चाडपर्व नजिकिएसँगै पर्यटकको आगमन बढ्यो, ७५ प्रतिशत होटल बुकिङ
काठमाडौं । पर्यटकीय याम शुरु भएसँगै होटल भरिभराउ हुन थालेका छन् । होटल एशोसिएसन अफ नेपाल (हान)का अनुसार अहिले ७५ प्रतिशत होटल बुकिङ भइसकेका छन् । अघिल्लो वर्ष यही याममा ६० प्रतिशत मात्र बुकिङ भएकामा कतिपय रद्द पनि भएका थिए । होटल बुकिङको अवस्था र अहिलेसम्मको पर्यटक आगमनलाई आँकलन गर्दा सन् २०१७ मा नौ लाखभन्दा बढी पर्यटक भित्रने अवस्था रहेको हानका महासचिव विनायक शाहले बताउनुभयो । जुन अहिलेसम्मकै बढी हो । सन् २०१२ मा आठ लाखको हाराहारीमा विदेशी पर्यटकले नेपालको भ्रमण गरेका थिए । यस याममा भारतीय र चिनियाँ पर्यटक बढी आउँछन् । यसमा पनि सबैभन्दा बढी भारतका पर्यटक छन् । नेपालमा चाडपर्व शुरु भएकाले विदेशी नागरिकता लिएका धेरै नेपाली, कूटनीतिक तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका व्यक्ति नेपाल भ्रमणमा आउने हुँदा पर्यटकको संख्या वृद्धि हुने अनुमान छ । दशैँ तिहारमा वर्षेनी धेरै नेपाली आउने गर्छन् । आगामी अक्टोबर ११ मा काठमाडौँमा गैरआवासीय नेपाली सङ्घको ‘ग्लोवल मिटिङ’ भएकाले धेरै पर्यटक आउने महासचिव शाहको ठम्याइ छ । नेपाल पर्यटन बोर्डको विवरणअनुसार सन् २०१७ को पहिलो छ महिना र त्यसपछिको अवधिमा विभिन्न मुलुकबाट झण्डै छ लाख पर्यटक नेपाल आएका छन् । छ महिनाको मात्रै विवरण हेर्दा चार लाख ६० हजार ३०४ पर्यटक आएका छन् । सन् २०१६ को छ महिनाको अवधिमा तीन लाख ५९ हजार ६७२ पर्यटकले नेपाल भ्रमण गरेका थिए । दुई छिमेकी मुलुक भारत र चीनको तुलना गर्दा सन् २०१७ को छ महिनाको अवधिमा भारतबाट मात्रै ९३ हजार पर्यटक भित्रिएका छन् जबकि सन् २०१६ को सोही अवधिमा ६४ हजार मात्र भारतीय पर्यटक आएका थिए । त्यस्तै चीनबाट सन् २०१७ को छ महिनामा ५४ हजार पर्यटक आएका छन् सन् २०१६ को सोही अवधिमा ३९ हजारको हाराहारीमा चिनियाँ पर्यटकले नेपाल भ्रमण गरेका थिए । सन् २०१७ को छ महिनामा अमेरिकाबाट ४१ हजार ६९१, बेलायतबाट २७ हजार ४४४ र श्रीलंकाबाट १९ हजार ७२९ पर्यटक आएका छन् । उल्लेखित विवरण हेर्दा सन् २०१७ मा पर्यटकको संख्या हालसम्मकै बढी हुने सहजै अनुमान गर्न सकिन्छ । अहिले पर्यटकीय याम र चाडपर्व पनि शुरु भएकाले विदेशी पर्यटकको चहलपहल बाक्लिएको छ । हानको विवरणअनुसार अहिले नेपालमा करिब ४५ हजार बेड छन् । नयाँ चार हजार बेड थपिँदैछन् । रासस
फेसबुकमा मार्क जुकरबर्गलाई ‘ब्लक’ गर्न गाह्रो होइन असम्भव छ, यस्तो छ कारण
फेसबुकका संस्थापक मार्क जुकरवर्ग र उनकी पत्नी प्रिसिला च्यानका फेसबुक प्रोफाइल विशेष छन् । जुकरबर्ग र प्रिसिलाका फेसबुक प्रोफाइललाई ब्लक गर्न मिल्दैन । कसैलाई लाग्न सक्छ – फेसबुकका संस्थापक न परे, केही टेक्निक लगाए होलान् । यद्यपी यसपछाडी अनौठो कारण रहेको खुलासा भएको छ। यदि तपाईंले जुकरबर्ग वा प्रिसिलाको प्रोफाइलमा गएर ब्लक बटन थिच्नुभयो भने स्क्रिनमा ‘ब्लक एरर’ देखाउँछ । खासमा कुरा के हो भने जुकरबर्ग र प्रिसिलालाई यति धेरै ब्लक गरिएको छ की यो सिस्टम नै बन्द गर्नुपरेको थियो । मार्क जुकरबर्ग आफ्नो व्यक्तिगत पेजमा फेसबुकका अपडेटहरु, निजी जिन्दगीसँग जोडिएका खबर तथा समसामयिक विषयमाथी आफ्नो विचार प्रकट गर्छन् । फेसबुकमा रहेको एलगरिथम प्रविधिले पोस्टहरुलाई प्रयोगकर्ताको न्यूज फीडमा देखाउथ्यो । ती पोस्टहरु नरुचाउने प्रयोगकर्ताले ब्लक गर्थे । त्यसपछि उनिहरुको प्रोफाइलमा ब्लकिङलाई नै निषेध गर्ने साइटले निर्णय गर्यो । करीब सन् २०१० देखि यो वेबसाइटमा जुकरबर्गलाई ब्लक गर्न असम्भव रहेको छ। कम्पनीका अनुसार उनिहरुलाई कुनै विशेष व्यवहार गरिएको होइन । वास्तवमा धेरैले मन नपराएपछि अटोमेटेड सिस्टमले यस्तो गर्न बाध्य भएको कम्पनीले बताएको छ । फेसबुकका एक प्रवक्ताले भने, ‘यो दुविधा कुनै विशेष एकाउका लागि नभएर सबै एकाउण्टमा लागू गरिएको छ । धेरै समयसम्म ब्लक गरेपछि यस्तो समस्या देखाउँछ । ।’
सिन्धुपाल्चोकको चेपेडाँडामा जिएसएम मोबाइल सेवा सुरु
काठमाडौं । नेपाल टेलिकमले सिन्धुपाल्चोकको विकट स्थानमा जिएसएम मोबाइल सेवा सञ्चालनमा ल्याएको छ । टेलिकमले सिन्धुपाल्चोकको अति दुर्गम चेपेडाँडामा जिएसएम मोबाइल बिटिएस साइट सञ्चालनमा ल्याई सेवा उपलब्ध गराउन थालेको हो । यसबाट सो क्षेत्रका विकट स्थानमा पनि जिएसएम मोबाइल सेवाको पहुँच पुगेको छ । यस अघि ती स्थानमा सिडिएमए प्रविधिका मोबाइल मात्र सञ्चालनमा थिए । चेपेडाँडाको बिटिएस साइट सञ्चालनपछि सिन्धुपाल्चोकका साविकका सेलाङ, गोल्चे, पाङताङ, गुम्बा, बराम्ची, जलबीरे र हगाम गाविसमा जिएसएम मोबाइल सेवाको पहुँच विस्तार भएको छ । यो क्षेत्रमा पहिले देखि नै करिब ४ हजार ग्राहकहरुले सिडिएमए प्रविधिको फोन सेवा उपभोग गरिरहेकोमा अब जिएसएम मोबाइलको पहुँच विस्तार पश्चात् थप सेवाग्राहीहरु पनि लाभान्वित हुने टेलिकमको भनाइ छ । गोल्चे र गुम्बा गाविस चीनको सीमानासम्म जोडिएका छन् । दुर्गम तथा अति विकट क्षेत्रका ग्रामीण तहसम्म दूरसञ्चार सेवाको पहुँच विस्तार गर्ने नेपाल सरकारको नीति अनुसार कम्पनीले सो क्षेत्रमा सेवा विस्तार गरेको टेलिकमले जानकारी दिएको छ ।