विदेशी चलचित्र हेर्दा विदेशिन्छ वार्षिक करोडौँ नेपाली रुपैयाँ
काठमाडौं । नेपालीहरु नेपाली भाषाका चलचित्र मात्र हेर्दैनन् । विदेशी भाषाका चलचित्र हेरेर मनोरञ्जन लिने नेपालीको संख्या पनि उल्लेख्य रहेको छ । विदेशी भाषाका चलचित्र हेरेर नेपालीले मनोरञ्जन लिंदा वार्षिक रुपमा करोडौँ रुपैयाँ विदेशिने गरेको छ । नेपाल चलचित्र विकास बोर्डका अनुसार वार्षिक १ सयको हाराहारीमा विदेशी भाषामा चलचित्र नेपाली सिनेमा घरहरुमा चल्ने गरेका छन् । ती विदेशी भाषाका चलचित्रबाट कम्तिमा ५ लाखदेखि बढीमा २ करोड नेपाली रुपैयाँ विदेशिदै आएको चलचित्र विकास बोर्डका चलचित्र संग्रहालय, पुस्तकालय, प्रेक्षालय, सूचना तथा अन्तर्राष्ट्रिय सम्बन्ध अधिकृत चिरञ्जीवी गुरागाईले बताए । प्रत्येक विदेशी चलचित्रलाई आम्दानीको १५ प्रतिशत कर लगाइएकाे छ । यसरी संकलन भएको रकम मध्ये ५ प्रतिशत स्थानीय तहको विकास निर्माणका छुट्याउने गरेको चलचित्र विकास बोर्डले जानकारी दिएको छ । हलिउड र बलिउडका चलचित्र मात्रै सिनेमा घरमा प्रदर्शन नेपाली भाषाका बाहेक हाल नेपालमा हलिउड र बलिउडका चलचित्र मात्र सिनेमा घरहरुमा प्रदर्शन हुँदै आएको छ । यस वर्ष हलिउड ५० वटा र बलिवड ५० चलचित्र नेपाली सिनेमा घरमा प्रदर्शन भएको बोर्डका अधिकृत गुरागाईले बताए । नेपालमा अमेरिकन, चाइनिज, कोरियन, इजरायली, युरोपियन देशका फिल्महरु विभिन्न उत्साहका अवसरमा प्रदर्शन हुँदै आएका छन् । अमेरिकन दूतावासले प्रत्येक महिनाको तेश्रो हप्ताको विहीबार कुमारी हलमा चलचित्र प्रदर्शन गर्ने गरेको चलचित्र विकास बोर्डले जनाएको छ ।
नेपालमा अब चलचित्रको पनि बीमा, एलजीआईको नयाँ प्रोडक्ट कस्तो ?
काठमाडौँ । चलचित्र निर्माण गर्दा आईपर्ने जोखिमको बहन गर्ने बीमा योजनामा लुम्बिनी जनरल ईन्स्योरेन्स(एलजीआई) ले सक्रियता देखाएको छ । चलचित्र निर्माण गर्न लामो समय लाग्ने तथा सो क्रममा निकै क्षती हुने भन्दै बीमा कम्पनीले यस्तो योजनाको सुरुवात गरेको हो । यस्तो बीमा पोलिसीबारे बीमा समितिले लुम्बिनी जनरललाई ३ महिना अघि नै स्विकृती दिईसकेको छ । लुम्बिनी जनरल ईन्स्योरेन्सका सहायक प्रमुख कार्यकारी अधिकृत डिके श्रेष्ठले भन्छन्-‘बीमाले जोखिम बहन गर्ने हो, चलचित्र निर्माण गर्दा समेत आफ्नै किसिमका जोखिम रहँदै आएका छन्, त्यसैले आगामी दिनमा त्यस्ता जोखिमको बहन बीमा मार्फत गरेमा निर्देशकहरुले ढुक्कसँग काम गर्न सक्छन् ।’ श्रेष्ठले बीमा बजारमा आधुनिकता ल्याउन यस्तो कदम चालेको समेत जानकारी दिएका छन् । चलचित्र बीमामा के के हुन्छ ? चलचित्रको बीमा गर्नु पूर्व निर्माताहरुले बीमा कम्पनीसँग एक किसिमको सम्झौता गर्न आवश्यक हुन्छ । यसरी सम्झौता गरे पश्चात ४ महिनाको अवधिसम्म बीमा सुविधा पाईन्छ । सोही बीमा मार्फत कलाकारहरुलाई चोटपटक लागेमा, कुनै किसिमका दुर्घटना भएमा, क्यामेरा लगायतका सामाग्री टुटफुट भएमा बीमा कम्पनीले जोखिम बहन गर्ने गर्छ । चलचित्र बीमाको प्याकेज निर्जीवन बीमा अन्र्तगतको हो । चलचित्र निर्माण गर्दा भैपरी आउने समस्यालाई बीमा गरिएपनि चलचित्रले बजार नलिएको खण्डमा भने बीमा योजनाले काम गर्दैन । सो बीमा योजना सार्वजनिक भए लगत्तै फिल्म नचलेको अवस्थामा पैसा पाईने हो की भन्ने विषय निकै चासोको विषय बनेको पाईन्छ । नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले चलचित्र क्षेत्रमा रहेको जोखिमका बारेमा लुम्बिनी जनरल ईन्स्योरेन्स कम्पनीलाई जानकारी गराएको बताए । अहिलेसम्म कुनैपनि चलचित्रको बीमा भइसकेको छैन । बीमा बजारमा प्रतिस्पर्धालाई स्वच्छ बनाउन नयाँ बीमा योजनाको आवश्यकता रहेकोमा लुम्बिनी जनरल ईन्स्योरेन्सले जोड दिएको छ ।
अमेरिकी मनोरञ्जन कम्पनी डिज्ने र फक्सबीच ७१ अर्ब डलरको सम्झौता
न्यूयोर्क । अमेरिकी मनोरञ्जन कम्पनी डिज्नेले फक्सको मनोरञ्जन व्यवसाय ७१ अर्ब अमेरिकी डलरमा खरिद गर्नेसम्बन्धी सम्झौतालाई टुङ्गो लगाएको छ । उक्त सम्झौतामा फक्सका उत्पादनहरु “सिन्डेरेला”, “दी सिम्पसन्स”, “स्टार वार्स” र “डा.स्ट्रेन्ज” अब एकै कर्पोरेट छानामुनि आउने छन् । यो सम्झौताले विश्व मिडिया परिदृश्यमै हलचल ल्याउने छ । सम्झौतापछि डिज्नेलाई आफ्नै स्ट्रिमिङ सेवा डिज्ने प्लस यसै वर्षको अन्त्यतिर आरम्भ गर्न बाटो खुलेको छ । साथै सम्झौताले हजारौं कर्मचारी कटौतीमा पर्ने खतरा बढाएको छ । फक्स र डिज्नेमा कार्यरत फिल्म उत्पादक कर्मचारीहरुको ठूलो संख्या कटौतीमा पर्नेछ । डिज्नेले फक्स इन्टरटेनमेन्ट खरिद गर्नुको मुख्य उद्देश्य नै अमेजन र नेटफ्क्सि जस्ता कम्पनीबाट सिर्जना भइरहेको बढ्दो चुनौतीलाई सामना गर्नु हो । डिज्नेले यसअघि नै डिज्ने कार्टुन सेवा प्रशारण गरिरहेको छ । फक्सका उत्पादनलाई आफूमा गाभेसँगै फक्सका महत्वपूर्ण कार्यक्रम र नेसनल जियोग्राफिकको प्रशारण एकाधिकार प्राप्त हुनेछ । डिज्नेका प्रमुख कार्यकारी बब आइगरले गत फेब्रुअरीमै डिज्ने प्लस र उपभोक्तासँग सोझै जोडिएका व्यवसायहरु डिज्नेको नं.१ प्राथमिकतामा रहने बताए । केबल र टेलिकम कम्पनीहरुले बदलिँदो मिडिया परिदृश्यमा प्रतिस्पर्धी क्षमता बढाउन टिभी शो र सिनेमा बनाउने कम्पनीहरु नै खरिद गर्न थालेका छन् । एटी एन्ड टी, कमकास्ट जस्ता विशाल इन्टरनेट प्रदायकहरु समेत अमेजन, युट्युब र नेटफ्लिक्सका सेवाबाट त्रसित हुन थालिसकेका छन् । एटी एन्ड टीले गत वर्ष ८१ अर्ब डलरमा टाइम वार्नर कम्पनी खरिद गरिसकेको छ भने आफ्नै स्ट्रिमिङ टेलिभिजन सेवा प्रशारण गर्न थालेको छ । टाइम वार्नरका च्यानलहरु टीबीएस र टीएनटीलाई अमेरिकी ग्राहकलाई प्रति महिना १५ अमेरिकी डलरमा बिक्री गरिएको छ । रासस /एपी