स्वास्थ्यले साथ दिएसम्म अभिनय गर्छु : अभिनेता मदनकृष्ण श्रेष्ठ
काठमाडौं । हास्यकलाकार एवम् अभिनेता मदनकृष्ण श्रेष्ठले आफ्नो स्वास्थ्यले साथ दिएसम्म अभिनय गरिरहने बताएका छन् । उनी अभिनित फिल्म ‘महापुरूष’ बारे जानकारी दिन हालै आयोजित पत्रकार सम्मेलनमा उनले अभिनय र आफ्नो स्वास्थ्यका विषयमा कुराकानी गरे । ‘मलाई अभिनय गर्न मन लाग्छ । तर स्वास्थ्यले कहिलेकाहीँ साथ दिँदैन । तर पनि म आफ्नो शरीरलाई जर्वजस्ती नै काममा व्यस्त बनाउँछु’, अभिनेता श्रेष्ठले भने । महापुरुष नेपाली चलचित्र भाइटिकाको भोलिपल्ट प्रदर्शन हुने तयारीमा छ । उनी पछिल्लो समय आफ्नो अभिनय र गायनमा सक्रियता घटेको स्वीकार्छन् । यद्यपि महसञ्चारबाट बनेका भिडियो सामग्रीमा सकेको समय काम गरिरहेका छन् । ‘बाहिर काम गर्न केही असहज भने हुन्छ, महसञ्चारमा भने सुविधाअनुसार काम गर्ने गरेको छु । यो फिल्ममा हाम्रै टेलिशृङ्खलाबाट निर्देशनको सुरुआत गरेका प्रदीप भट्टराई निर्देशक भएकाले काम गरेको हुँ’, अभिनेता श्रेष्ठले भने । लेखकसँगै निर्देशकसमेत रहनुभएका भट्टराईले अभिनेता श्रेष्ठको स्वास्थ्यलाई ख्यालमा राख्दै दृश्य तयार गरिएको जानकारी दिए । ‘काठमाडौँमै छायाङ्कन हुने भएकाले उनको सुविधाअनुसार अभिनय गराएको हुँ । मदन दाइ र हरि दाइ मेरा लागि स्कुल छन् । उनीहरूलाई ठूलो पर्दामा दोस्रोपटक निर्देशक गर्न पाउँदा खुसी लागेको छ’, निर्देशक भट्टराईले भने । उनीहरूले यस अगाडि ‘शत्रु गते’ मा काम गरेका थिए । पत्रकार सम्मेलनमा हास्यकलाकार एवम् अभिनेता हरिवंश आचार्यले अभिनेता श्रेष्ठको इच्छाशक्तिको चर्चा गरे । ‘मदन दाइलाई पर्दामा सँगै पाउँदा छुट्टै ऊर्जा प्राप्त हुन्छ । यसअगाडिका फिल्महरूझैँ यसमा पनि उनी जोडिँदा धन्य भएको छु’, अभिनेता आचार्यले भने । फिल्ममा मदनकृष्ण र हरिवंशसँगै गौरी मल्ल, राजाराम पौडेल, रवीन्द्रसिंह बानियाँ, अरुण क्षेत्री, अञ्जना बराइलीलगायतका कलाकारले अभिनय गरेका छन् । रासस
‘हिरो र भिलेनभन्दा पनि चरित्र महत्वपूर्ण हुन्छ’
काठमाडौं । नेपाली फिल्ममा हिरो र भिलेनको रुपमा कलाकारले छवि निर्माण गर्ने गरेका छन् । केही समय यता चरित्रअनुसार प्रस्तुति हुने भए तापनि दर्शकको बुझाइमा हिरो र भिलेनको परिचय छुट्टै स्थापित छ । प्रशान्त ताम्राकार, अनुप विक्रम शाहीलाई ह्यान्डसम भिलेन भनिन्छ । हिरोको रुपमा आफ्नो परिचय स्थापित गर्न उनीहरूले काम गरिरहे तापनि दर्शकले भिलेनमा रुचाए । ‘अहिले सहजै कलाकार मान्छन् । नत्र हिरोजस्तो मान्छे भिलेन किन बनेको भन्ने प्रतिक्रिया पाउने गर्थे’, अभिनेता अनुप विक्रम शाहीले भने । ‘हँसिया’ फिल्ममा उनले निर्वाह गरेको भिलेनको भूमिकाले दर्शकमाझ प्रभाव छाड्न सफल भएको थियो । त्यसयता उनले सकारात्मक भूमिका कमै निर्वाह गरेका छन् । मोडलिङ हुँदै अभिनेता बनेका प्रशान्त ताम्राकार पनि भिलेनमा खोजिने अनुहारमै पर्छन् । ‘ऐश्वर्य’ मा निर्वाह गरेका भूमिकापश्चात् उनलाई त्यस्तै अफर भइरहेको छ । ‘मैले भूमिकालाई सकारात्मक वा नकारात्मक रुपमा कहिले हेरिन । आइरहेको भूमिकालाई सुहाउँदो हेरेर अभिनय गरे । यद्यपि ह्यान्डसम भिलेनभन्दा रमाइलो लाग्छ’, अभिनेता ताम्राकारले भने । काठमाडौंमा आयोजित उनी अनुप, प्रशान्त अभिनित फिल्म ‘लाखे’ को पत्रकार सम्मेलनमा आर्यन अधिकारीले सोचाइमा आएको परिवर्तन बारे बताए । ‘हिरोकै रुपमा काम गरिरहेको छु । अब भने सुहाउँदो भूमिका आएमा अभिनय गर्छु । म कलाकार हुँ । सकारात्मक र नकारात्मक दुवै भूमिका निर्वाह गर्न तयार छु’, अभिनेता अधिकारीले भने । दर्शकको हेराइमा आएको परिवर्तनसँगै कलाकार पनि परिवर्तन भएका छन् । सस्पेन्स थ्रीलर जनराको कात्तिक १८ गतेबाट प्रदर्शनमा आउँदैछ । सम्राट बस्नेतको निर्देशनमा तयार फिल्ममा अर्पण थापा, सौगात मल्ल, वर्षा राउत, रोहित रुम्वा, संजोग राणा, सुशील सिटौलालगायतका कलाकारले अभिनय गरेका छन् । रासस
तिहार गीत ‘झिलीमिली तिहार’ बजारमा
काठमाडौं । ‘आयो हजुर देउसी र भैलो’ ‘यही घरमा गर्नलाई रमाइलो’ ‘यही घरमा आएऔँ ज्यान फालेर’ ‘अँध्यारोमा लालटिन बालेर’ नेपालीहरूको दोस्रो महान चाड तिहार नजिकिँदै गर्दा लोकदोहोरी गायक–गायिका पुरुषोत्तम पौडेल, सुनिता बुढामगर, प्रिन्स मल्ल ठकुरी र पूजा देवकोटाले गाएको ‘झिलीमिली तिहार’ देउसी–भैलो गीत बजारमा आएको छ । गायक पौडेलको लय र शब्द सङ्कलन रहेको सो गीतलाई रमेश सेन्टीको म्युजिक एरेन्जर रहेको छ । सो गीतलाई गायक पौडेलले आफ्नै युट्युब च्यानलबाट बिहीबार सार्वजनिक गरेका हुन्। गीतलाई कपिल लामाले निर्देशन गरेका छन् । गीतमा आउँदै गरेको नेपालीको दोस्रो महान चाडका समयमा देउसीभैलो खेल्दै देउसो भट्याउँदै घरबेटीलाई आशिष पनि दिइएको छ । भैलोसँगै भैलोको बीच–बीचमा लोकगीतका टुक्का प्रस्तुत गरिएको गायक पौडेलले जानकारी दिए।