काठमाडौंमा प्रदूषण बढ्यो

काठमाडौं । काठमाडौं उपत्यकाको वायु प्रदूषण बढ्न थालेको छ । पछिल्ला केही दिनयता मौसम धुम्मिदै जाँदा वायु प्रदूषण पनि बढ्न थालको हो ।      वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीले लामो समयसम्म वर्षा नहुनु, हावा नचल्नुलगायत कारणले मौसम धुम्मिएको बताउँदै यसले प्रदूषण बढाउन मद्दत गरेको उल्लेख गरे । 'लामो समयदेखि वर्षा हुन सकेको छैन, हावा पनि चलेको छैन । त्यसैले केही दिनयता मौसम धुम्मिएको छ', उनले भने, 'गत वर्षको तुलनामा यस वर्ष प्रदूषण केही कम छ । वन डढेलो नलागेसम्म प्रदूषण अत्यधिक रूपमा भने बढ्ने छैन ।'     एयर क्वालिटी इन्डेक्स (एक्यूआई) अनुसार आज मध्याह्नसम्म काठमाडौं उपत्यकाको वायु गुणस्तर सूचकाङ्क १८६ पुगेको छ । यससँगै काठमाडौं विश्वको चौथो प्रदूषित सहरका रूपमा सूचीकृत भएको वातावरणविद् भूषण तुलाधारले जानकारी दिए । प्रदूषण नियन्त्रणका लागि समयमा पूर्वतयारी आवश्यक पर्ने बताउँदै उनले घरबाट निस्कने फोहरको उचित व्यवस्थापन, डढेलो नियन्त्रण, सवारीसाधनको धुँवा परीक्षण, मापदण्डको कडाइका साथ कार्यान्वयन गर्न सके प्रदूषण नियन्त्रणमा मद्दत पुग्ने धारणा राखे ।      एक्यूआईको मापदण्डअनुसार शून्यदेखि ५० सम्म ‘राम्रो’ मानिन्छ भने ५१ देखि १०० सम्म ‘सचेत रहनुपर्ने’ श्रेणीमा पर्दछ । त्यस्तै, १०१ देखि १५० ‘अस्वस्थ’ मानिन्छ, जसले विशेषगरी श्वासप्रश्वास तथा मुटु रोगीलाई असर गर्ने भएकाले सचेतना अपनाउन विभागका महानिर्देशक सुवेदीले आग्रह गरे । उनका अनुसार १५१ देखि २०० ‘सबैका लागि अस्वस्थ’, २०१ देखि ३०० ‘धेरै अस्वस्थ’ र ३०० भन्दा माथि ‘अत्यन्त खतरनाक’ मानिन्छ ।   

नेपालको पहिलो आँखा अस्पताललाई बेखानारायण देवकुमारी राष्ट्रिय प्रतिभा पुरस्कार

काठमाडौं । नेपाल आँखा अस्पताल त्रिपुरेश्वरलाई यस वर्षको बेखानारायण देवकुमारी राष्ट्रिय प्रतिभा पुरस्कारद्वारा सम्मानित गरिएको छ । केन्द्रीय मानन्धर सङ्घ नेपालको ७३औँ स्थापना दिवसको अवसरमा आज यहाँ आयोजित एक कार्यक्रममा काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोल, प्रा. जगदिश नारायण मानन्धरले आँखा अस्पताल त्रिपुरेश्वरका प्रमुख कार्यकारी अधिकृत धर्मराज गोसाईंलाई उक्त पुरस्कार हस्तान्तरण गरे ।  ५२ वर्षअघि नेपालमा पहिलो आँखा अस्पतालको रूपमा स्थापित उक्त अस्पतालले स्थापनाकालदेखि समुदायलाई गुणस्तरीय आँखा स्वास्थ्य सेवा प्रदान गर्दै आएको योगदानस्वरूप सम्मान गरिएको हो । अस्पतालमा हाल १६ जना पूर्णकालीन नेत्र विशेषज्ञ र ४ जना ‘फेलो नेत्र विशेषज्ञ’ समेत गरी १५० जना कार्यरत छन् । अस्पतालले दिएको जानकारी अनुसार बहिरङ्ग सेवामा वार्षिक करिब २ लाख बिरामीको उपचार र १५ हजारभन्दा बढीको आँखाको शल्यक्रिया गरिन्छ । अस्पतालले सामुदायिक आँखा स्वास्थ्य कार्यक्रम अन्तर्गत वर्षैभरी निःशुल्क आँखा परीक्षण, निःशुल्क मोतिया बिन्दुको शल्यक्रिया शिविर, विद्यालयस्तरीय दृष्टि परीक्षण तथा चस्मा वितरण र डायबेटिक रेटिनोपेथी परीक्षण तथा छनौट शिविर सञ्चालन गर्दै आइरहेको छ ।