वार्षिक इन्टरनेट जडानमा २ महिना बोनस दिने डिशहोमको नयाँ वर्ष अफर
काठमाडौं । नयाँ वर्ष २०८३ को अवसरमा डिशहोम इन्टरनेटले ग्राहकका लागि आकर्षक ‘नयाँ वर्षको नयाँ अफर’ सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत वार्षिक इन्टरनेट जडान गर्ने ग्राहकले २ महिना अतिरिक्त बोनस पाउनेछन् । कम्पनीका अनुसार उक्त अफरअन्तर्गत २००, ३००, ६०० र १००० एमबीपीएस का उच्च गतिको इन्टरनेट प्याकेजमा नयाँ वार्षिक कनेक्सन लिने ग्राहकलाई अतिरिक्त सेवा अवधि प्रदान गरिनेछ । यसले प्रयोगकर्तालाई थप समयसम्म निरन्तर उच्च गुणस्तरको इन्टरनेट सेवा उपयोग गर्न सहयोग पुग्ने कम्पनीको विश्वास छ । डिशहोम इन्टरनेटले बढ्दो डिजिटल आवश्यकतालाई मध्यनजर गर्दै ग्राहकलाई सुलभ, भरपर्दो र गुणस्तरीय सेवा उपलब्ध गराउने उद्देश्यले योजना ल्याएको जनाएको छ । कम्पनीका अनुसार यो अफर नयाँ वार्षिक इन्टरनेट जडानमा मात्र लागू हुनेछ र सीमित अवधिका लागि उपलब्ध रहनेछ । डिशहोम इन्टरनेट नेपालका प्रमुख इन्टरनेट सेवा प्रदायकमध्ये एक हो, जसले छिटो, भरपर्दो तथा ग्राहकमैत्री सेवा उपलब्ध गराउँदै आएको छ । कम्पनीले नयाँ वर्षको विशेष योजनासँगै ग्राहकलाई थप मूल्य र उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता दोहोर्याएको छ । नयाँ जडानका लागि ग्राहकले नजिकको डिशहोम डिलर वा कम्पनीको सम्पर्क नम्बरमार्फत जानकारी लिन सक्नेछन् ।
सिटिजन्स बैंकले मनाउँदै ‘डिजिटल मन्थ उत्सव’, वैशाखभर विशेष अफर सार्वजनिक
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १९औं वार्षिकोत्सवको अवसरमा ‘सिटिजन्स डिजिटल मन्थ उत्सव’ भव्य रूपमा मनाउने भएको छ । बैंकले ‘१९औं वार्षिकोत्सव सेलिब्रेसन क्याम्पेन २०८३’ अन्तर्गत वैशाख महिनाभर विविध कार्यक्रम तथा छुट योजना सञ्चालन गर्ने जनाएको छ । बैंकका अनुसार उक्त अवधिभर ग्राहकलाई विभिन्न सेवा तथा सुविधामा विशेष छुट प्रदान गरिनेछ । निष्क्रिय डेबिट कार्डलाई पीओएस वा ई–कमर्स कारोबारमार्फत सक्रिय गराउने ग्राहकले कारोबार रकमको १९ प्रतिशत वा अधिकतम १९० रुपैयाँसम्म क्यासब्याक प्राप्त गर्नेछन् । साथै, मोबाइल बैंकिङ वा डिजी बैंकमार्फत ई–कम कार्ड अनुरोध गर्दा एस्योरेन्स शुल्कमा ५० प्रतिशत छुट उपलब्ध गराइनेछ । त्यस्तै, निष्क्रिय व्यवसायिक क्यूआर भएका ग्राहकले आफ्नो क्यूआर सक्रिय गराएमा कारोबार रकमको १९ प्रतिशत वा अधिकतम १९० रुपैयाँ क्यासब्याक प्राप्त गर्नेछन् । होटल तथा रेस्टुरेन्टमा पीओएस मेसिन जडान गर्दा कारोबार शुल्कमा निश्चित प्रतिशत छुट दिइने बैंकले जनाएको छ । मोबाइल बैंकिङ वा डिजी बैंकमार्फत लकर सुविधा अनुरोध गर्दा वार्षिक शुल्कमा ५० प्रतिशत छुट प्रदान गरिनेछ । बैंकले पारिवारिक सदस्यको नयाँ खाता रेफर गर्ने ग्राहकलाई प्रति खाता १०० रुपैयाँ क्यासब्याक तथा मोबाइल बैंकिङमार्फत अन्तर्राष्ट्रिय रेमिट्यान्स भुक्तानी लिने ग्राहकलाई २०० रुपैयाँ क्यासब्याक प्रदान गर्ने योजना पनि ल्याएको छ । बैंकका अनुसार यी सबै कार्यक्रम वार्षिकोत्सवलाई थप उत्साहपूर्ण बनाउनुका साथै डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले ल्याइएको हो । यससँगै सिटिजन्स फोनपे क्रेडिट कार्ड मार्फत डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न पहिलो वर्षको शुल्कमा ५० प्रतिशत छुट अफर समेत घोषणा गरिएको छ । ‘बैंक अफ द इयर २०२४ र २०२५’ को उपाधि प्राप्त गर्न सफल बैंकले यसअघि फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको थियो । हाल बैंकले नवयुवालाई लक्षित ‘सिटिजन्स जेनजी सेभिङ्स अकाउन्ट’ तथा ‘सिटिजन्स डिजी बैंक’ नामक एकीकृत अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याएको जनाएको छ । यसैगरी, फ्रिलान्सरलाई लक्षित गरी ‘फ्रिलान्सर सेभिङ्स अकाउन्ट’ सञ्चालनमा ल्याउनुका साथै मोबाइल बैंकिङ एपमार्फत शेयर आवेदन र सीआरएन नम्बर सेवा, तथा अन्य बैंकका ग्राहकले सिटिजन्स बैंक शाखाबाट टेलर क्यूआर स्क्यान गरी नगद प्राप्त गर्न सक्ने क्रस बैंक टेलर सुविधा समेत सुरु गरेको बैंकले जनाएको छ ।
शुक्लाफाँटामा स्वास्थ्य बीमा कार्यक्रममा न्यून सहभागिता
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकामा स्वास्थ्य बीमा कार्यक्रमबाट अपेक्षाअनुसार सर्वसाधारण लाभान्वित हुन सकेका छैनन् । नगरपालिकाको कूल जनसङ्ख्या ५५ हजार ८०६ रहेकोमा हालसम्म पाँच हजार ७५६ जना मात्रै बिमा कार्यक्रममा आबद्ध भएका छन् । जुन कूल जनसङ्ख्याको करिब १० दशमलव ३१ प्रतिशत मात्रै रहेको छ । स्वास्थ्य शाखा प्रमुख परमानन्द भट्टका अनुसार सङ्घीय सरकारमार्फत पाँच हजार ७२६ र नगरपालिका–१० को सहयोगमा ३० जना बीमा कार्यक्रममा समेटिएका छन् । उनले स्वास्थ्य बीमासम्बन्धी पर्याप्त जानकारी र यसले पुर्याउने फाइदाका बारेमा जानकारी नहुँदा नागरिक सहभागिता न्यून भएको पाइएको बताए । 'धेरैलाई बीमाको फाइदा, प्रक्रिया र उपयोगबारे स्पष्ट जानकारी छैन', उनले भने, 'अब बीमा अभिकर्तामार्फत व्यापक जनचेतना अभिवृद्धि गर्ने योजना बनाएका छौँ ।' उनका अनुसार, स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध हुन इच्छुक नागरिकले तोकिएको बिमा दर्ता केन्द्र वा अभिकर्तामार्फत परिवारको विवरण पेस गर्नुपर्ने हुन्छ । नागरिकता वा परिचयपत्र, परिवार सदस्यको विवरण र आवश्यक कागजातसहित आवेदन दिएपछि वार्षिक प्रिमियम शुल्क तीन हजार ५०० रुपैयाँ बुझाइ बीमा सदस्यता लिन सकिन्छ । सामान्यतया एक परिवार (पाँच जना सम्मको)ले न्यून शुल्क तिरेर वार्षिक रूपमा एक लाख रुपैयाँसम्मको स्वास्थ्य सेवा निःशुल्क वा सहुलियतमा पाउने व्यवस्था रहेको छ । बीमा कार्यक्रममा आबद्ध हुन केही चुनौती पनि देखिएका छन् । कतिपय नागरिकले बीमा प्रक्रिया झन्झटिलो भएको गुनासो गर्ने गरेका छन् । फाराम भर्ने प्रक्रिया, कागजात सङ्कलन, समयमै सेवा नपाउने चिन्ता, अस्पतालमा बीमा सेवा सहज नहुनुजस्ता कारणले पनि आकर्षण घटेको देखिन्छ । ग्रामीण क्षेत्रमा सूचना अभाव र पहुँचको कमी पनि प्रमुख समस्याका रुपमा रहेको छ । 'स्वास्थ्य बीमा कार्यक्रमले दीर्घकालीन रूपमा नागरिकलाई आर्थिक सुरक्षा प्रदान गर्दछ', शाखा प्रमुख भट्टले भने, 'आकस्मिक बिरामी पर्दा ठूलो खर्च बेहोर्नुपर्ने अवस्थाबाट जोगाउन बीमा प्रभावकारी माध्यम बन्न सक्छ, यसले उपचार खर्चमा राहत दिँदै गरिब तथा मध्यम वर्गीय परिवारलाई विशेष सहयोग पुर्याउने गर्दछ ।' नगरपालिकाले आगामी दिनमा बीमा कार्यक्रमलाई थप प्रभावकारी बनाउन जनचेतना अभिवृद्धि, सेवा प्रवाहमा सुधार तथा अभिकर्ताको सक्रिय परिचालन गर्ने योजना अघि सारेको उनको भनाई रहेको छ । रासस