेको छ। कार्यान्वयनका लागि सबै विश्वविद्यालयमा पत्राचार गर्ने तयारी भइरहेको आयोगका सदस्यसचिव देवराज अधिकारीले बताए। यसअघि यी दुवै उपाधिलाई लक्ष्य गरेर एकीकृत निर्देशिका बनेको थिएन। एकीकृत कार्यविधि नहुँदा दुवै उपाधि वितरणमा विकृति भएको बारेमा प्रशस्त गुनासा आएका थिए। यिनै गुनासामाथि दुई वर्षसम्म अध्ययन गरेर आयोगले पहिलोपटक यस्तो निर्देशिका बनाएको हो। निर्देशिकाअनुसार पीएचडीको पढाइ सञ्चालन गर्न चाहने शैक्षिक संस्थाले स्नातकोत्तर र एमफिल कार्यक्रम कम्तीमा पाँच वर्ष सञ्चालन गरेको हुनुपर्नेछ। अहिले नेपाल संस्कृत र लुम्बिनी बौद्ध विश्वविद्यालयले केही विषयमा स्नातकोत्तर तहको पढाइ सञ्चालन नै नगरी पीएचडीको उपाधि मात्र प्रदान गरिरहेको आयोगले जनाएको छ। पीएचडीको पढाइ जुनसुकै संस्थाबाट प्रदान गरिने भए पनि सबैको विद्यावारिधि कार्यक्रम न्यूनतम तीन वर्ष वा सोसरह क्रेडिट घन्टाको हुनु पर्नेछ। विद्यावारिधि कार्यक्रम खुला सिकाइ तथा दूरशिक्षा विधिबाट सञ्चालन गर्न नपाउने व्यवस्था गरिएको छ। विद्यावारिधि कार्यक्रम न्यूनतम ३ वर्ष वा सोसरह ‘क्रेडिट’ घन्टाको हुनु पर्नेछ। यसअघि विश्वविद्यालयअनुसार क्रेडिट तोकिएको थियो। शैक्षिक संस्थाले सञ्चालन गरेको शैक्षिक कार्यक्रमअन्तर्गतका विषयमा आवश्यक विज्ञ उपलब्ध हुनसक्ने अवस्थामा मात्र विद्यावारिधि कार्यक्रम सञ्चालन गर्नुपर्नेछ। यस्ता संस्थामा तीन वर्षदेखि निरन्तर कार्यरत विद्यावारिधि उपाधिसहितका कम्तीमा पूर्णकालीन वा आंशिक रूपमा कार्यरत दुई प्राध्यापक र ६ सहप्राध्यापक वा उपप्राध्यापक कार्यरत रहेको हुनुपर्नेछ। पीएचडी उपाधि पाउन सम्बन्धित व्यक्तिको न्यूनतम योग्यता पनि कार्यविधिमा तोकिएको छ। जसअनुसार सम्बन्धित विषयमा उच्च द्वितीय श्रेणी, ३ दशमलव जिरो सिजिपिए वा ४ दशमलव जिरो ग्रेडमा स्नातकोत्तर तह उत्तीर्ण गरी उच्च शिक्षा योग्यता प्रारुपले निर्धारण गरेको योग्यता पूरा गरेको व्यक्ति मात्र यो तहमा भर्ना हुन पाउनेछ। विश्वविद्यालय अनुदान आयोगले तोकेको राष्ट्रिय योग्यता परीक्षण वा आयोगले मान्यता दिएको अन्तर्राष्ट्रिय स्तरीकृत परीक्षणमध्ये एक परीक्षा उत्तीर्ण गरेको व्यक्ति पीएचडी कार्यक्रममा भर्नाका लागि योग्य हुनेछ। यसअघि यस्तो कुनै पनि पूर्वसर्त तोकिएको थिएन।सम्बन्धित विद्यार्थीलाई पीएचडी उपाधि दिनुअघि शैक्षिक संस्थाले एक जना अनुसन्धान क्षेत्रको विदेशी विज्ञसहित सम्बन्धित विषयका कम्तीमा तीन जना विज्ञ रहने गरी मूल्यांकन समिति गठन गर्नुपर्ने र उक्त समितिले पेस भएको शोधप्रबन्धको अन्तिम मूल्यांकन गर्ने व्यवस्था गरिएको छ। अन्नपूर्ण पोस्टबाट ।
अन्तर्राष्ट्रिय अपराधी बचाँउन नेपाली चेलीको प्रयास, शोभराजलाई बचाउन निहिताको रगत
काठमाडौं । ‘मिस्टर जेलर, म अब धेरै बाँच्दिनँ होला, मरेपछि मेरो शव चिरफार नगरिदिनू, दूतावासमा बुझाइदिनू,’ करिब तीन महिनाअघि केन्द्रीय करागारका जेलर वेदप्रसाद खरेलसँग रुँदै वेदना पोख्दा चाल्र्स शोभराजको शरीर सुन्निएको थियो, सास फेर्न गाह्रो थियो। शारीरिक मात्र होइन मानसिक रूपमा पनि उनी निकै कमजोर भइसकेका थिए। १३ वर्ष जेल बस्दा उनी सधैँ दम्भी थिए, आफूमाथि ठूलै विश्वास थियो। उनी भाग्न सक्ने डरले मात्र होइन, उनीमाथि हमला हुन सक्ने डरले पनि प्रशासनले शोभराजलाई गोलघरमा राखेको थियो। तर, उनी कैदीबन्दीसँग मात्र होइन, जेलर र प्रहरीसँग पनि सधैँ उच्च मनोबलका साथ कुरा गर्थे। सुन्धारास्थित केन्द्रीय कारागारमा पनि अस्पताल छ। त्यसैले सामान्य अवस्थामा उनको स्वास्थ्योपचार त्यही अस्पतालभित्र हुन्थ्यो। तर, जब उनको मुटुको भल्भमा समस्या छ भन्ने प्रारम्भिक रिपोर्ट आयो, थप जाँच गर्न उनलाई गंगालाल अस्पताल लगियो। गंगालालका डाक्टरले शोभराजको अवस्था प्रतिकूल भएको भन्दै छिटै अप्रेसनको तयारी गरे। शोभराजले नेपालमा आफूमाथि षड्यन्त्र भएको आशंका गर्दै अप्रेसन गर्न अस्वीकार गरेका थिए। तर, सम्पूर्ण मेडिकल रिपोर्ट आफ्नो मातृभूमि फ्रान्स पठाएर त्यहा“का डाक्टरले पनि अप्रेसन अनिवार्य छ भन्ने पुष्टि गरेपछि मात्र उनी अप्रेसनका लागि तयार भएका हुन्। शोभराजको मुटुको अप्रेसन २ असारका लागि मात्र तय भएको थियो। तर, समस्या जटिल हुँदै गएपछि डाक्टरहरूले सोमबार नै उनको अप्रेसनको तयारी गरेका छन्। केन्द्रीय कारागारका जेलर खरेलका अनुसार शोभराजलाई शुक्रबार गंगालाल अस्पतालमा भर्ना गरिएको छ। उनलाई गंगालाल अस्पतालको डिलक्स रुममा राखिएको छ। निहिताले दिइन् रगत अप्रेसनका लागि शोभराजकी ‘श्रीमती’ निहिता विश्वासले रगत दिएकी छिन्। अस्पताल स्रोतका अनुसार निहिताको पनि रगत समूह ओ पोजेटिभ भएकाले उनले शोभराजका लागि रक्तदान गरेकी छिन्। तर, अप्रेसनका लागि थप रगत अस्पतालले पनि व्यवस्थापन गरेको छ। निहिता आइतबार आमा शकुन्तला थापासहित शोभराजलाई भेट्न अस्पताल पुगेकी थिइन्। निहिताले लामो अन्तरालपछि मात्र शोभराजलाई भेटेकी हुन्। आठ वर्षअघि शोभराजले जेलमै सिन्दुर हालेर निहितालाई श्रीमती बनाएका थिए। तर, पछिल्लो समय निहिता शोभराजलाई भेट्न जेल जान छाडेकी थिइन्। पछिल्लो समय उनीहरूबीचको सम्बन्ध राम्रो थिएन। यद्यपि, निहिताले अप्रेसनका क्रममा रगत दिएर शोभराजप्रति माया देखाएकी छिन्।का काे हुन त शोभराज ? बिकिनी किलरका रूपमा कुख्याती कमाएका शोभराजको जीवन अनौठो र रहस्यमय छ। अविवाहित आमाको सन्तानका रूपमा सन् १९४४ मा भियतनाममा जन्मिएका शोभराजका बाबु भारतीय मूलका हुन्। पछि उनलाई आमाका प्रेमीले हुर्काएका थिए। उनको वास्तविक नाम चाल्र्स गुरुमुख शोभराज हो। बाल्यकाल उनले फ्रान्समै बिताए। पर्याप्त पारिवारिक वातावरण पाउन नसकेकाले उनी सानैदेखि फरक व्यवहार देखाउने र अपराधका गतिविधि गर्ने गर्थे। उनले पहिलो अपराध सन् १९६३ मा १९ वर्षको उमेरमा गरेका थिए। पेरिसको एक घरमा गरेको चोरी उनको जीवनको पहिलो आपराधिक खुट्किलो थियो। जसमा उनी असफल भए र करिब एक वर्ष जेल बसे। जेलमा उनले आफूलाई विशेष व्यवहार गर्न जेलका अधिकारीलाई बाध्य बनाए। फ्रान्सको सोही जेलमा उनको जीवनको अर्को महत्वपूर्ण घटना घट्यो। उनले त्यहाँको अन्डरवल्र्ड समूहका सदस्य फिलिक्स इसकोन्जीलाई भेटे। जेलबाट दुवैजना छुटेपछि त्यहा“को अन्डरवल्र्ड समूहसँग मिलेर शोभराजले काम गर्न थाले र पेरिसका धनी व्यक्तिसँग संगत बढाउनुका साथै उच्च वर्गबारे धेरै सूचना बटुले। एकपछि अर्का गर्दै पेरिसका ठूला चोरीका घटनामा उनले सफलता हात पारे। त्यो सिलसिला करिब सात वर्ष चल्यो। त्यहीबीचमा उनको चान्तासनामक युवतीसँग भेट भयो। जसलाई उनले प्रेम प्रस्ताव राखे र युवतीले सहजै स्विकारिन्। पछि उनीहरूले बिहे गरे। यसबीचमा प्रहरीले उनीमाथि निगरानी बढाएपछि उनले फ्रान्स छाड्ने कुटिल निर्णय गरे। पूर्वी युरोपमा केही दिन बसेर उनी सन् १९७० मा श्रीमतीका साथ भारतको मुम्बई आए। पूर्वी युरोपमा रहँदा पनि उनी निकै चलाखीसाथ चोरी गर्न सफल भए। भारत आएपछि करिब एक वर्ष उनले इमानदार जीवन बिताएको उनीबारे लेखिएको ‘लाइफ एन्ड क्राइम्स अफ चाल्र्स शोभराज’नामक पुस्तकमा उल्लेख छ। तर, इमानदार जीवन बिताउने रहर बोकेर उनी मुम्बई आएका भने थिएनन्। मुम्बईमा उनले कार चोर्ने र बेच्ने धन्दा गर्न थाले। जुवामा विशेष सोख भएकाले त्यसरी कमाएको पैसा उनी जुवा खेलेर सिध्याउँथे। तर, एक वर्षको बीचमै उनी होटेल अशोकामा रहेको सुनपसल चोरीमा समातिए। तैपनि उनी जेलबाट भाग्न सफल भइसकेकोमा तत्कालै उनलाई प्रहरीले समातेको थियो। आफू बसेको होटेलको कोठाबाट पसलमा प्वाल पारेर उनले त्यो चोरी गरेका थिए। पछि धरौटीमा त्यहाँबाट रिहा भएपछि उनी अफगानिस्तानको काबुल पुगे। काबुलमा पर्यटक लुट्ने धन्दामा लागे र दर्जनौँ घटनापछि मात्र समातिए। चतुर शोभराज प्रहरीलाई झुक्याउँदै बिरामी भएको र अस्पताल जाने बहानामा त्यहीँबाट भागेर भारत आए। त्यसपछि इरान, टर्की र ग्रिसमा दुई वर्ष बिताए। त्यहाँ पनि उनको आपराधिक गतिविधि जारी नै थियो। चोरीको पासपोर्ट प्रयोग गरेर उनी इरान हुँदै टर्कीको राजधानी इस्तानबुल पुगेका थिए। जहाँ उनका भाइ एन्ड्री बस्थे। इस्तानबुलमा शोभराज र एन्ड्रीको आपराधिक गतिविधि झन् सशक्त बन्यो। पछि ग्रिसमा उनीहरूलाई समातियो। उनीसँगै पक्राउ परेका भाइ एन्ड्रीले १८ वर्ष जेलमा बिताउनुपरेको थियो। उनी भने थाइल्यान्ड भागेका थिए। थाइल्यान्डबाटै उनले कुख्याती कमाएका हुन्। त्यहाँ लगातार उनले तीन पर्यटकको हत्या गरे। त्यहा“ उनी कुटिल लागुऔषध कारोबारीका रूपमा प्रस्तुत गरेर पर्यटकसँग नजिकिने गरेका थिए। त्यसरी लगातार तीन पर्यटकको हत्या भएको घटनाले थाइल्यान्डमा हंगामै मच्चियो। हत्या गरिएका पर्यटकको पासपोर्ट लिएर उनी भारत आए। त्यहाँ एक भारतीय युवा अजय चौधरी र क्यानेडियन नागरिक मोनिकासँग उनको दोस्ती बढ्यो। त्यसपछि उनीहरूले मिलेर भारत, नेपाल र मलेसियामा दर्जनौँ आपराधिक काम गरे। तर, चलाखीका कारण उनी कहिल्यै पक्राउ परेनन्। सन् १९७५ को कुरा थियो यो। सोही वर्ष उनीहरू थाइल्यान्डमा हत्या गरेका पर्यटकको पासपोर्ट लिएर नेपाल आएका थिए। नेपालमा उनीहरूले तीन विदेशी नागरिकको हत्या गरे। नेपालमा त्यसरी हत्या गरेपछि नेपाल प्रहरीलाई झुक्याउँदै भारत छिरेका शोभराजको आपराधिक जीवनको महत्वपूर्ण समय रह्यो। अरू तीन युवतीसँग मिलेर भारत भ्रमणमा आएका फ्रेन्च विद्यार्थीलाई आफूहरू उनीहरूको गाइड बताएर झुक्याउँदै हत्या प्रयास गरेकोमा उनलाई प्रहरीले पक्राउ ग¥यो। सो घटनामा उनलाई आजीवन कारावासको सजाय हुने धेरैको अनुमान थियो। तर, उनकी सहयोगी अर्की महिलालाई प्रमुख दोषी ठहर्याएर उनलाई १२ वर्षको मात्र जेल सजाय सुनाइयो। नयाँ पत्रिका दैनिकबाट ।
माछापुच्छ्रे बैंकको हिले शाखाद्वारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शनिबार धनकुटाको हिलेमा बृहत रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । नेपाल रेडक्रस सोसाईटी धनकुटासँगको सहकार्यमा सञ्चालित उक्त कार्यक्रमको उद्घाटन धनकुटा उद्योग वाणिज्य संघका अध्यक्ष उमेश घिमिरेले गरेका छन् । माछापुच्छ्रे बैंक हिले शाखाका शाखा प्रबन्धक रमेश अधिकारीले उक्त कार्यक्रममा संकलन गरीएको ५२ पिन्ट रगत नेपाल रेडक्रस सोसाईटीको धरान स्थित बल्ड बैंकलाई हस्तान्तरण गरेका छन् । ६ अर्व ५९ करोड ८७ लाख रुपैयाँ चुक्ता पुंजी रहेको यस बैकले २०७३ साल चैत्र मसान्तसम्म ५८ अर्व ४ करोड रुपैयाँ निक्षेप परिचालन गरी ५३ अर्व ५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकले सो अबधिमा१ अर्व ५१ लाख खुद मुनाफा आर्जन गरेको बैंकले बताएको छ । बैकले नेपालभर आफ्ना शाखाहरु स्थापना गरी ग्राहकहरुमा सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरीरहेको छ ।