अब स्किल सेवासँग मिलेर व्यवसाय गर्न सकिने
काठमाडौं । युवाहरुलाई लक्षित गरी ‘जे गरौं नेपालमै गरौं’ भन्ने नाराका साथ स्किल सेवाले लोकल बिजनेस पार्टनरसिप योजना ल्याएको छ । सो कार्यक्रममा युवाहरुले स्किलसेवासँग मिलेर काम गर्न सक्ने कम्पनीले जनाएको छ । व्यवसायमा पार्टनरसिप गर्दा आवश्यक पर्ने तालिम, वित्तीय जोखिम, प्राविधिक सहायता, मोवाईल एप र वेबसाइट स्किल सेवाले नै प्रदान गर्नेछ । विदेशबाट फर्किएर वा स्वदेशमा रहेर केही गर्न चाहने युवाहरुसँग सहकार्य गर्ने योजना रहेको स्किल सेवाले जनाएको छ । कम्पनीले सो योजनामा काम गर्दा सम्बन्धित व्यक्तिले केही लगानी गर्नुपर्ने, त्यसको स्वामित्व शतप्रतिशत स्वयं व्यक्तिको हुने र कमाईको नाफा बाँडफाँड गर्ने जनाएको छ । यो व्यवसायमा लोकल बिजनेस पार्टनरहरुलाई घर मर्मत, पेन्टिङ, प्लम्बिङ, इलेक्ट्रिसियन, आदि जस्ता ३० भन्दा धेरै व्यवसायमा सहयोग गर्ने कम्पनीले जनाएको छ ।
आयल निगमले माग्यो ६० जना कर्मचारी
काठमाडौं । नेपाल आयल निगमले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ । निगमले शुक्रवार सूचना जारी गर्दै विभिन्न पदमा ६० भन्दा बढी कर्मचारी माग गरेको छ । निगमले अपरेटरदेखि निर्देशक पदसम्मका लागि कर्मचारी माग गरेको छ । लोकसेवा आयोगबाट खुला प्रतिस्पर्धामार्फत लिखित परीक्षा लिई छनोट गर्ने निगमले जनाएको छ । इच्छुकले २१ दिनभित्र दरखास्त दिन सक्नेछन् ।
अब मेनपावरहरुले वैदेशिक रोजगार सम्बन्धी अधिकांश काम बुटवल र पोखरा कार्यालयबाट गर्न सक्ने
काठमाडौं । मेनपावरहरुले वैदेशिक रोजागार सम्बन्धी अधिकांश कार्यहरु श्रम तथा रोजगार कार्यालय बुटवल र पोखरा कार्यालयबाट समेत गर्न सक्ने भएका छन् । वैदेशिक रोजगार विभागले बिहीबार एक सूचना प्रकाशित गर्दै विभाग तथा अन्य केन्द्रीय कार्यालयबाट सम्पादन हुँदै आएका अधिकांश काम बुटवल र पोखरा कार्यालयबाट हुने जनाएको छ । विभागले वैदेशिक रोजगारमा पठाउन माग संख्या निर्धारण गर्ने, स्वीकृतिको लागि निवेदन लिने, पूर्व स्वीकृति दिने, विज्ञापन गरे नगरेको अनुगमन गर्ने, श्रम स्वीकृतिको लागि निवेदन दिने र स्वीकृति दिने काम बुटवल बुटवल र पोखरामा रहेका कार्यालयले गर्न सक्ने जनाएको छ । त्यस्तै ती कार्यालयले व्यक्तिगत रुपमा विदेश जान चाहनेको निवेदन लिने, स्वीकृति दिने र मेनपावरहरुको शाखा कार्यालयको अनुगमन गर्न सक्ने लगायतका कामहरु गर्नसक्नेगरी कानूनअनुसार अधिकार प्रत्यायोजन गरिएको विभागले सूचनामा उल्लेख गरेको छ । वैदेशिक राेजगार विभागकाे सूचना :