कोरियन भाषा परीक्षाका लागि आवेदन खुल्यो

काठमाडौं । इपीएस कोरिया शाखाले कोरियन भाषा परीक्षाका लागि आवेदन आह्वान गरेको छ । आइतबार सूचना जारी गर्दै पानी जहाज कम्पनीमा कामदार आवश्यक परेको हुँदा उम्मेदवारको छनौट गर्न कोरियन भाषा परीक्षा सञ्चालन गरिने शाखाले जनाएको छ । नेपाल सरकार, श्रम तथा सामाजिक सुरक्षा मन्त्रालय र गणतन्त्र कोरिया, श्रम तथा रोजगार मन्त्रालयबीच भएको समझदारी पत्र अनुरूप रोजगार अनुमति प्रणाली अन्तर्गत कोरियामा नेपाली नागरिकलाई लैजान लागिएको सूचनामा उल्लेख छ । साउन २० गतेदेखि २४ गतेसम्म आवेदन दिन सकिने शाखाले जनाएको छ । र, इच्छुक आवेदक १८ वर्ष पुरा भई ३९ वर्ष ननाघेका नेपाली नागरिकले हुनुपर्ने छ ।

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले माग्यो विभिन्न पदका लागि कर्मचारी

काठमाडौं । जागिर खोज्नेहरुको लागि खुसिको खबर छ । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले सूचना जारी गर्दै बुटवल शाखाको लागि कर्मचारी माग गरेको हो । बैंकले ट्रेनी असिस्टेन्टका लागि, ट्रड फाइनान्स इन्चार्जका लागि, लेग अफिसरका लागि, रिसर्च एण्ड डेभलपमेन्ट इन चार्ज, एसएमई क्रेडिट हेड, रिटेल क्रेडिट हेडका लागि कर्मचारी माग गरेको हो । बैंकले आफ्नो हेड अफिस तथा शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका नागरिकले साउन २५ गतेभित्र बैंकको वेवसाईट मार्फत आवेदन पठाउन बैंकले अनुरोध गरेको छ ।  

बूढानीलकण्ठका विद्यालयमा खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्त गरिने

काठमाडाैं । बूढानीलकण्ठ नगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयमा प्रधानाध्यापक नियुक्तिका लागि आवेदन खुलाएको छ। नगरपालिकाका सामुदायिक विद्यालयमा प्रधानाध्यापक नियुक्ति कार्यविधि, २०८० बमोजिम खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक छनोटका लागि आवेदन खुलइएको हो । नगरपालिकाले खुलाएको आवेदनमा नगरभित्र कार्यरत योग्यता र क्षमता भएका शिक्षक शिक्षिकालाई आवेदन दिन आह्वान गरेको छ । त्यसका लागि आवेदकले आधारभूत तह कक्षा १ देखि ५ सम्मका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातक तह वा सोसरह उत्तीर्ण गरेको हुनुपर्नेछ । आधारभूत तह कक्षा १ देखि ८ सम्मका लागि मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातक तह वा सो सरह उत्तीर्ण गरेको हुनु पर्नेछ । त्यसैगरी माध्यमिक तहका लागि विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर तह वा सो सरह उत्तीर्ण गरेको हुनुपर्ने नगर शिक्षा शाखा प्रमुख उपसचिव ललितविक्रम सिंहले बताए । प्रतिस्पर्धाका आधारमा छनोट गर्दा क्षमता भएका प्रधानाध्यापकले विद्यालयमा नेतृत्व होस् र अब्बल तरिकाले विद्यालयको नेतृत्व हुनुपर्छ भनेर नगरपालिकाले यस्तो तयारी गरेको नगर प्रवक्ता नवराज भट्टराईको भनाइ छ । यसअघि प्रावि र निमावि तहका प्रधानाध्यापक पनि लामो समयको अनुभव तथा जेष्ठताका आधारमा मावि तहसम्मका प्रअ हुने खालका परम्पराको अन्त्य गर्दै क्षमतावान शिक्षक छनोट गर्न र विद्यालयलाई अझ प्रभावकारी ढंगले अगाडि बढाउन आवेदन खुलाएको उनले बताए । आवेदक सबैले कम्तीमा पाँच वर्ष स्थायी सेवा गरेको हुनुपर्ने, नियुक्ति हुँदाका बखत कुनै राजनीतिक दलको सदस्य नरहेको र उच्च नैतिक चरित्र भएको व्यक्ति हुनुपर्ने आवेदनमा जनाइएको छ । बूढानीलकण्ठभित्र ११ मावि, पाँच आधारभूत र तीन प्रावि गरी कूल १९ सामुदायिक विद्यालय छन् । उम्मेदवारले आवश्यक कागजातका साथ नगरपालिकाको कार्यलयमा आफैँ उपस्थित भई शिक्षा, युवा तथा खेलकुद महाशाखामा बुझाउन अनुरोध गरिएको छ । अवेदन फाराम एक प्रति, नेपाली नागरिताको प्रमाणपत्रको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्र, सुरु स्थायी नियुक्तिदेखि हालसम्मको नियुक्तिपत्रको प्रतिलिपि आफूले अध्यापन गरेको विषयमा पछिल्लो तीन वर्षको नतिजा सिटको प्रतिलिपि र मामिला अध्ययनमा आधारित विद्यालय विकास प्रस्तावसमेत पेस गर्नुपर्ने जनाइएको छ ।  रासस