बैतडीका स्थानीय तहबाट श्रम स्वीकृति दिन सुरु
बैतडी । बैतडीका स्थानीय तहले वैदेशिक रोजगारीमा जान चाहने नागरिकलाई श्रम स्वीकृति दिन सुरु गरेका छन् । यहाँका दश स्थानीय तहमध्ये पाटन र दशरथचन्द नगरपालिकाले श्रम स्वीकृति दिन सुरु गरेका हुन् । यसअघि श्रम मन्त्रालयबाट मात्रै दिइने गरेको श्रम स्वीकृति अब स्थानीय तहबाट पनि प्रदान गर्न सकिने भएपछि दुई पालिकाले श्रम स्वीकृति दिन थालेका हुन् । सरकारको गत चैत १६ गतेको निर्णय अनुसार वैशाख १ गतेदेखि लागू हुने गरी स्थानीय तहले नै रोजगार शाखामार्फत श्रम स्वीकृति दिन सक्ने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा पाटन नगरपालिकाले श्रम स्वीकृति दिन थालेको नगरप्रमुख गौरीसिंह रावलले जानकारी दिए । वैदेशिक रोजगारीलाई व्यवस्थित र मार्यादित बनाउन स्थानीय तहबाट श्रम स्वीकृति दिने कार्य महत्वपूर्ण रहेको उनको भनाइ छ । पाटन नगरपालिकाबाट श्रम स्वीकृति लिने पहिलो व्यक्ति मलेसिया जान लागेका वडा नं ६ का नवीन विक रहेका छन् । नगरपालिकामै श्रम स्वीकृति पाएपछि निकै सहजता भएको उनले बताए । बिना कुनै झण्झट कम खर्चमा घरदैलोबाटै काम भएपछि खुसी लागेको उनको भनाइ छ । यसअघि दशरथचन्द नगरपालिकाले गत वैशाख अन्तिम साताबाट श्रम स्वीकृत दिन थालेको थियो ।
उपकार लघुवित्तमा आकर्षक रोजगारीको अवसर
काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । संस्थाले सहायक प्रबन्धकका लागि केही र जुनियर फिल्ड सहायकका लागि केही संख्यामा कर्मचारी माग गरेको हो । उक्त पदका लागि संस्थाले सहायक प्रबन्धकको हकमा अर्थशास्त्र, व्यवस्थापन, कानुन विषयमा स्नकोत्तर तह उत्तीर्ण गरेको र जुनियर फिल्ड सहायकको लागि प्लस टु तह उत्तीर्ण गरेको हुनुपर्ने जनाएको छ । कम्पनीका अनुसार ईच्छुक तथा योग्यता पुगेका ब्यक्तिहरुले आवश्यक कागजात संकलन गरी संस्थाको वेबसाइट मार्फत आवेदन दिन सक्नेछन् ।
कृषि विकास बैंकको विज्ञापन आह्वान, माग्यो १७९ जना कर्मचारी
काठमाडौं । कृषि विकास बैंकले कर्मचारी नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ । नवौँदेखि चौथो तहसम्मका लागि बैंकले आवेदन माग गरेको हो । बैंकले विभिन्न पदमा रिक्त रहेकोमा १७९ जनाका लागि आवेदन आह्वान गरेको हो । आजदेखि असार ७ गतेसम्म अनलाइनमार्फत् आवेदन दिन सकिने बैंकले जनाएको छ । बैंकले वरिष्ठ शाखा प्रमुख (नवौं तह) १ जना, शाखा प्रमुख (८ औं तह) ४ जना, वरिष्ठ लेखा अधिकृत ¬(सिए, ७औं तह) ६ जना, वरिष्ठ इन्जिनियर आईटी (७ औं तह) १ जना, छैटौं तहका व्यवसाय अधिकृत ३८ जना, व्यवस्थापन सूचना प्रणाली अधिकृत ३ जना, कानुन अधिकृत २ जना, इन्जिनियर आईटी १ जना, कर्जा अधिकृत ९ जना मागेको छ । यस्तै, पाँचौं तह अन्तर्गत व्यवसाय सहायक ३६ जना, ऋण सहायक ६ जना र चौंथो तह अन्तर्गत लेखापाल ७२ जना कर्मचारी मागेको बैंकले जनाएको छ ।