नर्भिकको ६ महिनामा १.३८ अर्ब आम्दानी, अस्पतालको शय्या २७५ पुर्‍याउने

काठमाडौं । आईपीओ निष्कासनको तयारीमा रहेको नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को ६ महिनामा १ अर्ब ३८ करोड ८० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । गत आर्थिक वर्ष २०८१/८२ (सन् २०२५) मा कम्पनीले २ अर्ब २२ करोड २० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । सन् १९९३ मा स्थापना भएको नर्भिक इन्टरनेशनल हस्पिटल तथा मेडिकल कलेज सन् २०२१ जुलाईमा पब्लिक लिमिटेडमा रूपान्तरण भएको हो । हाल कम्पनी ठूलो पुँजीगत खर्चसहित अस्पताल विस्तारको चरणमा रहेको छ । थापाथली, काठमाडौंमा अवस्थित नर्भिक हाल ११६ शय्या सञ्चालनमा  छ भने आगामी दिनमा शय्या संख्या बढाएर २७५ पुर्‍याउने योजना बनाएको छ । अस्पताललाई हालसम्म २०० शय्यासम्म सञ्चालनको औपचारिक अनुमति प्राप्त भए पनि विस्तारपछि थप सेवा र सुविधासहित बहु-विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्य लिएको कम्पनीले जनाएको छ । कम्पनीमा व्यवसायी वसन्तकुमार चौधरीको प्रत्यक्ष तथा बीएलसी ग्लोबल होल्डिङ्स प्रालिमार्फत अप्रत्यक्ष स्वामित्वसहित उल्लेखनीय हिस्सेदारी रहेको छ । नर्भिककी प्रबन्ध निर्देशक मेघा चौधरी कम्पनीकी सेयरधनीसमेत हुन् भने कम्पनीको अध्यक्षमा राजेन्द्रबहादुर सिंह रहेका छन् । व्यवस्थापन पक्षले विस्तार परियोजनाले अस्पतालको सेवा गुणस्तर र स्वास्थ्य पहुँचमा उल्लेखनीय सुधार ल्याउने विश्वास व्यक्त गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८०/८१ को (सन् २०२४) मा १ अर्ब ९९ करोड ९० लाख, आर्थिक वर्ष २०७९/८० को (सन् २०२३)  मा १ अर्ब ९१ करोड १० लाख र आर्थिक वर्ष २०७८/७९ को (सन् २०२२) मा १ अर्ब ७८ करोड ५० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । सन् १९९३ देखि निरन्तर सञ्चालनमा रहेको नर्भिकले वार्षिक नाफाको ठूलो हिस्सा पुनः लगानी गर्दै आएको छ, जसका कारण कम्पनीको पुँजी संरचना तथा वित्तीय सूचकहरू मजबुत रहँदै आएका छन् । अनुभवी तथा स्रोतसाधन सम्पन्न प्रवर्द्धन र व्यवस्थापन टोली, काठमाडौंको केन्द्रीय स्थान, आधुनिक पूर्वाधार र सुविधाले बिरामीको चाप बढाउन सहयोग पुगेको कम्पनीको भनाइ छ । पछिल्ला तीन वर्ष (२०२५ जुलाई मध्यसम्म) नर्भिकले औसत ७० प्रतिशत वा सोभन्दा बढी शय्या उपयोग दर कायम राख्न सफल भएको छ । प्रति बिरामी आम्दानी वृद्धिसँगै सञ्चालन नाफा मार्जिन पनि आर्थिक वर्ष २०२२ को करिब १७ प्रतिशतबाट आर्थिक वर्ष २०२५ मा करिब २४ प्रतिशत पुगेको छ । नेपालमा स्वास्थ्य सेवाप्रति बढ्दो सचेतना, स्वास्थ्य बीमाको पहुँच विस्तार र फार्मेसी व्यवसाय गाभ्ने प्रस्तावित योजनाले भविष्यको आम्दानीमा सकारात्मक प्रभाव पार्ने कम्पनीको अपेक्षा छ । १५९ शय्या थप गर्ने विस्तार परियोजनाको करिब ५० प्रतिशत वित्तीय प्रगति सन् २०२६ जनवरी मध्यसम्म पूरा भइसकेको छ भने व्यावसायिक सञ्चालन आर्थिक वर्ष २०२६ को अन्त्यबाट सुरु गर्ने लक्ष्य लिइएको छ । यद्यपि परियोजनाको करिब ११ प्रतिशत ऋण आवश्यकता अझै सुनिश्चित हुन बाँकी रहेको जनाइएको छ । यसैबीच, काठमाडौं उपत्यकामा अन्य बहुविशेषज्ञ अस्पतालहरूको उपस्थिति, बढ्दो प्रतिस्पर्धा, मूल्य निर्धारणमा दबाब तथा दक्ष चिकित्सक र प्राविधिक जनशक्तिको आवागमनले कम्पनीको आम्दानीमा असर पार्न सक्ने जोखिम पनि रहेको छ । नर्भिक इन्टरनेशनल हस्पिटलले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) प्रक्रिया अघि बढाइसकेको छ । कम्पनीले चुक्ता पुँजीको २० प्रतिशत अर्थात् २५ लाख कित्ता सेयर सर्वसाधारणलाई बिक्री गर्नेछ । आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल नियुक्त गरिएको छ । कम्पनीले आईपीओबाट संकलित रकम आंशिक रूपमा ऋण घटाउन प्रयोग गर्ने जनाएको छ ।  यसैबीच नर्भिकले गत आर्थिक वर्ष २०८१÷८२ को नाफाबाट ४० प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि २.१०५ प्रतिशत नगद गरी कुल ४२.१०५ प्रतिशत लाभांश प्रस्ताव गरेको थियो । 

टेलिकमका जीएसएम प्रिपेड ग्राहकका लागि अनलाइन केवाईसी अपडेट सेवा देशभर सुरु

काठमाडौं । नेपाल टेलिकमले जीएसएम प्रिपेड सिमकार्ड प्रयोगकर्ता ग्राहकका लागि अनलाइनमार्फत केवाईसी (ग्राहक विवरण) अद्यावधिक गर्ने सेवा देशभर सुरु गरेको छ । कम्पनीमा रहेको ग्राहक विवरण अब ग्राहक स्वयंले अनलाइन प्रणालीमार्फत भरेर अद्यावधिक गर्न सक्ने व्यवस्था गरिएको हो । गत पुस २२ गते दूरसञ्चार कार्यालय सुन्धाराबाट यसको परीक्षण शुभारम्भ गरिएको थियो । नेपाल टेलिकमको २२औँ वार्षिकोत्सवको अवसरमा माघ २२ गतेदेखि देशभरका सबै कार्यालयमार्फत यो सेवा उपलब्ध गराइएको हो । यस सेवाअन्तर्गत हाल आफ्नो नाम वा अन्य विवरण सच्याउनुपर्ने ग्राहकहरूले नेपाल टेलिकमको कस्टमर लगइन पोर्टलमार्फत आवश्यक विवरण भर्न सक्नेछन् । विवरण भर्दा सम्बन्धित मोबाइल नम्बरमा प्राप्त ओटीपी प्रयोग गरी व्यक्तिगत जानकारी तथा आफूले धेरै सम्पर्क गर्ने पाँचवटा मोबाइल नम्बरसमेत उल्लेख गर्नुपर्ने व्यवस्था गरिएको छ । सबै विवरण भरिसकेपछि प्रमाणीकरणका लागि नजिकको नेपाल टेलिकम कार्यालय वा ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्नुपर्नेछ । सो विवरणको आधारमा नेपाल टेलिकमको प्रणालीले ग्राहकको विवरण प्रमाणित गरी अद्यावधिक गर्नेछ । अहिले पनि धेरै ग्राहकहरूको व्यक्तिगत विवरण अद्यावधिक नभएको अवस्थामा यस सेवाबाट विवरण सच्याउन र अद्यावधिक गर्न सहज हुने कम्पनीले जनाएको छ । यसले अन्य सरकारी निकायमा समेत आफ्ना विवरण अद्यावधिक राख्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । नेपाल टेलिकमका प्रवक्ता रविन्द्र मानन्धरले यो सेवाले ग्राहकलाई सरल, सुरक्षित र छिटो माध्यमबाट विवरण अद्यावधिक गर्न सहयोग पुर्‍याउने विश्वास व्यक्त गरेका छन् ।