विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्डसँग सहकार्य गर्ने शिक्षामन्त्रीको प्रस्ताव

काठमाडौंं । सरकारले विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्ड सरकारसँग सहकार्य गर्न चासो देखाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलसँग नेपालका लागि फिनल्यान्डका महामहिम राजदूत पेट्री पुहाक्काले बिहीबार मन्त्रालयमा गरेको शिष्टाचार भेटवार्ताको क्रममा मन्त्री पोखरेलले फिनल्यान्डसँग शिक्षा क्षेत्रमा सहकार्य गर्ने प्रस्ताव राखेका हुन् । फिनल्यान्डको शिक्षा विश्वकै उच्च गुणस्तरको मानिन्छ । उक्त भेटमा शिक्षामन्त्री पोखरेलले नेपाल र फिनल्यान्ड बीच सदैव सुखद र असल सम्बन्ध भएको उल्लेख गर्दै नेपालको विकासमा फिनल्यान्ड सरकारले गर्दै आएको सहयोगको लागि धन्यवाद दिए । मन्त्री पोखरेलले सरकारको प्राथमिकता र आगामी कार्यक्रमबारे जानकारी गराउदैँ फिनल्यान्ड सरकारकोतर्फबाट शिक्षा क्षेत्रमा गरिआएको सहयोगको सराहना गर्दै आगामी दिनमा पनि नेपालको शिक्षालगायत क्षेत्रमा फिनल्यान्डको निरन्तर सहयोगको अपेक्षा गरे । शिक्षामन्त्री र राजदूत बीच द्विपक्षीय सम्बन्ध, विकास सहायता परिचालन, शिक्षा क्षेत्रमा फराकिलो साझेदारिता अभिवृद्धिलगायत विषयमा छलफल भएको छ । उक्त भेटमा महामहिम राजदूत पुहाक्काले नेपालको शिक्षा क्षेत्रमा फिनल्यान्ड सरकारले गरेको सहयोगलाई आगामी पाँच वर्षसम्म निरन्तर रहने प्रतिबद्धता जनाए । फिनल्यान्डको  सहयोगमा हाल विद्यालय शिक्षा क्षेत्र कार्यक्रम र ‘टिचर्स एजुकेशन’ परियोजना सञ्चालित छन् । नेपाल सरकारले अटिजम विद्यालय स्थापना गर्ने नीति लिएको सन्दर्भमा महामहिम राजदूत पुहाक्काले अटिजम र ‘इन्क्लुसिभ एजुकेशन’मा फिनल्यान्डको विज्ञता रहेकाले आफूहरु पनि यि शैक्षिक कार्यक्रममा सहयोग तथा सहकार्य गर्न इच्छुक रहेको बताए । राजदूत पुहाक्काले वर्तमान सरकारको प्राथमिकतामा रहेको ‘डिजिटल ट्रान्सफरमेसन’ को एजेण्डामा फिनल्यान्ड सरकारको विज्ञताको हिसाबले सो क्षेत्रमा पनि सझेदारीता गर्ने इच्छा व्यक्त गरे ।   

दिगोपन र संस्कृतिसँग जोडिँदै काठमाडौं मेरियटको सात वर्ष

काठमाडौं । काठमाडौं मेरियट होटलले अप्रिल २८, २०२६ मा सातौं वार्षिकोत्सव मनाएको छ । नेपाललाई विश्व आतिथ्य (हस्पिटालिटी) क्षेत्रमा स्थापित गर्ने लक्ष्यसहित सुरु भएको होटलको यात्रा आज मानिस, साझेदारी र उद्देश्यमा आधारित प्रेरणादायी कथामा परिणत भएको बताइएको छ । स्थापनादेखि नै होटलले केवल व्यवसायिक गतिविधिमा सीमित नभई नेपाली संस्कृति, आत्मीयता र स्थानीय विशेषतालाई आफ्ना सेवामा समेट्दै आएको जनाएको छ । होटलका सञ्चालक गौरव अग्रवालले सुरुवाती दिन सम्झँदै नेपालले विश्वस्तरको आतिथ्य क्षेत्रमा स्थान पाउन सक्छ भन्ने विश्वासकै आधारमा होटल स्थापना गरिएको बताए । 'हामी केवल भवन निर्माण गरिरहेका थिएनौं, विश्वास र उच्चस्तरीय मापदण्ड निर्माण गरिरहेका थियौं,' उनले भने । महाप्रबन्धक शंकुष महाजनका अनुसार सात वर्षपछि लक्जरीसँगै जिम्मेवारी पनि थपिएको छ। होटल एलईईडी गोल्ड सर्टिफाइड भएको उल्लेख गर्दै उनले दिगोपन र ऊर्जा दक्षतामा आफूहरू प्रतिबद्ध रहेको बताए। वार्षिकोत्सव समारोहमा विशिष्ट अतिथि, ग्राहक, ट्राभल एजेन्ट तथा सरोकारवालाको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रममा प्रमुख अतिथिका रूपमा मिंग्मा डेभिड शेर्पा सहभागी भएका थिए, जो गिनिज वर्ल्ड रेकर्डधारी तथा ‘पिओलेट डि’ओर एशिया’ सम्मान प्राप्त गर्ने पहिलो नेपाली हुन् । कार्यक्रममा दिगोपनाको सन्देश दिन पाहुनालाई गमलासहितको बिरुवा उपहार दिइएको थियो। साथै, तीन पटक राष्ट्रिय पुरस्कार प्राप्त कलाकार कृष्ण लामाका कलाकृतिहरू प्रदर्शन गरिएका थिए, जसको बिक्रीबाट प्राप्त रकमको एक हिस्सा प्रिजनर्स असिस्टेन्स नेपालाई प्रदान गरिने जनाइएको छ । संस्थाकी अध्यक्ष सुवानी आले मगरको उपस्थिति पनि कार्यक्रममा रहेको थियो । होटलले सन् २०१९ देखि मेरियट इन्टरनेशनलको विश्वव्यापी अभियानमा सहभागिता जनाउँदै आएको छ । सन् २०२३ सम्म आइपुग्दा होटलले नेपालको पर्यटन तथा आतिथ्य क्षेत्रमा महत्वपूर्ण योगदान दिँदै अन्तर्राष्ट्रिय ब्रान्डलाई स्थानीय सन्दर्भमा सफलतापूर्वक रूपान्तरण गरेको जनाएको छ ।  

एनसीएचएलसँग राष्ट्रिय वाणिज्य बैंकको सम्झौता, नेपालपे कार्ड जारी गर्ने

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) बीच नेशनल पेमेन्ट स्विच तथा नेपालपे कार्डमा आवद्ध हुन सम्झौता भएको छ । एक औपचारिक कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमन खनाल र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले सम्झौतापत्रमा हस्ताक्षर गरी आदानप्रदान गरेका हुन् । यस सम्झौतापछि बैंकले आफ्नो प्रणाली (स्वीच) इन्टिग्रेसन सम्पन्न गरेपछि ग्राहकहरूका लागि नेपालपे कार्ड जारी गर्न तथा नेपालपे नेटवर्कमार्फत कारोबार स्वीकार गर्न सक्नेछ । हालसम्म एनपीएस प्रणालीमा ३४ वटा बैंक तथा वित्तीय संस्थाहरू प्रिन्सिपल मेम्बरका रूपमा आवद्ध भइसकेका छन्, जसमध्ये ५ संस्थाले लाइभ सञ्चालन सुरु गरिसकेका छन् । एनसीएचएलले नेपालपे कार्डको व्यावसायिक रोलआउट सुरु गरिसकेको छ । अन्तर्राष्ट्रिय नेटवर्क ‘डिस्कभर’सँगको सहकार्यमा नेपालपे कार्ड अब विश्वव्यापी रूपमा प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ । नेशनल पेमेन्ट स्विचअन्तर्गत सञ्चालनमा आएको नेपालपे कार्डमार्फत बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक र भुक्तानी प्रणाली सञ्चालकले जारी गरेका कार्डहरू नेपालभित्र र विदेशमा रहेका एटीएम तथा पीओएस टर्मिनलमा प्रयोग गर्न सकिनेछ । साथै, अन्तर्राष्ट्रिय कार्डहरू (जस्तै रुपे कार्ड) पनि नेपालमा प्रयोग गर्न सकिने भएको छ । एनपीएस प्रणालीले विभिन्न कार्ड स्विचबीच अन्तरआबद्धता कायम गर्दै डोमेस्टिक कार्ड कारोबारको राउटिङ र सेटलमेन्टका लागि केन्द्रीय स्विचको रूपमा काम गर्नेछ । यसले घरेलु कार्ड कारोबारको लागत घटाउने, डाटा स्थानीयकरण सुनिश्चित गर्ने तथा डिजिटल भुक्तानी प्रणालीमा नवीन प्रविधिको विकास र प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ ।