नेपालबाट अस्कर अवार्डमा ‘ऐना झ्यालको पुतली’ सिफारिस

काठमाडौं । एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एन्ड साइन्सद्वारा घोषणा गरिएको ९५औँ एकेडेमी अवार्ड अस्कर अवार्डमा नेपालको प्रतिनिधित्व ‘ऐना झ्यालको पुतली’ फिल्मले गर्ने भएको छ । प्रतियोगिताका रुपमा फिल्मलाई सहभागी गराउन नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिका अध्यक्ष विमल पौडेलको अध्यक्षतामा गत सोमबार बसेको बैठकले प्राप्त फिल्ममध्येबाट सुजित बिडारी निर्देशित ‘ऐना झ्यालको पुतली’लाई सिफारिस गरेको हो । प्राप्त फिल्ममध्ये प्राविधिक पक्ष, कथ्य शैली र प्रस्तुति, चरित्रको भावनात्मक विश्लेषण तथा प्रस्तुतिको कलात्मकता आदि पक्षलाई विश्लेषण गरेर छनोट गरेको समितिका सदस्य सामीप्यराज तिमल्सेनाले बताए । उनले भने, ‘हामीलाई तीन फिल्म प्राप्त भएको थियो । ऐना झ्यालको पुतली अहिले हामीले खोजिरहेको कलात्मकता बोकेको फिल्म नै हो । त्यसैले हाम्रो निर्णय यसलाई नै नेपालको प्रतिनिधित्व गरेर पठाउने भएको हो ।’ नेपालको ग्रामीण परिवेशको कथामा तयार भएको ‘ऐना झ्यालको पुतली’ भाइको रहरको कथा, दिदीको सपनाको कथा र आमाको सङ्घर्षको कथा हो । फिल्ममा कञ्चन चिमरिया, दिनेश खत्री, सिरु विष्ट, उमेश श्रेष्ठ, क्षितिज लिम्बू, विषा राई, मल्लिका श्रेष्ठ, राज थापा, मदन गुप्तालगायतका कलाकारको अभिनय रहेको छ । भाद्र २४ देखि देशैभरको फिल्म हलमा फिल्म प्रदर्शनरत छ । नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिद्वारा अस्करको प्रतिस्पर्धामा सामेल हुन इच्छुक फिल्मकर्मीलाई २०७९ भदौ ३० गतेभित्र फिल्म पेस गर्न आह्वान गरिएको थियो । नेपालबाट अस्करको प्रतिस्पर्धामा सामेल हुन् दिनेश राउत निर्देशित प्रकाश, सुवर्ण थापा निर्देशित ‘राधा’ र सुजित बिडारी निर्देशित ‘ऐना झ्यालको पुतली’ को आवेदन प्राप्त भएको थियो । रासस

रमेश थापा र आशा लामाको दशैं गीत ‘आउन पाईन सम्झेर नरुनु’ सार्वजनिक

काठमाडौं । गायक रमेश थापा र गायिका आशा लामाको आवाजमा रहेको लोक दोहोरी गीत ‘आउन पाईन सम्झेर नरुनु’ सार्वजनिक भएको छ । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर दशैं गीत सार्वजनिक गरिएको हो ।काठमाडौं डिजिटल स्टुडियोमा रेकर्डिङ गरिएको सो गीत ज्ञानमाला म्युजिक प्रालीबाट सार्वजनिक गरिएको हो । म्युजिक भिडियोमा बेबारिसे शव व्यवस्थापन गर्दै आएका विनयजंग बस्नेत, उनकी धर्मपत्नी पुजा विश्वकर्मा र आशा लामाको मुख्य अभिनय रहेको छ । गीतको निर्देशन निरज श्रेष्ठले गरेका छन् । पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रिय संगीतकर्मी संघका केन्द्रीय अध्यक्ष विक्रमजंग शाहले गीतसंगीत र कलाकारको काम गीत गाउने, नचाउने र आम मानिसलाई जम्मा पार्ने मात्र हो भन्ने शैलीलाई संघले परिवर्तन गरेको बताएका छन् । र, त्यसबारे कलाकारहरुले बुझ्नुपर्ने उनको भनाइ थियो । कलाकारहरुलाई जहिले अफठेरो पर्दा सधै संघले सहयोग गर्दै आएको पनि उनले बताए । गायक नवराज घोरासैनीले नेपाल ३ सय ६५ वटा संस्कृतिको धनी देश भएको बताए । पछिल्लो समय रत्यौलीदेखि मार्मिक गीत लिएर देशलाई सुहाउने गीतको सृजना भइरहेको उनले सुनाए । र, उक्त गीत आम मानिसहरुको दुःख सुःख समेटेर बनेको भन्दै उनले दशैँ जस्तो नेपालीको महान चाडमा दिदीभाईको माया गीतमा झल्कके बताए । यसैगरी, भिडियोमा मुख्य भुमिका निभाएका विनयजंग बस्नेतले गीत सामाजिक, सन्देश मुलक र चेतनामुलक भएको बताएका छन् । गीतको भिडियो पनि राम्रो बनेको उनको दाबी छ । बस्नेतले सबैले लोकसंगीतलाई जर्गेना गर्नुपर्नेमा जोड दिँदै लोकगीतलाई सबैले माया गर्नुपर्ने धारणा राखे । उक्त गीत विदेशमा रहेका नेपालीहरुप्रति समर्पित रहेको उनले स्पष्ट पारे । गीतमार्फत विदेशिएका छोराहरुले आफ्ना बावु आमालाई बिर्सियो की भनेर सम्झाउन खाजेको पनि बताए । त्यस्तै, गायिका आशा लामाले नेपालीहरुले विदेशमा गएर धेरै दुख गर्न परेको सुनाइन् । आफ्नो परिवारलाई नेपालमा छाडेर विदेशिन बाध्य हुने पीडा सुनाउँदै उनले दुःख गरेर पैसा पठाए पनि आफन्तले छाडेर गएको अवस्थालाई गीतमा उतारिएको उनको भनाइ थियो । यसैगरी, गंगाराम धितालले विदेशमा बसेका दाजुभाईहरुले नेपालमा रहेको आफन्तलाई सम्झने बताएका छन् । विदेशी भूमिमा रहेका नेपालीहरुले दशैँमा परिवारको सम्झना गीतमा झल्कने स्पष्ट पारे ।

मिस ग्राण्ड नेपाल २०२२ को शनिबार फाइनल हुने

काठमाडौं । कस्मो इभेन्ट्स र बोली क्लब ग्रुपको संयुक्त आयोजनामा भइरहेको मिस ग्राण्ड नेपाल २०२२ प्रतियोगिताको फिनाले यही शनिबार हुन लागेको छ । प्रतियोगितामा सहभागीहरुलाई शृंगार, नृत्य, व्यक्तित्व विकास, भाषण कला, आत्मरक्षा, जुम्बा, योगा, फिट्नेस र अभिनयका कक्षाहरु प्रदान गरिएको आयोजकले जनाएको छ । प्रतियोगिताको विभिन्न चरण पार गर्दै र तालिमहरु प्राप्त गरी मिस ग्राण्ड नेपाल २०२२ को फिनालेमा पुगेका प्रतिस्पर्धीहरुले यही भाद्र २५ गते होटेल शंकर, लाजिम्पाटमा आफ्नो अन्तिम प्रस्तुति दिने आयोजकले जनाएको छ । विजेताले मिस ग्राण्ड नेपाल २०२२ को ताज सहित इन्डोनेसियाको बाली र जाकार्तामा हुने अन्तरराष्ट्रिय प्रतियोगितामा सहभागी बन्न पाउनेछन् । साथै विभिन्न फेशन शो र रनवेमा सहभागिता, म्यूजिक भिडियो, पत्रपत्रिका/म्यागजिनमा फिचर, विज्ञापन आदीमा अवसर प्राप्त गर्नेछन् । प्रतियोगिता विजेताले ६ लाख रुपैयाँको उपहार पनि पाउने आयोजक कमिटीले जनाएको छ । प्रतियोगिताले युवतीहरूको आत्मविश्वास अभिवृद्धि गर्ने उद्देश्य रहेको आयोजकले जनाएको छ । आयोजकका अनुसार प्रतियोगितामा विभिन्न फेशन डिजाइनरहरुले तयार पारेको पहिरनहरुमा सहभागीहरु स्टेजमा उत्रिनेछन् । मिस ग्राण्ड नेपाल २०२२ का निर्णायक मण्डलको रुपमा अभिनेता अनुपविक्रम शाही, र्यापर आशिष राना (लाहुरे), अभिनेत्री आँचल शर्मा, समाजसेवी छिरिङ वाङ्डी, सौन्दर्य प्रतियोगिता संघ नेपालका महासचिव निशु झा, मिस ग्राण्ड नेपालका नेसनल डाइरेक्टर सुरेश तामाङ रहने आयोजकले जनाएको छ । प्रतिस्पर्धीहरुलाई कोरियोग्राफर सुजित बस्यालले तालिम दिइएको जनाएको छ । प्रतियोगिता ३६५ इभेन्ट्स एण्ड मिडियाले व्यवस्थापन गरिरहेको छ ।