हाँडीखोलामा देशकै ठूलो कृषि केन्द्र बन्दै

हेटौंडा । अर्काको देशमा गएर काम गर्नुभन्दा स्वदेशमा नै काम गरेर विदेशको सरह कमाइ गर्न सकिन्छ र स्वरोजगार बन्दै अरु नेपालीलाई पनि रोजगारी दिन सकिन्छ भन्दै विभिन्न जिल्लाका युवाले शुरु गरेको यस कृषि फार्मले एक वर्षभित्र नै एक हजार ५०० लाई रोजगारी दिने लक्ष्य लिएको छ । वैदेशिक रोजगारीमा रहेका तथा विगतमा वैदेशिक रोजगारीका सिलसिलामा विदेश गएर हाल नेपालमा फर्किएका युवा र विभिन्न कारणले पीडित बन्न पुगेका महिलासमेत गरी देशका ४० जिल्लाका १५५ लगानीकर्ताको शेयर लगानी रहेको यस फार्मले हाल १०० जतिलाई रोजगारी दिएको र एक हजार ५०० लाई रोजगारी दिनेगरी काम अगाडि बढिसकेको फार्मका अध्यक्ष प्रेम कार्कीले जानकारी दिएका छन् । कार्कीका अनुसार फार्ममा हाल थोरै सङ्ख्यामा पाडापाडी, गाई, बाख्रा र कुखुरा भए पनि आगामी वर्षबाट नै एक हजार ५०० बाख्रा, २०० गाई, १० हजार कुखुरा, १०० पाडा, तीन÷चार हजार बट्टाई, उपलब्ध भएसम्म कालिज, केही हजार टर्की आदिको व्यावसायिक पालन शुरु गरिने छ । केन्द्र सरकार, प्रदेश सरकार तथा स्थानीय सरकारले समेत कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेको कारण आफूहरु कृषितर्फ आकर्षित भएको उनको भनाइ छ । हाल फार्मको आफ्नो जग्गा ७० कट्ठा भए पनि भडामा सोही अनुपातको जग्गा रहेको कार्कीले जानकारी दिए । कार्कीका अनुसार एक गाई बराबर एक कट्ठा जग्गा आवश्यक पर्ने भएकाले २०० वटा गाई पाल्ने लक्ष्य भएको फार्मलाई आवश्यक पर्ने २०० कट्ठा जग्गा वरिपरिका किसानसँग भाडामा लिएर घाँस खेती शुरु गरिएको छ । बृहत् योजनासहित शुरु गरिएको कृषि फार्मलाई केन्द्र सरकार तथा प्रदेश सरकारले पनि सहयोग गर्ने जनाइएको छ भने स्थानीय सरकारको रूपमा रहेको मनहरी गाउँपालिकाले प्रत्यक्ष रूपमा सहयोग गरिरहेको छ । यस क्षेत्रमा छ वटा पोखरीमा माछापालन र केही बाख्रा र बङ्गुरसमेत पालन गरिरहेको खड्का बहुउद्देश्य कृषि फार्म, सोही अनुपातमा माछा उत्पादन गरिरहेको विष्ट एण्ड सन्स कृषि फार्म, तीन बिघा क्षेत्रफलमा पोखरी बनाएर माछापालन गरिरहेको तितुङ्ग माछापालन, दुई बिघामा तरकारी उत्पादन गरिरहेको थापा कृषि केन्द्रलगायत दर्जनौँ व्यावसायिक कृषि फार्म दर्ता भई व्यावसायिक कृषि प्रणालीतर्फ लागेर मनग्य आम्दानी गर्न तथा कतिलाई रोजगारीसमेत दिन सफल भएका छन् । प्रत्येक घर परिवारको कुनै न कुनै परिमाणमा कृषि उत्पादनमा योगदान रहेको मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीको भनाइ छ । जिल्लालाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउन जिल्ला समन्वय समितिले पनि महत्वपूर्ण भूमिका निर्वाह गर्ने गरेको छ । कृषि उत्पादन पशुपालन, माछापालन र अन्य कृषिउपजको उत्पादनमा मकवानपुरका हरेक स्थानीय तहबीच अनुभव तथा प्रविधि र सीपसमेतको आदानप्रदान गराएर कृषि उत्पादनमा मकवानपुरलाई अगाडि बढाउन आफूहरु लागेको जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालले बताएका छन् । कृषि उत्पादनलाई नै पहिलो प्राथमिकतामा राखेको प्रदेश ३ सरकारले कृषि उत्पादन बढाउन र प्रशस्त रोजगारीसमेत सिर्जना हुने गरी शुरु गरिएको यस फार्मलाई सकेको सहयोग गर्न सरकार तत्पर रहेको मुख्यमन्त्री डोरमणि पौडेल बताउँछन् । सरकारको प्राथमिकता एकीकृत खेती भएकाले सोहीअनुसार एकीकृत खेती प्रणालीलाई सरकारले सहयोग गर्ने तथा आधुनिक कृषिमा जोड दिने उनको धारणा छ । यसरी, कृषि क्षेत्र विकासको मेरुदण्ड रहेको भन्दै उनले आर्थिक विकास गर्न कृषिलाई जोड दिन सबैलाई आग्रहसमेत गरेका छन् । मुख्यमन्त्री पौडेलले प्रदेश सरकारको कृषि र पशुपालन सँगसँगै लैजाने नीति रहेको बताए । कृषिलाई निर्वाहमुखीभन्दा पनि व्यावसायिक र प्रविधिमैत्री बनाउनुपर्ने उनको धारणा छ । प्रदेश सरकारले प्रदेशका ११९ वटै स्थानीय तहमा कम्तीमा एउटा कृषि केन्द्र स्थापना गर्ने बताउँदै एक गाउँ एक उत्पादन क्षेत्रको अवधारणामा अघि बढिने जानकारी दिएका छन् । मुख्यमन्त्री पौडेलले किसानलाई मर्का पार्ने किसान र उपभोक्ताबीचको बिचौलिया प्रथाको अन्त्य गरिने र बृहत् कृषि बजार स्थापना गरिनेसमेत बताए । हरेक कृषिउपजको बजारीकरणका लागि दिगो र भरपर्दो कृषि बजारको व्यवस्था गरिने मुख्यमन्त्री पौडेलको भनाइ छ । पौडेलले सरकारले लिएको दिगो विकासको लक्ष्यअनुरुप हुने गरी काम गरिने जानकारी दिए । भिजन अफ मकवानपुर कृषि फार्म तथा हाँडीखोलाको अधिकांश कृषि उद्यमको अवलोकन गरेको र समस्या सुनेको बताउँदै पौडेलले मनहरी गाउँपालिकाको हाँडीखोला क्षेत्र कृषि तथा पशुपालनमा पकेट क्षेत्र भए पनि खहरे खोलाले दुःख दिएको, पानी, बत्तीलगायत समस्या रहेको गुनासो आएकाले त्यसको समाधान गरिने बताए । पौडेलले उचित र मजबुत तटबन्धको व्यवस्था गर्न, कृषिमा लागत कम गरी उत्पादन बढाउन यसै क्षेत्रमा दाना उद्योग व्यवस्था गर्न सरकार लाग्ने जानकारी दिएका छन् । हाँडीखोला क्षेत्र तरकारी उत्पादन, बाख्रापालन, माछापालन आदिका हिसाबले निक्कै नै प्रसिद्ध रहेकाले कृषि फार्म सञ्चालनका लागि यस क्षेत्र रोजेको फार्मका सञ्चालक बताउँछन् । यो क्षेत्र जिल्लाका लागि मात्र नभएर चितवन, बारा, पर्सा, रौतहट आदि जिल्लामा स्वादिलो तरकारी र माछाका लागि प्रसिद्ध छ । यहाँको काउली तथा आलुको मूल्य बजारमा तराई क्षेत्रबाट आउने आलु काउलीको तुलनामा १५ देखि २० प्रतिशतसम्म महँगो पर्ने तरकारी व्यापारी बताउँछन् । यस क्षेत्रको माछा हेटौँडामा अन्य क्षेत्रको माछाको तुलनामा रु ५० प्रतिकेजी महँगोमा बिक्री गर्न सकिने माछा बजारका व्यापारी बृजेन्दर माझी बताउँछन् । तराईको तुलनामा केही चिसो वातावरण हुने हुँदा यहाँको हरेक उत्पादन स्वादिष्ट हुने भएकाले उपभोक्ताको पहिलो रोजाइमा हाँडीखोलाको काउली, माछा, आलु, केरा तथा गेडागुडी पर्ने उपभोक्ता मञ्च, मकवानपुरका अध्यक्ष कुमार पौडेल बताउँछन्। स्वास्थ्यप्रति सजग उपभोक्ता ताजा र विषादीरहित उत्पादन रुचाउँछन् र अहिलेसम्म हाँडीखोलावासी किसानको इमान्दारीका कारण खानयोग्य उत्पादन आएकाले रुचाइएको उनको भनाइ छ । रासस

वैदेशिक रोजगार व्यवसायीको कुरासँगै श्रमिकका समस्याप्रति सरकार गम्भिर

काठमाडौं । वैदेशिक रोजगार व्यवसायीको गुनासो मात्र नभई श्रमिकको समस्याप्रति सरकारको ध्यान गम्भिर रहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले बताए । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको २७ औं वार्षिक साधारण सभामा बोल्दै मन्त्री विष्टले प्रत्येक व्यवसायीको गुनासो सुन्नेर सत्यतासँगै व्यवहारिक कुरालाई ध्यान दिने जनाए । साधारणसभा समारोहमा बोल्दै अब छिटै अनलाइन प्रणाली शुरु भएसँगै सरकारी कर्मचारी र म्यानपावर व्यवसायीको भेट नहुने भन्दै श्रममन्त्री विष्टले वैदेशिक रोजगार विभागमा कुनै पनि वैदेशिक रोजगार व्यवसायी जान नपर्ने बताए । केहि वर्ष अगाडी श्रम कार्यालय तथा रोजगार विभागको गतिविधिलाई प्रष्ट पार्दै हाल केहि हदसम्म सुधार भएको र आफ्नो कार्यकालमा श्रम तथा रोजगार क्षेत्रमा नेपाली युवा जनशक्ति तथा व्यवसायीहरुको ध्यानप्रति सरकार केन्द्रित रहेको काम गर्ने प्रतिवद्धता मन्त्रीले  व्यक्त गरे । नेपालको अर्थतन्त्रमा रिमिटेन्सको ठूलो महत्व रहेको हुँदा सरकारले अधिकंतम रुपमा नेपालको जनशक्तिलाई देश भित्र सरकारलाई देश भित्र रोजगार सिर्जना गर्न केहि समय लाग्नेछ । त्यसकारण अझै केहि वर्ष वैदेशिक रोजगारका लागि सरकारले सरल सहज र मर्यादित ढंगले उपयुक्त देशमा रोजगारको अवस्थाबारे बुझिरहेको मन्त्री विष्टले बताए । स्पष्टिकरण र प्रमाणसहित जुनसुकै गुनासो आएको ५ मिनेटमा नै त्यसको हल गर्ने जनाउँदै मन्त्री विष्टले पछिल्लो समय वैदेशिक रोजगारका क्षेत्रमा भएको परिवर्तन सबैको सहमति अनुसार भएको हुँदा वैदेशिक रोजगार संघले नकारात्मक काम नगरि आफ्नो कार्यशैलीमा परिवर्तन ल्याएमा सबैको हित हुने बताए ।

वैदेशिक रोजगारीका समस्या समाधान गर्न सरकार प्रयत्नशीलः उपप्रधानमन्त्री पोखरेल

काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले वैदेशिक रोजगारीका क्षेत्रमा देखिएको समस्या समाधान गर्न सरकार प्रयत्नशील रहेको बताएका छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको आज यहाँ आयोजित २७ औँ वार्षिक साधारणसभामा बोल्दै उनले यस क्षेत्रका समस्या समाधानका उपायसहित आउन व्यवसायीलाई आग्रह गरेका छन् । उनले भने, “स्पष्ट अवधारणासहित सरकारसँग आउनुहोस् सरकारले ती समस्याको समाधान गर्नेछ ।” सरकारले गरेका केही नीतिगत व्यवस्थाले व्यवसायीलाई अप्ठेरो पारेको भए त्यसको समाधान का लागि छलफल गर्न सकिने उनले बताए । “यस क्षेत्रका समस्या बुँदागत रुपमा ठाउँमा राखौं, म स्वागत गर्न चाहन्छु । ती समस्या समाधान गर्न सरकारले पूराका पूरा सहयोग गर्नेछ”, उपप्रधानमन्त्री पोखरेलले भने । वैदेशिक रोजगारलाई मर्यादित, व्यवस्थित बनाउन जरुरी रहेको उल्लेख गर्दै उनले यस क्षेत्रमा देखा परेका समस्या सम्बद्ध सरोकारवालासँगको छलफलमा टुङ्ग्याउनुपर्ने बताएका छन् । नीति, निर्णय गर्दा सरोकारवालासँग परामर्श गर्नुपर्नेमा जोड दिँदै उनले सरकार पछिल्लो समय सबै सरोकारवाला पक्षसँग समन्वय गर्ने पक्षमा रहेको बताएका छन् । वैदेशिक रोजगारीको प्रभाव र परिणाम अत्यन्त ज्यादा रहेको उल्लेख गर्दै उपप्रधानमन्त्री पोरखेलले रोजगारीले नेपालको अर्थतन्त्र, सामाजिक, सांस्कृतिक तथा व्यक्तिको जीवनमा पारेको प्रभावका बारेमा छलफल गर्न आग्रह गरेका हुन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले व्यवसायीलाई दुःख दिने सरकारको नियत नरहेको प्रष्ट पार्दै सरोकारवाला निकायको तर्फबाट कुनै कमजोरी भए तत्काल सुधार गरिने प्रतिबद्धता व्यक्त गरे । “व्यवसायीसँग कुनै वैरभाव छैन, म मन्त्री रहुन्जेल यस क्षेत्रको सुधारको पक्षमा काम गरिरहन्छु”, उनले भने, “व्यवसायीको समस्या सुन्न चाहन्छु एक्लाएक्लै भए पनि समूहगत भए पनि म व्यवसायीको समस्या सुन्छु तर त्यो व्यवहारिक हुनुपर्छ । यो सरकार व्यवसायीकै हो ।” व्यवसायीको सुझाव सरकारले ग्रहण गर्ने उल्लेख गर्दै मन्त्री विष्टले सरकार र व्यवसायीबीचको छलफललाई औचित्यपूर्ण बनाउन आग्रह गरेका छन् । “व्यवसायीको समस्या पनि सुनौला, आमजनताको समस्या पनि सरकारले सुन्नै पर्छ । रोजगारीका खोजीमा लाखौँ युवा बाहिरिएका छन्, ती युवाको जीवन सुरक्षित बनाउने काम सरकारले गर्नुपर्दछ”, उनले भने । वैदेशिक रोजगारीलाई व्यवस्थित र सुरक्षित बनाउन नेपालले अन्तर्राष्ट्रिय मञ्चमा प्रतिबद्धता गरेको सन्दर्भ पेश गर्दै मन्त्री विष्टले आप्रवासन क्षेत्रलाई थप पारदर्शी, सुरक्षित र मर्यादित बनाउन जरुरी रहेको समेत बताए । वैदेशिक रोजगार विभागका महानिर्देक डा. भीष्मकुमार भुसालले प्रणालीको सुधारको पक्षमा विभागसँग हातेमालो गर्न व्यवासायीलाई आग्रह गरेका छन् । सङ्घका महासचिव सरोजकुमार पोखरेलले व्यवसायीको हक, हित र अधिकारका लागि सङ्घ अगाडि बढेको बताए । राज्यले व्यवसायीलाई उचित सम्बोधन गर्न नसकेको गुनासो उनको थियो ।