पश्चिम एसिया सङ्कटः उद्धार उडान आज पनि, १६४ नेपालीलाई स्वदेश ल्याइने

काठमाडौं । सरकारको समन्वयमा नेपाल वायुसेवा निगमले पश्चिम एसियाका विभिन्न देशमा अलपत्र परेका नेपालीलाई क्रमशः उद्धार उडानमार्फत स्वदेश ल्याएको छ ।  निगमका प्रवक्ता देवेन्द्र पुनका अनुसार बिहीबार विशेष उद्धार उडानमार्फत दुबई विमानस्थलमा अलपत्र परेका २७२ जना नेपालीलाई स्वदेश ल्याइएको हो ।  विशेष उद्धार उडानको सो विमानमार्फत काठमाडौं विमानस्थलमा अलपत्र परेका २६० जना यात्रीलाई दुबई विमानस्थलसम्म पुर्याइएको थियो ।  आज पनि यहाँबाट २६७ जना यात्री लिएर निगमको विमान दुबई प्रस्थान गर्ने र त्यहाँबाट १६४ जना नेपालीलाई स्वदेश ल्याइने प्रवक्ता पुनले जानकारी दिए ।  यही फागुन १६ गतेदेखि पश्चिम एसियाको आकाशमा उडान निषेध भएपछि उद्धार उडान थालिएको हो । अमेरिका र इजरायलले संयुक्त रुपमा इरानमा हवाई आक्रमण गरेपछि पश्चिम एसियाली मुलुकमा उडान बन्द भएको हो । 

बीमाका बिरामीलाई बाहिर औषधि खरिद नगराउन अस्पताललाई निर्देशन

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचार गराउन आएका बीमितलाई अस्पताल बाहिर औषधि  खरिद नगराउन सबै अस्पताल (स्वास्थ्य संस्था)लाई निर्देशन गरेको छ ।  बोर्डका सूचना अधिकारी विकेश मल्लले सबै अस्पताललाई परिपत्र जारी गर्दै बीमितलाई बाहिर औषधि पसलमा औषधि तथा औषधिजन्य सामग्री खरिद नगराउन निर्देशन दिएको जानकारी दिए । बीमितसँग केही स्वास्थ्य संस्थाले प्याकेजमा गरिने उपचारमा औषधि बाहिर खरिद गराउने पाइएकोले त्यस्ता नगर्न /नगराउन सबै अस्पताललाई परिपत्र गरिएको उनले बताए । 'केही अस्पतालले बीमितलाई उपचार गरेसँगै बाहिर औषधि खरिद गर्न लगाएको गुनासो आएको छ,' उनले भने, 'त्यसैले हामीले त्यसरी बीमितलाई बाहिर औषधि खरिद नगर्न नगराउन निर्देशन दिँदै अस्पताललाई परिपत्र गरेका हौँ ।'  उनका अनुसार अस्पतालले बीमितसँग बिमा सेवका विभिन्न प्याकेजभित्र समावेश हुने औषधि तथा औषधिजन्य सामग्री सोही अस्पताल तथा बाहिरका औषधि पसलबाट नगदमा खरिद गर्न लगाउने गरेका छन् । सूचना अधिकारी मल्लले बिरामीलाई बाहिरका औषधि पसलबाट औषधि खरिद गर्न लगाउने अस्पताललाई  स्वास्थ्य बिमा ऐन २०७५, स्वास्थ्य बिमा नियमावली २०७५ तथा प्रचलित निर्देशिका र कार्यविधि विपरीत रहेको भन्दै त्यस्ता अस्पताललाई स्वास्थ्य बिमा नियमावली २०७५ को नियम १८ को उपनियम (१) को खण्ड (क)  बमोजिम कारबाही गरिनेसमेत बताए ।  स्वास्थ्य बिमा कार्यक्रममा अन्तर्गत पाँचजना परिवारसम्मका लागि तीन हजार ५०० रूपैयाँ बराबरको योगदानको आधारमा एक लाख रुपैयाँसम्मको स्वास्थ्य सेवा सुविधा उपलब्ध गराइन्छ । यस्तै थप प्रति सदस्य ७०० का दरले योगदान रकम थपिँदै जाने र प्रति सदस्य २० हजार बराबरको सेवा सुविधा थपिने प्रावधान रहेको छ ।     

भृकुटीमण्डपमा ‘नेपाल फर्मा एक्स्पो २०२६’ सुरु

काठमाडौं । बिहिबारदेखि काठमाडौंको भृकुटीमण्डपमा ‘नेपाल फर्मा एक्स्पो २०२६’ सुरु भएको छ । नेपाल औषधि उत्पादक संघ (एपोन) को आयोजनामा हुन लागेको यो प्रदर्शनीको १०औँ संस्करणको उद्देश्य नेपाली औषधि उद्योगको आधुनिक रूपान्तरण र प्राविधिक सामर्थ्य प्रदर्शन गर्ने हो । ‘फार्मामा नविनताः भोलिको स्वास्थ्यका लागि’ भन्ने मूल नाराका साथ आयोजना गरिएको यस एक्स्पोमा सर्वसाधरणदेखि औषधि क्षेत्रमा रुचि राख्नेहरूले अवलोकन गरिरहेका छन् । तीन दिनसम्म चल्ने यस एक्स्पोमा २०० भन्दा बढी स्टलहरू रहेका छन् भने ९० प्रतिशतभन्दा बढी सहभागिता विदेशी तथा बहुराष्ट्रिय कम्पनीहरूको रहेको छ ।  एपोनका अध्यक्ष विप्लव अधिकारीले यो एक्सपोबाट औषधिमा विश्वजारमा आएको प्रविधिबारे नेपालका उद्योगी र औषधिप्रतिरुचि राख्ने सबैले सिक्ने र बुझने अवसर पाउने बताए । उनले नेपाली औषधि विश्वस्तरमा प्रतिस्पर्धा गर्ने खालको भएपनि औषधि क्षेत्रमा आएका नयाँ प्रविधिबारे एक्सपोबाट जानकारी लिन सकिने बताए ।    उनी भन्छन्, ‘एक्सपोले विश्व बजारमा आएका नविनतम कच्चा पदार्थ, प्याकेजिङ सामग्री र अत्याधुनिक मेसिनरीहरूलाई नेपाली बजारसँग जोड्नेछ ।’   स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र औषधि व्यवस्था विभागको सहकार्यमा आयोजना गरिएको यस एक्स्पोमा औषधि क्षेत्रसँग सम्बन्धित विभिन्न १४ वटा सङ्घ–संस्थाहरू एसोसिएट सदस्यका रूपमा आबद्ध छन् । औषधि क्षेत्रको ज्ञान लिन चाहने जो–कोहीका लागि प्रवेश निःशुल्क गरिएको छ ।