कस्तो छ हलमा प्रदर्शन भइरहेको ‘लाखे’ ?

काठमाडौं । शुक्रबारबाट फिल्म ‘लाखे’ प्रदर्शनरत छ । यसमा सौगात मल्ल, अनुप विक्रम शाही, आर्यन अधिकारी, सुशील सिटौला, प्रशान्त ताम्राकार, रोहित रुम्बा, अर्पण थापा, सिस्टम भण्डारी, बर्षा राउत लगायतका कलाकारहरूले अभिनय गरेका छन्। छायाङ्कन र द्वन्द्वको पक्षबाट प्रशंसा बटुलिरहेको फिल्मलाई सम्राट बस्नेतले निर्देशन गरेका हुन् । सिजन अर्यालले तयार गरेको कथा बद्लाको भावमा छ । समीर महर्जन (सौगात) एक बैंकमा म्यानेजर हुँदा बैंकिङ कसुरमा फसाइन्छ । त्यसले उनको श्रीमती सिमा (वर्षा) र छोरी सिमरन (सिस्टम)सँग अलग बनाउँछ । जेलमा समीरको भेट रकी (आर्यन) र मेटल (अनुप)सँग हुन्छ । त्यहीँबाट बैंक लुटेर आफूलाई फसाइएको बदला लिने योजना समीरले बनाउँछन् । यी दुईसँगै उनले ह्याकर प्रिन्स (सुशील) र अप्पा (रोहित)सँग बैंक लुटेर त्यहाँको पैसा एक जङ्गलमा लगेर काठमा लुकाउँछन् । नेपाल प्रहरीले यो अपराधी समाउन नसकेपछि सीआईबीका मनोज भण्डारी (अर्पण)लाई केस आउँछ । जनक अग्रवाल (प्रशान्त) को बैंकबाट लुटेको पैसा अचानक राखिएको ठाउँबाट हराउँछ । साथै, अप्पा पनि गायब भएपछि समीरले बुनेको योजनामा विभिन्न कठिनाइ आउँछ । के पैसा मनोजले लुकाए ? उनी जनककै सहयोगी हो ? वा समीरले नै नयाँ योजना बनाएका हुन ? लाखेसँग फिल्मको कथा कसरी जोडिएको छ ? यी सब प्रश्नको जवाफ फिल्म हेर्दा नै पाइन्छ । विशेषतः फिल्मको क्लाइमेक्स चर्चा भएको छ । हिमाली सुन्दरताको क्लाइमेक्स मनोरन्जक रहेको अभिनेता विनय श्रेष्ठले बताए । ‘फिल्म मेकिङमा निकै मेहनत गरिएको छ । सबै आ-आफ्नो भूमिकामा फिट छन’, विशेष शोमा फिल्म हेर्न आएका अभिनेता श्रेष्ठले भने, ‘यो प्रकारको द्वन्द्व कमै नेपाली फिल्ममा देख्न पाइन्छ । किनकि हामीलाई बजेट र प्रविधिले सहयोग गर्दैन ।’ फिल्म ‘लाखे’ का निर्देशक बस्नेतले आफू द्वन्द्व निर्देशक समेत रहेकाले यसमा प्रयास गरेको बताए । ‘विदेशी फिल्मको एक्सनमा लोभिने दर्शकलाई नेपाली प्रविधिबाटै केही देखाउन खोजेको छु । उहाँहरूको आकर्षण बढेमा हामीले मेकिङ अझैँ खर्च गर्न सक्छौँ’, निर्देशक बस्नेतले भने। करिब तीन करोड लगानीमा फिल्ममा सुसन प्रजापतिको छायाङ्कन, कविराज गहतराजको कोरियोग्राफी, अर्जुन जिसीको सम्पादन, आकाश बरालको पटकथा, अनुप न्यौपाने र आकाश बरालको संवाद लेखन छ । फिल्म नेपालभरका हलमा कात्तिक १८ देखि प्रदर्शन भइरहेको छ ।

पुस पन्ध्रमा तीन नेपाली चलचित्र ‘डिसेम्बर फल्स’, ‘चि मुसी चि’ र ‘कौसीद’ पदर्शन हुने

आगामी मङ्सिर ४ हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको चर्चाले चलचित्रको प्रचारप्रसारमा असर पार्ने देखिएकाले उक्त महिनामा नेपाली चलचित्रहरूको प्रदर्शन तोकिएको छैन । यही काक्तिक ४ गते दुई चलचित्र के घर के डेरा र नालापानी प्रदर्शन हुँदा मङ्सिरमा प्रदर्शन नहुनुलाई निर्वाचनको रौनक बढेसँगै चलचित्रका गतिविधि छायाँमा पर्ने डर हुनसक्ने निर्माता तथा कलाकार रवीन्द्रसिंह बानियाँले बताए । उनले आफू निर्मित चलचित्र ‘महापुरुष’ लाई कात्तिकमै प्रदर्शन गर्नाको कारण आउँदो निर्वाचनसँगै विश्वकप फुटबल रहेको जानकारी दिए । ‘जाडोको समय, चुनावी रौनक लगत्तै विश्वकप फुटबलका साथै आउँदो डिसेम्बर र जनवरी महिनामा ठूला विदेशी चलचित्र आउने भएकाले पनि नेपाली चलचित्र प्रदर्शन तय नगरिएको हुनसक्छ’, निर्माता बानियाँले भने। नेपालमा निर्वाचनभन्दा पनि विश्वकपले बढी असर गरेको पाइएको लेखक तथा निर्देशक लक्ष्मण सुवेदीले बताए । उनले भने, ‘यस अगाडि पनि विश्वकपको समयमा धेरै चलचित्र रिलिज भएका थिएनन् । साथै यसपटक छिमेकी मुलुक भारतका ठूला चलचित्रहरू पनि छन् ।’ आउँदो पुस १५ मा भने तीन चलचित्र प्रदर्शन गरिने घोषणा गरिएको छ । बलिउडको चलचित्र नआउने भएपछि ‘डिसेम्बर फल्स’, ‘चि मुसी चि’ र ‘कौसीद’को प्रदर्शन गर्ने घोषणा भइसकेको छ । शिर्षकमै कथा जोडिएकोले आफ्नो चलचित्र ‘डिसेम्बर फल्स’ लाई डिसेम्बरकै अन्तिम साता प्रदर्शन गर्न लागिएको निर्माता रामप्रसाद रिजालले बताए। ‘हाम्रो छायांकनलाई कोरोनाका कारण भएको लकडाउनले असर गरेको थियो । अहिले काम सकाएपछि नामसँगै मिल्दोजुल्दो प्रदर्शन मिति तय गरेका हौं’, निर्माता रिजालले भने, ‘सस्पेन्स र थ्रीलर कथामा आधारित चलचित्र तयार भएको छ ।’ ऋचा शर्माले आफू अभिनित तथा निर्मित चलचित्र ‘कौसीद’ ऋणको चपेटामा परेको पात्रको जीवनको भोगाइ देखाइएको बताइन्। उक्त चलचित्रमा उनीसँगै भोलाराज सापकोटा, रुपेश दाहाल, परिक्षितविक्रम राणा, सदीक्षा गौतम, निर्भिक भट्टराई, सागर भट्टराईले अभिनय गरेका छन्। हरर थ्रिलर कथामा ‘चि मुसी चि’ निर्माण भएको निर्देशक मार्ना जेम्सले जानकारी दिए। ‘यश सैनीसँग मिलेर मैले फिल्म निर्देशन गरेकी छु । सहायक हुँदै निर्देशनमा डेब्यु गरेकी हुँदा यो चलचित्र मेरा लागि खास छ’, निर्देशक जेम्सले भने । उक्त चलचित्रमा प्रियङ्का कार्की, ऋचा शर्मा, बेनिशा हमाल, आयुष्मान देशराज जोशी, राजन खतिवडा, रविन्द्र झा, गौरव विष्टलगायत कलाकारको अभिनय रहेको छ । नेपाल चलचित्र सङ्घका महासचिव नरेन्द्र महर्जनले एउटै समयमा तीन चलचित्रको प्रदर्शन तय हुनु राम्रो नहुने बताए । ‘हाम्रो बजारका लागि तीन चलचित्र आवश्यक छैन । अगाडि पछाडिको शुक्रबार खाली हुँदा हुँदै पुस १५ मै तीन चलचित्र प्रदर्शनको घोषणा गर्नु विदेशी चलचित्र नभएको कारण हुनसक्छ”, महसचिव महर्जनले भने ।

स्वास्थ्यले साथ दिएसम्म अभिनय गर्छु : अभिनेता मदनकृष्ण श्रेष्ठ

काठमाडौं । हास्यकलाकार एवम् अभिनेता मदनकृष्ण श्रेष्ठले आफ्नो स्वास्थ्यले साथ दिएसम्म अभिनय गरिरहने बताएका छन् । उनी अभिनित फिल्म ‘महापुरूष’ बारे जानकारी दिन हालै आयोजित पत्रकार सम्मेलनमा उनले अभिनय र आफ्नो स्वास्थ्यका विषयमा कुराकानी गरे । ‘मलाई अभिनय गर्न मन लाग्छ । तर स्वास्थ्यले कहिलेकाहीँ साथ दिँदैन । तर पनि म आफ्नो शरीरलाई जर्वजस्ती नै काममा व्यस्त बनाउँछु’, अभिनेता श्रेष्ठले भने । महापुरुष नेपाली चलचित्र भाइटिकाको भोलिपल्ट प्रदर्शन हुने तयारीमा छ । उनी पछिल्लो समय आफ्नो अभिनय र गायनमा सक्रियता घटेको स्वीकार्छन् । यद्यपि महसञ्चारबाट बनेका भिडियो सामग्रीमा सकेको समय काम गरिरहेका छन् । ‘बाहिर काम गर्न केही असहज भने हुन्छ, महसञ्चारमा भने सुविधाअनुसार काम गर्ने गरेको छु । यो फिल्ममा हाम्रै टेलिशृङ्खलाबाट निर्देशनको सुरुआत गरेका प्रदीप भट्टराई निर्देशक भएकाले काम गरेको हुँ’, अभिनेता श्रेष्ठले भने । लेखकसँगै निर्देशकसमेत रहनुभएका भट्टराईले अभिनेता श्रेष्ठको स्वास्थ्यलाई ख्यालमा राख्दै दृश्य तयार गरिएको जानकारी दिए । ‘काठमाडौँमै छायाङ्कन हुने भएकाले उनको सुविधाअनुसार अभिनय गराएको हुँ । मदन दाइ र हरि दाइ मेरा लागि स्कुल छन् । उनीहरूलाई ठूलो पर्दामा दोस्रोपटक निर्देशक गर्न पाउँदा खुसी लागेको छ’, निर्देशक भट्टराईले भने । उनीहरूले यस अगाडि ‘शत्रु गते’ मा काम गरेका थिए । पत्रकार सम्मेलनमा हास्यकलाकार एवम् अभिनेता हरिवंश आचार्यले अभिनेता श्रेष्ठको इच्छाशक्तिको चर्चा गरे । ‘मदन दाइलाई पर्दामा सँगै पाउँदा छुट्टै ऊर्जा प्राप्त हुन्छ । यसअगाडिका फिल्महरूझैँ यसमा पनि उनी जोडिँदा धन्य भएको छु’, अभिनेता आचार्यले भने । फिल्ममा मदनकृष्ण र हरिवंशसँगै गौरी मल्ल, राजाराम पौडेल, रवीन्द्रसिंह बानियाँ, अरुण क्षेत्री, अञ्जना बराइलीलगायतका कलाकारले अभिनय गरेका छन् । रासस