वीरमा स्वास्थ्य बीमा संकट: तीन महिनाका लागि पाइने औषधी एक महिनामा झार्यो, उपचार गर्न महिनौं कुर्नुपर्ने
काठमाडौं । बाजुराका लोक्जन रावत बिहान ८ बजे वीर अस्पताल पुगे । अस्पतालमा टोकन लिनेहरूको लाइन लागि सकेको थियो । उनको पालो ७ सय नम्बरमा आयो । करिब २ घण्टाको पर्खाइपछि उनले युरोलोजी हड्डी सम्बन्धी जाँचका लागि टिकट पाए । उनी टिकट काटेर युरोलोजी विभागको ओपीडीमा पुग्दा बिरामीले भरिसकेको थियो । बिहान ७ बजे घरबाट निस्केका उनले करिब ११ बजेसम्म पनि चिकित्सक भेट्न पाएनन् । लोक्जन सुरुमै वीरमा टिकट काट्न आएका थिएनन् । शिक्षण अस्पताल महाराजगञ्जबाट फर्केर वीरमा आउँदा ८ बजिसकेको थियो । उनी महाराजगञ्जमै बस्ने भएकाले पनि उनलाई टिचिङमा सहज हुन्थ्यो । तर स्वास्थ्य बीमा बन्द छ भन्ने कुरा थाह थिएन । ‘बिहान छिट्टै पालो आउँछ भन्दै टिचिङ पुगें, त्यहाँ बीमा कार्यक्रम नै बन्द रहेछ, फेरि फर्केर आउँदा ढिलो भइसक्यो,’ वीर अस्पतालमा भेटिएका उनले भने, ‘अझै यहाँ चिकित्सकलाई भेट्न कति सयम लाग्ने हो, फेरि के-के जाँच गर्न भन्नुहुन्छ, पैसा हेर्दा वीर अस्पतालमा आउन मन लाग्छ, भीड हेर्दा निजी अस्पताल जान मन लाग्छ ।’ लोक्जन वीरमा आउनुको एउटै कारण थियो स्वास्थ्य बीमा सेवा । अन्य अस्पतालमा स्वास्थ्य बीमाको सेवा नहुँदा र भएका अस्पतालमध्ये पनि सस्तो वीर अस्पताल हुँदा उपचारको लागि वीरमा आएको उनी बताउँछन् । तीन दिन लगाएर बाजुराबाट आएकी बिरामी आमा लिएर वीरमा पुगेका उनी सबै जाँच र औषधि बीमाबाट नपाइने कुराले उत्तिकै चिन्तित् छन् । ‘बुवा भारतमा मजदुरी गर्नुहुन्छ, म यहाँ पढ्दै थिएँ, आमा बिरामी हुनुभयो, अस्पताल देखाउँदा राम्रो अस्पतालमा जानु भन्नुभयो,’ उनी भन्छन्, ‘बीमाको साहरामा उपचारका लागि अस्पताल आएका छौं, समस्या पालो पाउनै गाह्रो ।’ सिन्धुलीका ५५ वर्षका सुकराम तामाङ ५४ वर्षकी श्रीमतीलाई हातमा डो¥याउँदै वीरमा पुगेका थिए । श्रीमतीलाई नसाको समस्या देखिएपछि उनी अस्पताल धाउन थालेको दुईवर्ष जति भयो । यस अघि टिचिङ अस्पतालमा उपचार गराइरहेका उनी त्यहाँ बीमा कार्यक्रम बन्द हुँदा उनी वीरमा आए । हातमा स्वास्थ्य बीमाको फाइल, उपचारका लागि दिएका कार्ड बोकेका उनलाई तेस्रो तलामा रहेको ओपीडी कक्षमा जान मुस्किल परिरहेको थियो । अस्पतालमा उपचार गर्न त के आउनु थियो हजुर सकुशल मानिस पनि घर फर्कँदा बिरामी हुने पीर,’ उनी भन्छन्, ‘टिकट काट्नदेखि उपचारमा लाइन लाग्नुपर्छ, लामो समय उभिरहन गाह्रो पर्छ, यहाँ जता गयो उतै लाइन ।’ लोक्जन जस्ता धेरै सेवाग्राही शिक्षण अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम बन्द भएको थाहा नहुँदा फर्केर वीर अस्पताल पुग्छन् । धेरैजसो नागरिकलाई शिक्षण अस्पतालले स्वास्थ्य बीमा कार्यक्रम बन्द गरेको थाहा भए पनि ग्रामिणस्तरबाट आउने बिरामीलाई थाहा नहुँदा फर्केर वीर अस्पताल आउनुपरेको छ भने सुकराम जस्ता बीरामीको लाइनमा कुर्नुपर्ने समस्या अस्पताल पुगेका अधिकांशको छ । वीरमा बिरामीको चाप शिक्षण अस्पताल महारजगञ्जले गत मात्र १ गतेदेखि लागू हुने गरी स्वास्थ्य बीमा कार्यक्रम गर्यो । अस्पतालले पाउनुपर्ने भुक्तानी रकम नपाउँदा सेवा दिन समस्या भएको भन्दै अस्पतालले स्वास्थ्य बीमा कार्यक्रम बन्द गरेको हो । शिक्षण अस्पतालले सेवा बन्द गर्दा यसको चाप वीर अस्पतालमा परेको छ । जसले गर्दा वीरमा अहिले बिरामीको चाप बढेको अस्पतालले जनाएको छ । वीर अस्पतालका अनुसार टिचिङले स्वास्थ्य बीमा कार्यक्रम बन्द गर्दा त्यहाँ जाने बिरामी पनि वीरमा आउन थालेका छन् । जसका कारण बीमित सेवाग्राहीको चाप बढ्दो छ । अस्पतालका सूचना अधिकारी हरि पंगेनी शिक्षण अस्पतालले बीमा सेवा बन्द गर्दा वीरमा बिरामीको सख्या थप बढेको बताउँछन् । ‘देशभरका रेफर गरिएका व्यक्ति आउने भनेको कि वीर कि टिचिङमा हो, टिचिङले सेवा बन्द गरेको थाहा पाएका बिरामी सिधै वीरमा आउँछन्, नपाएकाहरू टिचिङबाट फर्केर आउने गरेका छन्,’ पंगेनीले भने । वीर अस्पतालका चिकित्सकहरूका अनुसार पनि आजभोलि स्वास्थ्य बीमा भएका बीरामीको चाप अस्पतालमा बढेको छ । न्युरोलोजिष्ट डा.अविनाश चन्द्र देशभरबाट रेफर हुने ठाउँ नै वीर भएकाले वीरमा भीड लाग्ने गरेको बताउँछन् । उनी पहिलेको तुलनामा माघ महिनादेखि स्वास्थ्य बीमा भएका व्यक्तिको चाप बढेको बताउँछन् । ‘यहाँ आउने अधिकांश व्यक्ति बीमा भएका भएकाहरू हुनुहुन्छ, कतिपय अस्पतालले बीमा बन्द गरेको र कतिपयले बन्द गर्ने घोषणा गरेको सुन्दा पनि बीरामीको भीड यहाँ बढेको हुन सक्छ,’ उनले भने । अस्पताल प्रशासनका अनुसार माघ १ गतेपछि आउने बिरामी सख्या थप बढेको छ । अस्पतालले उपलब्ध गराएको तथ्यांक अनुसार माघ अगाडि मासिक १० देखि १३ हजार बीमा भएका बिरामी उपचारका लागि आउँथे भने माघ यता यो संख्या बढेको छ । अझ टिचिङ अस्पतालले बीमा सेवा कार्यक्रम बन्द गर्ने सूचना निकालिसकेपछि नै वीरमा बिरामीको चाप बढ्दै गएको छ । टिचिङले सूचना निकालेको पुस महिनादेखि नै वीरमा मासिक एक हजार बढीको हाराहारीमा बिरामी संख्या बढेको तथ््यांकले देखाएको छ । गत मंसिरमा १४ हजार ४ सय ७५ स्वास्थ्य बीमा कार्ड भएका नागरिकले वीरमा सेवा लिँदा पुसमा यो सख्या बढेर १५ हजार ८ सय ४६ पुगेको थियो । यस्तै माघ महिनामा १५ हजार ८ सय ४ जनाले सेवा लिएका छन् । जबकि यो सख्या गएको साउन महिनामा १३ हजार ८३, भदौमा १३ हजार ८ ७७, असोजमा १० हजार ३ सय ८४, कार्तिका ११ हजार ३ सय ८१ र मंसिर महिनामा १४ हजार ४ सय ७५ स्वास्थ्य बीमा भएका व्यक्तिले वीरबाट सेवा लिएका थिए । उपचारको पालो महिनौंपछि वीरमा बिरामीको चाप अहिलेको मात्र होइन । देशका विभिन्न ठाउँका बिरामी उपचारको लागि यही पुग्ने गर्छन् । तर, टिचिङले बीमा कार्यक्रम बन्द गर्दा अझ बढी चाप भएको हो । बिरामीको चप बढेसँगै अस्पतालमा उपचारको पालो पाउन सेवाग्राहीले उत्तिकै कुर्नपर्छ । अछामकी सोवी थापा उपचारका लागि वीर अस्पताल पुगिन् । लामो समयदेखि हात खुट्टा दुख्ने समस्याबाट पीडित उनी उपचारका लागि पटक–पटक भारत, धनगढीका अस्पताल पुगिन् । तर, कतै पनि निको नहुँदा वीर अस्पताल पुगिन् । उनलाई नसाको समस्या हुन सक्ने भन्दै चिकित्सकले सर्भिकल स्पाइनको एमआरआई गर्न भन्यो । चिकित्कको सल्लाह अनुसार उनी सल्लाह अनुसार एमआरआई गर्ने ठाउँ पुगिन् । तर, उताबाट जवाफ आयो– ‘अहिले पालो पाइँदैन बैशाखसम्म कुर्नुपर्छ ।’ ‘एउटा एक्सरे गर्न बैशाखसम्म कुर्नुपर्ने कस्तो अस्पताल,’ उनी भन्छिन्, ‘त्यत्रो टाढाबाट उपचार गर्न काठमाडौं आउनु त्यसमा पनि पालै नपाउनु कस्तो अचम्म, यहाँ त बिरामी उपचारको पर्खाइमै मृत्यु हुने रहेछ ।’ ‘अन्य अस्पताल बीमाको सुविधा छैन, बीमाको सुविधा भएको राम्रो अस्पतालको अवस्था यस्तो छ । हामी जस्ता बिरामीको ज्यान त उपचार नपाएर जाने रहेछ,’ उनले भनिन् । वीरमा पालो नपाउँदा उनी एमआरआइका लागि निजी क्लिनिकमा गएर २० हजार रुपैयाँमा एमआरआई गरेको सुनाइन् । यस्तो समस्या वीर अस्पतालमा पुग्ने अधिकांशले भोग्नुपरिरहेको छ । वीरले औषधिको मात्रा पनि घटायो वीरमा बिरामीको चाप बढेपछि अस्पतालले स्वास्थ्य बीमाबाट उपलब्ध गराउने औषधिको मात्रा पनि घटाएको छ । फागुन १ गतेबाट बिरामीलाई बीमा मार्फत दिइने औषधीको मात्र घटाएको हो । अस्पतालले यस अघि तीन महिनासम्म खाने औषधी बिरामीलाई एकै पटक दिने गरेकोमा औषधी अभावमा एक महिनाका लागि मात्र दिन थालेको अस्पतालले एक महिनाका लागि मात्र बिमित सदस्यहरूलाई उपलब्ध गराउने जानकारी गराएको छ । अस्पताल प्रशासनले सेवा बन्द नभई घटाउन लागेको जनाएको छ । स्टकमा धेरै औषधी नहुँदा सबै बिरामीलाई सेवा लिन सहज होस् भन्ने उद्देश्यले सेवा घटाएको अस्पतालले जनाएको छ । अस्पतालका सूचना अधिकारी पंगेनीले बिरामीले अस्पताल आई तीन महिनासम्मलाई लिने औषधी अब एक महिनासम्मको लागि मात्र पाउन सक्ने बताए । पंगेनी भन्छन्, ‘टिचिङ अस्पतालले स्वास्थ्य बीमाको सेवा बन्दा गर्दा बिरामीको चाप वीरमा बढ्यो, एक पटक आउँदा तीन महिनालाई पाउने औषधी अहिले एक महिनाका लागि लिनुस यो खादै गर्दा फेरि लिन आउनुहोस् भनेर भनेका हौं, पहिलेको स्रोत साधनले पनि भ्याएन, थप स्रोत साधन आवश्यक पर्दा व्यवस्थापन गर्न यसो गर्नुपरेको हो ।’ उनले वीर अस्पतालले बीमा कार्यक्रम नरोकियोस् भन्दै सकेसम्म सेवा दिने ग्रयास गरिरहेको बताए । वीर अस्पतालले स्वास्थ्य बीमाबाट करिब करिब ५० करोड रकम पाउन बाँकी रहेको छ । ‘भुक्तानी नपाउँदा सेवा दिन समस्या भएको अस्पतालले जनाएको छ । ‘सप्लायर्सले औषधी ल्याएर छोडेका छन्, पैसा पाएका छैनन, हार गुहार गर्दै अहिलेसम्म चलेको छ, बीमालाई निरन्ता दिनुपर्छ यसका लागि कसरी गर्दा सहज हुन्छ भन्नेमा अस्पताल लागेको छ,’ पंगिनीले भने ।
नेपाल पर्यटन बोर्ड ऐन संशोधन गरिने
काठमाडौं । नेपाल पर्यटन बोर्ड ऐन संशोधन गरिने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल पर्यटन बोर्ड ऐन, २०५३ लाई संशोधन गर्ने तयारी गरेको हो । उक्त ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा मन्त्रालयले तयार गरेको छ । ऐनको दफा ६ लाई संशोधन गरेर बोर्डको काम कर्तव्य अधिकारलाई विस्तार गर्न खोजिएको छ । संशोधित विधेयधकको मस्यौदामा बोर्डले नेपालका पर्यटकीय वस्तु (टुरिजम प्रोडक्ट) र क्रियाकलापको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचार प्रसार गर्नको लागि नेपाल सरकारको प्रतिनिधिको रुपमा काम गर्ने, नेपालका पर्यटकीय क्षेत्रको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्नका लागि आवश्यक नीति निर्माण गर्न मन्त्रालयलाई सुझाव दिने, नेपालमा रहेका पर्यटकीय दृष्टिले महत्वपूर्ण प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक, धार्मिक तथा पुरातात्विक सम्पदाहरूको पहिचान गरी प्रवर्द्धन गर्ने, पर्यटन व्यवसायको विविधीकरण, विकास र प्रवर्द्धन गर्नका लागि सार्वजनिक क्षेत्र, निजी क्षेत्र तथा गैर सरकारी क्षेत्रका सरोकारवाला निकायहरूसँग समन्वय गर्ने, सङ्घ, प्रदेश र स्थानीय तहमा पर्यटन प्रवर्द्धन गर्न आवश्यक नीति तथा कार्यक्रममा अन्तर तह सहजीकरण गर्नेजस्ता विषयहरु विधेयकको मस्यौदामा समेटिएको छ । पर्यटन बोर्डले पर्यटन व्यवसायको विकास, विस्तार र प्रवर्द्धनका लागि निजी क्षेत्रको सहभागितालाई प्रोत्साहित गर्ने, पर्यटन प्रवर्द्धन तथा प्रचार प्रसारका लागि अन्तर्राष्ट्रिय सभा सम्मेलन, मेला, महोत्सव, प्रतियोगिता तथा तोकिए बमोजिमका अन्य कार्यक्रम आफै वा निजी क्षेत्रसँगको समन्वय र सहकार्यमा सञ्चालन गर्ने, पारस्परिक लाभ वा योगदानमा आधारित अन्तरदेशीय पर्यटन सम्बन्धी गतिविधि सञ्चालन गर्न सम्बन्धित विदेशी सङ्घ संस्थासँग समन्वय गर्ने, पर्यटन प्रवर्द्धन गर्नको लागि नेपाल सरकारको पूर्व स्वीकृति लिई अन्तर्राष्ट्रिय संघ संस्थाहरूसँग सम्झौता गर्ने अधिकार बोर्डलाई दिन खोजिएको छ । विगतमा राजनीतिक पहुँच र दलका कार्यकर्ता भर्तिकेन्द्र बनाइएको बोर्डमा सदस्य, प्रमुख कार्यकारी नियुक्तीमा कडाइ गर्न खोजिएको छ । प्रस्तावित विधेयकको मस्यौदामा बोर्डको सदस्य हुन नियुक्ति हुँदाको बखत कुनै राजनीतिक दलको सदस्य नरहेको, पर्यटन व्यवसायको कुनै क्षेत्रमा दश प्रतिशत भन्दा बढी शेयर स्वामित्व रहेको, मान्यताप्राप्त शिक्षण संस्थाबाट स्नातकोत्तर तह वा सो भन्दा माथिल्लो शैक्षिक योग्यता भएको व्यक्तिको हकमा पर्यटन व्यवसायको क्षेत्रमा कम्तीमा पाँच वर्ष निरन्तर अनुभव भएको योग्यता मस्यौदामा तोकिएको छ । प्रमुख कार्यकारीको हकमा मान्यताप्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरेको, पर्यटनसम्बन्धी प्रचलित कानुनबमोजिम स्थापित कम्पनी वा सङ्गठित संस्थाको प्रमुख वा सोभन्दा एक तह मुनिको पदमा रही कम्तीमा पाँच वर्ष काम गरेको र पर्यटनसम्बन्धी क्षेत्रमा कम्तीमा पन्ध्र वर्षको अनुभव हासिल गरेको हुनुपर्ने उल्लेख छ । साथै विदेशी मुलुकको आवासीय अनुमति नलिएको, भ्रष्टाचार, जबर्जस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, लागूऔषध कारोबार, सम्पत्ति शुद्धीकरण, राहदानी दुरुपयोग, अपहरणसम्बन्धी कसुर वा नैतिक पतन देखिने फौजदारी कसुरमा सजाय नपाएको, नियुक्ति हुँदाको बखत प्रचलित कानुनबमोजिम कालोसूचीमा नपरेको, कुनै राजनीतिक दलको सदस्य नरहेको र कुनै लाभको पद धारण नगरेको हुनुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ ।
बालबालिकामा इन्टरनेटको प्रभाव : अभिभावकलाई स्वास्थ्य, शिक्षाका विषयमा चिन्ता
तानसेन । पछिल्लो समय प्रविधिको विकास भएसँगै मोबाइल फोन र इन्टरनेटको पहुँच गाउँगाउँसम्म विस्तार हुँदै गएको छ । स्मार्टफोन र इन्टरनेटको प्रयोग गर्दै हुर्किरहेका अहिलेका बालबालिकामा यसको सकारात्मकभन्दा बढी नकारात्म प्रभा पर्दै जान थालेको विज्ञहरू बताउँछन् । पछिल्लो समय मोबाइल नहुने परिवार कमै छन् । वर्तमान समयमा न्यून आय भएका परिवारका साथै सबैजसो घरका सदस्यसँग स्मार्टफोन र इन्टरनेटको पहुँच पुगेको छ । स्मार्टफोनमा पहुँचको दुरुपयोग पनि बढेको छ, यो जोखिमपूर्ण र चिन्ताको विषय बनेको मनोचिकित्सक तथा बालरोग विशेषज्ञ डा. विकासराज अधिकारीले बताए । मोबाइलको बढी प्रयोगका कारण आफ्ना सन्तानमा समस्या देखिएपछि अविभावकहरू विभिन्न मनोचिकित्सा उपचार केन्द्रमा पुग्ने गरेका उनको भनाइ छ । 'अहिले शिशु उमेरदेखि बालबालिका मोबाइलसँग परिचित हुन्छन् । आमाबुबाले चलाएको, फोटो खिचेको देखेर हुर्किएका उनीहरू कम उमेरदेखि मोबाइलमा गेम खेल्ने, साथीभाइसँग कुराकानी गर्नेलगायत अन्य विभिन्न काममा इन्टरनेटको प्रयोग गर्छन् । यसले बालबालिकामा इन्टरनेटको आदत बस्दा अभिभावकलाई उनीहरूको स्वास्थ्य, शिक्षालगायत विषयमा चिन्ता बढ्ने गरेको छ', डा. अधिकारीले भने । कक्षा ५ मा अध्ययनरत तानसेनका उमेश खड्का निकै चुलबुले स्वभावका थिए । जतिबेला पनि साथीसँग खेल्न चाहने, साइकल कुदाउँन घरबाहिर निस्किरहने उनलाई लकडाउनको समयमा कोठामै राख्न हम्मेहम्मे पर्यो । त्यसका लागि अभिभावकले इन्टरनेटमा भुलाउन जुक्ति निकाले । साउनमा दोस्रो चरणको लकडाउन सुरु भएपछि उनको विद्यालयले अनलाइन कक्षा सुरु गर्यो । त्यसपछि उनको अधिकांश समय इन्टरनेटमा बित्न थाल्यो । माघ पहिलो हप्तादेखि विद्यालय खुल्यो, तर उनी जान मानेनन् । विद्यालय जान नमान्ने, मोबाइल चलाइरहन खोज्ने, नदिँदा धेरै रिसाउने, समान फ्याँक्ने, फुटाउने गर्न थालेपछि परिवारले विद्यालयसँग सम्पर्क गरेर मनोपरामर्श दिन सुरु गरेको छ । अहिले आठ वर्ष पुगेकी तानसेन–३ भगवती टोलकी मनिषा पाण्डेलाई पनि अभिभावकले खुवाउने बेला विभिन्न किसिमका भिडियोहरू देखाउँथे । उनीमा खाने बेला, पढ्नु अघि भिडियो हेर्ने बानी नै बस्यो । त्यसलाई अभिभावकले सामान्य ठाने । विस्तारै उनले मोबाइलमा गेम (खेल) पनि खेल्न थालिन् । त्यो देखेर अभिभावक खुसी व्यक्त गर्थे । मनिषाको गेमप्रति लगाव बढ्दै गयो । त्यसपछि उनी जतिबेला पनि मोबाइल खोज्ने र गेम खेल्ने गर्न थालिन् । गत पुसमा ५ दिन इन्टरनेट नआउँदा मनिषाले धेरै रिसाहा व्यवहार देखाएकी अभिभावकले बताए । अनलाइन हुन नपाउँदा आमाको फोन फ्याँकेर फुटाइदिनेसम्मका क्रियाकलाप हुन थालेपछि मनोचिकित्सकबाट उपचार सुरु गरिएको मनिषाकी आमाले जानकारी दिइन् । दुई वर्ष पहिलेसम्म पढाइमा अब्बल रहेको छोरा विस्तारै कमजोर बन्दै गएपछि गुल्मी तम्घासकी अप्सरा परियार पनि चिन्तित छिन् । तीन कक्षामा अध्ययनरत १२ वर्षीय छोरा प्रिन्स केही समयदेखि विद्यालयबाट कोठामा फर्किएपछि झोला र पोसाक नखोली मोबाइलमा व्यस्त हुन्छन् । मोबाइल खोसिदिएपछि रुने र खाना नखाइदिने आमा अप्सराले बताइन् । उनले भनिन्, 'पहिलेपहिले पढाइ राम्रो थियो, कोभिडपछि मोबाइलबाट पढ्ने बानी बसेपछि अहिले मोबाइल नभई हुँदैन । मोबाइलमा गेम खेल्ने र युुट्युुबमा भिडियो हेर्ने गर्दा पढाइमा ध्यान दिँदैन ।' छोरा खाली मोबाइलमा व्यस्त हुने, कुनै पनि काम नगर्ने, भनेको नमान्ने, अटेरी र जिद्धी स्वभावको हुँदै गएको आमा अप्सराको भनाइ छ । उनले भनिन्, 'बच्चा पढ्दै छन् मोबाइलमा चाहिने कुरा हेर्दै होलान् भन्यो युट्युबमा विभिन्न खालका भिडियो हेर्ने, गेम खेल्ने गरेका हुन्छन्, उनीहरूले समयमा आफ्ना कुनै पनि काम नगर्ने, भनेको नमान्नेलगायत गतिविधि देखाउँछन् ।' इन्टरनेटको पहुँचले जनजीवन सहज भए पनि सुरक्षित रूपमा प्रयोग गर्न नसक्दा गलत सूचनाको बाढी र बालबालिका बढी समस्यामा पर्ने गरेका मनोचिकित्सक तथा बालरोग विशेषज्ञ डा. अधिकारीले बताए । अभिभावकले व्यस्तता देखाउँदै भुलाउन मोबाइल वा कम्प्युटर प्रयोग गर्न दिने तर उनीहरूले के गर्दै छन् भन्ने ख्याल नगर्दा पनि बालबालिकाले इन्टरनेटको गलत प्रयोग गर्ने गरेका बताउँदै उनले यसले मस्तिष्क, आँखा, स्मरण शक्तिलगायतमा नकारात्मक असर गर्ने उनले जानकारी दिए । पछिल्लो समय मोबाइलको प्रयोगले बालबालिकामा स्वास्थ्य समस्या उत्पन्न हुँदै गएको मनोचिकित्सक डा. अधिकारीले बताए । 'आफ्ना बालबालिकाले पढाइ बिगारेको, नसुतेको, समयमा नउठेकोलगायत समस्या लिएर अधिकांश अभिभावक आउँछन् । सबैको समस्या मोबाइलको बढी प्रयोग नै देखिन्छ', उनले भने । अधिकारीका अनुसार सानै उमेरदेखि लामो समयसम्म यस्ता विद्युतीय उपकरण मोबाइल, ल्याप्टप चलाएमा यसको दीर्घकालीन असर गर्दछ । एकोहोरो रूपमा इन्टरनेटमा व्यस्त हुँदा बालबालिकाको सामाजिक, मानसिक विकासमा असर पर्ने उनले जानकारी दिए । बढी समय इन्टरनेटमा बिताउने बच्चालाई पछि गएर सामान्य अवस्थामा फर्काउनसमेत मुस्किल हुने डा. अधिकारीको अनुभव छ । उनीहरू पछि गएर भावनात्मक रूपमा कमजोर हुने, आत्माविश्वासको अभाव हुने, मनस्थितिमा अस्थिरता हुने, आँखा तथा श्रवणशक्ति, स्मरणशक्ति कमजोर हुनेलगायत समस्या देखिने उनले जानकारी दिए । आफ्ना बालबालिकामा मोबाइलको प्रयोग आदत बनेको छ/छैन सोबारे अभिभावकले विचार पुर्याउनुपर्नेमा जोड दिँदै डा. अधिकारीले आफूले पनि मोबाइल कम प्रयोग गर्ने, बालबालिकासँग खेल्ने, समय बिताउने, पढ्ने र पढ्न प्रेरित गर्नेलगायत गतिविधि गरेर बालबालिकाको बानी परिवर्तन गराउन सकिने उनको भनाइ छ । रासस