प्रयोगशाला रिपोर्ट किर्तेबारे कान्तिबाललाई परिषदले सोध्यो स्पष्टीकरण

काठमाडौं । नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले कान्ति बाल अस्पताललाई एक साताभित्र स्पष्टिकरण पेश गर्न निर्देशन दिएको छ । अस्पतालमा गरिएको प्रयोगशाला परीक्षणका रिपोर्टहरू किर्ते गरिएको उजुरी परेपछि परिषद्ले औपचारिक रूपमा स्पष्टीकरण सोधेको हो । परिषद्का अनुसार चैत्र १ गतेदेखि एक महिनाको अवधिमा करिब एक हजार प्रयोगशाला रिपोर्ट प्रक्रियागत रूपमा शंकास्पद देखिएको उजुरी परेको छ । उजुरीमा अस्पतालले आफ्नै प्रयोगशालाबाट परीक्षण नगराई निजी प्रयोगशालाबाट तयार गरिएका रिपोर्टलाई अस्पतालकै आधिकारिक रिपोर्टका रूपमा वितरण गरेको आरोप लगाइएको छ । अस्पतालले सेरो डाइग्नोष्टिक कम्पनीले जडान गरेको भिट्रोस ५६०० मेसिनमार्फत सेवा सञ्चालन गरेपछि परीक्षण प्रक्रिया र रिपोर्ट प्रमाणीकरणबारे प्रश्न उठ्न थालेको थियो ।  आरोपअनुसार अस्पतालले बिरामीबाट नमुना संकलन गरी निजी प्रयोगशालामा पठाउने, त्यसपछि आएको रिपोर्टलाई कान्तिकै रिपोर्ट झैं प्रस्तुत गरेर अस्पतालका प्राविधिकमार्फत हस्ताक्षर गराई बिरामीलाई दिने गरिएको थियो । यो काम नेपाल स्वास्थ्य व्यवसायी परिषद् ऐनविपरीत भएको दाबी गर्दै परिषद्मा औपचारिक उजुरी परेको हो । त्यसपछि परिषद्ले गत बिहीबार अस्पताललाई पत्र पठाउँदै किन कारबाही नगर्ने ? भन्ने प्रश्नसहित सात दिनभित्र उपस्थित भएर स्पष्ट कारण पेश गर्न निर्देशन दिएको हो । परिषद्का प्रवक्ता शितल बस्नेतले उजुरीका आधारमा स्पष्टीकरण मागिएको पुष्टि गरे । उनका अनुसार प्राप्त विवरणमाथि प्रारम्भिक अध्ययनपछि परिषद् आवश्यक कारबाही प्रक्रियातर्फ अघि बढेको हो । बाल स्वास्थ्य सेवाका लागि देशकै प्रमुख सरकारी अस्पताल मानिने कान्तिमा यस्तो आरोप सार्वजनिक भएपछि बिरामीका अभिभावक र स्वास्थ्य क्षेत्रमै गम्भीर चासो बढेको छ ।  परीक्षण रिपोर्टको विश्वसनीयतामाथि प्रश्न उठेपछि अस्पताल प्रशासनमाथि पारदर्शी छानबिनको दबाबसमेत बढेको छ । कान्तिमा करोडौंका उपकरण थन्किए कान्तिबालको बदमासीमा मुछिए पूर्वमन्त्री बस्नेत, अख्तियारमा उजुरी कानुनी अपराधमा कान्ति बाल, निजी ल्याबको रिपोर्ट आफ्नो भन्दै हस्ताक्षर बदमासी ढाकछोप गर्न कर्मचारीको सातो खाँदै प्रशासन कान्ति बाल अस्पतालमा बदमासी : अत्याधुनिक मेसिन थन्क्याएर निजी ल्याबमा परीक्षण काजमै राज गरिरहेका भीआईपी चिकित्सक

विधेयकमा शिक्षा मन्त्रालयले माग्यो सुझाव

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले ‘प्राविधिक तथा व्यावसायिक तालिमसम्बन्धी संशोधन र एकीकरण गर्न बनेको विधेयक’माथि सुझाव मागेको छ । गुणस्तरीय प्राविधिक शिक्षा र सीप विकासको अवसरलाई पहुँचयोग्य बनाइ शिक्षा र तालिमलाई सीप, श्रम, रोजगारी, उत्पादन र समृद्धिसँग आबद्ध गर्न ल्याउन लागिएको सो विधेयकलाई मन्त्रालयले बेवसाइटमा राखेर सुझाव मागेको हो । मुलुकको सामाजिक तथा आर्थिक रूपान्तरणमा योगदान गर्न सक्ने आधारभूत, मध्यम तथा उच्चस्तरको प्राविधिक जनशक्तिको उत्पादन गर्नका लागि सो विधेयक तयार गरिएको मन्त्रालयले जनाएको छ । विद्यमान ‘प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ऐन, २०४५’ लाई खारेज गर्ने गरी प्रस्ताव गरिएको एकीकृत विधेयकमा परिषद्लाई श्रम बजारको आवश्यकताबमोजिम पाठ्यक्रम, सम्बन्धन र शिक्षालय निर्धारणको अधिकार दिइएको छ । 

सिद्धार्थ बैंकले तनहुँका १२ विद्यालयलाई दियो स्मार्ट बोर्ड

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड ले गण्डकी प्रदेशको तनहुँ जिल्लास्थित १२ सामुदायिक विद्यालयलाई एक–एक थान इन्टरएक्टिभ डिस्प्ले स्मार्ट बोर्ड हस्तान्तरण गरेको छ । उक्त कार्यक्रम जेठ ११ गते श्री नारायणी आधारभूत विद्यालयको सभाहलमा सम्पन्न भएको हो । कार्यक्रममा बैंकका गण्डकी प्रदेश प्रमुख निरज श्रेष्ठ, दमौली शाखा प्रबन्धक दिपक पौडेल, डुम्रे शाखा प्रबन्धक सुधिर वाग्ले, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजु सिम्खडा, यू.डब्लु.एस. नेपालका प्रतिनिधि, अभिभावक तथा विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो । बालबालिका राष्ट्रका कर्णधार भएको उल्लेख गर्दै बैंकले शिक्षामा सूचना तथा सञ्चार प्रविधिको प्रयोगलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित सामुदायिक विद्यालयहरूमा स्मार्ट बोर्ड वितरण गरेको जनाएको छ । यस पहलमार्फत विद्यार्थीहरूलाई आधुनिक तथा गुणस्तरीय शिक्षासँग जोड्ने लक्ष्य राखिएको छ । उक्त प्रविधिमैत्री सहयोगबाट १२ विद्यालयका प्रत्येक वर्ष १५ सयभन्दा बढी विद्यार्थी प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ । स्मार्ट बोर्डको प्रयोगले कक्षाकोठा शिक्षणलाई दृश्यात्मक तथा अन्तरक्रियात्मक बनाउँदै भिडियो, चित्र तथा डिजिटल सामग्रीमार्फत सिकाइ प्रक्रिया अझ प्रभावकारी र रोचक बन्ने विश्वास लिइएको छ । बैंकले दिगो विकास लक्ष्यलाई प्राथमिकतामा राख्दै समाज विकासमा योगदान पुर्‍याउने उद्देश्यले विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्दै आएको छ । आगामी दिनमा पनि यस्ता सामाजिक कार्यलाई निरन्तरता दिने योजना रहेको बैंकले जनाएको छ ।