‘युवासँग सरकार, हुने छैनन् बेरोजगार’ कार्यक्रम घोषणा, ५ लाखलाई रोजगारी दिइने
काठमाडौं । सरकारले ५ लाखलाई रोजगारी दिने गरी कार्यक्रम घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८०/८१ नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले ‘युवासँग सरकार, हुने छैनन् बेरोजगार’ कार्यक्रम घोषणा गरेका हुन् । यस अभियान अन्तर्गत आगामी २ वर्षभित्र ५ लाखलाई आन्तरिक रोजगार श्रृजना गर्ने गरी निजी क्षेत्रसँगको सहकार्यमा राष्ट्रिय सीप विकास तथा रोजगार कार्यक्रम सञ्चालन गरिने उनले बताए । साथै, उत्पादनसँग प्रत्यक्ष जोडिने रोजगार र उद्यमशीलतासँग सम्बन्धीत संस्थाको कोष तथा कार्यक्रमहरुलाई एकीकृत गरिने उनको भनाइ छ ।
उदयपुरबाट ९ हजार युवा रोजगारीका लागि विदेसिए
उदयपुर । उदयपुरबाट एक वर्षभित्र ९ हजार युवा रोजगारीका लागि विदेसिएका छन् । जिल्ला प्रहरी कार्यालय र सुरक्षित आप्रवास योजना (सामी) उदयपुरको तथ्याङ्कअनुसार विसं २०७९ मा मात्रै वैदेशिक रोजगारीका लागि विदेश जाने युवाको सङ्ख्या नौ हजारको हाराहारीमा पुगेको छ । वैदेशिक रोजगारीमा जाने अधिकांश युवा सीप र काम गर्ने क्षमतासम्बन्धी अभिवृद्धि तालिम लिएर गएका सामी उदयपुरले जनाएको छ । जिल्लाको आठ पालिकामध्ये त्रियुगा, चौदण्डी गढी र कटारी नगरपालिकाबाट सबैभन्दा धेरै युवा वैदेशिक रोजगारीका लागि विदेसिएका छन् । गाउँपालिकामध्ये लिम्चुङबुङ, रौतामाई र उदयपुर गढी गाउँपालिकाबाट धेरै युवा विदेसिएका छन् । सामी उदयपुरका संयोजक बिजनाकुमारी बस्नेतका अनुसार जिल्लाबाट मलेसिया जाने युवाको सङ्ख्या सबैधन्दा धेरै छ । मलेसियापछि साउदी अरब, युएई, कतार र कुवेतमा युवा जाने गरेका उनले बताए । जिल्ला प्रहरी कार्यालयका अनुसार २०७९ सालमा मात्रै जिल्लाबाट वैदेशिक रोजगारीमा जाने युवाको सङ्ख्या आठ हजार आठ सय ६८ छन् । ‘विगतका वर्षमा सीप तथा तालिम नलिई युवाहरु वैदेशिक रोजगारीमा जाने गरेकाले उनीहरुले विदेशमा धेरै समस्या झेल्नु परेको थियो’, सामीका संयोजक बस्नेतले भने । अहिले स्थानीय पालिकाको समन्वयमा वैदेशिक रोजगारीमा जान चाहनेलाई कामसम्बन्धी विभिन्न सीप र तालिम दिनुका साथै काम सिकेर जान प्रेरणा, सल्लाह, सुझाव दिन थालेपछि वैदेशिक रोजगारीमा जाँदा समस्या कम आउन थालेको उनले बताए । यसअघि रोजगारीका लागि जाने युवाले सीपको अभावका कारण कम तलब पाउने, अपहेलित हुनुपर्ने र कम्पनी छाडेर भाग्नुपर्ने जस्ता समस्या झोल्ने गरेका बस्नेतको भनाइ थियो । रासस
रोजगारी खोज्नेको लागि कर्मचारी सञ्चय कोषमा सुनौलो अवसर
काठमाडौं । जागिर खोज्नेहरुको लागि खुसिको खबर छ । कर्मचारी सञ्चय कोषले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । कर्मचारी सञ्चय कोषले विभिन्न तहका पदका लागि ४१ जना कर्मचारीको माग गरेको हो । उक्त कोषले खुला प्रतियोगिताद्वारा स्थायी पूर्तिका लागि विभिन्न तहका पदमा ४१ जनालाई रोजगारी खुलाएको हो । प्रकाशित सूचनाकाअनुसार कोषले प्रबन्धक पदमा प्राविधिक समूहका लागि खुलातर्फ १ जनालाई रोजगारी खुलाएको छ । साथै, उपप्रबन्धक पदमा प्रशासन समूहका लागि खुल्लातर्फ १ र मधेशीतर्फ १ जनालाई रोजगारी खुलाएको छ । उपप्रबन्धक पदका लागि प्रशासनतर्फ नै खुल्लामा १ जना, आदिवासी जनजातीमा १ जना र मधेशी समूहमा १ जनाका लागि रोजगारी खुलाइएको छ । कोषले उपप्रबन्धक वित्त विश्लेषक पदका लागि प्रशासन समूहमा खुलातर्फ १ जना र आदिवासी जनजातीतर्फ १ जना, सशायक प्रबन्धक पदमा प्रशासन समूहका लागि खुलातर्फ १३ जना, महिलातर्फ ५ जना, आदिवासी जनजातितर्फ ३ जना, मधेशीतर्फ २ जना र पिछडिएको क्षेत्रतर्फ १ जनाका लागि रोजगारी खुलाइएको छ । त्यस्तै, सशायक प्रबन्धक कानुन पदका लागि प्रशासनरकानुन समूहमा आदिवासी जनजाति १ जना, सहायक प्रबन्धक स्टिम पदका लागि प्राविधिक कम्प्युटर समूहका लागि खुलातर्फ १ जना, सहायक प्रबन्धक कम्युटर इन्जिनियरका लागि खुलातर्फ २ जनालगायतका विभिन्न पदका लागि लागि रोजगारी खुलाइएको छ । कोषकाअनुसार इच्छुक उमेदवारले सूचना प्रकाशित भएको २१ दिनभित्र नियमित दस्तुरमा र २१ दिनपछिको थप ७ दिनसमम दोब्बर दस्तु तिरेर दरखास्त बुझाउन सकिनेछ ।