नयाँपुस्ताका कलाकर्मीसँग प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँपुस्ताका कलाकर्मीहरूसँग अन्तरक्रिया गरेका छन् । उनले पत्नी आरजु राणा देउवासँगै आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा ३० भन्दा बढी नयाँपुस्ताका मोडल, कलाकारलाई भेट्दै निर्वाचन सम्पन्न गर्नेतर्फ सकारात्मक भूमिका निर्वाह गर्न आग्रह गरे । ‘निष्पक्ष भएर क्षणिक लोभ, लालचभन्दा पनि योग्य उम्मेदवारहरूलाई छानेर मतदान गर्न प्रेरित गर्नुस्’, प्रधानमन्त्री देउवाले भने, ‘निर्वाचनमा युवापुस्ताको सहभागिता बलियो हुनुपर्छ भन्ने सन्देश दिनुपर्यो ।’ उनले नेपाली कला क्षेत्रको समस्या समधानका निमित आफू सदैव तयार रहेको बताए । भेटघाटमा सहभागीहरूले फिल्म, सङ्गीतलगायतको क्षेत्रमा देखिएको समस्या उठान गरेका थिए । उनीहरूले फिल्म छायाङ्कनको समस्या, छायाङ्कनमा अनुदान, फिल्ममार्फत पर्यटन प्रवर्द्धन, सङ्गीतको रोयल्टी, ओटीटीको विषयमा देखिएको केही समस्या उठान गरेका थिए । ‘समस्याहरूलाई हामीले सम्बोधन गर्नेछौँ । हामीलाई समस्याका बारेमा अवगत गराउँनु । म सदैव सकारात्मक छु’, प्रधानमन्त्री देउवाले भने । प्रधानमन्त्री पत्नी तथा कांग्रेस नेत्री देउवाले चुनावपश्चात पनि यस्ता छलफल अझै बढाउने बताए । ‘निरन्तर संवादले नै समस्याको हल दिन्छ । हामी आफ्नो कला, संस्कृतिको प्रवर्द्धधन गर्न तत्पर छौँ । छलफलसँगै आउँदो दिनमा निकास दिनेछौँ’, उनले भने । भेटघाट तथा छलफलमा नयाँपुस्ताका कलाकर्मीहरू पूर्णिका सिजापति, उषा उप्रेती, एलिना चौहान, एलिजा गौतम, जेबिका कार्की, रिस्ता बस्नेत, सुधीर श्रेष्ठ, युवराज चौलागाईं, निर्माता सरोज न्यौपाने र निर्देशक हेमराज बिसीलगायतको सहभागिता थियो ।

नेपाली चलचित्र ‘सोल अफ द कमाण्डो’ को ट्रेलर सार्वजनिक

काठमाडौं । नेपाली चलचित्र ‘सोल अफ द कमाण्डो’ को ट्रेलर सार्वजनिक भएको छ । शुक्रवार काठमाडौंमा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक भएको हो । खेलाडी राजकुमार राई अभिनित चलचित्र ‘सोल अफ द कमाण्डो’ यसअघि बेलायत र क्यानडामा प्रदर्शन भइसकेको छ । नेपालमा भने पहिलो पटक फिल्म प्रदर्शनमा आउन लागेको हो । नेपालका विभिन्न स्थानका साथै विदेशी भूमिमा समेत छायांकन गरिएको चलचित्र एक्शन जनारामा निर्माण गरिएको छ । युवराज राई (वीरबहादुर) द्वारा निर्देशित यो फिल्म रवि थापा, धन लिम्बू र मिलन राईले निर्माण गरेका हुन् । एक गोरखा आर्मीको संघर्षलाई फिल्मको कथावस्तु बनाइएको छ । फिल्मको प्रश्तुकर्ता विजया राई हुन् । फिल्ममा राजकुमार राई, कमला खापुङ लिम्बू, सेसुका राई, रवि थापा, मिलन राई, शिशिर वाङदेल, रुपेश झा, नरेन खडका, सर्मिला लिम्बू, सीमा राई, नरेन लिम्बू र पूर्ण लिम्बूले अभिनय गरेका छन् । कार्यक्रममा बोल्दै अभिनेता राजकुमार राईले फिल्ममा गोरखाली सेनाले उनीहरुको जीवनमा भोगेका पीडाहरुलाई देखाइएको बताए । उनले नेपालीहरुको कथावस्तुमा निर्माण भएका कारण पनि सबै नेपालीले चलचित्र हेर्नेमा आशावादी रहेको बताए । कार्यक्रममा अभिनेत्री सेसुका राईले क्यानडा र बेलायतमा फिल्म रिजिल भएपनि आफूले फिल्म हर्न नपाएको बताए । नेपाली चलचित्र ‘सोल अफ द कमाण्डो’ नेपालमा भने मंसिर २३ गतेबाट रिलिज हुनेछ ।

चलचित्र कबड्डी ४ सिनेमा घर एप्लिकेशनबाट हेर्न मिल्ने

काठमाडौं । नेपाली चलचित्र कबड्डी ४ सिनेमा घर एप्लिकेशनबाट हेर्न मिल्ने भएको छ । बिहीबार सिनेमा घर एपका सञ्चलकहरु र कबड्डी ४ का निर्माताहरुले अनलाइन प्लेटफर्मबाट चलचित्र प्रदर्शन गर्ने बताएका हुन् । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अभिनेता एवं सिनेमा घर एपका सञ्चलक खगेन्द्र लामिछानेले नेपाली सिनेमाको प्रोत्साहन र विकासका लागि अनलाइन प्लेटफर्म अनिवार्य भएको बताए । ‘एप्लिकेशनमा पैसा तिरेर फिल्म हेर्ने बानी नेपालमा बिस्तारै विकास भइसकोको छ, सिनेमा घर एपमा जय भोले र रातो टिका निधारमा लगायतका चलचित्रहरु राखिसकेको छ, चलचित्रहरुले युट्युबमा कमाउने भन्दा राम्रो पैसा कमाएका छन्, नेपालीहरुमा पैसा तिरेर फिल्म हेर्ने बानी बसाल्न पनि एप्लिकेशनबाट सहयोग पुगेको छ,’ उनले भने । अभिनेता लामिछानेले नेपाली सिनेमाको लागि डिजिटिल मार्केटबाट अबको ४ वर्षपछि नेपाली सिनेमा निर्माण हुने रकमको लगभग ५० प्रतिशत संकलन गर्नसकिने बताए । सिनेमा घर एपमा चलचित्र कबड्डी ४ भोलि (शुक्रबार) बाट चल्नेछ ।