कक्षा १२ को परीक्षा आगामी वैशाख १४ गतेबाट हुने
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को परीक्षा आगामी वैशाख १४ गतेदेखि हुने जनाएको छ । बोर्डले मंगलबार सार्वजनिक गरेको परीक्षा तालिकाअनुसार परीक्षा वैशाख १४ गतेबाट सुरु भई २७ गते सम्पन्न हुनेछ । साधारण, प्राविधिक तथा परम्परागत धारतर्फका नियमित तथा आंशिक विद्यार्थीहरूले तोकिएको परीक्षा केन्द्रमा गएर परीक्षा दिन सक्नेछन् । यस वर्ष कक्षा १२ मा नियमिततर्फ तीन लाख ६० हजार विद्यार्थी छन् भने आंशिकको संख्या यकिन भइसकेको छैन । गत वर्ष कक्षा १२ मा नियमिततर्फ तीन लाख ९६ हजार तीन सय ४७ र आंशिकतर्फ एक लाख १४ हजार छ सय ४० विद्यार्थी परीक्षामा सहभागी भएका थिए । बोर्डले सार्वजनिक गरेको कार्यक्रमअनुसार परीक्षामा अनुपस्थित हुने परीक्षार्थीका लागि पुनः अर्को व्यवस्था गरिने छैन । कुनै आकस्मिक बिदा परेमा समेत परीक्षा नियन्त्रण कार्यालयको पूर्वसूचनाविना परीक्षा स्थगित नगरिने बोर्डले जनाएको छ । परीक्षा दिने विद्यार्थीले परीक्षा सुरु हुनुभन्दा १५ मिनेट अगाडि नै परीक्षा केन्द्रमा पुगिसक्नुपर्नेछ । १५ मिनेटपछि उपस्थित हुने परीक्षार्थीलाई परीक्षामा सहभागी नगराइनेसमेत बोर्डको सूचनामा उल्लेख गरिएको छ ।
होटल इस्टर्न नेपालले आईपीओ ल्याउने, एनआईसी एशिया क्यापिटलसँग सम्झौता
काठमाडौं । एनआईसी एशिया क्यापिटल र होटल इस्टर्न नेपाल लिमिटेडबीच प्राथमिक सेयर (आईपीओ) निष्कासन तथा बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौता भएको छ । एनआईसी एशिया क्यापिटलले आफ्नो ‘आईडिया टू आईपीओ’ सेवा अन्तर्गत होटल इस्टर्न नेपाललाई सार्वजनिक कम्पनीमा रूपान्तरण गरी आईपीओ निष्कासनसम्म आवश्यक सम्पूर्ण वित्तीय तथा परामर्श सेवा प्रदान गर्नेछ । झापाको मेचीनगर नगरपालिका–१०, धुलाबारीमा निर्माणाधीन होटल इस्टर्न नेपाल लिमिटेड अन्तर्राष्ट्रिय स्तरको पाँचतारे होटल हो । उक्त होटल ‘होलिडे इन एक्सप्रेस एन्ड सुइट्स’ ब्रान्डअन्तर्गत सञ्चालनमा आउनेछ । होटल व्यवस्थापनका लागि कम्पनीले अन्तर्राष्ट्रिय होटल समूहसँग सम्झौता गरिसकेको जनाएको छ । निर्माणको अन्तिम चरणमा पुगेको होटल चालु आर्थिक वर्ष २०८२÷८३ भित्र सफ्ट ओपनिङ गर्ने लक्ष्य राखिएको छ । होटल सञ्चालनमा आएपछि क्यासिनो, उच्चस्तरीय गेमिङ तथा मनोरञ्जन सेवा, रूफटप स्विमिङ पुल, आधुनिक तथा सुविधासम्पन्न कोठा तथा सुइट, बैंक्वेट हल, बहुउद्देश्यीय रेस्टुरेन्ट, रूफटप रेस्टुरेन्ट, ज्याकुजी, स्पा, हेल्थ क्लब, इन–हाउस लन्ड्री तथा व्यावसायिक हाउसकिपिङ सेवा उपलब्ध हुने कम्पनीले जनाएको छ । होटल भारत–नेपाल सीमाबाट करिब ७ किलोमिटर र भारतको बागडोग्रा विमानस्थलबाट करिब २७ किलोमिटर दूरीमा अवस्थित रहेको छ । सीमावर्ती क्षेत्रमा अवस्थित भएकाले भारतीय पर्यटकलाई लक्षित सेवा प्रवाह गर्ने कम्पनीको रणनीति रहेको छ । होटल इस्टर्न नेपाल सञ्चालनमा आएपछि पूर्वी नेपाल मात्र नभई समग्र नेपाली पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ । एनआईसी एशिया क्यापिटलले ‘आईडिया टू आईपीओ’ सेवामार्फत निजी कम्पनीलाई सार्वजनिक कम्पनीमा रूपान्तरण गर्ने, सेयर निष्कासन प्रक्रिया अघि बढाउने तथा पूँजी बजारमा प्रवेश गराउने उद्देश्यसहित परामर्श सेवा प्रदान गर्दै आएको छ ।
अवतरण हुन नसकेपछि मध्यरातमा काठमाडौं फिर्ता भयाे श्री एयरलाइन्सको जहाज
काठमाडौं । काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज अवतरण हुन नसकेपछि मध्यरातमा काठमाडौं फिर्ता भएको छ । गन्तव्यमा अवतरण हुन नसकेपछि जहाज काठमाडौं फर्कँदा यात्रु अलपत्र परेका छन् । सो जहाजमा रहेका यात्रुसमेत रहेका सञ्चारकर्मी रोयल आचार्यले जहाज अवतरण हुन नसकी काठमाडौं फर्कँदा विमानस्थलमा केहीबेर यात्रुले असन्तुष्टि जनाएको बताए । एयरलाइन्सका कर्मचारी सागर पौडेलले टिकट फिर्ता गर्न चाहने यात्रुको पैसा फिर्ता गर्ने र जान चाहने यात्रुलाई मङ्गलबार बिहानको उडानमा धनगढी पठाइने जानकारी दिए । उक्त जहाज धनगढीका लागि काठमाडौंबाट ९:४५ बजे उडेको थियो । धनगढी विमानस्थल अवतरणका लागि पटकपटक प्रयास गर्दा समेत सम्भव नभएपछि राति १२ बजे जहाज काठमाडौं फिर्ता भएको थियो । उडानमा चालक दलका सदस्यसहित ८० यात्रु थिए ।