७ सहकारीलाई अन्तिम चेतावनी, जिम्मेवार व्यक्तिका सबै सार्वजनिक सेवा रोक्का हुँदै

काठमाडौं । विराटनगर महानगरपालिकाले निष्क्रिय तथा नियमनमा नआएका ७ सहकारी संस्थालाई सम्पर्कमा आउन निर्देशन दिएको छ । पटक-पटकको सूचना र समयसीमा अटेर गर्दै बेवास्ता गरेको भन्दै महानगरले अन्तिम पटक १५ दिने अल्टिमेटम जारी गरेको हो । महानगरले ताजा तरकारी तथा फलफूल उत्पादन सहकारी संस्था, निलकमल बचत तथा ऋण सहकारी संस्था, युनिक बचत तथा ऋण सहकारी संस्था, शिवम् बचत तथा ऋण सहकारी संस्था, सामूहिक बचत तथा ऋण सहकारी संस्था, सिद्धार्थ बहुउद्देश्यीय सहकारी संस्था र स्वागतम् बचत तथा ऋण सहकारी संस्थालाई तत्काल सम्पर्कमा आउन निर्देशन दिएको छ। सहकारी ऐन, २०७५ (दोस्रो संशोधन, २०८० सहित) को दफा ५२ र ६७ अनुसार नियमनमा ल्याउने प्रयास गरिए पनि सम्बन्धित संस्थाहरूले तोकिएको समयसीमा र सूचनालाई बेवास्ता गरेको महानगरले जनाएको छ। महानगरका अनुसार यसअघि अवसर दिइए पनि कुनै पनि सहकारीले आवश्यक तदारूकता नदेखाएपछि कडा कदम चाल्नुपर्ने अवस्था आएको हो । महानगरले जारी गरेको सूचनामा तोकिएको १५ दिनभित्र सम्बन्धित सहकारी संस्थाहरू सम्पर्कमा नआए कानुनअनुसार थप कडा कारबाही अघि बढाइने स्पष्ट गरिएको छ। त्यसपछि सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, ऋण उपसमिति, व्यवस्थापक तथा अन्य जिम्मेवार व्यक्तिहरूको पहिचान गरी तीनपुस्ते विवरण सार्वजनिक गरिने उल्लेख छ । त्यस्तै, सहकारी संस्थाका चल-अचल सम्पत्ति रोक्काका लागि सम्बन्धित निकायमा लेखी पठाइने तथा महानगर र वडा कार्यालयबाट प्रदान गरिने सबै प्रकारका सेवा-सुविधा पूर्ण रूपमा रोक्का गरिने चेतावनीसमेत दिइएको छ ।  

पेट्रोल पम्पपछि सहकारीको लगानी चार्जिङ स्टेसनमा, डेढ करोडमा ४ वटा स्टेसन सञ्चालनमा

काठमाडौं । चितवन जिल्ला सहकारी सङ्घ चितवनले साझा विद्युतीय सवारी साधन (ईभी) चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको छ । पेट्रोलपम्प सञ्चालन गर्दै आएको सङ्घले ४ वटा चार्जिङ उपकरणबाट ८ वटा गाडी चार्ज गर्ने गरी स्टेसन सञ्चालनमा ल्याएको हो । भरतपुर महानगरपालिका-१० मा रहेको आफ्नै परिसरमा चार्जिङ स्टेसन स्थापना गरिएको हो । सङ्घका व्यवस्थापक विनोद खतिवडाका अनुसार १ करोड ५० लाख रुपैयाँको लागतमा ४ वटा सेन्टरमा ८ वटा गाडी एक पटकमा चार्ज गर्न सकिने गरि विद्युतीय चार्जिङ उपकरण जडान गरिएको हो । १२० किलोवाटको क्षमता भएका उपकरण जडान गरिएका छन् । यी सेन्टरबाट छिटो चार्ज गर्न सकिने उनले बताए ।   तोरीको तेल पेलेर बेच्दै आएको सङ्घले साझा पेट्रोलपम्प सञ्चालन गरेको थियो । डिजेल पेट्रोलमा दैनिक ४० लाख रुपैयाँको कारोबार हुने गरेको र तोरीको तेल मासिक ६ हजार लिटर खपत हुँदै आएको छ । यससँगै सेवाग्राहीलाई सुविधा दिने उद्देश्यले चार्जिङ स्टेसन स्थापना गरिएको उनको भनाइ छ । सङ्घले अहिले ३० जना कर्मचारीलाई प्रत्यक्ष रोजगार दिँदै आएको छ । विद्युतीय सवारी साधनको प्रयोगसँगै जिल्लामा चार्जिङ स्टेसन खुल्ने क्रम बढेको हो । नेपाल विद्युत् प्राधिकरणले भरतपुरको केन्द्रीय बसपार्कमा ४ सवारीसाधनले एकै पटक चार्ज गर्न सक्ने गरी चार्जिङ स्टेसन स्थापना गरेको थियो । त्यसलगत्तै प्राधिकरणले मुग्लिङमा अर्को चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको थियो । अहिले बसपार्कमा उपकरण थप गरी १२ पुर्याइएको छ । एउटाले काम गरेको छैन भने बाँकी ११ वटामा २२ वटा गाडी चार्ज गर्न सकिने प्राधिकरणले जनाएको छ । यसबाहेक निजी स्तरबाट व्यावसायिक रूपमा विभिन्न स्थानमा ३१ स्टेसन सञ्चालनमा आएका छन् । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका इन्जिनियर मिलन सापकोटाका अनुसार प्राधिकरणका दुई स्थानमा र नीजि क्षेत्रका ३१ स्थानमा स्टेसन सञ्चालनमा ल्याइएको छ । यीबाहेक होटेल, रेष्टुरेन्टहरुमा आफ्ना ग्राहकलाई सेवा दिने गरी चार्जिङ स्टेसन राख्नेहरू धेरै छन् ।

बागमती प्रदेशका पाँच सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक (सूचीसहित)

काठमाडौं । बागमती प्रदेश समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पाँचवटा समस्याग्रस्त सहकारी संस्थाका ठूला ऋणीहरूको नामावली सार्वजनिक गरेको छ । समितिको शुक्रबार (आज) जेठ २२ गतेको निर्णयअनुसार लालीगुराँस सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ, सुमेरु सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ, नेशनल नमोबुद्ध बचत तथा ऋण सहकारी, दर्शन बचत तथा ऋण सहकारी र सिभिल सेभिङ एण्ड क्रेडिट को-अपरेटिभका ठूला ऋणीहरूको विवरण सार्वजनिक गरिएको हो ।  समितिले उपलब्ध ऋणी विवरणका आधारमा यो नामावली सार्वजनिक गरिएको जनाउँदै साविकमै ऋण चुक्ता गरिसकेका तर प्राविधिक कारणवश नाम परेका व्यक्तिहरूलाई प्रमाणसहित समितिमा उपस्थित हुन आग्रह गरेको छ । साथै ऋण बाँकी रहेका ऋणीहरूलाई यथाशीघ्र समितिको कार्यालयमा सम्पर्क गरी ऋण चुक्ता गर्न निर्देशन दिइएको छ भने तोकिएको समयमा दायित्व पूरा नगरे प्रचलित कानुनबमोजिम असुली प्रक्रिया अघि बढाइने समितिले चेतावनी दिएको छ ।